विकासन्युज

तेस्रो हिमालयन ट्राभल मार्ट सम्पन्न, चौथो संस्करण आगामी बर्षको जुन १२ मा

काठमाडौँ। हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजार गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण यही जेठ २३ देखि २६ सम्म विभिन्न ४३ देशका ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागितासहित काठमाडौँको सोल्टी क्राउन प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको छ । गत बिहिबार सम्ममाननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको समुद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा पर्यटकीय प्रोडक्ट तथा सेवाहरुको प्रचुर सम्भाब्यतारहेको बताउँदै देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ठ आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभवहरु प्रदान गर्नसक्ने नेपाल अनुपम गन्तब्य रहेको बताए। उनले योग, आयुर्वेद, तीर्थयात्रा एवम् अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्रनै एक उत्कृष्ट गन्तब्य भएको र सो अनुभूतिका लागि नेपाल प्रमुख एवम् उद्गम स्थल भएको बताए। प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत हिमालयन ट्राभल मार्ट सहयोगी हुने विश्वास व्यक्त गरेका थिए। जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो । मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया/ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो। यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए । पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

सञ्चार जगतसँग मेयरले मागे माफी, आवेगजन्य परिस्थितिकाे भनाई फिर्ता

काठमाडौं ।  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै आत्मआलोचना गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् ।     मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । केही दिनअघि मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट धम्की दिएका थिए । उनले नेपालकाे ठूला राजनीतिक परिवर्तनमा सञ्चार जगतकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै इटहरी उपहमहानगरपालिकामा पनि सञ्जार जगतसँग मिलेर जान चाहेकाे बताएकाे छन् ।

भरतपुर विमानस्थलमा असार १५ सम्म बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्रै उडान

रत्ननगर । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धावनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धावनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुथ्र्यो भने । प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालीका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनको भनाइ थियो । गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ । एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिदैंछ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ । धावनमार्ग कालोपत्र गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ । “मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ”, उहाँले भन्नुभयो, “बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौँ । कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौँ ।”भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । रासस

कुलेखानी तेस्रोको पहिलो युनिटको परीक्षण सफल, आयोजना सम्पन्न हुने चरणमा

काठमाडौँ । इमान्दार प्रयास भयो भने जस्तोसुकै अप्ठ्यारो काम पनि सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य नेपाल विद्युत् प्राधिकरणले पुनःस्थापित गरेको छ । निरन्तरको प्रयासपछि प्राधिकरण स्वयंले नै रुग्ण आयोजनाको सूचीमा राखेको कूल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजनाको आज सफलतापूर्वक परीक्षण सम्पन्न गरेको छ । निर्माण व्यवासायीको लापरवाहीका कारण विगत १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको सो आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरको प्रयासपछि आज आयोजना सम्पन्न हुने चरणमा पुर्याइएको हो । आयोजनास्थल मकवानपुरमै रहनुभएका कार्यकारी निर्देशक घिसिङले भने, “आयोजनाको पहिलो युनिटको विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको छ ।” प्राधिकरणको हरतरहको प्रयासले आज सार्थकता पाएको छ कार्यकारी निर्देशक घिसिङले खुशी व्यक्त गरे । उनले भने, “प्राधिकरण मातहतका सबै रुग्ण आयोजना अब सम्पन्न भएका छन् ।” विद्युत् उत्पादन नगरी उपकरणको ‘नो लोड टेस्टिङ’ सम्पन्न भएको उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन प्राधिकरणकै प्राविधिक कर्मचारी लगेर भए पनि आयोजनालाई शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् । मन्त्रीको निर्देशनलगत्तै प्राधिकरणले आफ्ना प्राविधिक कर्मचारीलाई परिचालन गरी निर्माण व्यवसायीलाई समेत बाध्य पारेर काम गराउन सफल भएको हो । आज पहिलो युनिट अर्थात् सात मेगावाट क्षमताको पहिलो युनिटको परीक्षण गरिएको हो । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई गत वैशाखमा नै समाधान गरिदिएको थियो । सो समस्याको समाधान भएपछि आयोजना विद्युत् उत्पादन गर्ने चरणमा पुगेको हो । दोस्रो युनिटको पनि केही दिनभित्रै परीक्षण गरिनेछ । आयोजनाको मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण यसअघि नै सफलतापूर्वक सम्पन्न भइसकेको छ । “हामी विद्युत् उत्पादन गर्ने चरणमा आइपुगेका छौँ । लामो समयको मेहनत अब सार्थक हुने अवस्थामा पुगेको छ”, कार्यकारी निर्देशक घिसिङले भने । आयोजनाको निर्माण चालू आवभित्रै सम्पन्न हुने भएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इञ्जिनीयरिङ एण्ड कन्ट्रक्सनको लापरवाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र रु २४ करोड ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झण्डै सात करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले यसअघि नै गरिसकेको छ । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको शुरुको लागत रु दुई अर्ब ३३ करोड थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत रु चार अर्ब ६३ करोड पुगेको छ । प्राधिकरणले यसअघि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए र ३० मेगावाट क्षमताको चमेलिया सम्पन्न गरेको छ । यस्तै केही रणनीतिक महत्वका प्रसारण लाइनको पनि निर्माण सम्पन्न गरिसकेको छ । रासस

