विकासन्युज

भान्छा चलाउन हम्मे, तरकारी पोहोरभन्दा दोब्बर महँगो

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ। गत वर्षमात्र नभएर गत महिना (चैत) सँग तुलनामा गर्दा पनि भाउ अत्याधिक वृद्धि भएको हो। निरन्तर वषात्ले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन्। भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ। गत वर्ष वैशाख अन्तिम साता ९२६ गते० ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा विहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ। गोलभेंडा गत वर्षमात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो। बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ। गोलभेंडामात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ। स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ। गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ। कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ। भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो, तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ। रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ। सबै हरियो तरकारीको मूल्य बढे पनि आलु, प्याज, बन्दाको मूल्य भने यथावत छ। गाजरको मूल्य घटेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

लोकसेवा खुल्ने निश्चित, ११ हजार ४ सय ९२ पदमा विज्ञापन हुँदै

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो । हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ । मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरेको थियो । त्यसरी माग गरेपछि ४ सय ३७ वटा स्थानीय तहले ११ हजार ४ सय ९२ पदको विवरण मन्त्रालयमा पठाएका थिए । स्थानीय तहको मागका आधारमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका पदमा लोकसेवाले अब छिट्टै विज्ञापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिए । ४ सय ३७ बाहेक अन्य स्थानीय तहबाट विवरण नआएकाले थप संख्या भने मन्त्रालयले आयोगमा पठाएको छैन । बाँकी स्थानीय तहबाट विवरण आएमा फेरि थप संख्यामा पदपूर्तिको माग गर्दै आयोग पठाइने मन्त्रालयले जनाएको छ । लोकसेवा आयोगले विज्ञापन गर्दा स्थानीय तहकै लागि भन्दै विज्ञापन गर्नेछ र उत्तीर्ण भएका सबै स्थानीय तहकै कर्मचारीका रूपमा रूपान्तरण हुने आयोगले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ९४ का लागि २ हजार ५ सय ५ पदमा विज्ञापन हुनेछ । यसैगरी, प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहका लागि १ हजार ७ सय ४९, प्रदेश ३ स्थित १ सय १९ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ५ सय २७ पदमा विज्ञापन हुनेछ । त्यसैगरी, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ६ सय, प्रदेश ५ का १ सय ९ स्थानीय तहमध्ये ७३ तहका लागि १ हजार ८ सय ७२, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३५ तहका लागि ८ सय ५५ र सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ५६ वटाका लागि १ हजार ३ सय ८४ पदमा विज्ञापन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल २०१९ उपाधि

काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस ट्यालेन्टको उपाधि प्रदीप्ता अधिकारीले पाइन् भने पपुलर च्वाइसमा रिया बस्नेत परेकी छन् । यस्तै मिस फ्यासिनो अनुष्का श्रेष्ठ भइन् । मिस कन्फिडेन्सको उपाधि निशा पाठकले र ब्युटी विथ प्रपोजको उपाधि निकिता कर्माचार्यले पाए । प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् । अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करण हो । उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

वैदेशिक रोजगारीमा जानेले दोहोरो बिमा गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारका लागि म्यादी जीवन बिमा गर्दै आएका कामदारले अब अनिवार्य रूपमा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा पनि गर्नुपर्ने भएको छ । यससँगै अब वैदेशिक रोजगारीमा जाने कामदारले दोहोरो बिमा गर्नुपर्ने भएको हो । सरकारले स्वास्थ्य बिमा नियमावली जारी गर्दै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गर्न निवेदनसाथ स्वास्थ्य बिमाको परिचयपत्र पनि पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कार्यक्रम लागू नभएका जिल्लाका हकमा भने यो व्यवस्था अनिवार्य छैन । कामदारले दोहोरो बिमा गर्दा झन्झटिलो हुनुका साथै आर्थिक रूपमा पनि भार पर्ने बिमाविज्ञ भोजराज शर्मा बताउँछन् । उनका अनुसार प्रक्रियागत रूपमा पनि २-२ वटा बिमा गर्नु कामदारका लागि अव्यावहारिक हुन्छ । तर, वैदेशिक रोजगार विभागका महानिर्देशिक भीष्मकुमार भुसालले भने दोहोरो व्यवस्थाले समस्या नहुने दाबी गर्छन् । ‘दुईवटा बिमाको अवधारणा फरक-फरक छ,’ उनले भने, ‘स्वास्थ्य बिमाले कामदारको परिवारको रक्षावरण गर्छ । वैदेशिक रोजगार बिमाले कामदारको सुरक्षण गर्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान मार्ने धम्की

