विकासन्युज

‘जलविद्युतमा प्रतिफल लिन कम्तीमा ५ वर्ष कुर्नुपर्छ’

काठमाडौं । अधिकांश जलविद्युत कम्पनीका लगानीकर्तालाई प्रतिफल लिन कम्तीमा ५ वर्ष कुर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको २७औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले जलविद्युत क्षेत्रमा लगानीको प्रतिफल पाउन समय लाग्न सक्छ भन्दै सो कुरा बताएका हुन् । जलविद्युतमा कम्तिमा ५ वर्ष घटीको कुनैपनि प्रोजेक्ट छैनन्, त्यसैले यसमा प्रतिफल लिन लामो समय कुर्नुपर्ने उनले प्रष्ट्याए । हालसम्म सरकारको जलविद्युत कार्यक्रम अन्तर्गत तीन वटा कम्पनीले सेयर निष्काशन गरिसकेका छन् । आम नेपालीलाई वित्तीय उपकरणमा लगानी गराउनलाई जलश्रोत एउटा राम्रो ठाउँ हो । तर यो पनि स्पष्ट हुनुपर्छ की सबै जलविद्युत आयोजनाहरु सबैले उच्च प्रतिफल दिने नहुन पनि सक्छन् । रेलको उदाहरण दिँदै उनले सरकारले पनि आफ्नो लगानीको प्रतिफल खोज्नलाई लामो समय पर्खिन सक्ने बताएका छन् । सरकारले गरेको लगानी पर्खेर पनि प्रतिफल लिनुपर्ने हुन्छ । जस्तै, शिक्षा स्वास्थ्यमा गरेको लगानीको प्रतिफल पाउन दशकौं कुर्नुपर्ने हुन्छ । तर नीजि क्षेत्रमा लगानी गर्दा त्यस्तो दशकौं वर्ष पर्खिनु पर्ने हुँदैन । कमोडिटी मार्केट लामो समयसम्म अनऔपचारिक ढंगले चल्यो । औपचारिक गराउँन धेरै ढिलो गरियो । औपचारिक गरिएपनि व्यवस्थित बनाउन अझै सकिएको छैन । यी मार्केटहरु भनेको जोखिममा रहेका काम गर्ने संस्थाहरु हुन् । यस्ता संस्थाहरुको नियमनकारी संस्थाहरु पनि त्यत्तिकै चनाखो र त्यत्तिकै प्रभावकारी हुनुपर्ने खतिवडाले बताए । समग्रमा वित्तीय क्षेत्रलाई सन्तुलित ढंगले चलायमान बनाउन सबै नियमनिकायहरु बलियेचएक आपसमा मिलेर गृहकार्य गर्नुपर्ने हुन्छ । मुलुकको अर्थतन्त्र उदायमान छ, आर्थिक वृद्धिदर ८.५० प्रतिशत बनाउनेमा छौं । बैंक तथा वित्तीय संस्थाहरु नाफामा छन् । जसको प्रतिबिम्ब भनेकै सेयर बजार हो । अबको काम भनेको पुँजीबजार वा धितोपत्र बोर्डलाई अझ सबल बनाउनु हो । बजारमा धेरैभन्दा धेरैको सहभागिता जुटाउनु हो । सम्पत्तिमा महिलाको हक भनेर जोड बल गरिरहेका छौं । कोही बेला घर जग्गा मा १० प्रतिशत छुट दिएर महिलाको स्वामित्व बढाउन धेरै कोसिश गरेका थियौं । त्यो कोशिस गर्दा गर्दै पछिल्लो चरणमा छुटको अनुवाद २५ प्रतिशत पुर्याईएको छ । तर त्यसको रिजल्ट हाल सरकारी घरजग्गामा महिलाको स्वामित्व ८ प्रतिशतबाट बढेर करिब २८ प्रतिशत पुगिसकेको छ । त्यस्तै, सेयर बजारमा पनि महिलाको स्वामित्व र लगानी बढाउनलाई धितोपत्र बोर्डले थप कार्य गनुपर्ने देखिएको उनले बताए । सम्पत्तिमा महिला पुरुषको हक अधिकार सम्मान गर्दै लैजाने हो भने सेयर बजारमा पनि महिलाको सहभागिता बढाउनु पर्ने देखिएकाे खतिवडाले बताए ।

