गुराँस लाइफका ग्राहकलाई पुरानो मेडिकल कलेजमा विशेष छुट
काठमाडौं । गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी लि. र कलेज अफ मेडिकल साइन्स चितवन(पुरानो मेडिकल कलेज)बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता पत्रमा ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कलेजका तर्फबाट जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपाने र ईन्स्योरेन्सको तर्फबाट नारायणकुमार भट्टराईले आदानप्रदान गरे । सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवार, बीमित र बीमा अभिकर्ताहरुलाई अस्पतालले प्रदान गर्ने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ ।
हावाहुरी प्रभावित क्षेत्रमा डिशहोमको निःशुल्क सेवा
काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिएको छ । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब ५ सय घरधुरीमा अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको हो । कम्पनीले हावाहुरी प्रभावित प्रदेश नं. २ स्थित् बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकामा निःशुल्क सेवा दिएको हो । प्रभावित क्षेत्रमा निःशुल्क एन्टेना परिवर्तन, निःशुल्क तार वितरण तथा जडान गरिदिएको हो । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका पीडितलाई केही मात्रामा भएपनि राहत होस् भन्ने उद्देश्यले निःशुल्क सेवा दिएको हो ।
अन्तरबैंक दर ६ प्रतिशत पुग्दा ८६ अर्बको सरकारी ऋण, कार्यकारी बाहिरिएलगत्तै कार्यतालिका !
काठमाडौं । सरकारले १६ दिनभित्र ८६ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आर्थिक वर्षको पहिलो १० महिनासम्म ऋण उठाउन उदासिन देखिएको सरकारले १५ दिनको अवधिभित्र बजारबाट ८६ अर्ब रुपैंयाको आन्तरिक ऋण नेपाल राष्ट्र बैंकसँग पत्राचार गरेको हो । नेपाल राष्ट्र बैंक सार्वजनिक ऋण विभागले प्रकाशित गरेको कार्यतालिका अनुसार सरकारले बजेट आउनुअघि जेठ १४ गतेसम्म बजेटले लक्ष्य लिएको आन्तरिक ऋणको परिमाणको ५० प्रतिशत अर्थात् ८६ अर्ब रुपैंया सार्वजनिक ऋण निष्कासन गर्न लागेको हो । उक्त ऋणमध्ये ३६ अर्ब ट्रेजरी बिलमार्फत् तथा ५० अर्ब रुपैंया विकास ऋणपत्रको बिक्रीमार्फत् उठाउने तयारी गरिएको छ । सरकारले जारी गर्न लागेको ३६ अर्ब ट्रेजरी बिलमध्ये ९ अर्ब बराबर ९१ दिने, १५ अर्ब बराबर १८२ दिने तथा १२ अर्ब बराबर ३६४ दिने ऋणपत्र जारी गरिनेछ । त्यस्तै, ५० अर्ब विकास ऋणपत्रमध्ये ६ वर्ष, ७ वर्ष, ९ वर्ष र १४ वर्ष अवधिका ८/८ अर्ब तथा १० वर्ष, ११ वर्ष र १३ वर्ष अवधिका ६/६ अर्ब रुपैंया बराबरका विकास ऋणपत्रहरु जारी गर्ने तयारी गरिएको छ । बजेटमा तोकिएको शतप्रतिशत ट्रेजरी बिल उठाउने लक्ष्य लिएको सरकारले बाँकी ऋण भने बजेट घोषणापछि उठाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले उठाउन लागेको ट्रेजरी बिलमध्ये बैशाख ३१ गते १२ अर्ब रुपैंया बराबरको, जेठ ७ गते १३ अर्ब बराबरको जेठ १४ गते ११ अर्ब बराबरको बिलहरु बिक्री हुनेछ । विकास ऋणपत्रहरु भने जेठ १, ३, १३ र १५ गते ८/८ अर्ब, जेठ ६, ८ र १० गते ६/६ अर्ब जारी हुने कार्यतालिका सार्वजनिक गरिएको छ । वित्तीय क्षेत्रमा थप चापको संकेत १६ दिनभित्र ८६ अर्बको आन्तरिक ऋण प्रस्ताव गर्दैगर्दा बजारमा अन्तरबैंक ब्याजदर ६ प्रतिशतको नजिक पुगेको छ । एउटा बैंकले अर्को बैंकलाई ऋण दिँदाको दैनिक भारित औसत ब्याजदर हाल ६ प्रतिशतको नजिक रहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोरमा ३.