ताप्लेजुङको मेरिङदेनमा एनसीसी बैंकको नयाँ शाखा
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँ पालिका, वडा नं. २ सानथाक्रामा विहीबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ । मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकद्वारा व्यवसायिक साक्षरता तालिम सम्पन्न
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले ‘आजको आवश्यकता,ग्राहकहरुमाव्यवसायिक साक्षरता’ तालिम काठमाडौँमा सम्पन्न गरेको छ । व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरिकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशीलता लगायतको विषय बस्तुहरु समावेश गरिएको थियो । उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागिता रहेको थियो । बैंकले आयोजना गरेको यस तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाडौँबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंक लि.ले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुलाई जुन व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसा योग्य रहेको साथै तालिम अति महत्वपुर्ण रहेको धारणा व्यक्त गरेका थिए ।
आइतबार सार्वजनिक विदा
काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि सरकारले आइतबार उपत्यकामा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबार उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको हो । सरकारले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको थियो । उपत्यकाका नेवार जातिहरुका लागि बिशेष महत्व राख्ने रातो मच्छिन्द्र नाथको जात्रा देखाउने कार्यक्रममा पनि सरकारले विदा दिने निर्णय गरेको हो ।
कान्ति लोकपथको चिल्लो सडकमा ३ महिनापछि गाडी सरर (फोटो फिचरसहित)
काठमाडौँ । ६३ वर्ष भयो कान्ति राजपथको चर्चा हुन लागेको । ६० वर्ष अघि नै ट्रयाक खोलिएको पनि हो । तर यत्तिका वर्षसम्म सहजरुपमा गाडी चल्न सकेको थिएन । देशमा लोकतन्त्र आएपछि नाम परिवर्तन भएर कान्ति लोकपथ भन्न थालियो । लोकतन्त्र आएको पनि १३ वर्ष भयो । देशमा लोकतन्त्र आएसँग नाम फेरिएको कान्ति लोकपथको निर्माण अब भने अन्तिम चरणमा पुगेको छ । आगामी असोज महिनादेखि सो लोकपथको चिल्लो कालोपत्र सडकमा साना र ठूला सवारीका साधन(बस र मालबाहक ट्रक) सञ्चालन हुने भएको छ । २०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भएपनि विस्फोटक पदार्थको अभावले गर्दा तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको कान्ति लोकपथ आयोजनाले जनाएको छ । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीकाभैरवसम्म यो सडकको लम्बाई ७९ किमि छ । त्यसैगरी टीकाभैरवदेखि ललितपुरको सातदोबाटोसम्मको दूरी ११ किलो मिटर छ । बुद्धचोकदेखि टीकाभैरवसम्म कान्ति लोकपथ आयोजना र टीकाभैरवदेखि सातदोबाटोसम्म काठमाडौँ सडक बिस्तार आयोजना र डिभिजन सडक कार्यालयले कालोपत्रे गर्ने काम गर्दैै आएका छन् । कान्ति लोकपथ आयोजनाका इञ्जिनियर एवम् सूचना अधिकारी अमिन्द्र खड्काका अनुसार हेटौंडाबाट नारायणगढ–मुग्लिन–नागढुंगासम्मको दूरी २ सय १२ किमि छ । यता, हेटौँडा–टीकाभैरव–सातदोबाटोसम्मको जम्मा ९० किमि मात्रै छ । यसकारण कान्ति लोकपथ निर्माणपछि हेटौँडाबाट काठमाडौँ उपत्यका प्रवेश गर्न १३२ किलो बाटो छोटो पर्नेछ । हेटौँडा–नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ प्रवेश गर्ने बाटोमा जस्तै कान्ति लोकपथमापनि पहिरोको जोखिम रहेको छ । कान्ति लोकपथको तीनपाने, नयाँगाउँ, छपेली, काल्भेवी, सिमात र मकवानपुर गढी लगायतका क्षेत्रमा भने पहिरोको जोखिम हुने देखिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना कान्ति लोकपथको कूल ९० किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ३९ किलोमिटर पर्छ । वि.स.