भक्तपुर-नगरकोट सडक पाँच बर्षदेखि अलपत्र, के गर्दैछन् प्रचण्डका घरबेटी ?
काठमाडौं । भक्तपुरको कमलबिनायकस्थित भत्केपाटी–देखि नगरकोट जाने सडक विगत पाँच बर्षदेखि अलपत्र अवस्थामा छ । १६ किलोमिटर लामो सडक दुई बर्षमा सम्पन्न हुने गरि २०७१ साउन २ गते भ्याटसहित २८ करोड लागतमा ठेक्का सम्झौता भएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का घरबेटी सारदा प्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको पाँच बर्षे अवधीमा तीन पटक म्याद थप र १३ प्रतिशत भेरिएसन लिईसकेको छ । तर काम भने जम्मा ६० प्रतिशत मात्रै सम्पन्न गरेको छ । पछिल्लो एक बर्षदेखि सडक आयोजनाले म्याद थपिदिएको छैन भने कम्पनीले निर्माणको काममा पनि चासो देखाईरहेको छैन् । राजधानी नजिकैको लोकप्रिय पर्यटन गन्तव्य नगरकोट जाने एक मात्रै निर्विकल्प सडक पाँच वर्षदेखि घाम लागे धुलो र पानी परे हिलोको चपेटाबाट गुज्रिरहेको छ । ‘पर्यटकिय नगरी नगरकोटको भविष्यमाथी खेलबाड भैरहेको छ, यो क्षेत्रका नागरिकमाथी अन्याय भैरहेको छ, शक्तिको नजिक बसेकाहरुबाट हामीले कहिलेसम्म पीडित हुनुपर्ने हो ?’, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले भने । उनले सैलुङ कन्स्ट्रक्सनका मालिकले पटक पटक प्रतिवद्धता गरेर पनि काम नगरेको आरोप लगाए । ‘सिडिओ, नगरपालिका, आयोजना र स्थानीय बासिन्दासँग पटक पटक काम सक्ने प्रतिवद्धता व्यक्त गरे तर कहिले पुरा गरेनन् अब त अति भैसक्यो’, मेयर मिश्रले आक्रोश पोखे । उता सडक विस्तार आयोजनाका प्रमुख जगत प्रजापतिले पनि निर्माण व्यवसायीले चरम लापरवाही गरेको बताए । ‘२ वर्षमा सम्पन्न हुनुपर्ने काम पाँच बर्ष पुगिसकेको छ, ३ पटक समय थपिएको छ, भेरियसन पनि लिईसकेको छ, फेरी पनि यस्तो लापरवाही भैरहेको छ, हामी अब कडा बन्ने निष्कर्षमा पुगेका छौँ’, आयोजना प्रमुख प्रजापतिले भने । प्रजापति पछिल्लो एक हप्तादेखि मात्रै आयोजनाको नेतृत्व गरिरहेका छन् । उनले सडकको स्थलगत अध्ययन गरेर काम अघि बढाउने सम्बन्धी ठोस प्रस्ताव तयार पार्ने पनि बताए । कस्तो छ सडकको अवस्था ? १६ किलोमिटर लामो सडक निर्माण सम्बन्धी सम्झौता २०७१ असार २ गते भएको थियो । २०७३ असार ३ गते सडक निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने सडकमा ३ पटक म्याद थप गरिसकिएको छ । २०७३ साउन ३ गते सम्पन्न हुनपर्ने सडकको भूकम्पका कारण ढिलाई भएकाले २० कात्तिक ०७३ सम्मका लागि एक सय २५ दिन म्याद थपिएको थियो । दोस्रोपटक तीन सय ८० दिन र तेस्रोपटक दुई सय २१ दिन म्याद थप गरिसकिएको छ । पछिल्लो पटक २०७५ जेठमा पुनः एक बर्ष म्याद थप्नुपर्ने भन्दै निर्माण व्यवसायीले माग गरेका थिए तर आयोजनाले यथोचित कारण नभएको भन्दै प्रक्रिया अघि बढाएको छैन् । हालसम्म निर्माण व्यवसायी कम्पनीले १४ करोड रुपैंयाँ भुक्तानी लिईसकेको छ भने १३ प्रतिशत भेरियसन अर्डर समेत पास भैसकेको छ ।
५ वटा ठेक्का रद्ध हुँदै, को को पर्दैछन् कालो सूचिमा ?
