वान प्लस ७ प्रो अब नेपालमा
काठमाडौँ । परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषितगदैँ, वानप्लस ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ । वान प्लस नेपाली बजारमा ६ जीबी र्याम/१२८ रोम-रु ८९००० मा र ८ जीबी र्याम/२५६ रोम -रु ९९९०० र १२ जीबी र्याम/२५६ रोम- रु १०९००० मा उपलब्ध रहेको छ ।
आरएमडीसीले फिल्ड कर्मचारीलाई दियो कर्जा बिश्लेषण तालिम
काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम जेष्ठ २२ देखि २४ गतेसम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २० वटा लघुबित्त बित्तीय संस्था र ४ वटाका लघुबित्त कार्यक्रम संचालन गरिरहेका सहकारी संस्थाहरुका प्रतिनिधि सहित ३४ जना बरिष्ठ फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रमको संयोजकत्व आरएमडीसी ईटहरीका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले गरेका थिए । उक्त तालिममा प्रशिक्षकको रुपमा फरर्वाड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लि.का सहायक महाप्रबन्धक कृष्ण ्रसाद भट्टराई र जीवन बिकास लघुबित्त बित्तीय संस्था लि.का तालिम बिभाग प्रमुख सुदिपकुमार मण्डलले भुमिका निर्वाह गरेका थिए ।
पानी जहाज चलाउन २ करोड ६२ लाख बजेट !
काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि जम्मा २ करोड ६२ लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि पानी जहाज कार्यालयलाई ५४ लाख रुपैंयाँ चालु खर्च र २ करोड ८ लाख पुँजीगत खर्च विनियोजन गरेको हो । प्रधानमन्त्री केपी ओलीले २०७५ फागुन २ गते पानी जहाज कार्यालय उद्घाटन गरेका थिए । कार्यालयमा सहसचिवको नेतृत्वमा १६ जना प्राबिधिकहरुको दरबन्दी रहेको छ । २०७५ पुस ३० गतेको मन्त्रिपरिषद बैठकले पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले नारायणी नदिमा पानी जहाज चलाउन सक्ने प्रारम्भिक प्रक्षेपण गरेको छ । भारतको मिनिष्ट्री अफ सिपिङ इण्डियाले नेपालको गण्डक नदि(नारायणी)सम्म आउने पानी जहाजको डीपीआर तयार पारिसकेको छ । जुन ठाउँ नेपालको सिमा भन्दा ४० किलोमिटर तल बाघा भन्ने स्थानमा पर्छ । गंगा नदि बेसिनबाट कार्गाे र पेसेन्जर बोक्ने जहाज नारायणी नदि हुँदै नेपालसम्म आईपुग्ने बताईएको छ । नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव बेलबासेले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला परेको बताए । ‘हामीले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य फेला पारेका थियौं, भारतले बाघासम्मको डीपीआर नै बनाईसकेको छ’, बेलबासेले भने । यो अध्ययनले नेपाललाई गंगा नदि हुँदै बंगलादेशसम्म पानी जहाज सञ्चालनका लागि बाटो खुल्ला गरेको थियो । दासढुंगाबाट नेपाल भारत सिमा हुँदै बेथिया, धुमरिया घाट, कल्याणपुर, वैशाली हुँदै गंगा नदिसम्म पानी जहाज कुद्ने भनिएको छ । त्यो जहाज गंगा नदिबाट कोलकत्ता तथा हल्दियासम्म पुग्नेछ । यसरी पानी जहाज सञ्चालनमा आएपछि नेपाललेको आयात तथा निर्यातमा ढुवानी लागत स्वात्तै घट्ने बताइन्छ । यस अघि नेपाल भारतीय सिमाको बाल्मिकी नगरसम्म अध्ययन गर्ने भनिएको थियो । पानी जहाज सञ्चालनबारे थप छलफल गर्न भारतीय टोली मार्च ३ देखि ९ तारिखमा नेपालमा आएको थियो । पानी जहाज सञ्चालनका लागि भारतले तयार पारेको रुट प्रधानमन्त्री केपी ओलीले २०७४ चैत २३ गते गरेको भारतको भ्रमणका क्रममा इनल्याण्ड वाटर वे सम्बन्धी सहमति गरेका थिए । सरकारले पानी जहाजको सम्भाव्यता अध्ययनका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो । नेपाली भूभागमा पानीको गहिराई र नदिको चौँडाई पानी जहाज सञ्चालनका लागि उपयुक्त हुन सक्ने अवस्थामा छ । तर भारतले बिभिन्न ठाउँमा नदि तथा बाँध बाधेकाले पानीको सतह र नदिको चौँडाई कम भएकाले सिमा पारी भने केहि समस्या हुनसक्ने बताइन्छ । ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदिमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनहरुले देखाएका छन् । भारतले गंगा नदिको कालु घाटमा पानी जहाज सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गरिरहेको छ र त्यहाँसम्म २ हजार मेट्रिक टनका जहाज ल्याउने योजना बनाएको छ । पाँच सय टन क्षमताका पानी जहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनामा मृत्यु भएका बिमितको परिवारले अब २८ लाख पाउने
