विकासन्युज

नेपाली र भारतीय मेडिकल व्यवसायीबीच छलफल, सहकार्यमा जोड

काठमाडौं । नेपाली र भारतीय मेडिकल उद्यमी व्यवसायीहरू बीच मेडिकल क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आपसी सहकार्यका विषयमा अध्ययन गर्न नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ, पूर्वी क्षेत्रका मेडिकल व्यवसायमा आवद्ध उद्यमीहरू र नेपाली हस्पिटल/मेडिकल उद्यमी व्यवसायीहरू बीच आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालमा सो छलफल भएको हो । छलफलमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र भारतीय टोलीको नेतृत्व सीआईआई हेल्थकेयर इस्टर्नका अध्यक्ष्ँ रूपक बरूवाले गरेका थिए । सीआईआई प्रतिनिधिमण्डलमा १४ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । सो अवसरमा भएको छलफलमा मेडिकल क्षेत्रमा हुन सक्ने संयुक्त लगानी, जनशक्ति विकास, तालीमको आदान प्रदान, अध्ययन अनुसन्धान, दुई देश बीच हाल रहेको नीतिगत व्यवस्था, स्वास्थ्य क्षेत्रको यथार्थ अवस्था लगायतमा बृहद छलफल भएको छ । बैठकमा नेपाल र भारत छिमेकी मुलुक भएकाले स्वास्थ्य सेवा लिन दुवै देशका नागरिक दुवै देश आउने/जाने परम्परा रहेतापनि नेपालीहरू भारतमा गएर उपचार गर्दा भाषागत समस्या, अपरिचित डाक्टर लगायतका केहि कठिनाईहरू रहेकोले ती कठिनाईहरूलाई सुल्झाउन पर्ने नेपाली पक्षबाट जोड दिइयो । बुधकार नै सीआईआई प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव समक्ष स्वास्थ्य मन्त्रालयमा भेटगरी नेपाल र भारत बीच स्वास्थ्य क्षेत्रमा हुन सक्ने सहकार्यका विषयमा छलफल गरेको थियो ।

महासंघको प्रतिनिधिमण्डल चीन साउथ एशिया फोरम बैठकमा सहभागी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधि मण्डलले बुधबार चीनको कुनमिङमा आयोजित १४ औं चीन–दक्षिण एशिया व्यवसाय फोरमको बैठकमा भाग लिएको छ । अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद र सार्क उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा चीनको युनान प्रान्तको कुनमिङ शहरमा फोरमको बैठक आयोजना भएको हो । फोरम बैठकमा नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको छ । बैठकमा महासंघको व्यापार मेला समितिका सभापति दीलसुन्दर श्रेष्ठ, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य,महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ, अधिकृत कृति खतिवडा सहितको महासंघको प्रतिनिधिमण्डलको सहभागिता रहेको छ । बैठककै क्रममा सीसीपीआईटी र सार्क राष्ट्रका उद्योग वाणिज्य महासंघहरूका तर्फबाट एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ÷नेपालको तर्फबाट महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले हस्ताक्षर गरे । समझदारीपत्रमा चीन र दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण, व्यापार सहजीकरण, आपसी सहकार्य लगायतका विषयमा जोड दिइएको छ । सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरू मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ । उक्त मेलाको विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल सहित महासंघको प्रतिनिधिमण्डलले अवलोकन गर्यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ । त्यसअघि मंगलबार चीनको कुनमिङमा योग्सी शहरमा आयोजना भएको चाइना साउथ एशिया सहयोग मंचको दोस्रो बैठकलाई महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष ढकालले सम्वोधन गरेका थिए । र्नुभयो । सो कार्यक्रमलाई संबोधन गर्नुहुंदै उहांले सार्क राष्ट्रहरूको अर्थतन्त्र विविधात्मक भएकाले यस क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रहरू बीचको बलियो सहकार्यमा जोड दिए । सार्क राष्ट्रहरूमा भौगोलिक, सास्कृतिक विविधता, सहज यातायात लगायत पर्यटनकोे लागि सार्क क्षेत्र विशेष भएको महासंघका पूर्व अध्यक्ष ढकालले बताए । उनले भने–‘नेपालले बीआरआइलाई एउटा महत्वपूर्ण कनेक्टीभिटीको रूपमा मानेको छ । नेपालमा भएका युवाहरूलाई परिचालन गर्न र नेपालको उत्पादकत्व बढाउन यसले मद्दत गर्छ ।’ बीआरआईले नेपाललाई सार्क क्षेत्र र चाइना जोड्ने कनेक्टीभिटी हवको रूपमा स्थापित गर्नसक्ने पनि उनले बताए । चीनले विश्वमा आफुलाई उत्पादन विविधिकरण र निरन्तर आर्थिक विकास गरीरहेको मुलुकको रूपमा चिनाईरहेको बेला नेपालले पनि त्यसबाट सिक्न आवश्यक रहेको बताउनु भयो । चीन नयाँ प्रविधिको विकासको कारण विश्वमा चिनिएको बताउँदै उनले नेपालले ती प्रविधिलाई ग्रहण गर्न सक्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी देउजा पक्राउ, साढे एक वर्ष जेल सजाय