काठमाडौँ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–६ लमही दाङबाट सञ्चालित ५ वटा ठेक्का रद्ध हुने भएको छ । ती ठेक्का सम्झौता रद्ध गरी तोडी कालो सूचिमा किन नराख्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेश गर्न व्यवसायीका नाममा सूचना जारी भएको छ । ठेक्का नम्बर १/०७२/०७३ दाङ( ठेकेदार कम्पनी बाइबा कन्स्ट्रक्सन कम्पनी, सामाखुसी काठमाडौँ), ठेक्का नम्बर ७/०७३/०७४ बाँके (ठेकेदार कम्पनी कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, कञ्चनपुर), ठेक्का नम्बर ९/०७३/०७४ दाङ( ठेकेदार कम्पनी बाइबा कन्स्ट्रक्सन कम्पनी, सामाखुसी काठमाडौँ), ठेक्का नम्बर ९/०७३/०७४ दाङ( ठेकेदार कम्पनी गौरीपार्वती/कोशी एण्ड न्यौपाने/मृत सञ्जीवनी जेभी काठमाडौँ) र ठेक्का नम्बर ११/०७३/०७४ दाङ( ठेकेदार कम्पनी गौरीपार्वती/कोशी एण्ड न्यौपाने/मृत सञ्जीवनी जेभी काठमाडौँ)का नाममा सूचना जारी भएको हो । हालसम्म निर्माण कार्यमा न्यून प्रगति देखिएकाले बारम्बार पत्राचार गर्दा समेत बेवास्ता गरिएको र निर्माण कार्य शुरु नगर चरम लापरवाही गरेको ७ दिन भित्र सम्पर्कमा नआएमा प्रचलित कानून अनुसार ठेक्का तोडेर कालोसूचिमा राख्ने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं.६ लमही दाङले जनाएको छ ।
राधी विद्युतको साधारणसभा असार २७ गते, ९ गतेदेखि नै बुक क्लाेज
काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ । जेठ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभा अमृतभोग क्याटरिङ कालीकास्थानमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । साधारण सभाले कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांस कर सहित स्वीकृत गर्नेछ । त्यसैगरी चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावसाधारण सभामा प्रस्तुत गर्ने जनाइएको छ । वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला खारेजी कार्य असार ९ गतेदेखि २२ गतेसम्म बन्द रहने छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन असार ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई ७ दिन भित्र दाखिल खारेजका लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
कुमारी बैंकको सञ्चालक समिति सर्वसहमतिमा चयन, अमिरप्रताव राणा अध्यक्ष बन्ने निश्चित
काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुको लागि खुशीको खबर छ । नयाँ सञ्चालक समितिमा सर्वसहमति जुटेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिरप्रताव राणा र कृष्णप्रसाद ज्ञवाली निर्विरोध भएका छन् । पब्लिक सेयरधनीबाट महेश पोखरेल र अनुराधा चौधरी सर्वसहमत भएका छन् । बैंकको अध्यक्ष राणा बन्ने लगभग निश्चित भएको छ । चार जना सञ्चालक पदको लागि निर्वाचन हुन लागेकोमा