
काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ‘लुम्बिनी भ्रमण वर्ष-२०७६’ को अभियानको टोलीले काठमाडौँवासीलाई निम्तो दिएको छ ।
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै टोली काठमाडौँ आएर भ्रमणको निम्तो दिएको हो ।
लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसरमा जानकारी दिन बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी क्षेत्र सास्कृतिक रुपमा विकास भएपनि पर्यटकीय हिसाबमा अझैपनि अघि बढ्न नसकेको बताए ।
अझैपनि कतिपयलाई बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम छ, मुख्यमन्त्री पोखरेलले भने–‘बुद्ध नेपालमा जन्मिएका हुन्, कपिलवस्तु मै जन्मिएका हुन्, यसमा द्विविधा नराख्दा हुन्छ ।’ लुम्बिनीलाई पर्यटकीय क्षेत्रका रुपमा थप विकास गर्न पनि लुम्बिनी भ्रमण्ण वर्ष कार्यक्रम गर्न लागिएको बताए ।

लुम्बिनीलाई पर्यटकीय हिसाबमा अघि बढाउन र प्रदेश नम्बर ५ को समृद्धिका लागि प्रदेश सरकारले ध्यान केन्द्रित गरेको बताए । लुम्बिनी घुम्न आउने पर्यटकलाई हरेक किसिममा सुविधा उपलब्ध गराउन प्रदेश सरकार तयार छ–उनले भने । लुम्बिनी आउने पर्यटकलाई कुनै किसिमको असुबिधा हुन दिन्नौँ, त्यसका लागि प्रदेश सरकारले काम गरिरहेको छ । लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारले ४ करोड बजेट बिनियोजना गरेको समेत मुख्यमन्त्री पोखरेलले बताए ।
जेठ ४ गते लुम्बिनी भ्रमण वर्षको घोषणा
आगामी जेठ ४ गते परेको २५६३ औँ बुद्ध जयन्तीका अवसरमा घोषणा हुन गइरहेको लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न प्रचार अभियान शुरु गरिएको प्रचार प्रसरा समितिका संयोजक भरत केसीले बताए ।
लुम्बिनीको भैरहवाबाट शुरु गरिएको प्रचार अभियान, रुपन्देहीको बुटवल, पाल्पाको तानसेन, स्याङ्जाको पुतलीबजार, कास्कीको पोखरा, तनहुँको दमौली हुँदै काठमाडौँ आएर सडक प्रदर्शन गरी लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्छ
दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि भएको प्रचार प्रसार कार्यक्रममा प्रतिनिधिसभाका सांसद घनश्याम भुसालले लुम्बिनीबाट बुद्धको सन्देश बोकेर काठमाडौँ आएको टोलीलाई स्वागत गर्दै राष्ट्रिय अभियानलाई सफल पार्न सबैको साथ चाहिने खाचो औँल्याए । यो अभियानले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको अभियान २०२० लाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण वर्षको आयोजना गरिनु नेपाल भ्रमण वर्षलाई सफल बनाउने एक महत्वपूर्ण आधार भएको र यसलाई राष्ट्रिय अभियानका रुपमा सफल पार्नु सबैको दायित्व भएकाले सफल पार्न केन्द्र सरकार र सांसदलगायतको पूर्ण साथ सहयोग रहने बताए ।
प्रदेश नं ५ का प्रदेशसभा सांसद विष्णु पन्थीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन लुम्बिनीमा धेरै सङ्ख्यामा पर्यटक भित्र्याउने लक्ष्यका साथ अभियान चलाइएको बताए । पूर्वमन्त्री दीपक बोहोराले लुम्बिनी भ्रमणलाई सफल बनाउन व्यवसायीको सक्रियतामा चलाइएको अभियानले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।
अभियानको दोस्रो चरणको कार्यक्रम नारायणघाट, हेटौँडा, वीरगञ्ज, जनकपुर, इटहरी हुँदै पूर्वमेचीसम्म लुम्बिनी भ्रमण वर्षको प्रचारार्थ सडक प्रदर्शनी हुनेछ भने तेस्रो चरणमा दाङ, नेपालगञ्ज, महेन्द्रनगर र सुर्खेतमा गरिनेछ । त्यस्तै, चौथो चरणमा भारतको कुशिनगर, वनारस र सारनाथमा सडक प्रदर्शनी गरिने लुम्बिनी भ्रमण वर्ष मूल आयोजक समितिले जनाएको छ ।