विकासन्युज

पानीको व्यवसायमा महिला उद्यमी, गरियो महत्वपूर्ण समझदारी

काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा महिला विकास मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा पानीको प्रशोधन गरी उत्पादन र बजारीकरण गर्ने र महिलाहरुलाई पानीको क्षेत्रमा उद्यमी बनाउने योजना सहित यस्तो समझदारी भएको हो । कार्यक्रममा मञ्चको तर्फबाट अध्यक्ष प्रमिला आचार्य रिजाल, वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टाटा कम्पनीको तर्फबाट एच ई कुट्टीले समझदारी पत्रमा हस्ताक्षर गरे । मञ्चको नेतृत्वमा गरिएको कार्यक्रममा महिला उद्यमी महासंघ, मानुषी लघु वित्तीय संस्था र व्यावसायिक महिला महासंघ समेत यस परियोजनामा जोडिएका छन् । महासंघकी अध्यक्ष शारदा रिजाल, मानुषी लघु वित्तको तर्फबाट अध्यक्ष पद्मासना शाक्य र व्यावसायिक महिला महासंघबाट प्रथम उपाध्यक्ष कमलेश लता राजभण्डारीले समेत समझदारी पत्रमा हस्ताक्षर गरे । प्रशोधित पानी उद्योगमा महिलाहरुलाई सहभागी गराई उद्यमी बनाउने परियोजना अन्तर्गत पहिलो चरणमा काभ्रे जिल्लाको नाला र पनौतिबाट योजना सुरु गरिने भएको छ । महिलाहरुमा उद्यमशीलताको विकास गर्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण ऋण सहयोग गर्नेछ भने टाटा कम्पनीले प्राविधिक सहयोग गर्ने जनाइएको छ । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले महिलाहरुलाई उद्यमी नबनाएसम्म समृद्ध नेपाल बन्न नसक्ने बताइन् । पानीको व्यवसायमा महिलाहरुलाई आकर्षित गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् । महिलाहरुलाई उद्यमशील बनाउने कार्यमा लाग्ने एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ लगायतका संस्थाहरुलाई मन्त्री मगरले धन्यवाद प्रकट गरिन् । कार्यक्रममा मञ्चकी अध्यक्ष प्रमिला आचार्यले अबको दुई वर्षभित्र दुई सय वटा स्वच्छ पिउने पानीको उद्योग देशैभरि सञ्चालन गरिने जानकारी दिइन् । आर्थिक समृद्धि ल्याउने हो भने महिलालाई उद्यमशीलता बनाउनु अति जरुरी रहेको उनले बताइन् । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वाणिज्य बैंकका नेपाल भरिकै शाखाहरुबाट १ दशमलब ६ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा महिलाहरुलाई ऋण लगानी गरिने प्रतिबद्धता जनाए । बैंकले दिने सस्तो ब्याज महिलाहरुकै क्षमता अभिवृद्धिका लागि रहेको उनले स्पष्ट पारे ।

विद्युत् नियमन आयोगमा अध्यक्षसहित सदस्य नियुक्त, बिहीबार पदभार ग्रहण गर्ने

काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको नियमन निकायका रुपमा रहेको विद्युत् नियमन आयोगलाई पूर्णता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगका अध्यक्ष र चार सदस्यको नियुक्ति गरेको हो । आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त भएका छन् । सिंह विद्युत् विकास विभागको पूर्वमहानिर्देशक हुन् । त्यसैगरी सदस्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भगीरथी भट्टराई ज्ञवाली नियुक्त भउका छन् । आयोगका नवनियुक्त पदाधिकारीले बुधबार पद तथा गोपनियताको शपथ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री वर्षमान पुनले आयोगका नवनियुक्त अध्यक्ष सिंहलाई शपथ गराए । त्यसैगरी अध्यक्ष सिंहले आयोगका नवनियुक्त सदस्य धिताल, कलवार, खतिवडा र भट्टराई (ज्ञवाली)लाई पद तथा गोपनियताको शपथ गराएका थिए । आयोगका नवनियुक्त पदाधिकारीले बिहीबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । नवनियुक्त अध्यक्ष सिंहले पदाधिकारीको अनुभव, क्षमता र विशेषज्ञताका आधारमा कामको बाँडफाँड गरी प्रभावकारी कार्यसम्पादन गरिने बताए । सरकारले समग्र ऊर्जा क्षेत्रलाई व्यस्थित बनाउन २०७४ भदौ १९ गते ‘विद्युत् नियमन आयोग ऐन, २०७४’ जारी गरेको थियो । आयोगले विद्युतको उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न प्राविधिक व्यवस्थापन गर्ने, महसुल निर्धारण गर्ने तथा विद्युत् खरीद बिक्रीको नियमन गर्ने, उत्पादकबीच प्रतिस्पर्धा कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित नियकाबीच आएका विवाद समाधान गर्नेलगायत काम गर्नेछ । आयोगका अध्यक्ष तथा सदस्यको पदावधि पाँच वर्षको रहेको छ । रासस

