विकासन्युज

अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटीमा हाजिरजवाफ प्रतियोगिता

काठमाडौं। अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बुधबार आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । नर्सिङ क्षेत्र र यस सम्बन्धित प्रश्नहरु राखीएको यस प्रतियोगिताका सहभागी मध्ये आस्मा प्रधानले प्रथम स्थान, श्रृजना श्रेष्ठले दोश्रो स्थान तथा रोमी महर्जनले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले बैशाख २५, २७, र २९ गते विशेष कार्यक्रमको आयोजना गरिरहेको छ । प्रत्येक वर्ष मे महिनाको ६ देखी १२ तारिखसम्म मनाइने सप्ताहव्यापी नर्सिङ दिवसको यस वर्षको नारा ‘नर्सिङः द ब्यालेन्स अफ माइन्ड, बडि एण्ड स्पिरीट‘ रहेको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२मा पर्ने भएकाले यस दिनलाई नर्सिङ दिवसका रुपमा संसरभर मनाउने गरिन्छ । नर्सहरु स्वास्थ्य सेवामा पूर्ण आत्मविश्वासका साथ नेतृत्व तहमा पूुग्न सक्ने वातावरण निर्माण गर्न नेपाल मेडिसिटी अस्पतालले विभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

लमही-घोराही १३२ केभी लाइन सञ्चालन, घोराही वितरण केन्द्रबाट वितरण शुरु

लमही । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताए । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उनले भने, “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न शुरु गरेर बुधबारदेखि मात्रै लोड लिन शुरु गरेका हौँ ।” उक्त प्रसारण लाइन शुरु भएसँगै विद्युत्मा यसअघि देखिएको ‘लो’ भोल्टेजको समस्या सुधार भएको भएको उनको भनाइ छ । यसअघि २३ किलोमिटर दूरी रहेको लमहीबाट विद्युत् ल्याएको भए पनि लमही–घोराहीअन्तर्गत झिग्नीको लाइन शुरु भएसँगै आठ किलोमिटर दूरीबाटै विद्युत् ल्याएर वितरण गर्दा यो समस्या हटेको उनको भनाइ थियो । “यसअघि लमहीबाट २३ किलोमिटर टाढाबाट ल्याउन बीचमै चुहावट हुने समस्या पनि थियो”, उनले भने, “तर अहिले नजिकै छ, आठ किलोमिटर मात्रै छ, त्यसले गर्दा पनि सहज थियो ।” यसअघि लमहीबाट ३३ केभी लाइन नै ल्याइएको थियो । लमहीबाट ल्याउँदा बाटोमै बिग्रिँदा पनि जङ्गलबीचमा लाइन जडान भएकाले समस्या पहिचान गर्न पनि ढिलाइ हुने गरेको उनले बताए । “लमहीबाट जङ्गलबीचबाट ल्याइएको थियो, त्यसले गर्दा बीचमा बिग्रिँदा पनि कहाँनेर बिग्रियो भन्ने समस्या हुन्थ्यो”, उनले भने, “तर अहिले दूरी नजिक भएकाले छिट्टै समस्या पहिचान गरेर समाधान गर्न सकिन्छ ।” झिग्नीको ३२ केभी लाइन घोराहीसँगै तुलसीपुर, सल्यान, रुकुम, रोल्पामा पनि वितरण हुने गरेकाले ओभरलोड जारी रहेको भन्दै पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदासम्म समस्या जारी रहने उनको भनाइ छ । “अहिले भोल्टेजमा केही सुधार त आएको छ, तर ओभरलोडको समस्या कायम छ”, उनले भने, “पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदा केही समस्या भएको हो ।” अहिले दाङका बढी विद्युत् खपत हुने समयमा कम्तीमा पनि २५ एमपीए लाइन खपत हुने गरेको उनको भनाइ छ । ३८ टावर निर्माण पूरा हुनुका साथै तार तानेपछि निर्माणको काम पूरा भएको हो । लमहीबाट १३ किलोमिटर तार तानेर झिग्नीमा प्रसारण लाइन राखिएको हो । दाङमा देखिएको व्याप्त विद्युत् अनियमितालाई रोक्न विसं २०७० देखि लाइन निर्माण शुरु गरिएको थियो । ३७ महीनासम्ममा पूरा गर्ने सहमति भए पनि केही ढिला गरी निर्माणकार्य पूरा भएको हो । स्थानीयको अवरोधले तुलसीपुर आएन यता, दाङ घोराहीको स्थानीयको अवरोधका कारण उक्त प्रसारण लाइनबाट ३३ केभी लाइन तुलसीपुर लैजाने भनिए पनि काम पूरा हुनसकेको छैन । सडकले स्वीकृति दिएको क्षेत्रमा सडक दायाँबायाँबाट पोल गाडेको भए पनि स्थानीयवासीले अवरोध गर्दा तुलसीपुर लैजाने काम अवरुद्ध भएको यादवले बताए । “सडकले दिएको स्वीकृतिअनुसार सडकको दायाँबायाँ विद्युत्का पोल गाडेका छौँ, स्थानीयको खेतमा कुनै अवरोध भएको छैन”, उनले भने, “तर स्थानीयवासीले अवरोध गर्दा काम अघि बढ्न सकेको छैन, त्यसैले पनि अहिले घोराही वितरण केन्द्रकै प्रसारण लाइनबाट तुलसीपुरमा वितरण भइरहेको छ ।” रासस

