ग्रीनसिटी अस्पतालमा निशुल्क शल्यक्रिया, रविनाले पाइन् नयाँ जीवन
काठमाडौँ । आठ बर्षसम्म जीबन मरणको संघारमा रहेकी दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीले मलद्धारको शल्यक्रिया भएपछि नयाँ जीबन पाएकी छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अबस्थाको जानकारी पाउना साथ बसुन्धरा स्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरिदिएपछि उनको परिवारले आफनो छोरीले नयाँ जीवन पाएको बताएको छ । बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । त्यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिवारले बताएका छन । ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पताले पायो भने जुनसुकै बेला तयार रहेको बताए । ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिनदुई दलितवालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो । कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वास्थ्य बनाएर पठाइएको थियो भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको अस्पातालले जनाएको छ ।
गैरआवासीय संघका सदस्यलाई लक्षित गर्दै ‘एनआरएन फ्याम्ली कार्ड’को सुरुवात
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजबाट ‘एनआरएन फ्याम्लि कार्ड’ को औपचारिक सुरुवात गरिएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी ‘एनआरएन फ्याम्लि कार्ड’को सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु-आमा, श्रीमान-श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने छन् । यद्यपी विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन । संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् । कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । कार्डको म्याद २ वर्षको हुनेछ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ । संघले आफ्ना सदस्यहरुको क्यू आर कोड सहितको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै शुरु गरिसकेको छ । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस् भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए । गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनि यो कार्डको व्यवस्था गरिएको उनले बताए । यस्तै संघकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताइन् । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी गराए । कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सपिला राज भण्डारी, मकाउबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन सिल्पकार, एनआरएनए एकेडेमीका संयोजक डा. प्रमोद ढकाल सहित विभिन्न सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
शैक्षिक सम्मेलनको निष्कर्ष,‘व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुसन्धान जरुरी’
ललितपुर । व्यवस्थापन र प्रविधि क्षेत्रको उन्नयनका लागि समयसापेक्ष खोज अनुसन्धानको आवश्यकता बढेर गएको विज्ञहरुले बताएका छन् । आईतबार ललितपुरमा सम्पन्न २ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका सहभागिहरुले व्यवस्थापन र प्रविधि शैक्षिक प्रमाणपत्रका लागि मात्रै नभई राष्ट्रकै लागि आवश्यक रहेकोमा जोड दिए । कुमारीपाटीस्थित मेगा नेशनल कलेजले आयोजना गरेको व्यवस्थापन र प्रविधिका सम्भावना र चुनौती विषय अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, चीन,बेलायत, अमेरिका, फ्रान्स,जर्मनी लगायत राष्ट्रका प्राध्यापकहरुको उपस्थिति थियो । सम्मेलनका दौरान व्यवस्थापन शिक्षा, प्रविधि शिक्षा, जनशक्ति व्यवस्थापन, अर्थतन्त्र, सेयर बजार , प्रविधि व्यवस्थापन लगायतका विषयमा केन्द्रीत रहेर ४० भन्दा बढी कार्यपत्रहरु पेश भएको थियो । आयोजक मेगा नेशनल कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले सम्मेलनले नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा रहेका सम्भावना उजागर गर्न र चुनौती सामना गर्ने उपाय खोज्न मद्दत गरेको बताउनुभयो । ‘देशविदेशका प्रतिष्ठित प्राध्यापकहरुको कार्यपत्र र त्यसमाथिको छलफलका क्रममा नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा सरकारी र नीजि दुवैक्षेत्रबाट पर्याप्त लगानी आवश्यक रहेको प्रसंग उठ्यो । शैक्षिक क्षेत्रसंगै सरकारी क्षेत्रबाट पनि व्यवस्थापन र प्रविधिको अनुसन्धानमा पहल हुनुपर्ने देखियो’, साहले भने । सम्मेलनमा प्राध्यापक तथा विद्यार्थीहरुले गरेका अनुसन्धानमूलक कार्यपत्रहरुमाथि छलफल भएको थियो । सम्मेलनमा सहभागि युनिभर्सिटी अफ लण्डनका प्राध्यापक जोए फोस्टरले नेपाल र बेलायतबीच कतिपय समानता रहेको भन्दै व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहकार्य हुन आवश्यक रहेको बताए । ‘नेपाल र बेलायतले व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहयोग बढाउनुपर्छ । विद्यार्थी र प्राध्यापकहरुले मात्रै होइन दुई देशका सरकारले पनि पहल गर्नुपर्छ’, फोस्टरले भने । आधुनिक विश्वमा व्यवस्थापन जटिल बन्दै गएको र प्रविधिको समुचित प्रयोग बिना कुनैपनि प्रतिष्ठान वा राष्ट्रसमेत सही ढंगले परिचालन हुन नसक्ने उनको भनाई छ । त्यस्तै भारतको मेवार विश्वविद्यालयका प्राध्यापक राजेश भट्टले व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्तिको नेपाल र भारतजस्ता राष्ट्रले सधैं अभाव व्यहोर्नुपरेको भन्दै दुवै देशमा दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक सहकार्य बढाउनु पर्ने बताए । नेपाल खुला विश्वविद्यालयका डीन प्राध्यापक डा.