काठमाडौं । आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९१ औं जन्म दिवस । यसै अवसरमा विश्व स्तरमा मनाइदै आएको विश्व रेडक्रस दिवस, मई ८ नेपालमा पनि मानविय सन्देश फैलाउन र प्रेममय भावना विकास गर्न ‘माया’ भन्ने नाराका साथ देशभरि विविध कार्यक्रम आयोजना गरी मनाईंदैछ ।
यस अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल अफिस प्रमुख जुजा किम र रेडक्रसको अन्तर्राष्ट्रिय समितिका समन्वय प्रमुख प्रमेश पौडेलले संयुक्त रुपमा रेडक्रस झण्डाको झण्डोत्तोलन गरी कार्यक्रम सुभारम्भ गरेका हुन् ।
“नेपालका दुर दराजका दुर्गम गाउँदेखि आधुनिक समुदायसम्म नेपाल रेडक्रसका स्वयं सेवकहरुले सेवा दिँदै आएका छन्” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भने–‘हामी स्थानीय आवश्यकताका आधारमा सेवा दिन्छौं र स्थानीय परिवेशका आधारमा दिइने सेवाका कारण पनि रेडक्रस विश्वमा परिचित छ ।’
नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करिव २५ लाख मानिस समक्ष पुगिरहेको जानकारी दिए ।
कार्यक्रममा रेडक्रसका सात आधारभूत सिद्धान्तहरुको पाठ आइसीआरसीका समन्वय प्रमुख प्रमेश पौडेलले गरे । साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट जापान रेडक्रस सोसाइटीका प्रतिनिधि काजियोले सुभेच्छा प्रकट गरे । रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख जुजा किमले नेपालमा रेडक्रसको काम राम्रोसँग अघि वढाउन सधैँ सहयोग गर्ने बताए ।

रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा दशौं लाख प्रभावित जनतालाई सेवा पुर्याइरहेको छ । १९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविध प्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदान गर्ने सेवा पनि विविध छन् ।