५ प्रतिशतको फ्लोर विन्दु र ६.५ प्रतिशतको सिलिङ बिन्दु तथा बीचको ५ प्रतिशत नीतिगत दर तोकिएको छ । उक्त व्यवस्था अनुसार अन्तरबैंक ब्याजदर ५ प्रतिशतको नीतिगत दरको वरिपरि रहनुपर्ने लक्ष्य राष्ट्र बैंकको हुन्छ । अन्तरबैंक ब्याजदर यो दरभन्दा बढी हुनुलाई बजारमा तरलताको संकट हुनुको रुपमा हेर्न सकिन्छ । अन्तरबैंक ब्याजदर ६ प्रतिशत नजिक हुनु भनेको अहिलेकै अवस्थामा बजारमा तरलताको संकट भएको संकेत हो । यस्तो अवस्थामा सरकारले ८६ अर्ब रुपैंया तरलता बजारबाट उठाउँदा यसले वित्तीय प्रणालीमा थप संकट ल्याउनसक्ने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन् । कार्यकारी निर्देशक ‘बाहिरिएकै दिन’ कार्यतालिका ! १० महिनासम्म ऋण नउठाई बसेको अर्थ मन्त्रालयले कार्यकारी निर्देशक नरबहादुर थापा अनिवार्य अवकाशअघिको बिदामा बसेलगत्तै आन्तरिक ऋण उठाउन निर्देशन दिएको छ । अर्थमन्त्री युवराज खतिवडाको दवावमा अनुसन्धान विभागबाट आन्तरिक ऋण विभागमा सरुवा गरिएका थापा रहुञ्जेलसम्म आन्तरिक ऋणका लागि कुनै तयारी नगरेको सरकारले कार्यकारी निर्देशक बाहिरिएकै दिन कार्यतालिका सार्वजनिक गर्नुलाई ‘प्रतिशोधको परिणाम’ रुपमा हेरिएको छ । तर, कार्यकारी निर्देशक थापा भने यसलाई संयोगको रुपमा लिन्छन् । ‘यो एउटा संयोगमात्रै हुनसक्छ, हामीले यसअघि नै गभर्नरज्यूको स्वीकृतिमा आन्तरिक ऋणका लागि सरकारलाई पत्र पठाएका थियाैं, सरकारले आफ्नोे आवश्यकताअनुसार ऋण उठाउन राष्ट्र बैंकलाई भनेपछि राष्ट्र बैंकले ऋण उठाइदिने हो ।’ थापाले विकासन्यूजसँग भने । थापासहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, भिष्मराज ढुङ्गाना, झलक शर्मा आचार्य नियमित अवकाशको एक महिनाअघि बिदामा बसेका थिए ।
कुमारी बैंकको २१ प्रतिशत बोनस पारित, चुक्ता पुँजी साढे ८ अर्ब नाघ्यो
काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रस्तावित २१.२५ प्रतिशत बोनस पारित भएको छ । बैंकको बिहीबार सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दुई वर्षको गरी सो मात्राको बोनस दिने समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/७४ को लागि १२.७५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४/७५ को लागि ८.५० प्रतिशत गरी २१.२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड रुपैयाँ प्रवाह गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ तथा खुद मुनाफा १ अर्ब रुपैयाँ आर्जन गरेको छ । बैंकले हाल ८८ शाखा संजाल, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।
सेयर बाँडफाँडको गति तीब्र, तर नेप्सेमा सूचिकृत हुन किन हुन्छ ढिलाई ?
