विकासन्युज

गरिमा विकास बैंकद्वारा १० जना विधार्थीलाई ५० हजार छात्रबृत्ति प्रदान

काठमाठौँ । गरिमा विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको सुन्दरहरैचामा स्थित सुकुना बहुमुखी क्याम्पसमा कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । मंगलबार विद्यालयम आयोजित कार्यक्रममा ५० हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको हो । बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मर्दी खोला खानेपानी आयोजनाको शिलान्यास, तीन वर्ष भित्रै काम सम्पन्न गर्ने लक्ष्य

पोखरा । खानेपानी मन्त्री बिना मगरले पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित मर्दी खोला खानेपानी प्रशोधन शुद्धीकरण आयोजनाको मंगलबार शिलान्यास गरेकी छन्। मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु भएको हो । आयोजनाको शिलान्यास गर्दै खानेपानी मन्त्री मगरले देशै भरि प्रशोधित खानेपानी पुर्याउन सरकार योजनाका साथ अघि बढेको बताएका छन् । प्रशोधित स्वच्छ खानेपानीद्धारा नै रोगको महामारी नियन्त्रण गर्न सकिने उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘८८ प्रतिशत जनताले आधारभूतस्तरको खानेपानी पाएका छन् । २० प्रतिशतले मात्र प्रशोधित स्वच्छ पानी पिउन पाएका छन् । सरकारले प्रशोधित खानेपानी पुर्याउन यसपालि बजेटमा प्राथमिकता दिएको छ ।’ शुद्ध र प्रशोधित पानीको सुनिश्चित गर्नका लागि चुनौती रहेपनि सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य पुरा गर्नुपर्ने दायित्व सरकारको काधमा रहेको उनले बताए । मन्त्री मगरले भनिन्, ‘अहिले पनि धेरै जनताले शुद्ध र प्रशोधित खानेपानी खान पाएका छैनन । यसमा कसैको ध्यान गएको छैन । रोग लागेपछि हामी औषधी लिएर पुग्छौं । बजेट छुट्याउने गर्छौं तर पानी प्रशोधित गर्ने योजनामा ध्यान दिदैनौँ।’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले २ वर्ष भित्र आधारभूतस्तरको खानेपानी सेवा पुर्याउने अभियानमा प्रदेश सरकार जिम्मेवारीका साथ अघि बढेको बताए । संघीय सरकारसंग सहकार्य गरेर अघि बढ्न र एक घर एक धाराको नीतिलाई सफल पार्न प्रदेश सरकार तयार रहेको मन्त्री बस्नेतले प्रतिबद्धता जनाए । गण्डकी प्रदेशका प्रदेश सदस्य कृष्ण थापाले विकास निर्माणको काममा कोही कसैले पनि विरोध गरेर उपलब्धि हासिल नहुने बताए । विकास निर्माणको काममा विरोध नगर्न र सबै मिलेर अघि बढ्न प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे। कार्यक्रममा प्रदेश सभा सदस्य रामजी बराल, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि सी, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र नेपालका लागि जापानका राजदूत मासामिची साइगो लगायतका वक्ताले यो आयोजना सफल बनाउन सबैलाई आग्रह गरेका थिए । खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्ची पछि मन्त्रालयको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्र भित्र दैनिक साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ । अबको तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको नेपाल खानेपानी संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाईपलाईन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले जानकारी दिए । दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ । पोखराको पस्र्याङ, फूलबारी र कोल पाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको डेपुटी प्रोजेक्ट म्यानेजर महर्जनले बताए । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

सन्तोष परियारको ‘पल्लो गाँउकी ठूली’ भिडियो सहित सार्वजनिक

काठमाडौं । सन्तोष परियारको लोक दोहोरी गीत ‘पल्लो गाँउकी ठूली’ सार्वजनिक भएको छ । गायिका गिता देवी र सन्तोष परियारको स्वरमा रहेको गीत मिलन फिल्मस प्रा.लिको प्रस्तुतीमा बजारमा आएको हो । गायक स्वंयमको लय,शब्द रहेको गीतको निर्देशन मिलन श्रेष्ठ र विष्णु तामाङको संगीत रहेको छ । गीतको भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् भने अभिनयमा सुदर्शन खतिवडा, अलिना रायमाझी, सन्तोष परियार र गिता देवीलाई देख्न सकिने छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

लाहान र दुधेमा सिभिल बैंक लिमिटेडको शाखा बिस्तार

काठमाडौँ । सिभिल बैंकले शाखा बिस्तारको क्रममा सिरहाको लाहान र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच लाहान नगरपालिकाका मेयर मुनी साह सुडी र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले गरेका हुन् । लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जनाएको छ ।

जिआइसि नेपालको बीमा सेवा सिद्धार्थ बैंकबाट पनि पाइने

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते सहमति पत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

