विकासन्युज

विज्ञापन रद्द गर्ने निर्देशनविरुद्ध उत्रिए परीक्षार्थी सडकमा

काठमाडाैं ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको अमान्य निर्णयविरुद्ध लोकसेवा तयारी तदर्थ सङ्घ समितिले बिहान १० देखि १२ बजेसम्म आन्दोलन तथा दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो । सोमबार उक्त समितिले सरकारलाई स्थानीय तहका लागि लिइएकोे विज्ञापन रद्द गरेर करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो । उनीहरुले ‘लोकसेवामा हस्तक्षेप चाहिँदैन’, ‘नातावाद र कृपावाद भित्र्याउन पाइँदैन’ ‘दिनैपर्छ आयोगलाई संवैधानिक अधिकार, हुनैपर्छ स्वतन्त्र प्रशासनिक सरकार’, ‘लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार’ लगायत नारा लगाएका थिए । प्रशासन सेवा समूहको नायब सुब्बाको तयारी गरिरहनुभएका बर्दिया गेरुवा गाउँपालिका–३ का लक्ष्मण अधिकारीले विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकार कुष्ठित गराउने भएकाले आन्दोलन गर्नुपरेको बताएका हुन्  । “गत वर्ष पनि आयोगले विज्ञापन गरेन । अहिलेको विज्ञापनमा धेरै बेरोजगार विद्यार्थीलाई रोजगार बनाउन खोजेकोे थियो”, उनले भने, “तर समितिले एक्कासि विज्ञापन रद्द गर्ने निर्णयले हामीजस्ता धेरै आयोगका तयारी गरिरहेका विद्यार्थी रोजगारको अवसरबाट वञ्चित हुन पुगेका छौँ ।” यस्तै बाजुरा बडिमालिका नगरपालिकाका मार्तडीकी चन्द्रा खड्काले आफूले क्याम्पसको परीक्षा नै नदिएर स्थानीय तहको तयारीमा लागेकामा अहिले आएर समितिका मान्छेले आफ्नालाई करारमा नियुक्त गरेर हामीलाई वञ्चित गराउन लागेको हुँदा आन्दोलन गर्नुपरेको बताएका छन् । “बरु हामीहरुको नाम ननिस्कियोस् । हामी विज्ञापन रद्द गर्ने निर्देशन र करारमा राख्ने निर्णयको विरुद्ध आन्दोलन गरिरहन्छौँ”, उनले भने, “कर्मचारीलाई करारमा होइन प्रतिस्पर्धा गरेर स्थानीय तहमा भर्ना गरियोस् ।” सरकारले लोकसेवा आयोगमार्फत् स्थानीय तहमा रिक्त दरबन्दी पूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले विज्ञापन गरेपछि लाखौँ विद्यार्थी परीक्षाको तयारीमा थिए । रासस

महासंघको नेतृत्व लिन चलखेल, यूरोप भ्रमणमा के हुँदैछ ‘सेटिङ’ ? (भ्रमण टोलीको नामावली सहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चैतमा नयाँ नेतृत्व चयन हुँदैछ । चुनावी वर्षमा प्रवेश गर्दै गर्दा महासंघले मतदातालाई रिझाउन युरोप भ्रमणको कार्यक्रम गरेकोे छ । चुनावमा मत तान्ने प्रयोजनसहित महासंघले मतदाता खुशी गराउन भ्रमणको आयोजना गरेको बुझिएको छ । चुनावमा मतभार अधिक भएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको नेतृत्वलाई प्रभावमा पार्ने तयारीका साथ महासंघको टोली कार्यक्रमहरू बनाएर भ्रमणमा निस्केको हो । भ्रमण टोलीमा ५९ जना रहेका छन् । भ्रमणको उद्देश्य युरोपको आर्थिक तथा व्यवसाय अध्ययन, प्रवद्र्धन र अवलोकन गर्नु रहेको महासंघले जानकारी दिएको छ । महासंघ स्रोतका अनुसार आगामी चुनावलाई आफ्नो पक्षमा पार्नको लागि रणनीतिक योजना तयार पार्ने उद्देश्य सहित भ्रमणको आयोजना गरिएको हो । भ्रमण टोलीको नेतृत्व महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले गरेका छन् । भ्रमणमा टोलीमा समावेश हुनेहरुको सूची अध्यक्ष भवानी राणा र उपाध्यक्ष प्रधानले तय गरेका हुन् । युरोप भ्रमणमा रहेको ५९ सदस्यीय टोली यस्तो छ: [pdf id=155348] चुनावी वर्षमा प्रवेशसँगै महासंघको सक्रियता बढ्यो, १०० जना चीनमा र ९० जना यूरोप भ्रमण जाँदै