राष्ट्र बैंकबाट विदा लिदै नारायण पौडेलले भने–‘तपाईहरु सबैको भलोहोस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले आजबाट राष्ट्र बैंकबाट अवकाश पाएका छन् । कार्यालय नगई उनले सामाजिक सञ्जालबाट आफू सेवानिवृत भएको जनाउदै राष्ट्र बैंकमा कार्यरत सबैको भलो चिताएका छन् । ३० वर्षे सेवाअवधिका आधारमा अनिवार्य अवकाश लिनु नपर्ने गरि नेपाल राष्ट्र बैंकले २०७४ कात्तिकमा संशोधन गरेको कर्मचारी नियामावली कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि पनि त्यसको कार्यान्वयन नहुँदा पौडेलसहित चार कार्यकारी निर्देशकले आजबाट अनिवार्य अवकाश पाएका छन् । नारायण पौडेल ‘आज भन्दा ठिक ३० वर्ष अघि २०४६ जेठ २५ गते नेपाल राष्ट्र बैंकको अधिकृत तृतीय पदमा सेवा प्रवेश गरी आजबाट सेवानिवृत्त भएको छु । यस अवधिमा आदरणीय अग्रज, समकक्षी एवम् अन्य सम्पूर्ण साथीहरूसंग विभिन्न हैसियतमा संगै काम गर्ने सुअवसर प्राप्त भयो । पछिल्लो समयमा पत्रकार साथीहरुसंगको सामिप्यमा रहेर काम गर्ने भूमिकामा पनि रहेँ । सँगै रहँदा, बस्दा र सहकार्य गर्दा यदाकदा हामीबीच केही तितामिठा अनुभव पनि रहे होलान्, ती चिरकाल पर्यन्त भने होइनन् । आगामी दिन सबैका लागि शुभ हुन्, शुभ रहुन्, सबैको भलो होस्’ उनले फेसबुकमा लेखेका छन् । पछिल्लाे समय उनी राष्ट्र बैंककाे नियमन विभाग प्रमुख र प्रबक्ताकाे जिम्मेवारीमा थिए । शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक अनिर्णयकाे बन्दी बन्दा विदामा बसेका कार्यकारी निर्देशकहरु पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यले निराशजनक रूपमा अवकाश पाएका छन् । उनीहरूले इच्छाएकाे अवस्थामा अदालतकाे सहयाेगमा पुर्नवहालीकाे सम्भावना रहेकाे कानुनव्यवसायीहरू बताउँछन् ।

