विकासन्युज

बौद्ध सडक तत्काल कालोपत्र हुने, आन्दोलन स्थगित

साँखु । लामो समयदेखि अलपत्र चावहिल-साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ । स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ । बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईँले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य आजैदेखि शुरु गर्ने सहमति भएको छ । ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईँ , स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईँले जानकारी दिए । बिहीबार बिहान ८ः३० बजेदेखि शुरु भएको आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो । प्रदर्शनमा उत्रिएका एक दर्जन आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले आन्दोलनलाई दबाउन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । अन्तिममा प्रहरी र स्थानीय जनप्रतिनिधिको विशेष भूमिकामा ठेकेदारलाई नै ल्याएर सहमति गर्ने वातावरण बनेपछि आन्दोलन स्थगित भएको थियो । सहमति ठूलो उपलब्धि भएको भन्दै बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईँले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिएका छन् । त्यस्तै सङ्घकी कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताए । आन्दोलन रोकिएको छैन, सहमतिअनुसार काम नभए पुनः चक्काजाम गर्ने श्रेष्ठले बताए । चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन् । सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र चार लेनको बनाउने योजना ल्यायो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन । रासस

नेपाल एसबिआई बैंकको ४० लाख २३ हजार कित्ता बोनस सूचिकृत

काठमाडौं । नेपाल एसबिआई बैंकको कूल ४० लाख २३ हजार ४५२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । केन्द्रिय कार्यालय हात्तिसारमा रहेको यस बैंकको हालसम्म ८ करोड ४ लाख ६९ हजार ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो ।