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीब्र गतिमा काम भइरहेको जानकारी दिए । समितिका सभापति पवित्रा निरौला खरेलका अनुसार, बैठकमा मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेकोे बताए । चीनले सिमाना क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारी समेत मन्त्री ज्ञवालीले गराए । राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न चीन भ्रमणबारे बैठकमा बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणको क्रममा छ वटा उत्तरी नाका, तीनवटा समुद्री नाका र चारवटा सुख्खा बन्दरगाह खोल्नेबारे चीनसँग छलफल भएको जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले वैशाख ११ देखि १८ गतेसम्म चीनको राजकीय भ्रमण गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ओमले ‘नपत्याएको’ प्राइम बैंककाे नाफा ३१ प्रतिशत बढ्यो, अरु सूचकहरु कस्ता देखिए ?

काठमाडौं । ओम डेभलपमेन्ट बैंकसँग औपचारिक रुपमा सम्झौता तोडिएको भोलिपल्ट प्राइम बैंकले औसत सुधारसहितको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको विवरण अनुसार नाफा करिब ३१ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपैंया पुगेको हो । नाफा विस्तार गरेपनि एक वर्षको अवधिमा बैंकको निक्षेप करिब ४ अर्बले घट्दा कर्जा प्रवाह भने करिब साढे २ अर्बले बढेको छ । बैंकको ब्याज आम्दानी १ अर्ब ८३ करोड रुपैंयाबाट २ अर्ब ६० करोड रुपैंया पुर्याएको छ भने कर्मचारी खर्च भने ४५ करोडबाट बढेर ५७ करोड पुगेको छ । बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार १ अर्ब ८३ करोड २ अर्ब ३३ करोड पुर्याएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात करिब ०.५२ प्रतिशतले बढ्दा १.५८ प्रतिशत पुगेको छ । बैंकले बेसरेट र कस्ट अफ फण्डमा सुधार गरेर क्रमशः १०.२० प्रतिशत र ८.२९ प्रतिशत कायम गर्न सफल भए पनि ब्याजको स्प्रेडदर भने घटेको छ ।

एनसीसी बैंकको नाफा ३१ प्रतिशतले बढ्यो, ईपीएस २४.७०, अरु सूचकहरु कस्ता ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा ३१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा रहेको ८८ करोड ८० लाखको नाफाको आकारलाई चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब १६ करोड पुर्याएको हो । बैंकले चैत मसान्तसम्म ६१ अर्ब ४६ करोड रुपैंया निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड कर्जा प्रवाह गरेको एनसीसी बैंकको कुल चुक्ता पुँजी ८ अर्ब पुगेको रिपोर्टमा देखाइएको छ । बैंकको उक्त आकारको नाफा विस्तारमा बैंकको बढेको ब्याज आम्दानी प्रमुख कारकको रुपमा छ । अघिल्लो वर्ष १ अर्ब ४४ करोड रहेको बैंकको उक्त आम्दानी यो वर्ष बढेर २ अर्ब २३ करोड पुगेको हो । बैंकको बेसरेट १०.८६ प्रतिशत र कस्ट अफ फण्ड ७.९४ प्रतिशत छ । ३.९७ प्रतिशतको निष्क्रिय कर्जा अनुपात ३.९७ प्रतिशतबाट ३.२६ प्रतिशतमा घट्दा बैंकको लोनलस प्रोभिजन ९३.३१ प्रतिशतबाट बढेर १२१.१८ प्रतिशत पुगेको छ, निष्क्रिय कर्जा घट्नु र यो प्रोभिजन बढ्नुले बैंकको गुणात्मक सुधारको संकेत गर्छ । यद्यपि बैंकले ब्याजको स्प्रेडदरमा अपेक्षित सुधार गर्न सकेको छैन । चैत मसान्तको रिपोर्टका आधारमा बैंकको स्प्रेडदर ३.१७ प्रतिशत छ ।