ठमेल पर्यटन विकास परिषद्को चुनाव आज, १५ पदका लागि ३ समूहबाट ३६ जनाकाे उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को कार्यसमितिको लागि आज निर्वाचन हुँदैछ । नयाँ बजारस्थिति मल्टि भेन्यूमा हुदै गरेको चुनावी प्रतिस्पर्धामा ७ पदाधिकारीसहित १५ सदस्यीय कार्यसमितिका लागि ३ प्यानलबाट ३६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा प्रकाश नरसिंह राणा, अर्जुनलाल प्रधान, र समिर गुरुङ्गबीच प्रतिस्पर्धा हुँदैछ । राणाले नेतृत्व गरेको समूहबाट ३ जना उपाध्यक्ष पदमा भविश्व शर्मा, राजुमान डंगोल र गीता गुरुङ्ग उम्मेदवार बनेको छन् । यस समूहमा महासचिवमा धुर्ब अधिकारी, सचिवमा दावाङ्ग तामाङ्ग, कोषध्यक्षमा रामकुमार थपलियाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र ब दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ्ग, कर्म घले, केशव कुमार बस्नेत, सुरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएको ठमेल पर्यटन विकास परिषदको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, अध्यक्षका उम्मेदवार अर्जुनलाल प्रधान समूहबाट उपाध्यक्षमा महेश महर्जन, टाँसी गुरुङ्ग, पाल्साङ गुरुङ, महासचिवमा शहदेव धमला, सचिवमा बद्री प्रसाद तिमल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु र सदस्यहरुमा गोपाल गुरुङ्ग, नरेन्द्र बहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद प्रधान, कुइसाङ दोर्जे लामा र विनोद श्रेष्ठ रहेका छन् । समिर गुरुङले नेतृत्व गरेको तेस्रो समूहबाट उपाध्यक्षमा गोविन्दप्रसाद पन्थ, रन्तप्रसाद दुलाल, सुनिता श्रेष्ठ छिरिङ्ग, महासचिवमा नारायण खनाल, सचिवमा रामचन्द्र गिरी, कोषाध्यक्षमा रामशरण ढकाल, सदस्यहरुमा जनक सिं तामाङ, महेश पन्त उम्मेदवार छन् । १५ पदका लागि तीन समूह मध्ये राणाको समूहले १४ जनाको उम्मेदवारी दिएको छ । प्रधान समूहबाट १२ जनाको उम्मेदवारी परेको छ भने गुरुङ्ग समूहबाट ९ जनाको मात्र उम्मेदवारी परेको छ । व्यवसायिक रुपमा साझा हितको कुरा गरे पनि राजनीतिक पार्टीसँग निकटताका आधारमा व्यवसायहरु फुटेर चुनावी प्रतिस्पर्धामा गएको देखिएको छ । तीन वटै समूहले फरक फरक स्थानमा चुनावी पार्टी आयोजना गरे मतदातालाई प्रभावित पारेको देखिन्छ । परिषदमा ठमेल क्षेत्रका करिब ८०० पर्यटन व्यवसायी सदस्य रहेका छन् ।

आजबाट मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगिता

काठमाडौं। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तरराष्ट्रिय डोजो प्रतियोगितामा आज देखी सुरु हुने भएको छ। प्रतियोगिताको लागि नेपालबाट २ प्रतियोगी छानिएका छन्। प्रतियोगितामा भारत, भुटान तथा अन्य केही राष्ट्रको पनि सहभागिता रहेको छ। नेपालबाट महिला तर्फ ३५ केजी समुहका गोंगबु डोजोकी पाल्सँग गुरुङ र २५ केजी समुहका सानीश चौधरीले भाग लिदै छन्। प्रतियोगिता २ दिन संचालन हुने कार्यक्रम संचालक छत्र आलेले जानकारी दिएका छन्।

राष्ट्र बैंकको बोर्ड बैठक निर्णयविहीन, १५१ जनाकाे नियुक्ति र २२४ जनाकाे प्रमाेशनले अवस्था फरक

