विकासन्युज

पुरानो मेडिकल कलेजमा फेरी शुरुभयो मिर्गौला प्रत्यारोपण

काठमाडौँ । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ । चारबर्षअघि नै लाइसेन्स पाएको कलेजले त्यतिनै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो । गत सोमबार प्राडा राकेश बर्माको टोलीले साढे तीन घण्टा लगाएर भक्तपुर–६निवासी ५४बर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई २५बर्षीय भान्जा रिजनबीर जोशीले मिर्गौला दिएका हुन्।

निजी आवास पुननिर्माणमा ८२ प्रतिशत प्रगति, दुई लाख २८ हजार घर बन्दै

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ । संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको, ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धी हासिल भएको जानकारी दिए । निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन् । सरकारले निजी आवास पुननिर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्राधिकरणले अनुदान लिएका लाभग्राहीलाई छिटो घर पुनर्निर्माण थाल्न आग्रह गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पलाई अवसरका रुपमा लिएको र निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकाय र सरकारी भवन पहिले भन्दा राम्रा, बलियो र सुरक्षित बनेको बताए । ‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्व दिएर काम गरेका छौं, उनले भने–शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा लगायत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नैछौं ।’ राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माण उत्साहजनक रुपमा अघि बढेको बताए । ‘नवनिर्माणमा नयाँ ठाउँमा काम हुन्छ। पुनर्निर्माण गर्दा पुरानो ठाउँमा काम गर्नुपर्छ, पुराना कुराको संरक्षण गर्नुपर्ने हुन्छ ।जनताको भावनालाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले नवनिर्माणको तुलोमा राखेर तुलना गरे पुनर्निर्माणमा अन्याय हुन्छ’–सचिव कार्कीले भने । सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धीहरुले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रुपमा लिएर काम गरिरहेको बताए । उनले गलत विवरण दिएर कतिपय गुनासो पेश गरिएको भन्दै प्रस्तावहरुलाई अस्वीकार गर्न प्राधिकरणलाई आग्रह गरे ।सांसद महेशकुमार महराले पुनर्निर्माणका प्रगति राम्रो भएको टिप्पणी गर्दै भूमीहिन र सुकुम्बासीका मुद्दाहरुलाई सम्बोधन गरेर अघि बढ्न सुझाव दिए । अर्का सांसद चक्रप्रसाद स्नेहीले निकै जटिलताबीच पनि पुनर्निर्माण अघि बढेको टिप्पणी गर्दै अझ तीव्रताका साथ काम गर्न आग्रह गरे । सांसद रमेशजंग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाइवस्तु पाल्ने ठाउँ नराखिएकोमा आलोचना गरे । उनले उपभोक्ता समितिमार्फत गरिने पुनर्निर्माणमा अनियमितता हुन सक्ने भन्दै प्राधिकरणको ध्यानाकर्षण गरे । सांसद डा. बिमला राई पौड्यालले पछिल्लो समयमा प्राधिकरणले गरेका कार्यहरुले पुनर्निर्माणमा आशा जगाएको बताए । उनले भौतिक संरचनाहरुको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै जीविकोपार्जनका थप कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए । सांसद भैरवसुन्दर श्रेष्ठले विश्व सम्पदा सूचीमा परेका सम्पदाहरुको पुनर्निर्माण निकै जटिल हुने भन्दै प्रतिबद्धताअनुसार प्राधिकरणले काम गरेकोमा धन्यवाद दिए । सांसद कमला ओलीले सुदुरपश्चिममा हावाहुरीले क्षति पुर्याए पनि प्राधिकरणले सहयोग नगरेको गुनासो गरे । अर्का सांसद प्रमिलादेवी यादवले धरहरा, रानीपोखरी, सिंहदरबार लगायतका काम भइरहेको प्राधिकरणलाई धन्यवाद दिँदै प्रदेश नम्बर दुईका विभिन्न स्थानमा हावाहुरी र बाढी पहिरो पीडितलाई सहयोग गर्न आग्रह गरे । सांसद ओली र यादवले गरेको आग्रहको जवाफ दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले संसदले बनाएको ऐनले नै प्राधिकरणलाई २०७२ सालको भूकम्प र त्यसपछिका परकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना गर्ने अधिकार दिएको भन्दै हावाहुरी र बढी पीडितलाई सहयोगका लागि सम्बिधत निकायसँग समन्वय गर्न सांसदहरुलाई आग्रह गरे ।

नेपालको स्वीजरल्याण्डमा ६ अर्बको ‘इकोलोजी पार्क’, बन्ला त जिरी पर्यटन गन्तव्य ?