विदेशी लगानी ६० प्रतिशत घट्यो, नौ महिनामा ३८ करोड कम प्रतिबद्धता

काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि सरकारले विदेशी लगानी आकर्षित गर्ने बताइरहँदा गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धता ६० प्रतिशतले घटेको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्षभन्दा यो वर्षको चैतसम्म २२ अर्ब ३८ करोड रुपैयाँ कम विदेशी लगानी प्रतिबद्धता आएको हो। गत आर्थिक वर्ष ०७४/७५ को चैतसम्म (नौ महिना) को अवधिमा ३८ अर्ब ३६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा यो आव ०७५/७६ को सोही अवधिमा १५ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ। सानादेखि ठूला उद्योगले लगानी गर्न कम्पनी रजिस्ट्रारमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिन्छन्। मुलुकमा राजनीतिक संक्रमण सकिएर स्थिर सरकार निर्माण भएसँगै लगानी बढ्ने विश्वास गरे पनि स्थिति उत्साहजनक देखिएको छैन। लगानीको रकम नबढे पनि अनुमति लिने उद्योगको संख्या भने बढेको छ। गत वर्ष दुई सय १४ उद्योग तथा परियोजनाले अनुमति लिएकोमा यो वर्ष उक्त संख्या दुई सय ६६ छ। विभागका अनुसार यो वर्ष विदेशीले ८७ वटा उत्पादनमूलक उद्योगमा सात अर्ब ७८ करोड रुपैयाँ, पर्यटनका ८७ परियोजनामा पाँच अर्ब ५३ करोड, सेवा क्षेत्रका ८५ परियोजनामा एक अर्ब ९६ करोड रुपैयाँ, सूचना प्रविधिमा पाँच करोड १७ लाख, कृषि तथा वनमा एक अर्ब ५९ करोड रुपैयाँ लगानी गर्ने स्वीकृति लिएका छन्। सरकारी अधिकारी भने स्वदेशी तथा विदेशी लगानीको वातावरण क्रमशः सुधार हुँदै जाने दाबी गर्छन्। सरकारले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिहरु पुनरावलोकन गरिरहेकाले लगानीकर्ताले पर्खिरहेको हुन सक्ने उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए। ‘भर्खर लगानी सम्मेलन सम्पन्न गरेका छौं,’ उनले भने, ‘धेरै नीति परिवर्तन भइरहकाले आगामी दिनमा विदेशी लगानी वृद्धि हुने अपेक्षा गरेका छौं।’ आजको नागरिक दैनिकमा समाचार छ ।

मेलम्चीमा एडीबीको सर्त: पहिले काम अनि सहयोग

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अघि नबढेसम्म याङ्ग्री र लार्के खोलाको पानी ल्याउन आर्थिक सहायता नदिने जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयलाई पत्र पठाई एडीबीले उक्त जानकारी दिएको हो । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पहिलो चरणको काम अघि नबढ्दा अन्योल सिर्जना भएको बताए । एडीबीले पत्राचार नै गरिसक्यो, उनले भने, याङग्री र लार्केसमेत प्रभावित हुने भयो । सुरुङका साथै याङ्ग्री र लार्केको काम सँगै अघि नबढाएसम्म एडीबीले सहयोग नदिने संकेत दिएको भन्दै उनले बन्द काम चाँडो सुचारु गरिने बताए । यसबारे मन्त्रिपरिषद् बैठकले चाँडै टुंगो लगाउने उनले बताए । पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७–१७ करोड पानी उत्यकामा ल्याइनेछ । सुरुङलगायत अन्य संरचना ५१ करोड लिटर पानी ल्याउनका लागि निर्माण भइसकेको भन्दै उनले याङ्ग्री र लार्केको काम चाँडो अघि बढाउनुपर्ने बताए । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाएको छ । अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरेर डीपीआरलाई अन्तिम रूप दिएका छन्,ु शर्माले भने, डीपीआर स्वीकृत भएको छ, अब टेन्डर आह्वान गरेर काम अघि बढाउनमात्र बाँकी हो । नर्वे, क्यानडा, भारतलगायत मुलुकबाट विज्ञ मगाएर छलफल भएको उनले बताए । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलासम्म पुग्ने पहुँचमार्गको पनि काम सुरु भइसकेको छ । सडक विभाग र मेलम्ची विकास समितिले झन्डै २५ किमि सडक निर्माणको काम अघि बढाइसकेका छन् । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माणका लागि केही काम सुरु भइरहेको शर्माले बताए । याङ्ग्री र लार्के खोलाको पानी अम्बाथान हेडवक्र्स पुर्‍याउन करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

