काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।
भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौँसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो ।
भोटेकोशी बाढीअघि पनि काठमाडौंमा ग्यासको अभाव थियो । सरकारले ग्यासको अभाव नरहेको दाबी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन् ।
ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन् । कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहेका व्यवसायी शङ्करकुमार श्रेष्ठका अनुसार माग अत्यधिक भए पनि दैनिक करिब १ सय ५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ ।
उनले भने, ‘हामीले दैनिक १५० वटा र अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वटा गरी कुल १६० वटासम्म ग्यास सिलिण्डर वितरण गरिरहेका छौँ ।’
उनले भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। जडीबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो गरे । सोमबार बिहान ८ बजेदेखि नै ग्यास पाउने आशामा लाइनमा बसेको उनले बताए ।
उनले भने, ‘काम छोडेर बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु। चुल्हो बाल्नै पर्ने बाध्यताले गर्दा कामको क्षति सहेर पनि यहाँ आउनुपरेको छ ।’
उपभोक्ताहरूका अनुसार बजारमा ग्यासको अभाव व्यापक छ र स्थानीय डिपोहरूमा ग्यास पुग्न सकेको छैन ।
‘सम्बद्ध निकायले ग्यास पठाइरहेको बताए पनि डिपोहरूमा ग्यास आइपुगेको छैन । डिपोमै ग्यास नभएपछि हामीले दुःख पाउनु स्वाभाविक हो,’ अर्का एक उपभोक्ताले आक्रोश व्यक्त गरे ।
रसुवामा आएको बाढीअघि नै सुरु भएको ग्यासको समस्या सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाइका कारण थप जटिल बनेको हो । आपूर्ति सहज नहुँदा र मागअनुसारको सिलिण्डर उपलब्ध हुन नसक्दा सर्वसाधारणहरूले दैनिक काम छाडेर ग्यासको खोजीमा भौँतारिनुपरेको छ ।