जिरी । नेपालको स्वीजरल्याण्ड मानिने जिरीमा ६ अर्ब खर्चेर टोनी हेगन इकोलोजी पार्क बन्दैछ । स्वदेशी तथा विदेशी पर्यटनलाई जिरीसम्म आर्कषण गर्न ताइवानी धर्म गुरु खेम्पो नवाङ नुरुले पार्कको गुरुयोजना बनाएर निर्माण कार्य अघि बढाएका हुन् । पार्क निर्माणको लागि नेपाल सरकारले ७५ रोपनी जग्गा उपलब्ध गराएको छ । पार्क निर्माण गर्दा जग्गा नपुग भएमा आवश्यक जमिन उपलब्ध गराउन सकिने जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले बताए । ‘प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा उक्त पार्क निर्माण कार्य अघि बढेको हो, उनले भने- ‘ हामी जिरीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेका छौं । पार्कमा गुरु पद्म सम्भवको विश्वकै अग्लो प्रतिमा, बौद्ध गुम्बा, मेडिटेशन हल, आश्रमसहितको संरचना बनाउने गुरुयोजनामा उल्लेख छ । अबको तीन वर्षमा सम्पन्न हुने योजना सहित पार्क निर्माण कार्य अघि बढाइएको प्रमुख जिरेलले बताए । पिकनिकस्थल, पोखरी, झरनासहित प्रकृतिको मनोरम दृष्य रह्ने पार्कमा बोटबिरुवादेखि जनावर, चराचुरुङ्गीको समेत संरक्षण हुनेछ । सातवटा पार्क सहितको वनले ६ सय रोपनी क्षेत्रफल ओगट्ने छ । प्रमुख जिरेलका अनुसार पार्क निर्माण प्रदेश र स्थानीय दुवै सरकारको प्राथमिकतामा परेको छ । उक्त पार्क निर्माण गर्न चालु आवमा प्रदेश सरकारले २५ लाख र स्थानीय सरकारले १५ लाख बजेट विनियोजन गरेको छ । विश्वकै उच्च हिम शिखर सगरमाथा जाने पुरानो ट्रेकिङ रूटको रुपमा परिचित जिरीमा टोनी हेगन पार्क सहित तेन्जिङ हिलारी संग्रहालय, बुद्ध पार्क, दृष्यअवलोकनका लागि टावर, स्टोन पार्क, जिरी ताललगायतका नयाँ संरचना तयार हुँदैछ । ‘यसका लागि जिरी नगरपालिकाले वर्षैपिच्छे बजेट विनियोजन गर्छ,’ मेयर जिरेलले भने ‘आवश्यक परे हामी प्रदेश र संघीय दुबै सरकारको सहयोग लिनेछौ ।’ जिरी ताललाई यो क्षेत्रको ड्रिम प्रोजेक्टकै रूपमा अगाडि बढाएको जिरेलले बताए । जिरी खोलामा बन्ने तालको लम्बाइ १३ सय मिटर हुनेछ भने चौडाइ ३ सयदेखि ८ सय मिटरसम्म हुनेछ । जिरी खोला थुनेर निर्माण गर्न लागिएको उक्त तालमा ६० मिटर अग्लो ड्याम्प बन्नेछ । उक्त तालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जिरेलले बताए । साथै तालमा जम्मा हुने पानीबाट २.४ मेगावाट विद्युत समेत उत्पादन गर्ने तयारी स्थानीय सरकारको रहेको छ । ‘ताल निर्माणमा स्थानीय सरकारको भन्दा प्रदेश सरकारको बढी प्राथमिकता छ । जिरी नगरपालिकाले हाल जिरी मल्टिपल डेभलपमेन्ट प्रोजेक्ट (जीएमटी) बनाएर कार्य अघि बढाएको उनले बताए । जिरीमा ६० को दशकमै सानो जहाज बस्ने विमास्थल बनाइएको हो । त्यसपछि अर्को स्थानमा ट्विनअटर विमान चल्ने विमानस्थल बनाएको जिरेलले उल्लेख गरे । दोलखा पर्यटन विकास समितिका अध्यक्ष बैकुण्ठ प्रधानले यस क्षेत्रको पर्यटकीय गतिविधिलाई प्रर्वद्धन गर्न नयाँ र पुराना सबै योजना अघि बढाइएको बताए । अबको ३ वर्षमा दोलखालाई नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउने उनको योजना छ । ‘जिरीदेखि दोलखा भीमेश्वर हुँदै कालिञ्चोकसम्म पर्यटकीय प्याकेज बनाएर यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ,’ उनले भने । को हुन् टोनी हेगन ? टोनी हेगन स्विस नागरिक हुन् । उनी सन् १९५७/५८ मा नेपाल घुम्न आएका बेला जिरी पुगेका थिए । जिरी उपत्यका देखेर उनलाई यहाँ धेरै गर्न सकिने स्थान रहेछ भन्ने लाग्यो । उनकै पहलमा जिरीलाई पहिलो विकास र पर्यटकीय आकर्षण रुपमा चिनाउन सुरु गरिएको हो । उनले जिरीमा स्विसबाटै ल्याएर गाईपालन गरेको जिरेलले बताए । उनले त्यतिबेला भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगाबाट जस्तापाता र किलाकाँटा बोकेर जिरी पुर्याएर भौतिक संरचना तयार पारिएको थियो । उनले स्थानीयलाई औषधि वितरण गर्न स्थापना गरिएको क्लिनिक अहिले जिरी अस्पताल बनेको छ ।