काठमाडौँ । सवारी साधनमा रहेको जोखिमलाई मध्ये नजर गर्दै सवारी दुर्घटनाबाट ज्यान गुमाउने बिमितको परिवारका सदस्यले २८ लाख रुपैयाँ हात पार्ने भएका छन् । पहिले कायम रहेको ८ लाख बीमांक रकमलाई २८ लाख रुपैयाँ बनाउन लागेको बीमा समितिले जनाएको छ । सोही निर्णयमा यातायात व्यवस्था विभागले समेत सहमती जनाएको छ । साथै, स्पाईनल कर्ड इन्जुरी (मेरुदण्ड)को समेत बीमा गर्न आवश्यक रहेको बताइन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार बीमांक रकममा यसरी हेरफेर भएको हो । यसरी पाईन्छ २८ लाख २८ लाख रुपैयाँ रकम पाउन टाउको र स्पाईन कर्ड इन्जुरी भएको हुनु पर्नेछ । बिमितको उपचारको लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपचारको क्रममा बिमितको मृत्यु भएमा २८ लाख रुपैयाँ बिमाङ्क निजका परिवारका सदस्यले पाउँछन् । बिमितले मृत्युवरण मात्र गरेको अवस्थामा १० लाख रुपैयाँ छुट्याईएको हो भने उपचारका लागि मात्र भनेर ३ लाख रुपैँया छुट्याईएको छ । तर, उपचारको क्रममा स्पाईनल कर्ड इन्जुरी र टाउकोमा चोट लागेको भएमा थप १५ लाख रुपैयाँ छुट्याईएको छ । यस्तै, मोटर बीमाका कारण बिमितको मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने सम्भावना रहेको बीमा समितिले जनाएको छ ।
कानुन विपरित कार्य गर्ने उद्योगी, व्यवसायीलाई सजाय दिन नहिच्किचाउ : राज्यमन्त्री चौधरी
काठमाडौं । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य ११ औं खाद्य स्वच्छता दिवसको मनाएको छ । साे कार्यक्रममा कृषि तथा पशुपन्छी विकासराज्यमन्त्री चौधरीले कानुन विपरित कार्य गर्ने जुनसुकै उद्योगी, व्यवसायीलाई दण्ड सजाय दिन नहिच्किचाउन आग्रह गर्दै गुणस्तरीय उत्पादनलाई प्रोत्साहन र न्यून गुणस्तरको उत्पादनलाई झुक्काई विक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने बताए । विभागले अझै आफ्नो भुमिका विस्तार गर्न अनुगमनलाई तिब्रता दिई आम जनसमुदायमा खाद्य स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गराई अगाडी बढ्नु पर्ने राज्यमन्त्री चौधरीले भने । उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले जनचेतनाको माध्यमबाट खाद्य स्वच्छता सम्बन्धी विषयलाई अगाडी बढाउनका लागि शिक्षणसंस्था तथा विद्यार्थीको विशेष भुमिका रहने बताए । उनले भने ‘खाद्य स्वच्छता र सुरक्षामा हाम्रो परम्परा, धर्म संस्कृति भन्दा माथि उठेर खानेबानीमा परिवर्तन गर्नु आवश्यक रहेको कुरा जोड दिँदै सबैजना नीति नियम र कानुनको दायरामा रहेर हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी निभाउन सके मात्र खाद्य स्वच्छता कायम हुन सक्छ ।’ मन्त्रीले विभागको संरचना विस्तार गरिएको बताउँदै सोही बमोजिम बढी खाद्य स्वच्छता कायम राख्न नियमित अनुगमन तथा क्वारेन्टाइन जाँचलाई अझै मजबुत बनाउने निर्देशन दिए । कार्यक्रम विभागको प्राङ्गणबाट शुरु भएको हो भने कर्मचारी, उपभोक्ता संघसंस्था, विद्यार्थी, उद्यमी, व्यवसायी लगायतका विभिन्न निकायका सरोकारवालाहरुको संलग्न प्रभातफेरी जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पुगी विसर्जन भएको थियो । सन्देशहरु समावेश भएका प्लेकार्ड सहितको प्रभातफेरीको क्रममा खाद्य स्वच्छता सम्बन्धी चेतनामुलक पर्चा सर्वसाधारणलाई वितरण गरियो । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.