०१३ मा शुरु भएको आयोजनाको ट्रयाक ०१६ मा खोलिएको थियो । पहिलो संविधानसभा चुनावपछि लोकपथ स्तरोन्नतिको बहस चलेको थियो । ०६४ मा साढे पाँच मिटर चौडाइ बनाउने योजनासहित स्तरोन्नतिको काम अघि बढेको थियो । ०६७ मा चौडाइ सात मिटर पुर्याउने योजना बनेको पाइन्छ । आर्थिक वर्ष ०७१/७२ मा कान्ति लोकपथ बहुवर्षीय योजनामा परेपछि सडकको चौडाइ साढे आठ मिटर बनाउने गरी योजना अगाडि बढेको हो । सरकारले कान्ति लोकपथको स्तरोन्नति गर्न तीन अर्ब ३५ करोड विनियोजन गरेकोमा अहिलेसम्म दुई अर्ब १५ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नति हुँदै, सयौँ गाडी ओहोरदोहोर उक्त सडकमा अहिले तीब्र गतिमा काम भइरहेको देखिन्छ । कान्ति लोकपथको बारेमा जानेका/सुनेकाहरु अहिलेपनि उक्त बाटो भएर काठमाडौँ ओहोर दोहोर गरिरहेका भेटिन्छन् । ठाउँ ठाउँमा काम भइरहेको छ, अहिले नै यात्रा गर्नु सास्तीपूर्ण रहेछ–काठमाडौँबाट हेटौँडा जाँदै गरेका एक यात्री उदय रिजालले भने । बाटो अप्ठ्यारो भएपनि उक्त बाटो भएर अहिलपनि सयौँ साना तथा हल्का सवारीका साधन चल्दै आएका छन् । शब्द/तश्वीरः खेम बोलखे/विकासन्युज
वित्तीय जागरणविना विकास सम्भव छैनः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय जागरणविना विकास सम्भव नहुने बताएका छन् । स्याङ्जाको वालिङमा दुईदिने बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् । गभर्नर डा. नेपालले युवापुस्तालाई देशमै आकर्षित गर्न कानूनमा सहजता र करमा सहुलियत दिनुपर्ने उल्लेख गर्दै युवालाई अब जागिरको पछाडि दौडाउने होइन, उनीहरुलाई उद्यमशीलता र व्यावसायिकतातिर लगाउनुपर्ने आवश्यकता छ भनेका छन् । उनले नेपालीहरु अझै पनि उर्वर भूमिको प्रयोग नगरी भारतबाट आयात गरेर तरकारी, फलफूल तथा खाद्यान्नको प्रयोग गर्नुले देशको अर्थतन्त्रमाथि नकारात्मक असर परेको बताए । वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सरकारी कर्मचारीले कुन दफा लगाएर उद्योगीलाई कस्न सकिन्छ भन्ने सोचका साथ दुःख दिने गरेकाले पनि देशमा कलकारखाना र उद्योगधन्दाको विकास हुन नसकेको बताएका छन् । त्यसैगरी, वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बैंकिङ क्षेत्रले उद्योगी र किसानलाई सहज र सरलरुपमा कर्जा पाउने वातावरणको सिर्जना नगरेसम्म मुलुकलाई आत्मनिर्भर समृद्धि बनाउने कुरा नारामै सीमित हुने धारणा व्यक्त गरेका छन् । ग्रामीण अर्थतन्त्रको विकास र लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यले मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवर्धन, बीमा समिति र वालिङ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उक्त एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा वालिङ नगरपालिकाभित्र रहेका २२ बैंक तथा वित्तीय संस्था सहभागी छन् । एक्स्पोमा उद्यमशीलताका बारेमा बहस, वित्तीय साक्षरतासम्बन्धी विशेष अन्र्र्तक्रिया गरिने बताइएको छ । रासस
नवीकरण नगराएका निजी स्वास्थ्य संस्थालाई सात दिनभित्र बन्द गर्न निर्देशन
काठमाडौं । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिएका छन । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए । नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा सोनलले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिए मात्र शहीदको सपना पूरा हुने भएकाले त्यहीअनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताएका हुन् । यसरी आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस
काष्ठमण्डप पुनःनिर्माण पुरानै स्वरुपमा, कामपाले दियो रु ५ करोड ५० लाख
काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी तीव्ररुपमा थालिएको उक्त कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेशे शाक्यले बताएका छन् । शाक्यले भने, “निर्माणको समयमा समितिले लिएको लक्ष्यअनुरुप नै काम भइरहेको हुनाले निर्धारित समयमा नै सकिनेछ ।” अध्यक्ष शाक्यका अनुसार २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गरिनेछ । यसरी, गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । निर्माणका लागि यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम सहित चार थाम उठाइएको थियो । प्रयोग गरिएका उक्त चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ । कामपाले पुनःनिर्माण समितिलाई हालसम्म पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ । काष्ठमण्डपलाई प्राचीनस्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुने छैन । आठ फिटभन्दामाथिका एक हजार २५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा, माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्णरुपमा क्षति पुगेको थियो । अघिल्लो वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिएको थियो । क्षमा पूजा कुनै पनि काम गर्दाको अवधिमा कुनै पनि किसिमको बाधा अवरोध नआओस् भनेर गरिने कार्य हो । रासस
जापानमा राष्ट्रिय ध्वजा वाहक उडाउने योजनाः भुतले खाजा खाने समय रोजेपछि अड्कियो
काठमाडौं । घोषित कार्यतालिका अनुसार हुन्थ्यो भने जुलाई ४ अर्थात असार १९ गते राष्ट्रिय ध्वजा फहराउँदै नेपाल बायुसेवा निगमको २७४ सिट क्षमताको ए ३३० जहाजले जापानी आकाश चुम्दै ओशाका विमानस्थलसम्म उडान भर्ने थियो । तर ‘भुतले खाजा खाने समय’ रोजिएपछि तत्कालका लागि जापान उडान सरेको छ । नेपाल बायु सेवा निगमले अगष्ट २९ तारिख अर्थात भदौ १२ गते जापानको ओशााका विमानस्थलमा पहिलो उडान भर्नेछ । ‘हामीलाई जापान उडानको अनुमति चाँडै चाहिएको थियो, अनुमति माग्यौं र पायौं पनि तर भुतले खाजा खाने समयमा परेछ, यात्रु नै नपाएपछि घाटाको व्यापार गर्न चाहेनौं, त्यसैले उडान अलि पर सारेका हौं’, निगमका प्रवक्ता नवराज कोइरालाले विकासन्युजसँग भने । निगमले जापानको ओशाकामा उडान भर्नका लागि मे ७ तारिख(२०७६ बैशाख २४) गते अनुमति पाएको थियो । निगमले मे १२ अर्थात बैशाख २९ तारिखदेखि नै टिकट बुकिङ खुल्ला गरेको थियो । तर एउटा उडानमा ३/४ जनाले मात्रै टिकट बुकिङ गराए । ‘५० जना यात्रुले मात्रै टिकट काटेका भए पनि समयमै ओशाका जाने थियौं तर प्रत्येक फ्लाइटमा ३/४ जनाले मात्रै टिकट बुकिङ गरे, त्यसकारण अहिलेका लागि उडान अलि पर सार्नुको विकल्प रहेन’, प्रवक्ता कोइरालाले भने । निगमले मंगलबार, बिहिबार र शनिबार गरि सातामा ३ वटा उडान भर्न पाउने गरि अनुमति पाएको छ । तर नेपालबाट पढ्न जाने विद्यार्थीहरुको पुरानो सिजन सकिएको र नयाँ सिजन सुरु नभएको तथा जापानीहरु घुम्न जाने समय समेत घर्किएपछि निगमको जहाजले यात्रु नपाएको हो । नेपालबाट ओशाका पुग्न ६.५ घण्टा उडान भर्नुपर्छ भने फर्कँदा ७.२० घण्टा लाग्छ । दुई तर्फी उडानमा ८० टन इन्धन खर्च हुने अनुमान गरिएको छ । २७४ जना यात्रु बोकेर एक उडान(दुई तर्फी) भर्दा करिब ४० लाख हाराहारी नाफा निस्कने प्रारम्भिक प्रक्षेपण गरिएको छ । एक उडानका लागि करिब ८० टन इन्धन खपत हुनेछ । निगमले जापानका लागि दुई तर्फी भाडा न्युनतम ७० हजार तोकेको छ । निगमले अप्रिल महिनामै ओशाका उडान गर्ने तयारी गरेको थियो तर जापानबाट अनुमति लिन ढिलाई भएपछि जुलाई ४ गतेका लागि उडान तालिका निर्धारण गरेको थियो । जापानमा ५ सय प्रतिनिधी मार्फत टिकेट बिक्रिवितरण गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले ओशाकापछि टोकियो पनि उडान भर्ने तयारी पनि अघि बढाईसकेको छ । हाल निगमसँग ए३३० जहाज २ वटा र ए ३२० जहाज २ वटा रहेका छन् । यी जहाजहरुबाट भारतको दिल्ली, बैंगलोर र मुम्बईमा उडान भरिरहेका छन् । त्यस बाहेक मलेसियाको क्वालालम्पुर, हङकङ, बैंकक, दुबई र दोहा उडान भरिरहेका छन् ।