भायनेटको नयाँ शाखा अब ईटहरीमा

काठमाडौँ । इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले जेठ २९ गते आफ्नो नयाँशाखा ईटहरीमा संचालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक, ईटहरीमा खोलेको जनाएको छ ।

जनता बैंकद्वारा एकैदिन ६ शाखा कार्यालय बिस्तार, १३५ पुग्यो शाखा संख्या

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले बुधबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार शुरु गरेको छ । नयाँठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरेको हो । मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँबर क्षेत्रीको उपस्थिति रहेको थियो । यसैगरी, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उद्घाटन गरेका हुन् । यी ६ वटा शाखा समेत गरी जनता बैंकको शाखा सञ्जाल पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म, शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल १३५ पुगेको जनाइएको छ । यसैबीच, तनहुँको डुम्रेमा शाखा उद्घाटनसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्य शिविरपनि संचालन गरिएको बैंकले जनाएको छ । स्त्री तथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्य शिविरमा डुम्रे आसपासका करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । उक्त स्वास्थ्य शिविरमा बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।

१२ कक्षा पास नगरी विदेश पढ्न जान सरकारले अनुमति नदिने

काठमाडौं । सरकारले १२ कक्षा पास नगरी विदेश जान नदिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै १२ पास नगरेका विद्यार्थीहरुलाई विदेश अध्ययनको लागि जान नो अब्जेक्सन लेटर नदिने बताएको हो । १२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ । यसअघि कक्षा १२ लाई उच्च शिक्षा भन्ने गरिएकोले नो अब्जेक्सन लेटर दिईएको शिक्षा मन्त्रालयका महेश्वर शर्माले बताए ।

सङ्घीय सरकारले खानेपानीमा विनियोजन गरेको छ साढे नौ करोड,कहाँ कति कति छुट्याइयाे ?

