विकासन्युज

हुण्डाई फेष्टिभ डिलाइट २०७५ का विजेताहरु पुरस्कृत, खड्कालाई क्रेटा र केसीलाई आई२० एक्टिभको साँचो हस्तान्तरण

काठमाडौँ । हुण्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डिलाइट २०७५’ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना केसीलाई (कुपन नं.९०६) लाई आई२० एक्टिभको साँचो हस्तान्तरण गरे । उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठ, विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) तथा सुश्री नैन्सी बोगटी (हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेता) को पनि उपस्थिति थियो । बम्पर लक्की ड्र को विजेताहरुको छनौट मुख्य अतिथि विमला खनाल (अध्यक्ष-कञ्जुमर आई नेपाल) सहित श्रृंखला खतिवडा(मिस नेपाल २०१८)ले गरेका हुन् । साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट विमला खनालले कञ्जुमर आई नेपालको अनामनगर स्थित कार्यलयमा भएको हो । हुण्डाई फेष्टिभ डिलाइट २०७५अन्तर्गत हुण्डाइ खरिदकर्ताहरुले एक थान क्रेटा, एक थान आई२० एक्टिभ, १०० जनाले १० ग्राम सुन सहित स्क्राच कार्ड मार्फत रु.१ लाख सम्मको नगद छुटपनि प्राप्त गरे । सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठले हुण्डाईलाई उत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने ग्राहकप्रति आभार व्यक्त गरे ।

विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि

काठमाडौं । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहनेछ । यस्तै चीनका प्रतिनिधि पनि सहभागी हुनेछन् । सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ । यस्तै विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखहरुको पनि प्रस्तुति रहने छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्, पुनर्निर्माण लगायतका विषयमा तुलनात्मक रुपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत बिमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेको उपलब्धीहरु तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले समेत सिक्न सकून भनेर सम्मेलनको आयोजना गरेको जानकारी दिए । सोमबार र मंगलबार हुने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न, १०० वटा गाडीको सर्भिसिङ्ग

ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट उक्त क्याम्प सम्पन्न गरेको हो । साथै, “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालित थियो । ३ दिनमा यस सर्भिस क्याम्पमा लगभग १०० वटा जति गाडीहरुको सर्भिसिङ्ग गरिएको थियो । दक्ष प्राविधिकहरुद्वारा परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएको थियो । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनी बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

गुठी संस्थानकाे संरक्षणमा शान्तिपुर्ण धर्ना बस्नेमाथी प्रहरीले गर्याे अनैतिक व्यवहार

काठमाडौं । गुठी संस्थानको संरक्षणका लागि शान्ती पून धर्ना बस्ने माथि प्रहरीले अनैतिक व्यवहार गरेको छ । सरकारले संसद्मा दर्ता गरेको गुठी विधेयक विरुद्ध माइतीघरमा भइरहेको शान्तीपुन प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडप भएको हो । प्रदर्शनमा प्रहरीले प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि दुई पक्षबीच झगडा हुँदा ७ जना भन्दा बढी घाइते रहेको सामाजिक अभियन्ता गणपति लाल श्रेष्ठले बताए । नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्य समेत घाइते रहेसँगै सो कार्यक्रममा अन्य व्यक्तिहरुको नाम नखुलेको श्रेष्ठले जानकारी दिए । विरोध सभामा उपत्यका भित्रका सबै प्राचिन गुठियाहरुको बाक्लो सहभागिता रहेको बताए । सो विधेयक संविधान विपरित भएकोले खारेज गर्न उनीहरुको माग रहेको छ । गुठी विधेयकको कारण धर्म संस्कृति माथिको अस्तित्व नै मेटिन सक्ने विज्ञहरुको चेतावनी रहेको छ । घाइतेहरुको अन्नपूर्ण न्युरो अस्पत्ताल, नर्भिक लगायत बिभिन्न अस्पत्तालमा उपचार भईरहेको छ । प्रहरी हस्तक्षपको विरोधमा अभियन्ताहरुले  ५ बजे असनबाट विरोध जुलुस तथा विशाल प्रदर्शन गर्नेछन् ।

धनुषाको ढल्केबरमा सिभिल बैंकको ७६ औं शाखा बिस्तार

काठमाडौँ । सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिलानगरपालिकाका मेयर हरिनारायण महतोले गरेका हुन् । उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोेपनि बैंकले जनाएको छ ।

नुवाकोट गोल्डकप जारी, आइतबार पुलिस र सशस्त्र भिड्दै

विदुर । नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवमाथि संकटा क्लबले जित हासिल गरेकोछ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न खेलमा आर्मीमाथि २ गोल हानी २–० गोलको जित निकाल्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरिनु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा आर्मीले आफ्नो दवाब कायम गरेपनि गोल गर्न भने सकेन । संकटाको लागि जर्सी नं १९ का लक्ष्मण रुचालले खेलको मध्यान्तर पछि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार संकटाको पोष्टमा आक्रमण गरेको आर्मीको प्रयास असफल भएको थियो । थप समयको तेस्रो मिनेटमा संकटाको लागि पुन रुचालले गोल गर्दै संकटाको जित निश्चित पारे । खेलमा २ गोल गरेका रुचाल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत आइतबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।