काठमाडौं । विभिन्न कम्पनीहरुले पूँजी बजारमा साधारण सेयर(आईपीओ) निष्काशन गरी तीव्र गतिमा बाँडफाँड गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डले सेयरमा अनिवार्य सेन्ट्रलाइज्ड आस्वा अर्थात सीआस्वा प्रणाली लागू गरेपछि उक्त प्रक्रिया छिटो हुन थालेको हाे । उक्त प्रणाली अनुसार हाल कम्पनीहरुले निष्काशन बन्द भएको ढिलोमा ४ हप्ताभित्रै सेयर बाँडफाँड गरिरहेका छन् । यसअघि आईपीओ बाँडफाँड हुन लामो समय लाग्ने गर्थ्यो । सूचिकरणमा किन ढिलाई ? हाल बाँडफाँड भइसकेका शेयर(आईपीओ)हरु नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत हुन भने ढिलाई भइरहेको छ । केही कम्पनीको एक दुई सातामै सूचिकृत भएपनि कुनै कम्पनीको सेयर सूचिकृत हुन महिनौँ लागेको देखिन्छ । पछिल्लो समय पाँचथर पावर पावरको आईपीओ बाँडफाँड भएको करिब २ महिना बित्न लाग्दा बल्ल नेप्सेमा सूचिकृत भएको छ । २०७५ फागुन २३ गते बाँडफाँड भएको सेयर २०७१ वैशाख १९ गते मात्र नेप्सेमा सूचिकृत भएको थियो ।त्यस्तै, अपर तामाकोशीको ४५ दिनमा र स्पर्श लघुवित्तको ४२ दिनको अन्तरमा सेयर सूचिकृत भएको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘कम्पनीहरुले सेयर सूचिकृत गराउन आवेदन दिएको एक महिनाभित्र सूचिकृत गराउनु पर्छ भन्ने नियम छ । हामीले त्यही अनुसार गरिरहेका छौँ ।’ ‘सम्पूर्ण डकुमेन्ट आएको खण्डमा आवेदन दिएका कम्पनीहरुको २-४ दिनमै सूचिकृत गरेका छौं । कम्पनीहरुले आवेदन दिन ढिला गरेको वा पूरा विवरण अनुसारको डकुमेन्ट नआउँदा सूचिकृत हुन समय लाग्न सक्छ।’- उनले बताए । यस सम्बन्धमा मर्चेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा सिद्धार्थ क्यापिटलका सीईओ धु्र्व तिमल्सिनाले बाँडफाँड भएको आईपीओ सूचिकृत गर्नमा कम्पनी कै हात हुने बताए । उनले भने-‘शेयर सूचीकरण गर्नमा बिक्री प्रबन्धकहरुको भन्दा कम्पनी कै भूमिका हुन्छ ।’ बिक्री प्रबन्धकहरुले त सर्पोट गरिदिने मात्रै हो- उनले भने । सिडीएससीका सीईओ देवप्रकाश गुप्ताले कम्पनीहरुले आईपीओ सूचिकृत गराउँदा २४-२५ वटा डकुमेन्टहरु बुझाउनु पर्ने भएकाले बढी समय लागेको हुन सक्ने बताए । सेयर बाँडफाँड र सूचीकरण अवस्था:
सनराइज बैंकबाट सूर्या लाइफको बीमा सेवा, ग्राहकलाई सुबिधा
काठमाडौँ । सनराइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्राहकहरुले सनराइज बैंकका देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् ।
५.६४ अंकले घट्यो नेप्से, ९४ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक ५.६४ अंकले घटेको छ । ०.४३ प्रतिशतले घट्दा परिसूचक १२९१.९६ बिन्दुमा पुगेको छ । आज शेयर बजारमा १७४ कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता शेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) का अनुसार ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजार घटेको दिन २ समूह बाहेक सबै सूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह ५०.२१ र उत्पादनमूलक समूह ३६.०९ अंकले बढ्दा अरु सबै समूह घटेका हुन् । बैंकिङ समूह ८.३१, होटल समूह १२.१२, विकास बैंक समूह ७.६८, जलविद्युत समूह ३.५४, वित्त समूह २.४१, अन्य समूह ०.९६, लघुवित्त समूह ८.१८ र जीवन बीमा समूह ५३.८८ अंकले घटेका हुन् । बजार घटेको दिन सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.५१ अंकले नाफा कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.२४ प्रतिशतले गुमाएका छन् ।
गण्डकी विकास बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । सम्झौतामा गण्डकी विकास बैंकलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।