एकैदिन दुई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

<p>काठमाडाैं । सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलबार बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले नाला निर्माणको शुभारम्भ गरेका छन् । अध्यक्ष थापाले विकास सँगसँगै रोजगारी दिने सरकारको कार्यक्रम [&hellip;]</p>

काठमाडाैं । सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलबार बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले नाला निर्माणको शुभारम्भ गरेका छन् ।

अध्यक्ष थापाले विकास सँगसँगै रोजगारी दिने सरकारको कार्यक्रम सकारात्मक रहेको चर्चा गर्दै बेरोजगारको सूचीमा सूचीकृत भएकालाई गाउँपालिकाको विकास निर्माणमा खटाइने बताए । उनले भने, “आगामी वर्ष गाउँपालिकाले सञ्चालन गर्ने आयोजनामा पनि बेरोजगार सूचीमा सूचीकृतलाई खटाउँछाैं ।”

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बन्दीपुर गाउँपालिका–१ स्थित पिप्ले गुर्दुम नाला निर्माण, बन्दीपुर गाउँपालिका–२ स्थित गुर्दुम बन्दीपुर नाला निर्माण तथा बन्दीपुर गाउँपालिका–४ स्थित तीनधारे पर्यटकीय पुन्टे खोला नाला निर्माण योजनामा ४१ जनालाई रोजगारमा खटाइएको जानकारी दिएका छन् ।   उनले भने, “पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित एवं लागू भइसकेको हुँदा सोही कार्यविधिमा आधारित भई सञ्चालन गर्न सम्भावित श्रमप्रधान आयोजनामा बेरोजगारलाई खटाएका छौँ ।”

रोजगारमा खटिनेलाई दैनिक करसहित  ६२५  रूपैयाँ प्रदान गरिने रोजगार सेवा केन्द्र प्रमुख शरणसिंह गुरुङले जानकारी दिए । उनका अनुसार न्यूनतम रोजगारीको लागि सरकारले चालू आर्थिक वर्षमा बन्दीपुरलाई  ११ लाख रूपैयाँ  विनियोजन गरेको छ । जसअनुसार पिप्ले गुर्दुम नाला निर्माणमा खटिनेलाई  चार लाख रूपैयाँ, गुर्दुम बन्दीपुर नाला निर्माणमा खटिनेलाई  चार लाख रूपैयाँ र तीनधारे पुन्टे खोला नाला निर्माणमा खटिनेलाई  तीन लाख रूपैयाँ  पारिश्रमिक दिइनेछ ।

बन्दीपुर गाउँपालिकामा ६१४ ले न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिएका थिए । अन्यलाई समेत आगामी वर्षका योजनामा काममा खटाउने गाउँपालिकाको तयारी छ ।

त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि  प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोक तिलबारी हुँदै नयाँ गाउँ जाने बाटो मर्मतका लागि १६ जना बेरोजगारलाई खटाइएको रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकालाई चालू आर्थिक वर्षमा  १२ लाख रूपैयाँ  विनियोजन गरेको छ । सोही बजेटबाट वडा–वडामा नै बेरोजगारलाई खटाउने तयारी गरिएको गैह्रेले जानकारी दिए । उनले भने, “आयोजना छनोट गरेर १०/१२ जनालाई वडा तहमा नै रोजगारी दिने लक्ष्य छ ।”रासस

Share News