बाँकेमा सङ्घीय सरकारले विनियोजन गर्यो तीन अर्ब बजेट

काठमाडौं । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा बाँकेका आठ स्थानीय तहका लागि दुई अर्ब ९० करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ३२ करोड २३ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको हो । सङ्घीय सरकारले बाँकेका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकालाई विनियोजन गरेको छ । उक्त उपमहानगरपालिकाले ६९ करोड ५६ लाख रुपैयाँ सङ्घीय सरकारबाट पाउने छ । जसमध्ये वित्तीय समानीकरणतर्फ ३१ करोड ४८ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ ३८ करोड आठ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, कोहलपुर उपमहानगरपालिकाका लागि सरकारले आगामी आवका लागि ४१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोहलपुरले वित्तीय समानीकरणतर्फ १९ करोड १५ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ २२ करोड २२ लाख रुपैयाँ प्राप्त गर्नेछ । बाँकेमा रहेको उपमहानगरपालिका र नगरपालिकाका लागि गरिएको बजेट विनियोजन गाउँपालिकाको भन्दा बढी छ । गाउँपालिकामध्ये खजुरा गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । खजुरा गाउँपालिकाले आगामी आवमा ३८ करोड ८२ लाख रुपैयाँ सङ्घीय सरकारबाट प्राप्त गर्नेछ । जसमा वित्तीय समानीकरणतर्फ १५ करोड तीन लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ रु २३ करोड ७९ लाख रहेको छ । गाउँपालिकामा खजुरा गाउँपालिकापछि राप्ती सोनारी गाउँपालिकाको बजेट रहेको छ । राप्ती सोनारी गाउँपालिकाले खजुरा गाउँपालिकाकै हाराहारीमा कूल ३७ करोड २४ लाख रुपैयाँ सङ्घीय सरकारबाट प्राप्त गर्दैछ । सो गाउँपालिकाले वित्तीय समानीकरणतर्फ १६ करोड २४ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ २१ करोड रुपैयाँ प्राप्त गर्दैछ । राप्ती सोनारीले वित्तीय समानीकरणतर्फ बाँकेका गाउँपालिकामा सबैभन्दा बढी बजेट प्राप्त गरेको हो । यसरी विकासमा पछि परेको भनिएको राप्ती पारीको नरैनापुर गाउँपालिकाले बाँकेमा सबैभन्दा कम बजेट सङ्घीय सरकारबाट प्राप्त गरेको छ । नरैनापुरले २२ करोड ६८ लाख रुपैयाँ आगामी वर्षका लागि पाउने भएको हो । जसमा वित्तीय समानीकरणतर्फ १० करोड ९६ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ ११ करोड ७२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । त्यस्तै, जानकी गाउँपालिकाको लागि पनि सङ्घीय सरकारले नरैनापुरकै हाराहारीमा बजेट विनियोजन गरेको छ । सो गाउँपालिकाले आगामी आवमा सङ्घीय सरकारबाट २२ करोड ७८ लाख रुपैयाँ प्राप्त गर्नेछ । वित्तीय समानीकरणतर्फ १२ करोड आठ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ १० करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । डुडुव गाउँपालिकामा आगामी आवका लागि सरकारबाट २३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ ११ करोड ७५ लाख रुपैयाँ र सःशर्त अनुदानमा ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।त्यसैगरी, बैजनाथ गाउँपालिकाका लागि ३२ करोड ९२ लाख रूपैयाँ  विनियोजन गरिएको छ । जसमा वित्तीय समानीकरणतर्फ १५ करोड ५४ लाख रुपैयाँ र सःशर्त अनुदानतर्फ १८ करोड ३८ लाख रुपैयाँ रहेको छ । बाँकेका स्थानीय तहले बजेट बनाउँदैछन् । सङ्घ र प्रदेशबाट छुट्याइएको बजेट र आन्तरिक स्रोतको मूल्याङ्कन गरी बजेट बनाइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिदैं भने, “असार १० गतेभित्र उपमहानगरपालिकाको बजेट ल्याउने तयारी गरिएको छ” । अन्त्यमा, बाँकेका अन्य स्थानीय तह पनि बजेट बनाउने र चालू आवको अन्तिम महिना शुरु हुन लागेका बाँकी विकास निर्माणको कामहरु सक्ने गरी व्यस्त भएका छन् । सरकारले प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकाङ्क, पूर्वाधार, खर्चको आवश्यकता, राजश्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो । रासस

तीन दिनदेखि दैलेखमा विद्युत् आपूर्ति बन्द, जनजीवन कष्टकर बन्दै

काठमाडौं । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताएका छन् । उनले ढलेको पोल बनाइसकेको , रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको उल्लेख गरे । विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ । त्यसैगरी, दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । आधिकारिक रूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ । उक्त घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । यसरी झ्याप्प–झ्याप्प जाने विद्युत् सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायतका क्षेत्रहरु समेत प्रभावित बनेका छन् । रासस