  मोटरसाइकल चोरी गर्ने पाँच पक्राउ

काठमाडाैं । मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिएका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने वर्ष १९ का श्यामसुन्दर यादव, १८ वर्षीय गुलशनप्रसाद यादव, बारागढी गाउँपालिका–२ मलाही बस्ने वर्ष २० का सुरेश मुखिया विन, सोही ठाउँ बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया विन र १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन् । यसरी  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त गस्ती टोलीले बारागढी गाउँपालिका–२ दौरवा मठअगाडि चोकबाट एक थान चोरीको अपाची गाडी, बीआर०५आर ७३३८ नंको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । पछिल्लो समय बारामा मोटरसाइकल चोरी गर्नेहरुको बिगबिगी बढेको छ । रासस

टीभीएस स्ट्र्याकर मेलामा सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका 

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ । जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बिरगञ्जको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरबाट टिभीएस स्ट्याकर १२५ सीसीको ग्राहकलाई लक्षित गरी मेला आयोजना गरेको जनाएको छ । टिभीएस स्ट्याकर १२५ मेला शोरुम नजिकैको स्थानहरुमामा जेठ ३१ गतेबाट असार ३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा टिभीएस टिभीएस स्ट्याकर १२५ को खरिद क्यास , फाइनान्स र एक्सचेन्जको माध्यम बाट गर्न सक्ने कम्पनीले जनाएको छ । मेला अबधि भर टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनिले २ आर्थिक बर्षसम्म २०७५ र ७६ को कर फ्री साथै रेनकोट पनि कम्पनीले उपलब्ध गराउने भएको छ । मेलामा टिभीएस स्ट्याकर १२५ खरिद गर्ने ग्राहकहरुले असार ३ गते बिरगञ्ज, जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहकहरुलाई नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसंग भेटघाट तथा दुःखशुख हासो खुशी बाँड्ने छन् । मेला अवधिमा ४०० वोटा टिभीएस स्ट्याकर १२५ बेच्ने लक्ष राखेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकलहरु तथा स्कूटरहरु नेपालमा पनि रुचाइएका छन् । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु टिभिएसले आफनो नेपाल भरिको ९० भन्दा बढी ठाउबाट थ्री एस सर्भिस सहित बिक्री वितरण गर्दै आइरहेको छ । बिभिन्न सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टीको सेवापनि दिदै आएको छ ।

गण्डकी प्रदेशका कृषक समूहले पाए हाते ट्र्याक्टर, मन्त्रालयको मात्रै ८५ प्रतिशत लगानी

