राजधानीमा जेठ ३१ र ३२ गते भारतीय शैक्षिक मेला हुँदै
काठमाडौं । ‘भारतीय शैक्षिक मेला २०१९’ जेठ ३१ र ३२ गते राजधानीमा आयोजना हुने भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा उक्त शैक्षिक मेला आयोजना हुन लागेको हो । ‘स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पो दुई दिनसम्म सञ्चालन हुने छ । एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेमा जानकारी दिइने आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी दिए। बिहान १०.३० देखि बेलुकी ५.३० बजेसम्म चल्ने भारतीय शैक्षिक मेलामा उच्च शिक्षा अध्ययनको लागि भारतको एनएएसि, एबिईटि, एनबिए लगायतबाट मान्यताप्राप्त उत्कृष्ट विश्वविद्यालय तथा कलेजको बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिइने छ । ईन्जीनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाईन, आईटी, पाईलट ट्रेनिङ र आयुर्वेदिक लगायतका संकायका बारेमा जानकारी दिइने उहाँले बताउनुभयो । एक दशकभन्दा लामो समय व्यवसायिक ढंगले काम गरेका परामर्शदाताहरुले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीको लागि विशेष रहने आयोजकको अपेक्षा रहेको छ । मेलामा विद्यार्थीले निःशुल्क रुपमा भारतबाट आउने ठूला र उत्कृष्ट विश्वविद्यालयबाट परामर्श, शुल्क संरचना, कलेजको वातावरण, छात्रबृत्ति, भारतीय शिक्षाका प्रावधान र व्यवस्था, भर्ना हुने तरिका, होस्टेल, खानालगायतको बारेमा प्रत्यक्ष र विस्तृत रुपमा जानकारी दिइने ट्रेड शोका कार्यकारी निर्देशक महर्जनले जानकारी दिए। एकै थलोमा चालिस भन्दा बढी भारतीय कलेज र विश्वविद्यालयको प्रतिनिधित्व रहने सो मेलामार्फत विद्यार्थीले भारतसम्म पुगेर सबै कलेज र विश्वविद्यालय घुमिरहने झन्झटबाट मुक्त हुने आयोजक पक्षको भनाई छ ।
नेपाल र लेवनानबीच श्रम सम्झौता, मरिसससँग पनि हुँदै
काठमाडौं । नेपाल र लेवनानबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र लेवनानका श्रम मन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच श्रम सम्झौता भएको हो । मन्त्री विष्ट अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन हाल स्विटजरल्याण्डको जेनेभा रहेका छन् । मन्त्री विष्टले साउदी अरब र लेवनानका समकक्षीसँग छलफल गरेका थिए । यसैबीच नेपाली समय अनुसार साँझ ७ः४५ बजे मरिसससँग श्रम सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
मोन्डे सेलेक्सन २०१९ मा रुस्लानले जित्यो ग्रान्ड गोल्ड क्वालिटी अवार्ड
काठमाडौँ । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन अवार्डमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप जस्ता पाँच विभिन्न मापदण्डमा आधारित थियो । मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो । रुस्लान अल्ट्रा प्रिमियम भोड्का हालैमात्र अर्थात २०७५ मंसिर (सन् २०१८ डिसेम्बर)मा मात्र बजारमा ल्याइएको हो । भोड्का उपभोक्ताबीच पहिलो रोजाईको रुपमा बजारमा तीव्र रूपमा कारोबार भइरहेको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने । ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले भने–“हामी स्रोतबाट उत्तम कच्चापदार्थहरू ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गर्छौं । यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो ।”
लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच सम्झौता
काठमाडौँ । लुम्बिनी विकास बैंक लि. र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
शुरु भयो कर्जाबजारडटकम, व्यक्तिगत कर्जाबारे जानकारी पाइने
काठमाडौँ । व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजारको रुपमा कर्जाबजारडटकम शुरु भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले कर्जाबजारडटकमको उद्घाटन गरेका हुन् । कर्जाबजारका प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त बित्तीय संस्थाहरुबाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर,सवारी साधन, अचल सम्पत्तिकर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्डका बारेमा जानकारी प्राप्त गर्न सक्ने छन । साथै, वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि चालिने प्रकृयाका बारेपनि हेर्न सकिने छ । कर्जाबजारलाई नेपालका प्रमुख बाणिज्य बैंकहरुसंग विस्तृत परामर्श र प्रकृया प्रवाह समायोजन गरेर मात्र अनलाईन रिलिज गरिएको हो । तीनवटा बाणिज्य बैंकहरु(स् स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक(सिन्धु विकास बैंक) ले कर्जाबजारसंग सम्झौता गरिसकेका छन् । कर्जाबजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढी बैंक र बित्तीय संस्थाहरुपनि यसमा संलग्न हुने अपेक्षा गरिएको फोनिक्स क्यापिटल प्रालिले जनाएको छ ।