ज्योति लाईफका ग्राहकलाई काठमाडौं ग्रुप अफ होटल्सको सेवामा विशेष छुट

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौसंग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जाल भित्र आबद्ध भएका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौतापछि कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु काठमाडौं ग्रुप अफ होटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज(चितवन) गरी विभिन्न स्थानहरुमा अवस्थित सातवटा होटल तथा रिसोर्टहरुमा प्राप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित हुने जनाइएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र काठमाडौं ग्रुप अफ होटल्सका प्रबन्ध निर्देशक दिवाकर राजकर्णिकरले हस्ताक्षर गरेका छन् ।

एकैदिन दुई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

काठमाडाैं । सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलबार बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले नाला निर्माणको शुभारम्भ गरेका छन् । अध्यक्ष थापाले विकास सँगसँगै रोजगारी दिने सरकारको कार्यक्रम सकारात्मक रहेको चर्चा गर्दै बेरोजगारको सूचीमा सूचीकृत भएकालाई गाउँपालिकाको विकास निर्माणमा खटाइने बताए । उनले भने, “आगामी वर्ष गाउँपालिकाले सञ्चालन गर्ने आयोजनामा पनि बेरोजगार सूचीमा सूचीकृतलाई खटाउँछाैं ।” प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बन्दीपुर गाउँपालिका–१ स्थित पिप्ले गुर्दुम नाला निर्माण, बन्दीपुर गाउँपालिका–२ स्थित गुर्दुम बन्दीपुर नाला निर्माण तथा बन्दीपुर गाउँपालिका–४ स्थित तीनधारे पर्यटकीय पुन्टे खोला नाला निर्माण योजनामा ४१ जनालाई रोजगारमा खटाइएको जानकारी दिएका छन् ।   उनले भने, “पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित एवं लागू भइसकेको हुँदा सोही कार्यविधिमा आधारित भई सञ्चालन गर्न सम्भावित श्रमप्रधान आयोजनामा बेरोजगारलाई खटाएका छौँ ।” रोजगारमा खटिनेलाई दैनिक करसहित  ६२५  रूपैयाँ प्रदान गरिने रोजगार सेवा केन्द्र प्रमुख शरणसिंह गुरुङले जानकारी दिए । उनका अनुसार न्यूनतम रोजगारीको लागि सरकारले चालू आर्थिक वर्षमा बन्दीपुरलाई  ११ लाख रूपैयाँ  विनियोजन गरेको छ । जसअनुसार पिप्ले गुर्दुम नाला निर्माणमा खटिनेलाई  चार लाख रूपैयाँ, गुर्दुम बन्दीपुर नाला निर्माणमा खटिनेलाई  चार लाख रूपैयाँ र तीनधारे पुन्टे खोला नाला निर्माणमा खटिनेलाई  तीन लाख रूपैयाँ  पारिश्रमिक दिइनेछ । बन्दीपुर गाउँपालिकामा ६१४ ले न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिएका थिए । अन्यलाई समेत आगामी वर्षका योजनामा काममा खटाउने गाउँपालिकाको तयारी छ । त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि  प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोक तिलबारी हुँदै नयाँ गाउँ जाने बाटो मर्मतका लागि १६ जना बेरोजगारलाई खटाइएको रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकालाई चालू आर्थिक वर्षमा  १२ लाख रूपैयाँ  विनियोजन गरेको छ । सोही बजेटबाट वडा–वडामा नै बेरोजगारलाई खटाउने तयारी गरिएको गैह्रेले जानकारी दिए । उनले भने, “आयोजना छनोट गरेर १०/१२ जनालाई वडा तहमा नै रोजगारी दिने लक्ष्य छ ।”रासस

पोखरामा गण्डकी विकास बैंकले दियो निःशुल्क सिपमूलक तालिम

काठमाडौँ । गण्डकी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागी ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । उक्त सिपमूलक तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, प्रशिक्षक तथा ज्येष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरियो । सो समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत थापाले महिलाहरुले सिपमूलक तालिम मात्र लिएर नभई त्यसबाट सिकेको सिप तथा ज्ञान आत्मनिर्भर र स्वरोजगार तर्फ लागाउन अनुरोध गरे । त्यसका लागी आवश्यक परेमा बैंकले वित्तिय सहयोग समेत प्रदान गर्ने बताए । कार्यक्रममा ज्येष्ठ महिला तथा समाजसेवी शुभद्रा कोइराला, स्वस्तिक हस्तकलाकी प्रोपाइटर रिता गुरुङ्ग, प्रशिक्षक लक्ष्मी शर्मा तथा सहभागिका तर्फबाट कल्पना क्षेत्री र पार्वती देवी कोइरालाले मन्तव्य राख्दै तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न उत्पे्ररित गरेको बताउँदै बैंक परिवारलाई धन्यवाद दिए । कार्यक्रममास्वागत मन्तव्य बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन बैंकको पस्र्याङ्ग शाखाका प्रमुख प्रमोद ओझाले गरेका थिए ।