  काठमाडौं । शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक विना कुनै निर्णय टुङ्गिएको छ । ३० वर्षे सेवा अवधि पुरा भएका कर्मचारीलाई अनिवार्य अबकाश दिने वा नदिने भन्ने निर्णय लिने अधिकार राष्ट्र बैंक सञ्चालक समितिमा भएको सर्बोच्च अदालतको पूर्ण फैसला आएपछि बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक विना निष्कर्ष  सकिएकाे हाे । शुक्रबारको बोर्ड बैठकमा ३० वर्षे सेवा अवधि पुरा गरि अवकाश लिनुपूर्व विदामा बसेका चार कार्यकारी निर्देशकको विषयमा निर्णय गर्ने अजेण्डा थियो । उक्त अजेण्डामा छलफल भएको तर सबै सञ्चालकहरुको उपस्थिति नभएको कारण निर्णय हुन नसकेको एक सञ्चालकले बताए । विदामा बसेका कार्यकारी निर्देशकहरुले राष्ट्र बैंकको जागिर निरन्तता दिलाउन निकै पहल गरेका थिए । उनीहरुलाई निरन्तरता दिने वा नदिने विषयमा गर्भनरमाथि दवाव परेको थियो । चर्को दवावपछि राजधानी बाहिरको भ्रमण छोट्याएर गभर्नर चिरञ्जीवि नेपालले शुक्रबार नै राजधानी आएको थिए भने साँझ बैठक राखेका थिए । तर बैठकमा राष्ट्र बैंकको सञ्चालक समिति सदस्य समेत रहेका अर्थसचिव राजन खनाल र डा सुबोध कुमार कर्ण बैठकमा उपस्थित भएनन् । ‘सर्वोच्च अदालतले आफ्ना कर्मचारीको सेवा अवधि तोक्ने अधिकार राष्ट्र बैंकको अधिकार क्षेत्र भएको व्याख्या गरिदिएको छ । यो खुशीको कुरा हो । अब यस विषयमा के निर्णय लिने भन्ने अजेण्डा बोर्डको पूर्ण बैठकमा छलफल हुन्छ’ बैठकमा सहभागी एक सदस्यले भने । शुक्रबार बोर्ड बैठकले कुनै पनि निर्णय नलिदा विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य निराश बनेका छन् । अब उनीहरूले जेठ २६ गतेदेखि अवकास पाउने छन् । २६ गते आइतबार पनि काठमाडौं उपत्यकामा विदा परेकोले उनीहरुले अवकाश पाईसकेपछि मात्र बोर्ड बैठक बस्ने देखिएको छ । ३० वर्षे सेवा अवधिका कारण जेठ २६ गतेबाट अवकाश पाउन लागेका उनीहरु बैशाख २६ गतेदेखि विदामा बसेका छन् । यसअघि राष्ट्र बैंककले कर्मचारी नियमावली संशोधन ३० वर्ष सेवा अवधि पुरा गरेपछि अनिवार्य अवकाश लिनु पर्ने व्यवस्था खारेज गरेको थियो । तर त्यसको कार्यन्वयन गर्ने क्रममा मुद्दामामला परेपछि राष्ट्र बैंकले अप्ठ्यारोमा परेको थियो । ‘अहिले अवस्था फेरिएको छ । यो अवधिमा राष्ट्र बैंकले एक सय ५१ नयाँ कर्मचारी नियुक्ति गरिसकेकाे छ, दुई सय २४ जना कर्मचारीको प्रमोशन भएकाे छ’ स्रोतले भन्यो–‘नयाँ परिवेशमा राष्ट्र बैंकले आफ्नो आवश्यकता अनुसार निर्णय लिन्छ ।’ स्राेतका अनुसार यस बीचमा अवकाश पाएका सबै कर्मचारीलाई फिर्ता ल्याउदा राष्ट्र बैकले धान्न सक्दैन । कर्मचारी व्यवस्थापन गर्न गाह्रो हुन्छ । कोही अदालत गएर पुनः वहालीको आदेश लिएर आउँछन् भने त्यो वाध्यात्मक अवस्था हुन सक्छ ।

युवालाई साबेल दिंदै प्रधानमन्त्री ओलीले भने-‘सबैलाई देशमै रोजगारी दिइन्छ’

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको आज उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले भने, “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौँतारिरहेका छन्, सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।” काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिइने उल्लेख गरे । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान् अभियानको एउटा दृष्टान्तका रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बताउँदै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ भने । प्रधानमन्त्रीले प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउँदै ‘डिजिटल नेपाल’ बनाइने बताए । सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उहाँले सरकारले शुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्व सक्रिय रहेको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ । ” मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय छन् भन्दै उनले हिंसा र आतङ्कतर्फ लागेका तत्व सफल नहुने बताए । प्रधानमन्त्री ओलीले दुई सय ४० वर्ष देशलाई अँध्यारामा राख्ने राजतन्त्र फेरि चाहियो भन्नेको पनि अब केही नलाग्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सुवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरे । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको स्पष्ट गर्दै चालू आर्थिक वर्षमा आंशिक रुपमा सो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । प्रतिनिधिसभाका सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले यो कार्यक्रमका लागि भक्तपुरका चार नगरपालिकामा रु दुई करोड ४६ लाख बजेट पठाएको उल्लेख गर्दै आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तहमै बेरोजगार सूचीमा रहेका नागरिकलाई काममा परिचालन गर्ने जानकारी दिए । सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाको तथ्याङ्कानुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दिँदै उनले कृषिमा मात्रै १२ लाख र भवन निर्माण क्षेत्रमा सात लाखभन्दा बढी युवालाई रोजगार दिन सकिने बताए । प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, श्रम मन्त्रालयका सचिव महेश दहाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले सो कार्यक्रमबाट जिल्ला जिल्लामा रोजगारीको ढोका खुलेको बताए । सो कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवाले रोजगारी पाएका छन् । करीब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगर प्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त व्यक्तिले आजै सडक खनेर कामको शुरुआत गरेका थिए । रासस