३५ लाख पर्यटक, दैनिक खर्च सय डलर र ४ लाख ९० हजारलाई रोजगारी

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर पर्यटन प्रवद्र्धन र पूर्वाधारहरुको निर्माण गरिरहेको छ । स्थापित गन्तव्यहरुको प्रचार प्रसारका साथमा उदियमान १ सय नयाँ गन्तव्यहरुमा पूर्वाधार निर्माण लगायतका काममा सरकारले बिशेष ध्यान दिएको छ । २० लाख पर्यटक भित्र्याउने योजनासहित अघि बढेको सरकारले आगामी पाँच बर्षछि ३५ लाख पर्यटक नेपाल भित्र्याउने अर्काे महत्वकांक्षी योजना अघि सारेको छ । १५ औं पञ्च वर्षिय योजना मार्फत सरकारले आगामी पाँच बर्षपछि नेपाल आउने पर्यटकहरुको संख्या बार्षिक ३५ लाख पुर्याउने लक्ष्य निर्धारण गरेको हो । पाँच वर्षमा नेपालको पर्यटन क्षेत्रमा ४ लाख ९० हजार रोजगारी सृजना हुने प्रक्षेपण समेत गरिएको छ । हाल पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा ३१ हजार रोजगारी सृजना गरेको सरकारी तथ्यांक छ । सरकारले हवाई पूर्वाधारहरुको निर्माण, पर्यटकिय क्षेत्रको प्रवद्र्धन, प्रदेश र स्थानीय तहहरुमा मार्फत पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन लगायतका योजना अघि सारेको छ । एक जना विदेशी पर्यटकको नेपाल बसाई औषतमा १३ दिन रहेको छ । पर्यटकले नेपाल बसाईका क्रममा दैनिक औषतमा ५४ अमेरिकी डलर मात्रै खर्च गरिरहेको छ । सरकारले पाँच बर्षपछि पर्यटकको नेपाल बसाई औषत बसाई १५ दिन पुर्याउने र दैनिक खर्च बढाएर एक सय डलर पुर्याउने लक्ष्य पनि निर्धारण गरेको छ । त्यसका लागि नेपालका पर्यटकिय गन्तव्यहरुको थप व्यवस्थापन, प्रचार प्रसार, पर्यटन प्याकेज निर्माण, गुणस्तरीय सेवा लगायतका काममा ध्यान दिने सरकारी योजना रहेको छ । नेपाल भ्रमण वर्ष घोषणा गरेको भएपनि पर्यटन मन्त्री रबिन्द्र अधिकारीको मृत्युपछि अभियान सुस्ताएको आरोप लागिरहेको छ ।

मेलम्चीपछिको अर्को ठूलो आयोजना पोखरामा, जापानबाट ४ अर्ब ८१ करोड रुपैयाँ अनुदान

काठमाडौं । पोखरामा खानेपानीको क्षेत्रमा अहिले सम्मकै ठूलो आयोजनाको काम शुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम शुरु गर्न लागिएको हो । खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास आउँदो जेठ २८ गते मंगलबार गर्ने कार्यक्रम छ । खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्ची पछि मन्त्रालयको खानेपानीको क्षेत्रमा शुरु हुन लागेको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्र भित्र दैनिक साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ । अबको तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनी सँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाईपलाईन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले जानकारी दिए । दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ । पोखराको पस्र्याङ, फूलबारी र कोल पाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको डेपुटी प्रोजेक्ट म्यानेजर महर्जनले बताए । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ नामको योजना बजारमा ल्याएको छ । कम्पनीले आज(आइतबार) देखि नै लागू हुने गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ उक्त सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमकाबीच उक्त बीमा योजना सार्वजनिक गरेको हो । सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुने बताएका छन् । साथै, आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता रहेको उनले जानकारी दिए । यस्ता छन् विशेषता: कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ । यो बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उमेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ । बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध-वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ । बीमालेख चालू भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखअन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ । एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्ति पश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्क बराबरको रकम प्रदान गरिनेछ । ९० प्रतिशतसम्म कर्जाको सुविधा यस योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

नाराको बार्षिकोत्सव र्याफटिङ गरेरै मनाइयो

काठमाडौ । नेपाल एशोसियसन अफ र्याफटिङ एजेन्सी(नारा) ले आफ्नो ३१ औ वार्षिक उत्सवको अवसरमा शनिबार त्रिशुली नदीमा र्याफटिङ विषेश कार्यक्रम आयोजना गरेर मनाएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने नाराका साथ उक्त कार्यक्रमसम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार तथा पर्यटन प्रवर्धनमा रुची राख्ने पर्यटनप्रेमीहरुको सहभागिता रहेको थियो । त्रिशुली पर्यटकको गन्तन्य बन्दै पर्यटकले त्रिशुलीलाई नै छनोट गर्नुमा काठमाडौबाट छोटो दुरीमा पुग्न सकिने भएकाले हो । राजधानी छाडेर पृथ्वी राजमार्गको केही समयको यात्रा पछि नै र्याफटिङ स्थल पुग्न सकिन्छ । साथै, नेपालको भोटेकोशी, पोखरा लगायतका स्थानमा समेत र्याफटिङको मज्जा लिन सकिन्छ । राजधानी लगाएका स्थानमा अन्य दिन आफ्नो काम तथा दैनिकीमा व्यस्त हुने भएकाले शनिबार र्याफटिङमा आन्तरिक पर्यटकको संख्या बढी हुन्छ । पछिल्लो समय त्रिशुली नदीको चिसो पानीमा यार्फटीङ् गर्न नेपाली–विदेशी दुवैको घुँईचो लाग्ने गरेको जानकारहरु बताउँछन् ।