काठमाडाैं ।  तनहुँ निर्वाचन क्षेत्र नं १ मा खानेपानी आयोजना निर्माणका लागि सङ्घीय सरकारले रु साढे नौ करोड बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६्/७७ मा सञ्चालन हुने गरी विभिन्न आयोजनाका लागि रु नौ करोड पचास लाख बजेट विनियोजन गरेको हो । क्षेत्र नं १ अन्तर्गत विभिन्न आठ योजनाका लागि मन्त्रालयले बजेट विनियोजन गरेको सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार डुम्रे खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु दुई करोड, आँबुखैरेनी साना शहरी खानेपानी योजनाका लागि रु दुई करोड ५० लाख, बन्दीपुर वृहत पम्पिङ खानेपानी योजनाका लागि रु एक करोड र भानु नगरपालिका वृहत पम्पिङ खानेपानी योजनाका लागि रु एक करोड विनियोजन गरिएको छ । त्यस्तै बन्दीपुर ढल निर्माण तथा प्रशोधन योजनाका लागि रु एक करोड, व्यास ढल निर्माण तथा प्रशोधनका लागि रु एक करोड, भादगाउँ सह–लगानी खानेपानी तथा सरसफाइ योजनाका लागि रु एक करोड र मिर्लुङ सतिस्वाँरा वृहत खानेपानी योजनाका लागि रु एक करोड विनियोजन गरिएको सांसद श्रेष्ठले जानकारी दिएका हुन् । दुई कृषि सहकारी गाभिए व्यास नगरपालिका–९ गजौडेस्थित दुई कृषि सहकारी संस्था एक आपसमा गाभिएका छन् भने सुनौलो भविष्य कृषि सहकारी संस्था र नयाँ गोरेटो कृषि सहकारी संस्था एक आपसमा गाभिएका हुन् । एकीकृत सहकारी संस्थाको साधारणसभाबाट सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था गठन गरिएको छ । सोको अध्यक्षमा विष्णु अधिकारी चयन भएका  छन् । समान उद्देश्य र समान भूगोलका सहकारी संस्थाहरु एकीकरण अभियानलाई सघाउन पटक–पटकको छलफल र समझारीपछि एकीकरण प्रक्रिया टुङ्गिएको अध्यक्ष अधिकारीले जानकारी दिए । ‘एक घर एक शेयर, एक सहकारी एक उत्पादन’ मार्फत कृषि र पशुजन्य वस्तुको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने सहकारीको मूल उद्देश्य रहेको बताइएको छ । यसरी, विसं २०६८ मा स्थापना भएको सुनौलो भविष्य र विसं २०६९ मा स्थापना भएको नयाँ गोरेटोले द्रुतगतिमा काम गर्न नसकेको अवस्थामा आर्थिक रुपमा सबल हुन र सहकारीका कार्यहरु अझ विस्तार गर्न एकीकरणको आवश्यकता महसुस गरी एकीकरण गरिएको सचिव राजु आचार्यले जानकारी दिएका छन् । पीडित परिवारलाई राहत चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ भकुण्डोथोक निवासी नौ वर्षीया पुष्पाअधिकारीको परिवारलाई सिलाई कटाई तालीमका प्रशिक्षार्थीले राहत प्रदान गरेका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सोही वडास्थित नमूना सिलाई कटिङ प्रशिक्षण केन्द्रले नारेश्वरटारमा सञ्चालन गरेको सिलाई कटाई तालीममा सहभागी प्रशिक्षार्थीले रकम सङ्कलन गरेर पीडित परिवारलाई सहयोग गरेका हुन् । तालीमका ४३ प्रशिक्षार्थीबाट सङ्कलन भएको रु दश हजार तीन सय ७० स्वर्गीय बालिकाका आमा दुर्गा अधिकारीलाई हस्तान्तरण गरिएको छ । पीडित परिवारको आर्थिक अवस्था दयनीय रहेकाले प्रशिक्षार्थीबाट स्वस्फूर्त रुपमा सङ्कलन गरी राहत रकम प्रदान गरिएको तालीमका प्रशिक्षक सीता अधिकारीले जानकारी दिएकी  छिन् । रासस

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने ६ जना मात्रै, के भयो गडबडी ?