काठमाडाैं । गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्र्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषिगाउँको रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्र्याक्टर वितरण गरेको हो । मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा  दुई लाख २५ हजार रूपैयाँ मूल्य बराबरको हाते ट्र्याक्टर वितरण गरिएको मन्त्रालयका कृृषि प्राविधिक बन्दना पुलामी मगरले जानकारी दिएका छन् । हाते ट्र्याक्टर खरिदका लागि कृषक समूहले  ३३ हजार ७५० रूपैयाँ लगानी गरेको छ । यसरी, तरकारी खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पुर्रयाउने उद्देश्यले हाते ट्र्याक्टर प्रदान गरिएको हो । उनले भने, “नमूना कृषिगाउँ स्थापना कार्यक्रमअन्तर्गत तरकारी खेतीलाई विशेष प्राथमिकता दिइएको छ, तरकारी खेतीका लागि जोत्न सहज हुने भएकाले हाते ट्र्याक्टर प्रदान गरेका हौँ ।” कृषक समूहमा ५८ सदस्य आबद्ध छन् । प्रदान गरिएका ट्र्याक्टर समूहका कृषकले आवश्यकताअनुसार समय मिलाएर प्रयोग गर्ने समूहका सदस्य कल्पना गुरुङले बताए । उनले भने, “हाते ट्र्याक्टरमार्फत् बारी जोत्न सहज र समयको पनि सदुपयोग हुनेरहेछ ।” मन्त्रालयले यसअघि सोही ठाउँका १५ घरधुरीलाई  सात लाख रूपैयाँ मूल्य बराबरको ६० मौरीसहितको घार वितरण गरेको थियो । मन्त्रालयले ३३ कृषकलाई बाख्रापालन तथा घाँस व्यवस्थापन र प्लाष्टिक घर, थोपा सिँचाइ, ‘मलचिङ’ प्रविधिको तरकारीखेती तालिम प्रदान गरिसकेको छ । त्यस्तै, नमूना गाउँको रुपमा छनोट भएको यस ठाउँलाई हरियाली बनाउन वृक्षारोपण कार्यक्रमलाई तीव्रता दिइएको छ भने सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ । एभोकाडो, शीतलचिनी रोपणको कार्यक्रम, नर्सरी व्यवस्थापनलगायतका काम पनि भइरहेको छ । रासस

गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा, निःशुल्क मुटु परीक्षण

 चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन् । गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताएका हुन् । अध्यक्ष गुरुङले भने, “वडाबाटै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने अभियानअन्तर्गत सबै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेका हौँ, हामीले स्वास्थ्यचौकी नभएका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी स्वास्थ्य सेवा शुरु गरेका छौँ ।” गाउपालिकाले वडा नं १ भाराङ, वडा नं २ मायाटार, वडा नं ३ माझगाउँ र वडा नं ७ भालुमारा स्याङ्दीमा गरी चार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । अहिले गाउँपालिकामा रहेको सात वडामा पाँच स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य एकाइ गरी नौ स्वास्थ्य संस्था छन् । अध्यक्ष गुरुङका अनुसार सबै सामुदायिक स्वास्थ्य एकाइलाई बर्थिङ सेन्टरको रूपमा विकास गरिनेछ । गाउँपालिकाको विकट क्षेत्रमा आवश्यकतानुसार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उनले  बताए । यसअघि साविकको गाविस चण्डीभञ्ज्याङमा दुई, दारेचोकमा एक, काउलेमा एक र दाहाखानीमा एक गरी पाँच स्वास्थ्यचौकी थिए । यी चार गाविस मिलेर इच्छाकामना गाउँपालिका बनेको हो । पच्चीस श्ययाको अस्पताल बन्ने प्रक्रिया अघि बढिसकेको पनि अध्यक्ष गुरुङले जानकारी दिएका हुन् । गाउँपालिकामा रहेका सबै बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिने भएको छ । गाउँपालिकाले हरेक महिना सबै गाउँका विद्यालयमा स्वास्थ्य टोली पठाएर बालबालिकाको निःशुल्क मुटुको परीक्षण गर्ने भएको हो । पछिल्लो समय बालबालिकामा मुटुको समस्या जटिल बन्दै गएकाले समयमै रोग पत्ता लगाई उपचार गर्न निःशुल्क परीक्षण गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताएका छन् । रासस

ट्राफिक प्रहरी फेरी जाग्याे, हर्न बजाउने ४१३ सवारी साधन एकैदिन कारवाहीमा   

काठमाडौँ ।  ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिए । महाशाखाले जथाभावी हर्न बजाउने सवारी साधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो । “ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उनले भने । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन । महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाही स्वरुप लिँदै आएको छ । यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन् । रासस

२ सयभन्दा बढी वस्तुमा ४५ प्रतिशतसम्म भन्सार कर बढ्याे, जुत्ता चप्पल व्यापारी तनावमा