चार जनाको मात्र उम्मेदवारी परेको र उम्मेदवारी दर्ता गर्ने समय सकिएको बैंकका कम्पनी सचिव नरेन्द्र छतकुलीले जानकारी दिए । अमिरप्रताव राणा औपचारिक रुपमा घोषणा हुन सबै प्रक्रिया पुरा हुनुपर्छ, साधारणसभासम्म कुर्नै पर्ने उनले बताए । बैंकको विशेष साधारणसभा जेठ ३१ गते डाकिएको छ । विज्ञ सञ्चालकको रुपमा गणेश कुमार पाठकले निरन्तरता पाउने भएका छन् । सञ्चालक समिति ५ जनाको मात्र हुने छ । विज्ञ सञ्चालक सहित ५ जना मात्र सञ्चालक समिति रहेको २८ वटा वाणिज्य बैंक मध्ये सम्भवत कुमारी मात्र हो । बैंक तथा वित्तीय संस्थामा ५ देखि ७ जनाको सञ्चालक समिति गठन हुनुपर्ने र एक जना महिला अनिवार्य हुनु पर्ने कानुनी व्यवस्था छ । कसको पृष्ठभूमि के ? युवा उद्यमी राणा नेपालको सबैभन्दा ठूलो फुटवेयर इन्डष्ट्रिज गोल्ड स्टारका प्रबन्ध निर्देशक हुन् । उनले औषधि, एलपीजी ग्यास लगायत उद्योगहरु पनि समालिरहेका छन् । उनको बुबा नूरप्रताव राणा कुमारी बैंकको संस्थापक अध्यक्ष हुन्, जसले लामो समय यस बैंकको नेतृत्व लिएका थिए । अमिर पनि अघिल्लो बोर्डमा सञ्चालक थिए । उनी बैंकको अध्यक्ष बन्ने लगभग निश्चित भएको जानकारहरु बताउँछन् । कृष्ण प्रसाद ज्ञवाली मनाङ एयरका प्रबन्ध निर्देशक हुन् । उनी ट्राभल, होटल, रेमिट्यान्स लगायत व्यवसायमा संलग्न छन् । महेश पोखरेलसँग सिद्धार्थ बैंकमा १२ वर्ष सञ्चालक समितिमा रहेर काम गरेको अनुभव छ । पाेखरेल २० वर्ष अघिदेखि सेयर बजार सक्रिय छन् । बैकिङ र मार्केटिङ दुई विषयमा मास्टर डिग्रि हासिल गरेकी अनुराधा चौधरी हाल कलेजमा पढाउछिन् । उनी कुमारी बैंकका पूर्व डाईरेक्टर जगदीश चौधरीको छोरी हुन् । गत बैशाख २६ गते सम्पन्न बैंकको साधारणसभामा निर्वाचनको अजेण्डा थियो र महिला सञ्चालन हुन पाउने पर्ने मागसहित अदालतमा मुद्दा परेपछि निर्वाचन रोकिएको थियो ।
नुवाकोट गोल्डकपको फाइनलमा नुवाकोट ११, विजेतालाई ६ लाख नगद
नुवाकाेट । नुवाकोट गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नुवाकोट ११ (१-०) गोलले बिजयी भएको छ । नुवाकोट ११ र नेपाल पुलिस क्लब बिचको खेलमा नुवाकोटको लागि बिदेशी खेलाडी रोमियोले ३९औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए। दोश्रो हापमा कुनै पनि टिमले गोल गर्न नसक्दा नुवाकोट ११ ले फाइनलमा आफ्नो स्थान सुरक्षीत बनाएको हो । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनल खेल संकटा क्लब र च्यासल युथ क्लब बिच भोलि हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुनेछ । फाइनलको लागि नुवाकोट ११ ले दोश्रो सेमिफाइनल खेल बिजेता टिम संग प्रतिस्पर्धा गर्नेछ । नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । (नुवाकाेट सेराेफेेराेबाट)
बीमा समितिका ४ निर्देशकलाई नयाँ जिम्मेवारी, कसले के पाए ?