‘दलाल’को चंगुलमा पीएचडी कार्यक्रम, रकम बुझाउनेमा नेतादेखि न्यायाधीशसम्म

काठमाडौं। पीएचडी कार्यक्रम प्राज्ञिक दलालको चगुंलमा फसेको छ । अनुमतिबिना नै विदेशी विश्वविद्यालयका पीएचडी कार्यक्रम नेपालमा सञ्चालन भइरहेको छ । उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ मा विदेशी शिक्षण संस्थाको सम्बन्धन लिई नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । त्यस्ता शैक्षिक संस्थाले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने र त्यसको नवीकरण प्रयोजन तथा शैक्षिक गुणस्तर नियन्त्रणका लागि मन्त्रालयबाट अनुगमन गर्ने व्यवस्था निर्देशिकाले गरेको छ । तर, विदेशी विश्वविद्यालयका पीएचडी कार्यक्रम अनुमतिबिना नै नेपालमा सञ्चालन भइरहेका छन् । सन् २०१३ देखि अहिलेसम्म नक्कली विद्यावारिधि वितरणमा मुछिएका सीएमजे युनिभर्सिटीमा सोही वर्ष अप्रिलमा १६ जना नेपालीले १५ पीएचडी र एउटा एमफिल शैक्षिक कार्यक्रमका लागि विश्वविद्यालयलाई रकम बुझाएको छ । यसरी रकम बुझाउनेहरूमा नेतादेखि न्यायाधीशसम्म रहेका छन् । शोभाकर पराजुली, शैलेन्द्र गिरी, द्रोणाचार्य घिमिरे, किरण गौतम, शुभद्रादेवी विष्ट, प्रेमबहादुर कार्की, लालवीहारी यादवले पीएचडी कार्यक्रमका लागि रकम बुझाएका छन् । यस्तै, रकम बुझाउनेमा रामानन्द पण्डित, राजेन्द्रकुमार दाहाल, अशोक त्रिपाठी, रत्नबहादुर वाग्चन्द, दीपकबहादुर बुढा, गोकर्णप्रसाद सिटौला, नागेन्द्रप्रसाद यादव, अमृतप्रसाद उपाध्याय, मणि मल्लले पनि रहेका छन् । काठमाडौं महानगरपालिका महादेवस्थानमा सिटी एजुकेसन फाउन्डेसन बोर्ड राखिएको भवन छ । यही भवनमा सँगै सिटी इंग्लिस स्कुल पनि सञ्चालन भइरहेको छ । संस्थाको स्थापना २०५२ सालमा भएको हो । यही सिटी एजुकेसन फाउन्डेसनले अप्रिल २०१३ मा एसबीआई बैंकमार्फत उनीहरूले शैक्षिक कार्यक्रमका लागि प्रतिव्यक्ति १७ हजार ५६३ रुपैयाँ बुझाएको विवरण प्राप्त भएको छ । भारतको मेघालय राज्यबाहिर भारतकै अन्य प्रान्तमा अफ क्याम्पस तथा अध्ययन केन्द्र सञ्चालन गर्न अनुमति नपाएको सीएमजेले नेपालको सिटी एजुकेसन फाउन्डेसनमार्फत १६ जना नेपालीले विश्वविद्यालयलाई रकम बुझाएको देखिन्छ । आजको राजधानी दैनिकमा समाचार छ ।