प्रधानमन्त्री ओलीको युरोप भ्रमण शनिबारदेखि, बेलायत र फ्रान्ससँग लगानी विषयमा छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछन् । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लागेका हुन् । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन् । नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको (२०३ वर्ष) मुलुक बेलायतसँग बेलायती गोर्खा सैनिकसँगको भावनात्मक सम्बन्ध पनि जोडिएको छ । फ्रान्ससँग भने ७० वर्षे द्विपक्षीय सम्बन्ध छ । यी विकसित मुलुकसँग नेपालले राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने देखिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथ नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिपछि प्रधानमन्त्रीको यो विदेशयात्रा हुन लागेको छ । यसअघि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा गएका थिए । प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवद्र्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओं) को शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विट्जरल्याण्डको जेनेभामा रहने छन् । उनले आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । शतवार्षिकी सम्मेलनमा सहभागिता तथा संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र सम्बन्ध तथा अन्तरराष्ट्रिय मञ्चमा महत्वपूर्ण सहकार्यको अवसर हुने ठानिएको छ । जेनेभा बैठकमा विश्वका ४५ जति देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने जनाइएको छ । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेठ २७ देखि २९ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्ने उनले त्यहाँको बसाइका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीको त्यहाँका प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भ्रमणकै सिलसिलामा नर्वेली प्रधानमन्त्री इर्ना सोल्बेर्गसँग पनि भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने र पेरिसमा उहाँले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् । मन्त्री ज्ञवालीले भ्रमण युरोपेली मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रलाई अवगत गराउने उद्देश्यमा केन्द्रित रहने बताए । भ्रमणको पूर्वसन्ध्यामा रेडियो नेपाल र नेपाल टेलिभिजनसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले जेनेभामा आइएलओको बैठकलाई गर्ने सम्बोधनमा नेपालको सो सङ्गठनसँगको सम्बन्ध र ऐक्यबद्धता तथा नेपालजस्ता अल्पविकसित राष्ट्रले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती एवं नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएका सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयलाई उठाउने जानकारी दिए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले द्विपक्षीय मामिलाका साथै आर्थिक विकास र समृद्धिको बाटामा बेलायतको लगानी भित्र्याउने, द्विपक्षीय व्यापार अभिवृद्धि र प्रविधिका क्षेत्रमा सहयोगका लागि यो भ्रमण उपलब्धिमूलक हुने बताए । उनले फ्रान्समा रहँदा नेपालको आर्थिक विकास र व्यावसायिक क्षेत्रमा सहकार्यका लागि संवाद हुने जानकारी दिए । डा भट्टराईले भने, “लामो समयदेखि सीमित क्षेत्रमा खुम्चिएको नेपालको परराष्ट्र नीतिलाई अहिलेको राजनीतिक स्थिरता र समृद्धिको लक्ष्यका सन्दर्भमा त्यसभन्दा बाहिर गएर नेपाल राष्ट्र र जनताको हितमा ती सम्बन्धलाई उपयोग गर्ने नीतिअनुसार यो भ्रमण हुन लागेको हो ।” भ्रमण दलमा करीब २२ जना सहभागी हुनेछन् । रासस

