टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवानामा छुट दिने, ‘ग्राहकको माग सम्बोधन’
काठमाडौँ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको टेलिकमले जनाएको छ । दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जनाएका छन् ।
कलंकी-कोटेश्वर सडक विस्तारपछि सर्बसाधारणकाे अनुभव, सुविधासँगै सास्तीपनि थपिए
काठमाडौँ । केहीवर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी-कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । चीन सरकारको सहयोगमा ५ वर्षमा निर्माण सम्पन्न भएको सो सडक २०७५ साल माघ १४ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीन सरकारले कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक बिस्तार र निर्माणमा सहयोग गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरेको हो । आठ लेनको कोटेश्वर–कलंकी सडक तीन भागमा बाँडिएको छ । बीचमा चार लेनको एक्सप्रेस वे छ । जहाँ ५० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक छन्, जसमा २० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । त्यसपछि दुवैतर्फ सर्भिस लेन पनि रहेको छ । ट्राफिक जाम कम कलंकी-कोटेश्वर सडक निर्माणसँगै ट्राफिक जाम कम भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले सडक विस्तारपछि ट्राफिक व्यवस्थापन सहज भएको र जाम कमी भएको बताए । दुई वर्षदेखि चक्रपथमा सवारी गुडाईरहेका चालक हरि विष्ट भन्छन्–‘सडक निर्माणपछि जाम कम भएको छ भने यात्रा अवधि पनि छोटो भएको छ ।’ तर साे सडकमा पर्याप्त मात्रामा जेब्राक्रसिङ नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । कोटेश्वर चोक नजिकको जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा भेटिएका रामेछापका घनश्याम गुरुङले ‘पैदल यात्रुका लागि ठाँउ ठाँउमा जेब्राक्रसिङ र आकाश पुल नहुँदा कठिनाई भोग्नु परिरहेको बताए । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुमा मात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बिएन्डबी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त होइन । बालकुमारी क्षेत्रका पैदल यात्रुले सडक पार गर्न कि बीच बाटोमै जोखिम मोलेर दौडिनुपर्छ कि कोटेश्वर वा ग्वार्को पुग्नुपर्छ । यो समस्या पैदल यात्रुको मात्र होइन । सवारी हाँक्नेले पनि बालकुमारीबाट रिङरोड निस्केर विपरीत लेन छिर्न लगभग आधा किलोमिटर पर कोटेश्वर, ग्वार्को वा सातदोबाटो पुग्नुपर्छ । यति फराकिलो सडकका कुनै पनि चोकमा ट्राफिक बत्ती जडान गरिएको छैन । यो सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । कोटेश्वरबाट कलंकी जाँदा कोटेश्वर, ग्वार्को, बिएन्डबी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना र बल्खुमा मात्र बस बिसौनी बनाइएको छ । त्यस्तै, कलंकीबाट कोटेश्वर आउँदा बल्खु, कुसुन्ती, महालक्ष्मीस्थान, सातदोबाटो, बिएन्डबीअगाडि, ग्वार्को, बालकुमारी र कोटेश्वरमा मात्र बस बिसौनी छ । कलंकीमा पनि बस बिसौनी बनाइएको छैन । सवारी क्रस गर्ने ९ स्थान कलंकी–कोटेश्वरको अत्याधुनिक सडकमा सवारी क्रस गर्ने जम्मा ९ वटा स्थान छन् । कोटेश्वरबाट गुडेकाे गाडी ९ सय ७० मिटर कटेपछि बालकुमारी पुलबाट क्रस गर्न मिल्छ । त्यसपछि १ हजार २ सय ४ मिटर दुरीमा ग्वार्कोमा क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ४९ मिटर गुडेकाे सातदोबाटोमा मात्र क्रस गर्न मिल्छ । त्यहाँबाट २ सय ४० मिटरमै पर्ने चापागाउँ दोबाटोमा क्रस गर्ने ठाउँ बनाइएको छ । चापागाउँ दोबाटोबाट ५ सय ७४ मिटर दुरीमा महालक्ष्मीस्थानमा बाटो क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ६० मिटरपछि एकान्तकुना र २ हजार १ सय ९१ मिटरपछि सानेपामा क्रस गर्न पाइन्छ । त्यसपछि ३ सय २९ मिटर अगाडि गएपछि बल्खु र २ हजार ३६ मिटर अगाडि गएपछि कलंकीबाट मात्र क्रस गर्न पाइन्छ । कोटेश्वर, बिएन्डबी र बागडोलमा राखिएका आकाशे पुल बनेको छ तर प्रयोग गर्ने त्यतिधेरै देखिदैनन् । यी पुल मान्छेको बढी भीड हुने ठाउँ र चोकबाट धेरै टाढा देखिन्छ । बस्ती, चाेक र दुरी सन्तुलन मिलाइ जेब्राक्रस, पुल, बस स्टेशन मिलाएकाे भए सर्बसाधारणलाइ यात्रा गर्दा थप सहज हुने थियाे ।
मकवानपुरमा लिफ्ट सहितको १७ तल्ले भ्यूटावर बन्दै, बैशाखदेखि सञ्चालन हुने