१० हजार होटलमा १० खर्बको लगानी, ठूला घरानाको आकर्षण

काठमाडौँ । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । सन् १९५१ मा नयाँ सडकमा ‘हिमालय इन’ नामक होटलबाट शुरु भएको नेपाली होटल उद्योग पाँचतारेदेखि विदेशी ठूला चेन होटलसम्म स्थापना भइसकेका छन् । तत्कालीन राणा शासकले विदेश घुम्न गएका बेला मिठा खाना र कोठालाई सुविधासम्पन्न बनाउन विदेशीलाई सँगै नेपाल लिएर आउँथे । विसं २००७ को राजनीतिक परिवर्तनपछि नेपाल विदेशीका लागि पनि खुला भएपछि आधुनिक होटल निर्माण हुन थाले । नेपालमा तत्कालीन विश्व परिवेश सुहाउँदो होटल सन् १९५३ कान्तिपथस्थित बहादुर भवनमा खुलेको ‘रोयल होटल’ स्वदेशी तथा विदेशीमाझ चर्चित बन्यो । होटल एशोसिएसन अफ नेपाल (हान) को तथ्याङ्कअनुसार मुलुकभर १० हजारभन्दा बढी होटलमा रु १० खर्बको हाराहारीमा लगानी भएको छ । सुविधासम्पन्न तारे होटल धमाधम निर्माण भइरहेका छन् । पछिल्लो चेन होटल मेरियटसहित हाल १४ पाँचतारे होटल सञ्चानमा आइसकेका छन् । अन्य पर्यटकस्तरीय होटल पनि बनिरहेका छन् । हानका प्रथम उपाध्यक्ष विनायक शाहले मुलुकभर साना–ठूला होटल, गेष्ट हाउस, लज र घरबास ‘होमस्टे’ गरी १० हजारभन्दा बढी सञ्चालनमा रहेको जानकारी दिए । उनले अहिलेकै अवस्थामा २५ लाख पाहुनालाई बस्न, खान, मनोरञ्जन तथा सभा सम्मेलनलगायतका सेवा प्रदान गर्न सक्षम रहेको उल्लेख गरे । यस आधारमा सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई होटल क्षेत्रले हालको अवस्थामै परिपूर्ति गर्न सक्ने देखिएको छ । १० लाख बढीलाई रोजगारी एक अध्ययनअनुसार नेपाली होटल उद्योगमा हालको बजार मूल्यका आधारमा हिसाब गर्दा रु १० खर्बभन्दा बढीको लगानी तथा १० लाखभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको हानले ४६ औं वार्षिकोत्सवका अवसरमा जानकारी दिएको छ । विश्व व्यापार सङ्गठनका अनुसार एक विदेशी पर्यटक भित्रँदा ११ ले रोजगारी पाउने बताइन्छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत होटल उद्योगले कूल ग्राहस्थ उत्पादनमा झण्डै तीन प्रतिशत योगदान गरेको छ । राजनीतिक स्थिरतासँगै केन्द्रमा बलियो सरकार तथा प्रदेशिक सरकारले समेत पर्यटन उद्योगलाई विकासको मूल आधारको रुपमा अगाडि बढाएको अवस्थामा होटल उद्योगमा विकास र लगानीको अभूतपूर्व प्रतिष्पर्धा बढेको छ । सात वटै प्रदेशमा नयाँ होटल खुल्दै काठमाडौँ, पोखरा, चितवनकासाथै प्रमुख पर्यटकीय क्षेत्र हिमाली क्षेत्र र सात वटै प्रदेशमा नयाँ होटल खुल्ने क्रममा छन् । काठमाडौँमा मात्र आगामी पाँच वर्षमा दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका होटलले करीब पाँच हजार शैया थप्ने उपाध्यक्ष शाहको भनाई छ । नेपालका सबै प्रमुख व्यापारिक घरानाले होटल क्षेत्रमा लगानी गरी ठूला चेन होटल भित्र्याइरहेका छन् । होटल क्षेत्रको लगानी उत्साहजनक भएपनि सीमित पर्यटकीय पूर्वाधारले लगानीप्रति चिन्तित तुल्याएको भन्दै उहाँले २५ लाख पाहुनाको क्षमता धान्ने होटल अहिले ५५ प्रतिशतमात्र अकुपेन्सी रहेको भन्दै क्षमता बढाउन विमानस्थल, सडक यातायात, स्वच्छ सहरी वातावरणलगायत पर्यटकीय पूर्वाधार विकास हुन नसके चुनौती थपिने खतरा औँल्याए । पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाए पनि पर्यटन आगमनको सुनिश्चितता र पर्यटकीय पूर्वाधार पर्याप्त नहुँदा लगानी डुब्ने पो हो कि भन्ने जोखिम पनि कायमै रहेको होटल व्यवसायीहरु बताउँछन् । हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यले होटलमा लगानीको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए । पर्यटकीय पूर्वाधार विकास विना पर्यटन उद्योगको विकास सम्भवन नरहेको उल्लेख गर्दै उहाँले सात वटै प्रदेशमा पूर्वाधार विकासका साथै पर्यटन तथा होटल व्यवसायका लागि ठूलो लगानी आवश्यक रहेको र त्यसका लागि सरकारले जग्गा लिजमा उपलब्ध गराई बैंकबाट सरल कर्जा उपलब्धताको वातावरण मिलाउन आग्रह गरे । कर छुट दिन सरकारलाई आग्रह ठूला होटललाई एक प्रतिशत कर छुटको व्यवस्था गरी लगानीको प्रोत्साहन गर्न पनि व्यवसायीले आग्रह गरेका छन् । यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जिडिपीमा पर्यटनको हालको ३ दशमलव २ प्रतिशत योगदानलाई बढाउन ‘टुरिजम स्याटेलाइट अकाउन्ट’ सुरु गर्न लागेको जानकारी दिँदै व्यवसायीले उठाएको एक प्रतिशत कर छुटको विषय आर्थिक ऐनसँग सम्बन्धित भएकाले यसलाई समयसापेक्ष बनाइने बताए । उनले पर्यटकीय गतिविधि बढाउन पूर्वाधार विकासका साथै राष्ट्रिय ध्वजाबाहकको क्षमता अभिवृद्धि गरिने उल्लेख गरे । हानका अनुसार सन् २०२० सम्म तारे होटलमा अरु चार हजार शय्या थपिनेछन् । अहिले सञ्चालित होटलका कुल शय्या ३८ हजार हो । सरकारले सन् २०२० भित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पुर्याउने लक्ष्य लिएको छ । वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले ठूला होटलमा लगानीका अवसर र चुनौती दुबै भएपनि अहिलेकै अवस्थामा पूर्वाधारमा जोड नदिइए लगानी जोखिममा पर्न सक्ने औँल्याए । गतवर्ष ११ लाख पर्यटक भित्रिए नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विमागको पछिल्लो विवरण अनुसार सन् २०१९ को दुई महिना जनवरी र फेब्रुअरीमा मात्रै २ लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । रासस

सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस दिने, एनएफआरएस लागू गर्नेमा निर्जीवनतर्फ पहिलाे

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । ८६ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब  १२ लाख २२ हजार ९३४ रुपैयाँ हुनेछ । उक्त बोनस दिने प्रस्ताव वैशाख २६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बाेनसमा लाग्ने कर भने सेयरधनीले बेहाेर्नु पर्नेछ । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई सो मात्राको लाभांश वितरण गरिने छ । एनएफआरएस लागू भएपछि निर्जीवनतर्फ सगरमाथा इन्याेरेन्स कम्पनीले पहिलाे पटक लेखापरिक्षण सम्पन्न गरी बीमा समितिमा प्रतिवेदन पेश गरेकाे छ । बीमा समितिबाट स्वीकृतपछि कम्पनीले साधारणसभा बाेलाउनेछ । बाेनस सेयर दिएर पुँजी १ अर्ब पुर्याउने कम्पनीकाे पूर्व याेजनाअनुसार कम्पनी अगाडि बढ्न सफल भएकाे छ । कम्पनीले अघिल्लाे वर्षकाे नाफा पनि संचित गरी राखेकाे थियाे । उच्चदरकाे लाभांश पाउने भएपछि कम्पनीकाे सेयर मूल्यमा केही वृद्धि देखिएकाे छ । विहीबार यस कम्पनीकाे सेयर प्रतिकित्ता १५३० रूपैयाँमा काराेबार भएकाे छ । निर्जीवन बीमा कम्पनी मध्ये हाल सगरमाथा इन्स्याेरेन्स कम्पनीकाे सेयर मूल्य सबैभन्दा बढी छ । विगत एक वर्षमा कम्पनीकाे सेयर मूल्य न्युनतम १२३१ रूपैयाँ भएकाे छ भने अधिकतम १५३० रूपैयाँ भएकाे छ ।