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । व्यवसायीलाई अज्ञात नम्बरबाट निरन्तर धम्की आएपछि केही साताअघि नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको थियो । रमेश लागुऔषध कारोबार अभियोग तथा समीरमान र रिगल हत्या अभियोगमा कैद सजाय भोगिरहेका छन् । समीरमानलाई निर्माण व्यवसायी शरद गौचन हत्याको अभियोग पनि लागेको छ । प्रहरीले गौचन हत्यामै संलग्नमध्ये फरार दुई अभियुक्त पनि निर्माण व्यवसायीलाई धम्क्याउने धन्दामा लागेको जनाएको छ । ‘निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएको सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धान रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालमाथि केन्द्रित हुनु स्वाभाविक हो,’ महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘यीबाहेक व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरूको संलग्नताको केही आधार फेला परेका छन् ।’ पक्राउ परेपछि तीनैजनालाई केन्द्रीय कारागारस्थित गोलघरमा राखिएको थियो । उनीहरूले इन्टरनेट फोन प्रयोग गरेर धम्की दिएको भेटिएको प्रहरीले जनाएको छ । कतिपय अवस्थामा कारागारमा उपलब्ध सुविधाको टोलिफोन पनि पनि प्रयोग गरेको देखिएको प्रहरीले जनायो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

होटल अन्नपूर्णकी सिर्जना राणा हानको अध्यक्षमा निर्वाचित, कार्यसमितिमा अरु को को ?

काठमाडौँ । होटल संघ नेपाल(हान)को ४६ औं वार्षिक साधारण सभाले अध्यक्षमा होटल अन्नपूर्णकी सिर्जना राणालाई चयन गरेको छ । संघको साधारण सभाबाट चयन भएको नयाँ कार्यसमिति विहीबार काठमाडौँमा आयोजित एक समारोहका बीच घोषणा गरिएको हो । साधारण सभाले प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रबिनबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका साजन शाक्य र कोषाध्यक्षमा होटल बैशालीका विशालकुमारलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा निर्वमान अध्यक्ष अमरमान शाक्य(अमर होटल), सोल्टी होटलका दिनेशबहादुर विष्ट, ओरियन्टल÷र्याडिशन होटलका बिधाता श्रेष्ठ, होटल हिमालयका दिनेश तुलाधर, होटल शंकरका विनोदशंकर श्रेष्ठ, बाराही रिसोर्टका विप्लब पौडेल, ड्रिमल्याण्ड गोल्ड रिसोर्टका गोपाल राना, शम्बाला होटलका टेस्टेन, होटल कमलका रामकुमार पुरी, होटल क्राउन प्लाजाका युवराज श्रेष्ठ, होटल गणेश हिमालका ठाकुरप्रसाद पोखरेल र होटल याम्बुका राजेन्द्र भट्ट चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको घोषणा सभा कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष राणाले इतिहास मै पहिलो पटक महिलालाई नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा सबै होटल व्यवसायी सदस्यहरुमा धन्यवाद दिइन् । होटल व्यवसायीहरुलाई राज्यले पनि सहयोग गर्नु पर्ने बताउँदै पर्यटनको माध्यमबाट देशको आर्थिक विकासमा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइन् । नेपाल भ्रमण वर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन होटल व्यवसायीहरुले आ–आफ्नो स्थानबाट सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

स्याङजामा एनआईसी एशियाको नयाँ शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले गरेका हुन् । हाल बैंकले कूल २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अब डाक्टरले जस्तै इञ्जिनियरले पनि परीक्षा पास गरेर मात्र लाईसेन्स पाउने

