‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, मनोनयन सूची सार्वजनिक

काठमाडौं । नेपालमै पहिलो पटक कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ ।  

स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमवार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गर्न लागेको यो अवार्डका लागि विभिन्न दश विधामा मनोनयन सूची सार्वजनिक गरिएको हो ।

आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना गर्न लागिएको हो ।

नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको प्रस्तुतिमा आयोजना हुन लागेको हो । 

क्रिएट, इन्स्फायर, इम्प्याक्ट भन्ने नारासहित आयोजना हुन लागेको यो अवार्डका लागि करिब तीन महिनाको अवधि राखेर आवेदन आह्वान गरिएको थियो ।

अवार्ड समारोहका क्रिएटिभ हेड विक्रमादित्य शाहका अनुसार देशभरीबाट करिव २२ सय भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यो प्रतियोगितामा सहभागिता जनाउन आफ्ना कन्टेन्टहरु उपलब्ध गराएका थिए ।

ती मध्ये आयोजक संस्थाले १ सय २२ वटा उत्कृष्ट कन्टेन्टहरु निर्णायकसमक्ष प्रस्तुत गरेको थियो । निर्णायकहरुको मूल्यांकनपछि मनोनयन सूचि तयार पारिएको हो । 

अवार्ड समारोहमा १० विधामा अवार्ड वितरण गरिने आयोजक संस्थाका पब्लिक रिलेशन अफिसर राजु जंग बस्नेतले जानकारी दिएका छन् ।  प्रतियोगिताको मूल्याङ्कनका लागि विभिन्न क्षेत्रका अनुभवी चार जना निर्णायक  रहेका छन् ।

निर्णायकहरूमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् । आयोजक संस्थाले जनाए अनुसार यो कार्यक्रमले नेपालमा डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नयाँ प्रतिभाहरूलाई अघि बढ्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ ।

सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा बढिरहेका बेला कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले ल्याइएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो प्रकारको अवार्ड कार्यक्रमका रूपमा रहेको आयोजकको दावी छ ।

आयोजक संस्थाका निर्देशक सुरज गराजका अनुसार मनोनयनमा पर्न सफल दश वटै इन्फ्ल्न्सरहरुले अब आफ्नो विधा अनुसार भिडियो बनाउनु पर्नेछ । त्यसपछि ती भिडियोको निर्णायकहरुद्वारा गरिने मूल्यांकन तथा पब्लिक भोटका आधारमा हरेक विधाबाट एक जना विजयी बन्ने छन् । 

यसैबीच, देशमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूप्रति ऐक्यवद्धता जनाउँदै ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को आयोजक संस्था स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

‘रकम ठूलो नहोला, तर विपद्को समयमा गरिएको हरेक सानो सहयोगले पनि ठूलो अर्थ राख्छ भन्ने हाम्रो विश्वास छ, संस्थाका निर्देशक सुरज गराचले भनेका छन् । खल्ती इन्फ्ल्यून्सर अवार्डको अवसर पारेर सुरज गराच यसराज, विक्रमादित्य शाह तथा राजु जंग बस्नेतले संयुक्त रूपमा उक्त सहयोग गरेका हुन् । 

Share News