ग्लोबल आइएमई बैंकबाट सन नेपाल लाइफको बीमा सेवा पाइने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि.का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।
“मारुनी”को गीत ‘जाम न माया जाम’ सार्वजनिक, चलचित्र भाद्र १३ गते प्रदर्शन हुने
काठमाडौं । पुनम इन्टरटेन्टमेन्ट प्रा.लि ले निर्माण गरेको चलचित्र “मारुनी” को गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ । दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको उक्त गीतको शब्द रिक्की शाक्यले गरेका थिए । भाद्र १३ गते रिलिज हुने सो चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख अभिनय रहेको छ । ‘जाम न माया जाम’ को म्युजिक भिडियो बुढासुब्बा डिजिटलबाट मंगलबार रिलिज भएको हो । गीतको डिओपीमा सन्जय लामा छन्, त्यस्तै कोरियोग्राफी प्रविन सिहंले गरेका हुन् । भिडियो हेर्न क्लिक गर्नुहोस् ।
दक्षिण एसियाली सम्मेलन: केन्द्र सरकार र स्थानीय तहबीच सहकार्य गर्न आग्रह
काठमाडोँ । सात बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दक्षिण एसियामा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा दीगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहहरुलाई सँगसँगै सहकार्य गर्न आग्रह गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा स्थानीय तहहरुसँग सहकार्य गर्दै जिम्मेवारी र अधिकार हस्तान्तरण गरेकाले महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताए । उनले भने–‘पुनर्निर्माणमा हामीले स्थानीय तहहरुसँग गरेको सहकार्य अन्तर्राष्ट्रिय रुपमा पनि नमूना हुन सक्छ ।’ कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकारहरु तथा स्थानीय सरकारका संघहरुलाई राष्ट्रिय कार्यढाँचा अनुकुल आफ्नै विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिहरु बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । त्यस्तै, सफा र नवीकरणीय उर्जाका प्रावधानहरु सुनिश्चित गर्न जलवायु परिवर्तनका असरहरु न्यूनीकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारहरुलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न राष्ट्रिय सरकारलाई आह्वान गरिएको छ । सम्मेलनले विश्वका मुद्दाहरुलाई स्थानीय तहमा लागु गर्नका लागि स्थानीय सरकारहरुको संस्थागत, संगठनात्मक, वित्तीय एवं प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आह्वान पनि गरेको छ । त्यस्तै, स्थानीय सरकारहरुका नीति निर्माण, योजना तथा निर्णय प्रक्रियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न, निर्णय प्रक्रियामा महिला तथा जोखिमयुक्त वर्गहरुको अर्थपूर्ण सहभागिता वृद्धि गर्न राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा स्रोतहरु उपलब्ध गराउने कार्यको महत्वमाथि जोड दिएको छ । सम्मेलनले स्थानीय सरकारहरुमार्फत् दीगो विकास लक्ष्यहरु, शहरी मुद्दाहरु एवं विपद् जोखिम न्यूनीकरण सेण्डाई फ्रेमवर्कको प्रभावकारी स्थानीयकरणका लागि स्थानीय सरकारहरुलाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ मा जापानमा भएको सम्मेलनले विपद् न्यूनीकरणका लागि सन् २०३० सम्मको सेन्डाइ फ्रेमवर्क तयार पारेको थियो । त्यसैगरी, विश्वका मुद्दाहरुको स्थानीय स्तरमा प्रभावकारी कार्यान्वयनका अनुभव तथा सकरात्मक अभ्यासहरु साझेदारी गर्न दक्षिण एसियाका स्थानीय सरकार तथा तिनका संघहरुबीच सहयोग वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । सम्मेलनको सोमबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट–एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, इण्डोनेसिया, श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु एवं विज्ञहरुको सहभागिता थियो । मंगलबारका सत्रहरुमा नवीकरणीय उर्जा, जलवायु परिवर्तनलगायतका विषयमा छलफल गरिएको थियो ।