काठमाडौं । सरकारले २ सयभन्दा बढी वस्तुहरूको भन्सार महसुल वृद्धि गरेको छ । स्वदेशी उद्योगहरूको संरक्षण मार्फत राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न भन्दै सरकारले आयात हुने बस्तुहरूमा भन्सार वृद्धि गरेकाे हाे । कुखुराको मासु, मिनरल वाटर, जुत्ता चप्पल, बिस्कुट/पाउरोटी, जुस मरिच, चिया कफी, तयारी आइसस्कीम, रक्सी ड्राइफुड सहित डब्बल क्याप पिकअपलगायतका वस्तुको भन्सार महसुल ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म भन्सार वृद्धि गरेको हो । सरकारले आर्थिक विधेयकमार्फत इनर्जी ड्रिङसमा ४५ प्रतिशत बढाएर ७५ प्रतिशत पुर्याएको छ । जुत्ता चप्पलमा २० प्रतिशत वृद्धि गरेर ४० प्रतिशत पुर्याएको छ । सरकारले चिनीको मूल्यमा पनि १० प्रतिशतले भन्सार मूल्य बढाएर उखु किसान र उद्योगीलाई संरक्षण गरेको छ । बदाम, काजु, पेस्तालगायका वस्तुमा भन्सार मूल्य ३० प्रतिशतबाट ४० प्रतिशत पुर्याइएको छ । जुसमा ३० प्रतिशतले भन्सार मूल्य बढाएको छ भने कफी, चियाको भन्सार महसुल १० प्रतिशत बढेको छ । धूलो दुध घ्यूमा पनि १० प्रतिशतले भन्सार मूल्य वृद्धि गरेको छ । संगीतका सामानमा १० र खेलौनामा पाँच प्रतिशतले महसुल वृद्धि भएको छ । कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा सहयोग पुग्ने वस्तुको उत्पादन वृद्धि गर्न  नेपालमा नै उत्पादन हुने खालका आयातित बस्तुमा सरकारले पाँचदेखि ४५ प्रतिशतसम्म भन्सार महसुल बढाएको भन्सार विभागका निर्देशक राजेन्द्रराज ढकालले बताए । यस्ता साना तथा खुद्रे वस्तुको भन्सार महसुल बढाउदा एकतिर राजस्वमा त्यति असर पर्दैन भने अर्कोतिर नेपाली उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्न सकिने विभागको भनाइ छ । करका दरमा खासै आक्रमक नदेखिएका अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला वस्तुको भन्सार मूल्य बढाएर राजस्व संकलनमा अप्ठ्यारो अवस्था सिर्जना गरेनन् । यस वर्ष नै राजस्व संकलन गर्न चुनौती खेप्दै आएका अर्थमन्त्री खतिवडाले उद्योगी र व्यवसायीलाई एकातिर रिझाए भने अर्कोतिर देशभित्रै रोजगारी सिर्जना हुन सक्ने साना तथा घरेलु उद्योगको संरक्षण समेत गरेका छन् । देशको अर्थतन्त्र निर्माण गर्न भलै यसले ठूलो सहयोग नमिल्ला यद्यपी यसले आम नेपालीलाई स्वरोजगार बन्न भने प्रेणित गर्छ । बजारमा यस्ता आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उद्योगहरू फस्टाउन सकेका छैनन् । देशमा बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न समेत यसले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । सरकारले आर्थिक विधेयक-२०७६ मार्फत अन्य बढी राजस्व संकलन हुने वस्तुको महसुल दर यथावत राखि यस्ता साना वस्तुको भन्सार महसुल बढाएको हो । हाल नेपालमा भारत, चीनलगायतका देशबाट अर्बभन्दा बढी मूल्यको यस्ता वस्तु आयात हुने गरेको छ । यसका साथै सरकारले दुध, माछामासु तथा अण्डामा आत्मनिर्भर बन्ने रणनीतिक योजना अघि बढाइसकेको छ । नेपालको जीडीपी जीडीपीमा २७. ५९ प्रतिशत प्राथमिक क्षेत्रको योगदान रहेको छ । आर्थिक विधेयक-७६ ले २१ वटा शीर्षकअन्तर्गतका २ सयभन्दा बढी उपशीर्षकको भन्सार महसुल बढाएको छ । बढ्दो आयातलाई न्यूनीकरण गरी व्यापार घाटा कम गर्न तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गरी भन्सार महसुल वृद्धि गरेको हो । सरकारले यसअघि नै स्वदेशी उत्पादनलाई संरक्षण गर्न यस्तो रणनीति लिएको हो ।