कैलालीको टीकापुरमा आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख २३, २४ र २५ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय टिकापुर कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने सर्फ, स्याम्फु तथा अचार बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै टिकापुर नपा वडा नं. ४ का अध्यक्ष लालबिर चौधरीले यस्तो किसिमको कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख हिराप्रसाद उपाध्यायले तालिम पछि सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको समापन समारोहमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंह, सोही वडाका सचिव झनकराज ओझा समेतले सम्बोधन गरेका थिए । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, स्याम्फु तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ६९६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहन विचार व्यक्त गरे ।

एनआईसी एशियाका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालि, त्रिपुरेश्वर बीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा १०%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रालिका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ बैंकको ४ शाखा बिस्तार, शाखा १५३ वटा पुगे

काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार काठमाडौँ को काँडाघारी, भक्तपुरको मध्यपुर थिमि, कैलालीको क्याम्पस चोक र अत्तरियामा शाखा बिस्तार गरेको छ । बैंकको काँडाघारी शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, मध्यपुर थिमिको उद्घाटन प्रतिनिधि सभाका सदस्य महेश बस्नेत, क्याम्पस चोक शाखाको उद्घाटन धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर ओड र अत्तरिया शाखाको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले उद्घाटन गरे । बैंकले देशभर १५३ वटा शाखा(४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६३ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कालिका लघुवित्तको केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड बाडखोला शाखामा लघुवित्त कारोवार गर्ने ४६ वटा केन्द्रका केन्द्र प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीको प्रमुख आतिथ्यतामा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको सभा हलमा बुधबार भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई स्वागत गर्दै शाखाको प्रगति विवरण शाखा प्रमुख रजनी पंगेनीले प्रस्तुत गरिन् । गोष्ठीमा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले वित्तीय अनुशासनको बारेमा जानकारी दिंदै संस्थाको नयाँ सेवा सुविधाहरु एवम् बचत तथा कर्जाको कार्यक्रमहरुको बारेमा उपस्थितहरुलाई जानकारी गराए । कार्यक्रममा उपस्थित सहभागिहरुले अन्तरक्रियामा उठाएका सवाल एवम गुनासोहरुमा संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी एवम् कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले सम्बोधन गरेका थिए । आगामी दिनमा सदस्यहरुको क्षमता तथा सीप अभिबृद्धि तथा सामाजिक र आर्थिक स्तर बढाउँदै लाने कार्यक्रमहरुलाई प्राथमिकता दिंदै जाने सहायक प्रमुख कार्यकारी अधिकृत जोशीले बताए । वाडखोला शाखाको केन्द्र नं. ३० राम कालिका महिला विकास केन्द्रका प्रमुख तथा कार्यक्रमका सभाध्यक्ष सुमित्रा कार्कीले हरेक क्षेत्रमा लघुवित्त संस्थाहरु बढ्दै गएको अवस्थामा सदस्यहरुले अब छान्नुपर्ने दिन आएको बताइन् । कार्यक्रममा शाखामा उत्कृष्ट कारोवार गरेका केन्द्रहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने असल सदस्यहरुलाई प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो ।

गण्डकी विकास बैंकले शुरु गर्यो ‘गण्डकी स्मार्ट’ सेवा

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोवाइलबाट चलाउन सकिने उक्त सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् । जीपीआरएस/बाइफाई इन्टरनेट वा एसएमएस कुनैपनि माध्यमवाट चलाउन सकिने उक्त सेवावाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा अन्य सदस्य बैंकहरुमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट विल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउनलोड सुविधा लगायतका विभिन्न सेवाहरु रहेका छन् । प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए ।

नवजीवन परोपकार समाजलाई सनराइजको २ लाख ५० हजार सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा भएको रकम हस्तान्तरण कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न बैंकलेसहयोग रकम हस्तान्तरण गरेकोे जनाएको छ ।