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ का सुमन देउजालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले फरार रहेका देउजालाई जेठ २८ गते काठमाडौंको रानीवनबाट पक्राउ गरिएको हो । टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघ ४ गतेको फैसलाअनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । ठगी मुद्दामा फरार प्रतिवादी देउजालाई एक वर्ष छ महीना कैद र एक लाख ५० हजार जरिवाना ठहर भएकोमा सजाय बेरुजु रही ब्युरोको टोलीले पक्राउ गरेको हो । साथै, देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानको लागि काठमाडौंको कारागार कार्यालय जगन्नाथ देवल पठाइएको ब्युरोले बताएका छन् ।

मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

बाल्ट्राको पहिलो शोरुम कान्तिपथमा, नायिका प्रियंका कार्कीले गरिन् उद्घाटन

काठमाडौँ । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाली उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले राजधानीको कान्तिपथमा आफ्नो पहिलो र भव्य शोरुमको उद्घाटन गरेको छ । बुधबार शुभारम्भ गरिएको बाल्ट्राको शोरुमलाई नेपालकी चर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् । बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छत मुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्ने छन् । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

जुलाईदेखि सबै इलेक्ट्रोनिक भुक्तानी निःशुल्क गर्दै भारत, आरबीआईले गर्यो यस्तो व्यवस्था

काठमाडौं । छिमेकी मुलुक भारतमा इलेक्ट्रोनिक माध्यमबाट हुने सबै भुक्तानीहरु निःशुल्क हुने भएको छ । भारतीय रिजर्भ बैंकले इलेक्ट्रोनिक कारोबार सञ्चालन गर्ने आफ्नो नियमनका बैंकिङ तथा गैरबैंकिङ संस्थाहरुलाई आगामी जुलाई महिनादेखि सबै कारोबारहरु निःशुल्क रुपमा सञ्चालन गर्न निर्देशन दिन लागेको हो । बैंकको मौद्रिक नीति समितिले मंगलबार त्यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आरटीजीएफ र एनईएफटी सेवाअन्तर्गत लाग्ने सम्पूर्ण शुल्कहरु निःशुल्क गन बैंकिङ तथा गैरबैंकिङ संस्थालाई परिपत्र भने केही दिनभित्र हुने बताइएको छ । हाल ती संस्थाहरुले एनईएफटी सेवाको शुल्क १ रुपैंयादेखि ५ रुपैंया भारु र आरटीजीएफको मूल्य ५ रुपैंयादेखि ५० रुपैंया लिँदै आएका छन् । एनईएफटी प्रणालीले २ लाखसम्म र आरटीजीएफ प्रणालीले २ लाख भन्दा बढी रकम एकअर्काको खातामा भुक्तानी गर्न प्रयोग हुन्छ । आरबीआईले एटीएमको सेवाशुल्क कम गर्ने सन्दर्भमा अध्ययन गर्न एउटा समिति पनि बनाएको छ । भारतीय बैंकर्स संघका मुख्य कार्यपालक अधिकारीको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । सो समितिले सो सेवालाई अधिकतम कतिसम्म सस्तो गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल गरि आरबीआईलाई सिफारिस गर्नेछ ।

आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश, सीईओ पोखरेल सहित ७० जनाले गरे रक्तदान

काठमाडौं । रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।  रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई मध्यनजर गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको हो । ‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरियो । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० जना कर्मचारीहरूले रक्तदान गरेका छन् । १९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेका छन् । १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।

लोकसेवा विज्ञापनमा संसदीय समितिको कु, आवेदन नरोक्ने प्रष्टोक्ति

काठमाडौं । लोकसेवा आयोगले पूर्ण बैठक मार्फत स्थानीय तहमा पठाउने कर्मचारीको विज्ञापन रोक्ने सम्बन्धी संसदीय समितिको निर्देशनबारे निर्णय गर्ने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संबिधान विपरिद भएको आरोप लगाउँदै तत्काल रोक्न निर्देशन दिएको थियो । आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधान सम्वत रुपमा विज्ञापन गरेको जिकिर गर्दै आयोगको पूर्ण बैठकबाट समितिको निर्देशनबारे निर्णय गर्ने स्पष्ट पारेका हुन् । आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने उनको भनाई छ । उनले भने,‘समिति आफैंमा सार्वभौम निकाय हो । हामी समितिको निर्णय पालना गर्छौं ।’ यद्धपी उनले आयोग उम्मेद्धवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार रहेको सुनाए । उनले थपे,‘समितिको निर्देशन आयोगमा दर्ता भैसकेको छ । अब यस सम्बन्धमा छलफल गरेरमात्रै हामी यथाशक्य छिटो निश्कर्षमा पुग्छौं ।’ उनले आयोगको पूर्ण पदाधिकारीको बैठक नबसुञ्जेल आवेदन प्रक्रिया नरोकिनेपनि स्पष्ट पारे । उनले भने,‘हामी छिट्टै यसको समाधान दिन्छौं । उम्मेद्धवारलाई अप्ठ्यारो नपरोस भन्नेतर्फ आयोग सचेत छ ।’ लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए । उनले भने,‘२०१७ सालमा राजा महेन्द्रले राजनीतकि कु गरेका थिए, अहिले समितिले त्यस्तै प्रशासनिक कु गरेजस्तो लाग्यो ।’ आयोगको मुख्य काम भनेको नै विज्ञापन गर्नु भएको सुनाउँदै उनले यसलाई नै रोक्नु भनेको आयोगलाई भंग गरे जस्तै समितिको निर्णय भएको उनको आरोप छ । समितिले रिक्त पदमा करारद्वारा पुर्ति गर्न भनेर दिएको निर्देशनप्रति टिप्पणी गर्दै यो पनि गलत भएको उनको तर्क छ । उनले भने,‘यो पनि गलत हो । पहिला राजा महेन्द्रको पालामा करारमा आफ्ना आसेपासे नियुक्ती गरिन्थ्यो अनि पछि तिनीहरुलाई नै स्थायी गरियो । अहिलेपनि त्यस्तै भैरहेको छ । महिला विकास अधिकृतहरु स्थायी भए ।’ उनले भने,‘९ हजार १ सय ६१ कर्मचारी भर्ना गर्न कुनै अवरोध छैन । संसदीय समिति, लोकसेवा आयोग र मन्त्रालय बसेर अघि मैले भनेजस्तो प्रत्येक स्थानीय तह भन्ने शब्द हटाउँदा समस्या हल हुन्छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्ने निर्देशन दिएको स्पष्ट पारिन् । राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी नेतृ संग्रौलाले भनिन,‘मन्त्रीज्यूले समितिले दिएको निर्देशन मान्दिन भन्नु र विज्ञापनलाई अघि बढाउँछु भन्नुभएको छ, उहाँले समितिको निर्णयलाई नै त्रुटिपूर्ण भन्नुभयो, यस्तो भन्ने अधिकार उहाँलाई छैन ।’