रामचन्द्र पौडेलले नेपालमा शैक्षिक अनुसन्धानको क्षेत्रमा शिक्षण संस्थाहरुले लगानी बढाउनु पर्ने बताए । सरकारले पनि शैक्षिक अनुसन्धानका लागि उपयुक्त वातावरण र अवसर दिनुपर्ने भन्दै उहाँले व्यवस्थापन र प्रविधिको क्षेत्रमा हुने शैक्षिक अध्ययनको प्रतिफल राष्ट्रले नै पाउने बताए । नेपालका विश्वविद्यालयहरुको अनुसन्धान क्षमतालाई बढाउन आवश्यक रहेको पौडेलको भनाई थियो । खुला विश्वविद्यालयका सल्लाहकार प्राध्यापक डा. वेद गिरिले विश्वभर व्यवस्थापन र प्रविधि एक गतिशील विषयका रुपमा रहेको भन्दै नेपालमा ढिलै भएपनि यस विषयमा खोजी अनुसन्धान थालिनु सकरात्मक विषय भएको बताए । ‘विश्वभर यस विषयमा शैक्षिक अनुसन्धान निकै प्राथमिकतामा छ । नेपालमा पनि यस अन्तर्राष्ट्रिय सम्मेलनले शैक्षिक अनुसन्धान र खोजका लागि मार्गप्रशस्त गरेको छ । यसमा शिक्षाक्षेत्रका सबैले सहयोग गर्नुपर्छ ।’, गिरिले भने । दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्रतिनिधि, व्यवस्थापन र प्रविधि विषयका २ हजार बढी विद्यार्थी तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो । आयोजक मेगा नेशनल कलेजले शैक्षिक विषयमा अनुसन्धानमुलक सम्मेलनहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।
गण्डकी विकास बैंकद्वारा विपन्न विधार्थीहरुलाई स्टेशनरी वितरण
काठमाडौँ । गण्डकी विकास बैंक लि.कावासोती शाखाले शुक्रबार नवलपुर कावासोती नपा वडा नं. १६ डण्डा स्थीत दिपेन्द्र आधारभूत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी स्टेशनरी वितरण गरेको छ । बैंकले २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको छ । संस्थाका सहायक प्रधानाध्यापक नलराज भूर्तेलले संस्थामा रहेका २५३ जना बालबालिकाहरु अध्ययनरत रहेको र सो मध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको र सो मध्ये पनि २७ जना वेसहारा रहेको जानकारी दिए । उक्त सहयोग वितरण बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले गरेको थियो ।
सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर, ‘१ वर्षको निःशुल्क बीमा र २० हजार नगद छुट’
काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर ल्याएको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा रु. २०००० को नगद छुटपनि प्रदान गर्ने जनाएको छ । कम्पनीले २ वर्ष/३०००० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ, जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेड्युल अनुसार पर्दछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११,९९,०००/– रहेको छ । यस्ता छन् विशेषताः सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइलचार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदिसुपर क्यारीक ा विशेषताहरु हुन् ।
विनय रिजालले १८ महिनामै छाडे सहयोगी विकास बैंक
काठमाडौं । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंक छाडेका छन् । ४ बर्षका लागि सीईओ नियुक्त रिजालले १८ महिनामै बैंक छाडेका हुन् । आफूले २०७६ जेठ २६ गतेदेखि सहयोगी छाडेको रिजालले जानकारी दिए । उनले पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको २७३औ बैठकले स्वीकृत गरिसकेको छ । बैंकले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । रिजालको कार्यकालमा बैंकमा पुर्याएको योगदानको प्रशंसा गर्दै सहयोगी विकास बैंक परिवारले उनलाई स-धन्यवाद सहित बिदाई गरेको हो । आफू बैंकमा आउँदा जुन उत्साह, योजना र रणनीति बोकेर आएको थिए त्यो बैंककै आन्तरिक कारणले लागू गर्न नसकेको उनले बताए ।
अर्घाखाँची पीपीसी सिमेन्ट आइतबारदेखि नेपाली बजारमा
काठमाडौं । ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रालिले पिपिसी सिमेन्ट आइतबारदेखि नेपाली बजारमा ल्याएको छ ।नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले आइतबारदेखि पिपिसी सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको हो । कम्पनीले बिगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पिपिसी सिमेन्टको उत्पादन थालेको जनाएको छ । कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मितको दनिश प्रविधिको भीआरएम मेशिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको जनाएको छ । एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाइन मार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको जनाएको छ । अर्घाखाँची पीपीसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने,‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं । नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पीपीसी सिमेन्ट उत्पादन गर्न सुरु गरेको हौं ।’
सामाखुसीमा खुल्यो यामाहाको अत्याधुनिक डिलरसिप
काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप सुरु गरेको छ । काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स् प्रालिमार्फत नयाँ डिलरसिप सुरु गरेको हो । दुई तले नयाँ सोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले गरेका हुन् । त्यहाँबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका मोटरसाइकलको सेल्स, सर्भिस, एक्सचेन्ज र फाइनान्सको सुविधा पाउने छन् । ‘यामाहा ब्रान्डका मोटरसाइकलले स्पोर्टी इमेजलाई अवलम्बन गरिरहेको छ । यामाहाका मोटरसाइकल भन्नेबित्तिकै पिकअप, स्टाइल, पावर, एसिलेरेसनमा उत्कृष्ट भन्ने बुझिन्छ । पछिल्ला समयमा हामीले ल्याएका आर१५ भी३, र एफजी भी३ ले पनि यामाहाको स्पोर्टी इमेजलाई बलियो बनाइदिएको छ,’ नयाँ सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अग्रवालले भने, ‘यामाहाका मोटरसाइकलले चालकको सुरक्षासँग कुनै सम्झौता रोमाञ्चकतालाई प्रत्याभुत गर्छ ।’ त्यसैगरी, बाइकर ल्याब्सका संस्थापक दिपक सिंजालीले युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गर्वको कुरा भएको बताए । यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी रहेको कम्पनीले जनाएको छ ।