काठमाडौं । बीमा समितिका चार जना निर्देशकहरुले नयाँ जिम्मेवारी पाएका छन् । बीमा समितिमा चार जना निर्देशक रहने व्यवस्था छ । बीमा समितिमा लामो समयदेखि दरबन्दी अनुसार निर्देशक पदपुर्ति हुन सकेको थिएन् । कार्यकारी निर्देशक पद रिक्त भएको करिब ६ बर्षपछि राजुरमण पौडेलले जिम्मेवारी पाएका छन । त्यस अघि ४ वटा निर्देशक दरबन्दीमा पौडेल र कमलराज रेग्मी मात्रै कार्यरत थिए । समितिले पछिल्लो पटक जेठ २३ गते दिनेशकुमार लाललाई प्रतिष्पर्धाद्धारा निर्देशक पदमा बढुवा गरेपछि दरबन्दी अनुसार ४ जना निर्देशकको पदपुर्ति भएको हो । अब बीमा समितिमा कमलराज रेग्मी, सुशिल सुवेदी, पुजन अधिकारी र दिनेश कुमार लाल गरि ४ जना निर्देशक भएका छन् । उनीहरुलाई समितिले जिम्मेवारी समेत तोकिदिएको छ । निर्देशक कमलराज रेग्मीलाई अनुसन्धान, विकास तथा बीमालेख महाशाखाको नेतृत्व दिईएको छ । अर्का निर्देशक सुवेदीले सुपरिवेक्षण, कृषि तथा लघु बीमा तथा पुनर्बीमा शाखाको जिम्मेवारी पाएका छन् । त्यस्तै, दिनेश कुमार लाललाई कानुन महाशाखा प्रमुख बनाईएको छ । पुजन अधिकारीले भने नियमन तथा मानव संसाधन महाशाखाको नेतृत्व पाएकी छिन् । बीमा समितिले पछिल्लो पटक दरबन्दी अनुसार धमाधम कर्मचारी भर्ना गरिरहेको छ ।
२५ लाखको तरबार तेस्र्याएपछि धमाधम इआइए गराउँदै तारे होटल
काठमाडौं । लालबाबु पण्डित जनसंख्या तथा वातावरणमन्त्री भएका बेला होटल द्वारिकाज् र शंकरलाई एक लाख रुपैयाँ जरिवाना गरेपछि तारे होटलहरूले धमाधम वातावरण प्रभाव मूल्यांकल (ईआईए) गराउन थालेका हुन् । देशमा सञ्चालित १३ वटा ५ तारे होटलमध्ये ११ वटाले ईआईए गराइरहेको पर्यटन विभागले जानकारी दिएको छ । वातावरण संरक्षण (पहिलो संशोधन) ऐन २०७५ र वातावरण संरक्षण (पाँचौ संशोधन) नियमावली २०७३ कार्यान्वयनमा आएपछि सबै साना होटलहरूले अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) र ठूला होटलले ईआईए गराउनु पर्ने व्यवस्था छ । मन्त्री पण्डितले जरिवाना गराउनु अघि कुनैपनि होटलले ईआईए गराएका थिएनन् । यदि २०७५ असोज २ पछि कुनै पनि होटलले नयाँ पूर्वाधार संरचना तयार गरे तथा संचालनमा ल्याए पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । वातावरण संरक्षण ( पाँचौ संशोधन) नियामावलीको २०७३ कार्यान्वयनमा आएपछि सबै साना होटलहरू आईर्ई र पाँचतारे होटलले ईआईए परीक्षण गराउन थालेका हुन् । साना होटलले आइईई र एक सयभन्दा बढी बेडसिट भएका होटलले ईआईए गराउनु पर्ने कानुनी व्यवस्था छ । हाल ५ तारेलगायत अन्य होटलहरूले एक लाख रुपैयाँ शुल्क तिरेर वातावरण प्रभाव मूल्यांकन गराइरहेका प्राकृतिक कन्सल्टेन्ट प्रालिका म्यानेजिङ डाइरेक्टर माधव गिरीले बताए । ‘हाल सोल्टी क्राउन प्लाजा, अन्नपूर्ण, मल्ल, याक एण्ड यति, सांग्रिलालगायतका ११ वटा पाँच तारे होटलले हाल ईआईए गराइ रहेका छन्,’ उनले भने ‘यो परिक्षणमा विशेष गरी हामी तीन पक्षलाई हेर्ने गर्छौँ ।’ उनका अनुसार होटलको भौतिक तथा वाह्य वातावरण, जैविक वातावरण र सामाजिक, आर्थिक तथा साँस्कृतिक वातावरण हेर्ने गरिन्छ । ‘पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७०’ ले गरेको व्यवस्था पछि होटललाई वातावरणीय प्रभाव मूल्यांकन गराउन सूचना जारी गरिएकोे थियो । सो सूचनापछि हालसम्म ईआईए नगराएका होटलहरू धमाधम पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागको सम्पर्कमा आएर ईआईए गराइरहेका छन् । पर्यटन मन्त्रालयको उक्त निर्देशिकको ८१ (४) (क)ले ५० शैया देखि १०० शैयासम्मको भए प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) र १०० शैयाभन्दा माथिको क्षमताको भएमा ईआईए प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । सोही व्यवस्था अनुसार नयाँ होटलको स्तर निर्धारण गर्न र नवीकरण गर्न आउँदा अनिवार्य उक्त प्रतिवेदन ल्याउनुपर्छ । पुराना होटलको हकमा नवीकरण गर्न आउँदा वा सो भन्दा अगावै उक्त प्रतिवेदन तयार पार्नु पर्ने व्यवस्था गरिएको छ ।
नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको मंगलबार शिलान्यास गर्दै उहाँले सम्पूर्ण बैंकिङ प्रणालीलाई बलियो बनाउन बैंकको क्षमता बढाउने, कारोबारलाई सुरक्षित बनाउँदै बैंकप्रति विश्वसनीयता बढाउन तथा परदर्शीता ल्याउन विभिन्न कदम चालिएको बताए । उनले भने, “निष्क्रिय कर्जा एक प्रतिशतको हाराहारीमा रहेको छ, सम्पूर्ण परिसूचकमा नेपालको बैंकिङ प्रणाली राम्रो छ ।” अर्थमन्त्री डा. खतिवडाले नेपालको बैंकिङ प्रणाली सक्षम भएकाले नै विदेशी बैंकले नेपाली बैंकलाई ऋण दिन पत्याएको बताए । उनले कोष स्थापना भएपछि बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको बताए । अर्थमन्त्री डा. खतिवडाले भने, “पछिल्लो १० वर्षमा कुनै पनि बैंकको काउन्टरमा निक्षेप कर्ताले निक्षेप लिन भिड लागेको छैन् किनभने अहिले साना लगानीकर्ताको रु तीन लाखको निक्षेप बीमा गरिएको छ, आफ्नो पैसा डुब्दैन भनेपछि लगानीकर्ता ढुक्कले बस्नुभएको छ ।” निक्षेप बीमाको रकम र बीमा दायित्व बढ्दै गएकाले कोषको जिम्मेवारी बढेको उल्लेख गर्दै उनले कोषलाई रु १० अर्बको चुक्ता पूँजी भएको बलियो निक्षेप बीमा गर्ने र कर्जा सुरक्षण गर्ने संस्थाका रुपमा लैजाने बताए । “कोषको व्यवस्थापनलाई बलियो बनाउँदै जनशक्ति विकास गर्ने, संस्थागत सुदृढीकरण, सूचना प्रविधिमा आधारित कारोबारलाई बढाउँदै लैजाने र जोखिमको निरन्तर अनुगमन, विश्लेषण र जोखिम व्यवस्थापन गर्ने बीमा संस्थाका रुपमा कोष रहेको छ”, अर्थमन्त्रीले भने, “जोखिमको निरन्तर अनुगमन, विश्लेषण गरी त्यसका आधारमा कोषले कार्ययोजना बनाउनुपर्छ ।” प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहमा हुने जोखिम न्यूनीकरण गर्ने अभिप्रायले सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको व्यवस्था गरेको हो ।