पूँजीगत लाभकरको बम्पर उपहारले तानेन लगानीकर्तालाई, किन फर्किएन कन्फिडेण्ट ?

<p>काठमाडौ । बजेटले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर २.५ प्रतिशतले घटायो । यस अघि ७.५ प्रतिशत रहेको करको दर अहिले जम्मा ५ प्रतिशतमा सिमित छ । सेयर बजार प्रति अनुदार मानिएको अर्थमन्त्रीले गरेको यो व्यवस्थालाई ‘बम्पर उपहार’ मानिएको थियो । तर बजेट आएपछि पनि सेयर बजार ओरालो लाग्ने क्रम भने रोकिएको छैन । बजार [&hellip;]</p>

काठमाडौ । बजेटले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर २.५ प्रतिशतले घटायो । यस अघि ७.५ प्रतिशत रहेको करको दर अहिले जम्मा ५ प्रतिशतमा सिमित छ । सेयर बजार प्रति अनुदार मानिएको अर्थमन्त्रीले गरेको यो व्यवस्थालाई ‘बम्पर उपहार’ मानिएको थियो । तर बजेट आएपछि पनि सेयर बजार ओरालो लाग्ने क्रम भने रोकिएको छैन । बजार प्रति लगानीकर्तामा अझै पनि कन्फिडेन्ट बढ्न नसकेको स्पष्टै देखिन्छ ।

बजेट पछिको ६ दिने कारोबारमा एकदिन बाहेक सेयर बजार हरेक दिन घटेको छ । सो ६ कारोबार दिनमा बजार २९.२९ अंकले घटेको हो । बजेट भाषणका दिन नेप्से परिसूचक १३ सय १३ दशमलव ८८ बिन्दुमा रहेको थियो । बजेट आएको भोलिपल्ट अर्थात जेठ १६ गते बजारमा सामान्य वृद्धि भई बिहीबार १३ सय १९ दशमलब ४७ बिन्दुमा पुग्यो । त्यसपछि बजारमा निरन्तर गिरावट आईरहेको छ । जेठ १९ आईतबार बजार १३ सय ५ दशमलव ६८ बिन्दुमा झर्यो । सोही क्रमलाई निरन्तरता दिँदै नेप्से परिसूचक सोमबार २० गते १२ सय ९२.८४ बिन्दु कायम भयो । मंगलबार २१ गते १२ सय ८९.२८ बिन्दुमा झर्यो । सेयर कारोबार हुने साताको अन्तिम दिन जेठ २३ गते बिहिबार नेप्से परिसूचक १२ सय ८४.५९ बिन्दुमा आई पुगेको छ ।

किन बढेन कन्फिडेण्ट ?

अनामनगरस्थित आर्यतारा सेक्यूरिटीजमा भेटिएका लगानीकर्ता अमृत बञ्जाडे भन्छन् –‘अहिले सेयर बजार बढ्न नसक्नुमा लगानीकर्तालाई इन्ट्रेस्ट रेटले समस्यामा पारेको छ ।’ बञ्जाडेले बजारमा नयाँ लगानीकर्ता प्रवेश नभएका कारण पनि बजार बढ्न नसकेको बताए । उनले प्रशस्त पूँजी भएका लगानीकर्ताले त्यसको प्रयोग नगरेकाले बजारमा असर परिरहेको जोड दिएका छन् । साथै, उनले बजारमा सेयरका लागि लगानीकर्ताको डिमान्डमा कमी रहेकोमा प्रकाश पारे । वित्तीय संस्थाहरुको नाफा वृद्धि भएमा त्यसको प्रभाव प्रत्यक्ष रुपमा सेयर बजारमा पर्ने उनको तर्क छ ।

कालिका सेक्यूरिटीजमा भेटिएका लगानीकर्ता निर्मल न्यौपाने भन्छन्-‘बजेटले बिग मर्जरको बाटो खोलेको भएपनि अब हामीले मौद्रिक नीतिले त्यसलाई कसरी लैजान्छ भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन् ।’ उनले बजेटले नै सेयर बजारलाई प्रभाव पारेको कुरा केही हदसम्म मात्र मिल्ने तर्क दिएका छन् । क्रिष्टल कञ्चनजंगामा भेटिएका लगानीकर्ता ऋषिराम खनालका अनुसार करको बारेमा लगानीकर्ता ठूलो दुविधामा रहेका कारण बजार बढ्न सकेको छैन । खनालले भने-‘साढे सात बाट ५ प्रतिशतमा कायम गरिएको कर अन्तिम कर हो भन्ने कुरामा लगानीकर्तालाई ठूलो दुविधा रहेको छ ।’ खनालले आगामी दिनमा सरकारले अर्को किसिमको कर थप्न सक्ने हो की भन्ने अन्योलमा लगानीकर्ता गुज्रीरहेको बताए । उनले बजेट आउँने बेलाका उत्साहहरु त्यसको कार्यान्वयनका पक्षले निराशामा बदल्ने गरेको बताए ।

यस्तै, बजारमा लिक्वीडिटीको फ्लो हुन आवश्यक रहेको बताएका छन् । हाल सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताले समेत नपाई रहेको अवस्था छ । सो सन्दर्भ भने बैंक र पैसासँग जोडिने लगानीकर्ताले बताएका छन् ।

बम्परले पनि हटाएन त्रास

बजेटले पुँजीगत लाभकर घटाएको भएपनि त्यसलाई नै अन्तिम करका रुपमा गणना गर्ने सुनिश्तिता नहुँदासम्म लगानीकर्तामा त्रास कायमै छ । सरकारले वर्षभरीको सेयर कारोबारबाट आर्जित नाफामा आयकर लगाउने वा नलगाउने भन्नेबारे अझै निर्णय गरिसकेको छैन् । हरेक कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर तिरेपछि बार्षिक रुपमा आर्जित नाफामा पुनः आयकर तिर्नु नपरोस् भन्ने लगानीकर्ताको माग छ । तर सरकारले अहिलेसम्म त्यस्तो कर लिने वा नलिने कुनै निर्णय नगरेकाले जुनसुकै दिन आयकरको लफडामा फसिने डरले लगानीकर्तालाई सताईरहेको छ ।

Share News