काठमाडौं । मकवानपुर जिल्लामा लिफ्ट सहितको १७ तल्ले भ्यू टावर बन्ने भएको छ । हेटौँडाका व्यवसायी राजाराम बोगटीले उक्त भ्यू टावर बनाउन लागेका हुन् । मकवानपुरको गढी गाउँपालिकाको वडा नम्बर ४ को मनकामनाको मन्दिरसँगै ‘स्काइ टच’ भ्यूटावर बन्न लागेको हो । यो भ्यूटावर १५ करोड रुपैयाँको लागतमा बनाउन लागिएको व्यवसायी बोगटीले बताए । भ्यूटावर २०७७ साल बैशाखदेखि सञ्चालन हुने गरी निर्माण कार्य शुरु गरिएको छ। भ्यूटावर फलामको बन्ने भएकाले बैशाखमा नै सञ्चालन हुने उनले बताए । स्काइ भ्यूटावर ५० मिटर अग्लो बन्ने छ । लिफ्टमा एक पटकमा ६ जनाले भ्यूटावर चढ्न सक्नेछन् । टावर माथिबाट ३० जनासम्मले हेटौँडा बजार लगाएतका ठाउँमा अबलोकन गर्न सक्ने छन् । लगानीकर्ता बोगटीले नेपालमा नै पहिलो पटक लिफ्ट सहितको १५ तल्ले स्काई भ्यूटावर निर्माण कार्य सुरु भएको बताए । टावर निर्माणपछि गढी गाउँपालिकामा पर्यटकहरुलाई आकर्षण गर्नेछ । भ्यूटावर सँगसँगै सो क्षेत्रमा होटल र लजपनि निर्माण गर्ने बोगटीले बताए । गढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाले निर्माण हुन लागेको भ्यूटावरले पर्यटक आकर्षण गर्ने बताए । अहिले मनकामना मन्दिर अवलोकनका लागि प्रति महिना १५ सयदेखि २ हजारको हजारको हाराहारीमा पर्यटक आउने गरेको छन्, भ्यूटावर सञ्चालनमा आएपछि पर्यटक आगमनमा वृद्धि हुनेछ-उनले बताए ।
बाह्रौ गणतन्त्र दिवस तश्विरमा यस्तो देखियो(फोटो फिचर)
काठमाडौँ । जेठ १५ गते १२ औं गणतन्त्र दिवस संघीय राजधानी काठमाडौं सहित देशका विभिन्न स्थानमा प्रभातफेरि, अन्तरक्रिया, खेलकुद जस्ता कार्यक्रम गरी मनाइदै छ । केही तश्विरमा हेरौँ गणतन्त्र दिवसको झलक: तश्विरः रासस
सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवम् महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बर्दिवासमा नेपाल बैङ्क लिमिटेडको शाखा स्थापना
काठमाडौँ । नेपाल बैंक लिमिटेडले महोत्तरी जिल्लाको वर्दिवासमा शाखा स्थापना गरेको छ । उक्त शाखाको शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय अभिवृध्दिमा योगदान बढाउन बैकलाई आग्रह गरे । नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बैकले उपलव्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे । उक्त कार्यक्रममा वर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र स्थानीय व्यवसायी रामकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रदेश २ को बैंकको प्रादेशिक कार्यालय प्रमुख प्रतिभा डंगोलको अध्यक्षतामा सम्पन्न उक्त समुद्घाटन समारोहमा प्रदेश नम्बर २ उच्च अदालतका न्यायाधीश सीताराम मण्डल, वर्दिवास न.पा वडा नम्बर १४ का अध्यक्ष भरत हमाल लगायत उद्यमी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
लक्ष्मी बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लक्ष्मी बैंक लिमिटेडले देशभर रहेका आफ्ना १०६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म २७ वटा शाखाहरूतथा उपशाखा कार्यालयहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ। सम्झौतामा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाह र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
विकासन्युजको सम्पादकमा मेनुका कार्की
काठमाडौं । विकासन्युज डटकमको सम्पादकमा मेनुका कार्की नियुक्त भएकी छिन् । उनले जेठ १५ गतेबाट जिम्मेवारी सम्हालेकी छिन् । समाजशास्त्रमा स्नाकोत्तर, अर्थशास्त्र र गणितमा स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेकी कार्कीसँग नागरिक न्यूज, अन्नपूर्ण पोष्ट, अभियान लगायत विभिन्न मिडियामा डेढ दशकभन्दा बढी अवधि पत्रकारिता गरेको अनुभव छ । कार्कीले विकासन्युजमा राम्रो टिम रहेको र त्यो टिमको सहयोगमा यस मिडियालाई अझ प्रभावकारी बनाउन सकिने विश्वास आफूले लिएको बताइन् । ‘मैले हासिल गरेको ज्ञान र अनुभवले विकासन्युजलाई थप गति दिन सक्छु भन्ने विश्वास छ । तपाईहरु सबैको सहयोगको अपेक्षा गरेको छु’ उनले भनिन् । सम्पादक कार्कीकाे नेतृत्वमा विकासन्युजले नयाँ उचाई प्राप्त गर्ने विश्वास विकास मिडियाले लिएको छ । ‘विकासन्युजको पाठक, यसको नेटवर्क, उपस्थिति, प्रभाव लगायत हरेक सूचाङ्कहरुको वृद्धिदर राम्रो छ । यो वृद्धिदरलाई अझ उच्च बनाउन नयाँ सम्पादकको नेतृत्व सफल रहने विश्वास लिएको छु’ विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले भने ।