बजेटको सिद्धान्त र प्राथमिकता: ‘सामाजिक न्याय र उच्च आर्थिक बृद्धिमा केन्द्रित हुने’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सामाजिक न्याय र उच्च आर्थिक वृद्धि सहितको समाजवाद उन्मुख हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटको सिद्धान्त र प्राथमिकताबारे बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका छन् । उनले भने–‘लगानीमैत्री कानुन र संरचना तयार भइरहेका छन् । गरिबी र पछ्यौटेपनमा रहेका वर्ग समूह र समूदायको उत्थान, काम र रोजगारीमा वृद्धि, सबैको लागि सामाजिक सुरक्षा, शिक्षा र स्वाथ्य सेवामा सबैको पहुँच पुर्याउने जस्ता काम अघि बढिरहेको छ ।’ वर्तमान सरकारको एक वर्षको कार्यकालमा आर्थिक तथा सामाजिक पूर्वाधारमा उत्साहजनक उपलब्धि हासिल भएको उनले बताए । अघिल्लो आवमा ६.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आवमा ७ प्रतिशत कायम हुँदै आगामी आवहरुमा अझ उच्च हुने बलियो आधारशिला निर्माण अर्थमन्त्री खतिवडाले बताए ।

आईप्लेक्स मल सञ्चालन हुने, ५० वटा पसल, २ वटा सिनेमा हल

काठमाडौं । नयाँ वानेश्वरमा सुविधा सम्पन्न आईप्लेक्स मल सञ्चालनमाको तयारीमा रहेको छ । ५० भन्दा बढी बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको फुडकोर्ट, युवाहरुलाई मनोरञ्जन प्रदान गर्ने ईभेन्टजोन, कफि बार सहितको मल एक महिना भित्रै सञ्चालन हुने प्रमुख कार्यकारी अधिकृत गणेश ढुंगानाले बताए । काठमाडौँमा किनमेल गर्न सहज हुने ब्यापारिक मलहरु सञ्चालनको क्रम दिन प्रतिदिन बढ्दो छ । यसैक्रममा आईप्लेक्स मल सञ्चालनमा आउन लागेको हो ।

भाषा र संस्कृतिको सही सदुपयोग गर्ने नेपाली धनी बन्छः अध्यक्ष तिमिल्सना

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज’ विषयक सांस्कृतिक गोष्ठीमा भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भाषा र संस्कृतिमा धेरै धनी देश भएको जानकारी दिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको संस्कृति विभाग र अनुसन्धान, उद्यमशीलता एवं दिगो विकास केन्द्र, धनगढीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बल्दै नेपालको प्रकृति, धार्मिक, भाषा र संस्कृतिलाई सही सदुपयोग गर्न सके छिट्टै मुलुक समृद्ध बन्ने धारणा व्यक्त गरे । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले एउटै विषयबस्तुलाई नेपाली, संस्कृत र अंग्रेजी भाषामा प्रकाशन सुरु गरेको त्रैमासिक पत्रिका ‘प्रसङ्ग’ को बिमोचन गरेका थिए । पत्रिका बिमोचन पछि उनले नेपालमा रहेका विभिन्न भाषा, संस्कृतिलाई प्रबद्र्धन गरी विश्वभर चिनाउनुपर्ने बताए । कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक सुभासचन्द्र भण्डारीले संस्कृत भाषाको जगेर्ना, नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र कला, साहित्य, संस्कृतिको क्षेत्रमा योगदान पुग्ने भएकाले यसरी तीन भाषामा पत्रिका प्रकाशन गरिएका छन् । उनले तीन—तीन महिनामा प्रकाशन हुने यो पत्रिकामा कुनै न कुनै विशेष विषयलाई उठान गरिने जानकारी दिए । पत्रिकामा संस्कृत भाषाको सम्पादन डा. रामप्रसाद पौडेलले गरेका छन्, भने अंग्रेजी भाषा सम्पादन डा. देवराज पनेरुले गरेका छन् । कार्यक्रममा पत्रकार मनिषा अवस्थीले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज विषयमा कार्यपत्र प्रस्तुत गरे ।

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो, ६० हजारमा कारोबार

काठमाडौं । शुक्रबार सुन प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ । बिहीबार प्रतितोला ५९हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार ३ सय रुपैयाँ बढेर सो मुल्यमा बिक्री वितरण भईरहेको छ । त्यस्तै तेजावी बिहीबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी सोही मूल्य(७२०)मा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।