काठमाडौं । अब इञ्जिनियरहरुले पनि लाईसेन्स परीक्षा पास गरेर मात्र काम गर्न पाउने भएका छन् । नेपाल काउन्सिलले ल्याउन लागेको व्यवस्था अनुसार अब डाक्टरहरुले जस्तै लाईसेन्सको लागि परीक्षा दिएर मात्र सम्बन्धित क्षेत्रमा काम गर्न पाउने भएका हुन् । हाल मेडिकल काउन्सिल, नेपाल बार काउन्सिल तथा चार्टर्ड एकाउण्टेन्टहरुलाई नेपाल चार्टर्ड अकाउन्टेन्ट (आईक्यान) संस्था लगायतले मात्रै यसरी परीक्षा लिएर लाईसेन्स दिने व्यवस्था छ । नेपाल इञ्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण नेरौलाले नयाँ व्यवस्थासँगै इञ्जिनियरिङ शिक्षा र कामको गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गरे । ‘हाल नेपालको इञ्जिनियरिङ शिक्षाको अवस्था दयानीय छ, इञ्जिनियरिङ शिक्षा सकेर काममा लागेकाहरुकोउत्पादकत्व राम्रो छैन नयाँ व्यवस्था पछी त्यस्तो अवस्था अन्त्य हुनसक्छ’– अध्यक्ष नेरौलाले भने । मेडिकल काउन्सिलबाट सम्बन्ध प्राप्त गरेपछी मात्रै काम गर्ने व्यवस्थाका कारण नेपालको मेडिकल क्षेत्रलाई दक्षिण एसियामै उत्कृष्ट मानिन्छ । काउन्सिलले उक्त प्रावधान लागु गर्ने भएसँगै नेपाली इञ्जिनियरिङका विद्यार्थी तथा कलेजहरुलाई गुणस्तर सुधारमा थप दबाब पर्ने भएको छ । हाल सम्म काउन्सिलले त्रिभुवन विश्वविद्यालयमा मात्र इञ्जिनियरिङ बिषयमा उत्तीर्ण गरेका वा त्रिबि बाहेक अन्य विश्वविद्यालका विद्यार्थीको हकमा समकक्षता प्रमाण पत्रको सिफारिसको आधारमा लाईसेन्स दिने गर्दै आएको थियो । हाल नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र मध्य पश्चिमाञ्चल विश्वविद्यालयलाई काउन्सिलले मान्यता दिँदै आएको छ। काउन्सिलले यस सँगै भारतको २३३, चिनको ४९, रसियाको ३७, अमेरिकाको ६५, बेलायतको २२ सँगै अन्य धेरै देशबाट इञ्जिनियरिङ पढेर आउनेलाई मान्यता दिँदै आएको छ । यदी कुनै पनि विद्यार्थी पढेको विश्वविद्यालय काउन्सिलको लिस्टिङमा नभएको खण्डमा काउन्सिलको बिषयगत समितिले सिफारिस गरेर बोर्डले पास गरेको अवस्थामा विद्यार्थीले लाईसेन्स पाउने व्यवस्था रहेको छ। नेपालमा हाल ५० हजार रजिस्टर्ड ईन्जिनियर रहेका छन्। नेपाल बाहेक भारत, बाङ्लादेश, चिन, रसियबाट ईन्जिनियरिङ्ग पढेर आउने विद्यार्थीको संख्या बढी रहेको छ। सबै इञ्जिनियरिङ कलेजको एउटै पाठ्यक्रम नेपाल इञ्जिनियरिङ काउन्सिलले सबै विश्वविद्यालयमा एउटै पाठ्यक्रम ल्याउन लागेको काउन्सिलका अध्यक्ष नेरौलालेले बताए । वर्तमान अवस्थामा नेपालका ५ वटा विश्वविद्यालयको आ-आफ्नै पाठ्यक्रम रहेको छ। शिक्षा र सिकाईको प्रणालीको एकरुपतामा ल्याउन यो कदम चाल्न लागेको उनले जानकारी दिए।