गोविन्दप्रसाद शर्माले मासु तरकारी र दुधमा बढी ध्यान दिएर प्रभावकारी अनुगमन गर्न सुझाव दिँदै आवश्यक सहयोगको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सभाध्यक्ष विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवसको सान्दर्भिकता उद्देश्यका साथै महिनाव्यापी भएको कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै सरोकारवालाहरुको यसमा मुख्य भुमिका हुने कुरामा जोड दिएका थिए । खाद्य स्वच्छता महिना मनाउने क्रममा स्वच्छता र गुणस्तर कायम गर्न मुख्य सरोकारवाला तथा विभाग र विभागको मातहतमा रहेका ६ कार्यालयहरु, २४ शाखा कार्यालयहरु र १२ आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुबाट देशव्यापी रुपमा जेठ महिना भरी विभिन्न क्षेत्रमा आवद्ध व्यापारी, व्यवसायी तथा सर्वसाधारण एवं सरोकारवाला निकायबीच अन्तरक्रिया भई सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा सम्पन्न मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री खनालले उत्कृष्ट खाद्य उत्पादन गर्ने उद्योग, विशिष्ट व्यक्ति, कर्मचारी र सरोकारवाला निकायलाई पुरस्कृत तथा सम्मान गरेका हुन् । मन्त्रीले हिमालायज स्प्रिंग वाटर प्रा.लि, धुन्चे ८, रसुवा तथा घरेलु साना उद्योग मध्येबाट कंचन पाउरोटी उद्योग, बिर्तामोड ४ झापा, श्री साई ड्रीकिंग वाटर ईन्डष्ट्रिज जनकपुर, पौडेल बेकरी हेटौडा ४, मकवानपुर साइकृपा चिया उद्योग, बुटवल, रुपन्देही हुलास खाद्य उद्योग प्रा.लि. कोहलपुर, बाँके अभिषेक मौरी पालन फर्म, घोडाघोडी न.पा.२, कैलाली रनेपाल अर्गेनिक कफी प्रोडक्ट्स, तीनथाना काठमाडौंलाई प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस्तै केन्द्रिय प्रविधि क्याम्पस धरानका सहायक डिन प्रा.डा. धनबहादुर कार्कीलाई सम्मान गरिएको हो भने विभागका काम गर्ने उत्कृष्ट कर्मचारीलाई पुरस्कार गरेका हुन् ।
सांग्रिला बैंकले ल्यायो नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ्ग सुविधामा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङ्गको शुरुवात गरेको हो । नयाँ सुविधा भएको इन्टरनेट बैंकिङ्गबाट ग्राहकहरुले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधाहरु उपयोग गर्न सक्ने छन् । ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो सुविधाको थालनी गरेको बैँकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
दोलखा र रामेछापमा सिद्धार्थ बैंकको शाखा खुल्यो
काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ्ग सेवा तथा बिहिबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारबाट भएको हो ।
संकटमा मैदा उद्योगी, ‘मूल्य अभिबृद्धी कर नहटाए भाउ बनाउने चेतावनी’
काठमाडौँ । नेपाल मैदा उद्योग संघले दैनिक जीवनमा नभै नहुने अत्यावश्यक खाद्य बस्तु गहुँको पिठो(आँटा) मा चालु आबदेखी मूल्य अभिबृद्धी कर लगाएकोले अरबौंको लगानी जोखिममा परेको जनाएको छ । भारतबाट बैध वा अबैध तवरबाट आउने मैदा/आँटासंग अब प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन । स्वदेश मै आत्मनिर्भर भईसकेको आँटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थपि दिंदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने निश्चित संघका अध्यक्ष माधवलाल श्रेष्ठले बताए । सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि ब्यवहारमा नदेखिएको कारण ३८ वटा स्वदेशी मैदा उद्योगले अब थप चुनौतिको सामना गर्नु पर्ने हुँदा मैदा उद्यमीहरु निरुत्साहित बनेका संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । ‘सरकारी नीतिका कारण अबको केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प छैन’-संघका अध्यक्ष श्रेष्ठले भने । मूल्य अभिबृद्धी कर नहटाए अब आँटाको मूल्य केजी रु.५ देखी ६ सम्म बढ्ने संघले जनाएको छ ।