विकासन्युज

समितिमा पुग्यो विज्ञापन नियमन विधेयक, होर्डिङ बोर्ड राख्न स्थानीय तहबाट अनुमति लिनु पर्ने

काठमाडौँ । सरकारले अघि सारेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिमा पुगेको छ । समितिको आजको बैठकमा सो विधेयक पेश भएको हो । सरकारले विसं २०७५ पुस २२ गते सो विधेयक संसद्मा दर्ता गराएको थियो । के छ त विधेयकभित्र ? विज्ञापन गर्न सकिने, होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापन गर्न नहुने, विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने, विज्ञापन गर्न निषेध क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्डको गठन, बोर्डको काम कर्तव्य र अधिकारलगायतका विषय रहेका छन् । विज्ञापन निर्माता, विज्ञापन एजेन्सी तथा विज्ञापनका अन्र्तवस्तुहरूलाई नियमन गर्ने छुट्टै प्राधिकरण वा बोर्ड नै चाहिन्छ भनेर सरोकारवालाहरूले आवाज उठाइरहेका बेला सरकारले विज्ञापन नियमनका लागि यो विधेयक ल्याइएको छ । नेपालमा विज्ञापनलाई नियमन गर्न ल्याइएको यो छुट्टै विधेयक हो । यसअघि नेपालमा जारी विभिन्न नीतिगत व्यवस्थाबाट विज्ञापन नियमन गर्ने गरेका छन् । राष्ट्रिय प्रसारण ऐन २०४९, पत्रकारआचार संहिता, विज्ञापन सम्बन्धी दीर्घकालीन नीति २०५९, राष्ट्रिय आमसञ्चार नीति २०७३ लगायत अन्य विभिन्न नीतिगत व्यवस्थाबाट विज्ञापनलाई व्यवस्थित र नियमन गर्ने कार्य हुँदै आएको छ । विधेयकमा विभिन्न माध्यम जस्तै होर्डिङ् बोर्ड, रेडियो, टेलिभिजन, पत्रपत्रिकासँगै नयाँ मिडियामा प्रकाशन तथा प्रसारण गरिने विज्ञापनलाई नियमन गर्नका लागि विभिन्न व्यवस्था गरिएको छ । सार्वजनिकस्थलबाट देखिने गरी होर्डिङ बोर्ड राख्न र विज्ञापन गर्न स्थानीय तहबाट अनुमति लिनुपर्नेछ । सर्वसाधारणलाई आवतजावत गर्न बाधा, असुविधा हुने, शहरको सौन्दर्यमा प्रतिकूल असर पुग्ने गरी बोर्ड राख्न नपाइने प्रावधान विधेयकमा रहेको छ । त्यस्तै प्रस्तावित विज्ञापन बोर्डको काम कर्तव्य र अधिकारमा सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन समानुपातिक रुपमा वितरण गर्ने विधेयकमा उल्लेख छ । विज्ञापन बजारको अवस्था नेपालको विज्ञापन बजार हाल रु ३० अर्बदेखि ५० अर्बसम्मको रहेको अनुमान छ । तीमध्ये सबैभन्दा बढी हिस्सा छापा माध्यमका मिडियाको पहुँचमा छ । छापा माध्यमका मिडियाले कुल विज्ञापनमध्ये झन्डै ४७ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि रेडियो र टिभीले १९-१९ प्रतिशत, डिजिटल मञ्चहरुले ५ प्रतिशत तथा विज्ञापन बिलबोर्ड र अन्यले १० प्रतिशत हिस्सा ओगटेको अनुमान गरिएको छ । समन्वय गर्ने संयन्त्रको खाँचो विधेयकमा प्रस्तावित गरिएको विज्ञापन बोर्ड र प्रदेश स्तरमा बन्ने अनुगमन तथा नियमनको कार्य गर्ने समितिका बीच प्रभावकारी समन्वयको खाँचो देखिएको छ । यसले दीर्घकालीन प्रभाव पार्ने सम्भावना रहन्छ । प्रदेश सरकारको स्वीकृति लिएर सञ्चालन भएका मिडिया र सङ्घीय सरकारबाट स्वीकृति लिई सञ्चालित मिडिया एकै ठाउँमा रहेर पनि दुई प्रकारको नीति नियमभित्र रही प्रकाशनरप्रसारण गर्दा प्रदेश र सङ्घीय कानूनको अधिकारको टकरावमा मिडिया पर्न सक्छन् । त्यसैले विज्ञापन बोर्ड र प्रदेश सरकारबाट बन्ने समितिबीच समन्वयकारी सम्बन्ध स्थापना हुनु आवश्यक छ । रासस

पूर्वअर्थमन्त्री डा. महतले भने-‘देशमा वित्तीय संकट आउने भो’