५४ उत्कृष्ट महिला उद्यमी पुरस्कृत, प्रदेश नम्बर १ बाट मात्रै ११ जना

काठमाडौँ । सरकारले महिला उद्यमशीलता विकासमा हौसला प्रदान गर्ने उद्देश्यले मुलुकभरबाट उत्कृष्ट भएका महिला उद्यमीलाई सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा सातै प्रदेशबाट विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका महिला उद्यमीलाई सम्मान गरियो । उद्योगमन्त्री मातृकाप्रसाद यादवले उत्कृष्ट महिला उद्यमीलाई सम्मान तथा पुरस्कार प्रदान गरे । पुरस्कृत हुने उत्कृष्ट महिला उद्यमीमा प्रदेश १ बाट ११, प्रदेश २ बाट तीन, प्रदेश ३ बाट १०, गण्डकी प्रदेशबाट सात, प्रदेश ५ बाट नौ, कर्णाली प्रदेशबाट छ र सुदूरपश्चिम प्रदेशबाट आठ रहेका छन् । मुलुकभरका १६५ महिला उद्यमीबाट ५४ उत्कृष्ट उद्यमीको छनोट गरिएको थियो । सम्मानित हुनेमा खाद्यान्न तथा लत्ता कपडा उत्पादन तथा सेवा क्षेत्रमा सक्रिय उद्यमी रहेका छन् । उनीहरुलाई सम्मानपत्रका साथै जनही रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकार केन्द्रित रहेको बताउनुभयो । घरेलु उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धन गर्न सरकारले सहयोग गर्ने उल्लेख गर्दै उहाँले स्वदेशी उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी गुणस्तरीय बनाइनुपर्ने बताए । सरकार साना तथा ठूला उद्योगको विकास गर्न केन्द्रित भएको बताउँदै मन्त्री यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा उद्योग क्षेत्रको विकास अपरिहार्य भएको बताए । घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले रु पाँच करोडभन्दा बढी लगानी गरेको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको उनको भनाइ थियो । मन्त्रालयका सविच (वाणिज्य) केदारबहादुर अधिकारीले महिला सक्षम र सशक्तीकरण भए मात्र मुलुकले फड्को मार्ने उल्लेख गर्दै साना उद्यमीलाई सफल बनाउन सरकारको ध्यान केन्द्रित भएको बताए । सरकारले कृषिजन्य तथा घरेलु उत्पादनलाई निकासी गर्न निर्यात मूल्यमा अनुदान दिइएको उनले बताए । ‘एक स्थानीय तह, एक उत्पादन’लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै सचिव अधिकारीले स्थानीय तहसँग समन्वय गरेर अगाडि बढेमा महिला उद्यमशीलता विकासमा थप टेवा मिल्ने बताए । साना तथा घरेलु उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले महिला उद्यमशीलता विकासबाट मात्र महिलाको आर्थिक सशक्तीकरण सम्भव भएको उल्लेख गर्दै सबै महिलालाई उत्कृष्ट उद्यमी बनाउन सबैको सहयोगको खाँचो औँल्याए । उनले महिलालाई सफल उद्यमी बनाउन महासङ्घले सदैव सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । महिला उद्यमी महासङ्घकी अध्यक्ष महालक्ष्मी श्रेष्ठले समग्र मुलुकको विकासका लागि महिला उद्यमीलाई राज्यले लगानी गर्नुपर्नेमा जोड दिँदै महिला उद्यमीको क्षमता अभिवृद्धि, प्राविधिक सहायता र बजार व्यवस्थापनमा सरकारको ध्यान जानु आवश्यक भएको बताइन् । सम्मानित महिला उद्यमी पार्वतीकुमारी चौधरीले सरकारले गरेको सम्मानबाट महिला उद्यमीलाई थप हौसला मिलेको बताइन् । महिला उद्यमी ऋण कोषबाट न्यून सङ्ख्यामा महिलाले सेवा लिएको उल्लेख गर्दै उनले ऋण भुक्तानी गर्नुपर्ने तीन वर्षको समयलाई बढाउन सरकारसँग आग्रह गरिन् । अर्का सम्मानित उद्यमी निर्मला चौहानले सरकारको साथ र सहयोगविना महिला उद्यमशीलताको विकास गर्न नसकिने प्रष्ट पार्दै सबैको सहयोगको अपेक्षा गरिन् । रासस