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुई तिहाईको सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम ल्यायो । तर, सुन्दा लोकप्रिय लाग्ने शिक्षित युवा स्वरोजगार कर्जा कार्यक्रम असफल भएको छ । यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या अहिलेसम्म जम्मा ६ मात्रै छ । उनीहरुले यो कार्यक्रम मार्फत २५ लाख रुपैयाँ सहुलियत कर्जा लिएका छन् । जेठ २३ मा प्रतिनिधि सभामा आगामी आवको बजेट माथिको छलफल कार्यक्रममा सहभागी सांसदहरुले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने कुरा किन कार्यान्वयन भएन ? यसमा के गडबडी भयो भन्दै अर्थमन्त्री समक्ष प्रश्न तेस्र्याएका थिए । जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार ऋण दिन तयार हुँदाहुँदै पनि युवाहरुले यस कार्यक्रमप्रति चासो नदिएको तर्क गरे । तर, यसरी युवाहरु आकर्षित हुन नसक्नु पछाडीको कारणबारे भने उनले खुलाएनन् । यसरी ऋण लिेन प्रकृया झण्झटिलो छ, कत्ति युवाहरु त बैंकबाट रित्ता हातसमेत फर्किएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । सरकारले सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा ल्याएसँगै नेपाल राष्ट्र बैंकले २०७५ असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले योग्य नागरिकलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न सक्ने बताएसँगै धेरै युवाहरु उत्साहित भएका थिए । तर, चालु आवको बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका हुन् । यस सम्बन्धमा अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले कार्यविधिमा प्रकृया नमिलेकोले शुरुमा शैक्षिक ऋण लिन समस्या आएको हो, तर अहिले भने यस्तो केही समस्या नभएको बताए । ६ जनाले मात्र कर्जा पाएको भन्ने तथ्याङ्क गत चैत महिना सम्मको मात्रै हो–उनले भने । बैशाख र जेठमा शैक्षिक कर्जा लिनेको संख्या बढ्दै गएको उनले बताए । कसरी लिने कर्जा ? अर्थ मन्त्रालयले उक्त कार्यविधि अनुसार शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइन्छ । तर, लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । सरकारको योजनानुसार कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र ४० बर्ष ननाघेको नेपाली युवाले ७ लाख सम्मको शिक्षित युवा स्वरोजगार कर्जा र माध्यमिक वा सो सरह उत्तीर्ण गरी २५ वर्ष ननाघेका नेपाली युवाले ५ लाख सम्मको उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा लिन पाउने छन् । कर्जा नपाए के गर्ने ? सबै आवश्यक कागजात बैंकलाई बुझाईसकेपछी बैंकले २१ दिनभित्रमा ऋण लिन चाहने व्यक्तीलाई जवाफ दिईसक्नु पर्ने व्यवस्था रहेको छ । यदी बैंकहरु यसो नगरेको खण्डमा गुनासोको लागि सम्बन्धित व्यक्तीले टोल फ्री नं मार्फत आफ्नो गुनासो राख्न पाउनेछन् । गुनासो सुनुवाईको लागि डेपुटी गभर्नरको समूहमा अर्थमन्त्रालयको तर्फबाट एकजना सहसचिव पनि हुन्छन् । बैंकले सेवाग्राहीलाई ऋण नदिएको बारे जवाफ दिनुपर्नेछ । अर्थमन्त्रालयका प्रवक्ता खत्री भन्छन्–‘सेवाग्राहीले कार्यविधि पालना गरेको अवस्थामा बैंकले ऋण दिदैनौं भन्न मिल्दै मिल्दैन।’ कुन विधामा कति जनाले लिए सहुलियतपूर्ण कर्जा ? सरकारले प्रदान गर्दै आएको विभिन्न ७ विधाको सहुलियतापूर्ण कर्जामा गत चैत महिनासम्म १४,९२३ लाभान्वित भईसकेका छन् । चालु आवमा सहुलियतपूर्ण कर्जाका लागि ५ अर्ब बजेट छुट्याइएको थियो । कर्जा लिनेमा सबैभन्दा बढी कृषि तर्फबाट १४,६३९ जना, शिक्षित युवा स्वरोजगार कर्जा ६ जना, महिला उधमशील कर्जा १७० जना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५५ जना, दलित समुदाय व्यवसाय विकास कर्जा १५ जना, विदेशबाट फर्किएका युवा परियोजना कर्जा ११ जना र भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा २७ जनाले लिएका छन् । कस्ता व्यक्तिले पाउँछन् सहुलियत कर्जा ?  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ मा यस्तो उल्लेख छ ।