काठमाडाैं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका  छन् । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले ऋण लिएर बजेटको आकार बढाइएको बताएका छन् । एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उनको भनाइ थियो । डा. महतले भने, “जिडिपिको करिब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ ।  यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ ।” आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उनको भनाइ थियो । यसरी, वर्तमान सरकारप्रति सर्वसाधारण र बौदिक वर्ग निरास भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उनले दाबी गरे  । काङ्ग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने  बताउँदै  मानव अधिकार, सङ्क्रमणकालीन न्यायलगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण समेत भएको उनको भनाइ थियो । रासस

आइजीआई विधार्थी बीमालेख प्राप्त गर्ने पहिलो विद्यालय भयो सर्लाहीको प्रेमज्योति प्रावि

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ मा रहेको प्रेमज्योति प्राथमिक विद्यालयबीच बिधार्थीहरुको दुर्घटना बीमा गर्ने सहमति भएको छ । लालबन्दी वडा नम्बर ६ को कार्यालयले सो विद्यालयमा अध्ययनरत ८१ जना विधार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले जारी गरेको आइजीआई विधार्थी बीमालेख र सोही विद्यालयमा नर्सरीमा अध्ययनरत ४५ जना विधार्थीका लागि दुर्घटना बीमा खरिद गरी निःशुल्क रुपमा विद्यालयलाई प्रदान गरेको छ । लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्ष उज्ज्वल कार्कीले विधार्थीहरुको निःशुल्क बीमा गरिएको र उक्त बीमा गर्दा लाग्ने रकम वडा कार्यालयले भुक्तान गरिदिएको जानकारी दिए । उक्त सामुदायिक विद्यालय आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हालै जारी गरेको नेपालको पहिलो विधार्थी बीमालेख आइजीआई विधार्थी बीमालेख प्राप्त गर्ने पहिलो सामुदायिक विद्यालय भएको सो कार्यक्रममा जानकारी दिइयो ।

प्रभु बैंकले टीकापुरमा शुरु गर्यो कारोबार, शाखा संख्या १८४ पुर्यायो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्ला टीकापुर नपा वडा नं.१ मा टीकापुर शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको टीकापुर नपाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको रहेको थियो । टीकापुर शाखा समेत गरी बैंकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा कृषि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा आयोजना हुने मेलामा कृषिसँग सम्बन्धित ५० वटा स्टल रहने मेला सचिवालयका संयोजक प्रांं. डा. अर्जुन श्रेष्ठले बताएका छन् । ती स्टलहरुमा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउबिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहने उनले जानकारी दिए । हरेक वर्ष आयोजना गर्ने गरी शुरु गर्न लागिएको मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याका बारेमा अन्तरक्रिया गरिनेछ । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राख्न सक्ने विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले जानकारी दिएका छन् ।   उनले अध्ययन–अनुसन्धान र प्रसारको काम गर्ने गरी २०६७ साल असारमा स्थापना भएको सो विश्वविद्यालयले अनुसन्धानका क्रममा प्राप्त गरेका उपलब्धिहरुलाई कृषकसमक्ष पु¥याउन मेला उपयोगी हुने बताएका हुन् । मेलाको सहआयोजकमा भरतपुर महानगरपालिका, प्रदेश नं ३ र ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेका छन् भने प्रवर्धकमा उद्योग वाणिज्य सङ्घ चितवन रहेको छ । उक्त मेलाको सहयोगीमा कृषि ज्ञान केन्द्र चितवन र ललितपुर छन् । मेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । रासस

अन्तराष्ट्रिय माउण्टेन हबको खोजी गर्दै योजना आयोगको टोली रुवि भ्यालीमा(फोटो फिचर)

काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ती उत्पादनदेखि अन्तराष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तराष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताए । सरकारले चाहेजस्तो पर्याप्त पूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाडौंबाट सबैभन्दा नजिकको दुरीमा रहेको रुविभ्याली स्थित गणेश हिमाल श्रृङ्खला अन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा रहेको धादिङ क्षेत्र नं. २ का सांसद खेमप्रसाद लोहनीले बताए । पाल्दोर आधार शिविर र पाङसाङ पासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्च पदाधिकारीद्वारा स्थलगत अवलोकन गरिसकिएको छ । यही जेठ १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुविभ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरीक्षण गरेको हो । अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुँयाल, धादिङ क्षेत्र नं. २ का सांसद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतको सहभागिता थियो । पर्यटन मार्फत नै आर्थिक समृद्धि रविश्व समुदायको ध्यान खिच्न सक्ने उपयुक्त परियोजनाको खोजी गर्दा राजधानीबाट सबैभन्दानजिक र छिटो सम्पन्न गर्न सकिने सो स्थान छनोटमा पर्न सक्ने देखिएको छ । भ्रमणबाट फर्किएपछि उपाध्यक्ष कँडेलले पर्यटन मार्फत समृद्धि हासिलगर्न यस्ता परियोजनाको खोज अनुसन्धान हुन आवश्यक रहेको बताए । उपाध्यक्ष कँडेलले भने–‘प्रारम्भिक चरणको अध्ययनमा पाल्दोर आधार शिविर राजधानीबाट नजिक रहेको र उपयुक्त लोकेशनमा रहेकोले अगाडि बढाउन उपयुक्त देखिएको छ ।’ राष्ट्रिय आवश्यकताको आधारमायस्ता परियोजना छनोट हुने भएकाले यसै वर्ष विस्तृत अध्ययन गरिने जानकारी दिए । पाङसाङबाट अन्नपूर्ण, माछापुच्छ्रे मनाश्लु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट धादिङबेसी हुँदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसी हुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टर मार्फत १८ मिनेट मै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ । स्थलगत निरीक्षण गरेर फर्किएका राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुँयालले राष्ट्रिय महत्व बोकेको राम्रा परियोजनाको खोजी गर्ने क्रममा पाल्दोर पिकपनि एउटा संभावनाले युक्त देखिएको बताए । नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएशन नेपालले यसअघि पाल्दोर पिकमा माउण्टेन हट निर्माण गर्न विभिन्न दातृ निकायसंग सहकार्य गरेर प्रारम्भिक अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा सांसद लोहनी र नेपाल पर्वतारोहण संघको मागका आधारमा सरकारले बजेट समेत विनियोजन गरेको छ । सरकारले माउण्टेन हब बनाउने उद्देश्यका साथबजेट विनियोजन गरेरै अध्ययन गर्न थालेपछि पर्वतीय पर्यटन व्यवसायीहरु खुशी भएका छन् । नेपाल पर्वतारोहण संघका पूर्व महासचिव ठाकुरराज पाण्डे पाल्दोरमा माउण्टेन हब निर्माण हुँदा सिंगो मुलुकले फाइदा पाउने हुँदा पर्यटन क्षेत्र हर्षित भएको बताउनु हुन्छ । नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ पर्वतीय पर्यटनलाई राष्ट्रले अपनत्व लिएर परियोजना अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै सहकार्यका निम्ति पर्वतारोहण संघ संधै तत्पर रहने बताउँछन् । सरकारले हिमाली क्षेत्रलाई विशेष महत्व दिँदै विभिन्न आयोजनालाई बजेट मार्फत सम्बोधन गरेको छ । नेपाल सरकारको यही आर्थिक वर्षमा हिमाली क्षेत्रमा पूर्व-पश्चिम हरित पदमार्ग, हिमाली क्षेत्रमापुग्न केवलकार र विभिन्न सर्किटहरुमा पदमार्ग निर्माण गर्न बजेट व्यवस्था गरेको छ । रुवि भ्यालीको लागिपनि विस्तृत परियोजना प्रस्ताव तयार गर्न र पाल्दोर आधार शिविरसम्म पुग्न पदमार्ग निर्माणका लागि एक करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

एनसेलले ल्यायो आकर्षक योजना, फोरजीमा अब डबल डेटा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । बिहीबारदेखि लागु भएको उक्त अफरले देशको १,००० भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार भएको घोषणा गरेको छ । दुई साता भित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फोरजी डेटा बोनसको योजना ल्याएको हो ।   यो योजना अन्तर्गत सात दिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा कर सहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् भने ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् । त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् भने ५०० एमबी प्याक कर सहित रु ९५ं.७७ मा सुचारु गरीे ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् । योजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । देशका १,००० भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको उक्त योजनामा एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक एसएमएसबाट सुचारु गर्न सक्नेछन् । सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरी १७१२३ मा एसएमएस पठाउने र तीस दिनको प्याक सुचारु गर्न ३५५ टाइप गरी १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । यसरी, ग्राहकहरुलाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याएको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।

ख्वप कलेज भक्तपुरको आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन

काठमाडाैं । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबारदेखि  भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिएका छन् । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा. डा. पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्प कँडेल, डा. निर्मल रावतलगायतका रहनेछन् । उक्त सम्मेलनमा नेपाल राष्ट्र  बैंकका  पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतका व्यक्ति पनि प्रमुख वाचकको रुपमा रहने जनाइएको छ भने संस्थागत, व्यक्तिगत र विद्यार्थी गरी तीन वर्गबाट विभिन्न विषयमा ३४ कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी, एकाउन्टेन्सी, फाइनान्स, मार्केटिङ, फाइनान्सियल मार्केट, लेवर रिलेशन, इन्टरनेशनल ट्रेड, इकोनोमिक ग्रोथ एण्ड डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एण्ड अपरेशन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैंकिङ एण्ड इन्स्योरेन्स तथा अरु म्यानेजमेन्टसँँग सम्बन्धित विषयमा रहेर कार्यपत्र प्रस्तुत हुने कलेजले जनाएको छ । साथै  संयोजक राजन फाँजूका अनुसार सम्मेलनमा १०० भन्दा बढीको सहभागिता रहनेछ । रासस