
काठमाडौँ । केहीवर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी-कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् ।
चीन सरकारको सहयोगमा ५ वर्षमा निर्माण सम्पन्न भएको सो सडक २०७५ साल माघ १४ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीन सरकारले कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक बिस्तार र निर्माणमा सहयोग गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरेको हो ।
आठ लेनको कोटेश्वर–कलंकी सडक तीन भागमा बाँडिएको छ । बीचमा चार लेनको एक्सप्रेस वे छ । जहाँ ५० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक छन्, जसमा २० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । त्यसपछि दुवैतर्फ सर्भिस लेन पनि रहेको छ ।
ट्राफिक जाम कम
कलंकी-कोटेश्वर सडक निर्माणसँगै ट्राफिक जाम कम भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले सडक विस्तारपछि ट्राफिक व्यवस्थापन सहज भएको र जाम कमी भएको बताए । दुई वर्षदेखि चक्रपथमा सवारी गुडाईरहेका चालक हरि विष्ट भन्छन्–‘सडक निर्माणपछि जाम कम भएको छ भने यात्रा अवधि पनि छोटो भएको छ ।’
तर साे सडकमा पर्याप्त मात्रामा जेब्राक्रसिङ नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । कोटेश्वर चोक नजिकको जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा भेटिएका रामेछापका घनश्याम गुरुङले ‘पैदल यात्रुका लागि ठाँउ ठाँउमा जेब्राक्रसिङ र आकाश पुल नहुँदा कठिनाई भोग्नु परिरहेको बताए । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुमा मात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बिएन्डबी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त होइन ।
बालकुमारी क्षेत्रका पैदल यात्रुले सडक पार गर्न कि बीच बाटोमै जोखिम मोलेर दौडिनुपर्छ कि कोटेश्वर वा ग्वार्को पुग्नुपर्छ । यो समस्या पैदल यात्रुको मात्र होइन । सवारी हाँक्नेले पनि बालकुमारीबाट रिङरोड निस्केर विपरीत लेन छिर्न लगभग आधा किलोमिटर पर कोटेश्वर, ग्वार्को वा सातदोबाटो पुग्नुपर्छ ।
यति फराकिलो सडकका कुनै पनि चोकमा ट्राफिक बत्ती जडान गरिएको छैन । यो सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । कोटेश्वरबाट कलंकी जाँदा कोटेश्वर, ग्वार्को, बिएन्डबी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना र बल्खुमा मात्र बस बिसौनी बनाइएको छ । त्यस्तै, कलंकीबाट कोटेश्वर आउँदा बल्खु, कुसुन्ती, महालक्ष्मीस्थान, सातदोबाटो, बिएन्डबीअगाडि, ग्वार्को, बालकुमारी र कोटेश्वरमा मात्र बस बिसौनी छ । कलंकीमा पनि बस बिसौनी बनाइएको छैन ।
सवारी क्रस गर्ने ९ स्थान
कलंकी–कोटेश्वरको अत्याधुनिक सडकमा सवारी क्रस गर्ने जम्मा ९ वटा स्थान छन् । कोटेश्वरबाट गुडेकाे गाडी ९ सय ७० मिटर कटेपछि बालकुमारी पुलबाट क्रस गर्न मिल्छ । त्यसपछि १ हजार २ सय ४ मिटर दुरीमा ग्वार्कोमा क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ४९ मिटर गुडेकाे सातदोबाटोमा मात्र क्रस गर्न मिल्छ । त्यहाँबाट २ सय ४० मिटरमै पर्ने चापागाउँ दोबाटोमा क्रस गर्ने ठाउँ बनाइएको छ ।
चापागाउँ दोबाटोबाट ५ सय ७४ मिटर दुरीमा महालक्ष्मीस्थानमा बाटो क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ६० मिटरपछि एकान्तकुना र २ हजार १ सय ९१ मिटरपछि सानेपामा क्रस गर्न पाइन्छ । त्यसपछि ३ सय २९ मिटर अगाडि गएपछि बल्खु र २ हजार ३६ मिटर अगाडि गएपछि कलंकीबाट मात्र क्रस गर्न पाइन्छ ।
कोटेश्वर, बिएन्डबी र बागडोलमा राखिएका आकाशे पुल बनेको छ तर प्रयोग गर्ने त्यतिधेरै देखिदैनन् । यी पुल मान्छेको बढी भीड हुने ठाउँ र चोकबाट धेरै टाढा देखिन्छ । बस्ती, चाेक र दुरी सन्तुलन मिलाइ जेब्राक्रस, पुल, बस स्टेशन मिलाएकाे भए सर्बसाधारणलाइ यात्रा गर्दा थप सहज हुने थियाे ।