कुमारी बैंककाे नयाँ नेतृत्वलाई चुनौती : आक्रामक बजार विस्तार र ब्राण्ड इमेज सुधार

<p>काठमाडौं । वार्षिक साधारणसभा भएको ठीक ३५ दिनमा कुमारी बैंकको विशेष साधारणसभा आज हुँदैछ । वार्षिक साधारणसभामै उल्लिखित एजेन्डालाई पूरा गर्न कानूनी झन्झट देखिएपछि अपुरो अवस्थामै टुङ्गिएको कुमारी बैंकको १८ औं वार्षिक साधारणसभालाई पूर्णता दिन यो सभा केन्द्रित रहनेछ । खासगरी एकजना महिलाले बोर्डमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै अदालतबाट सञ्चालक समितिका रिक्त सदस्यको चुनाव रोक्ने [&hellip;]</p>

काठमाडौं । वार्षिक साधारणसभा भएको ठीक ३५ दिनमा कुमारी बैंकको विशेष साधारणसभा आज हुँदैछ । वार्षिक साधारणसभामै उल्लिखित एजेन्डालाई पूरा गर्न कानूनी झन्झट देखिएपछि अपुरो अवस्थामै टुङ्गिएको कुमारी बैंकको १८ औं वार्षिक साधारणसभालाई पूर्णता दिन यो सभा केन्द्रित रहनेछ ।

खासगरी एकजना महिलाले बोर्डमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै अदालतबाट सञ्चालक समितिका रिक्त सदस्यको चुनाव रोक्ने स्टेअर्डर ल्याएपछि बैंकको सो चुनावी प्रक्रिया रोकिएको थियो  । प्रबन्ध पत्र तथा नियमावलीमा भएकाे संशाेधन, नयाँ सञ्चालक समितिमा भएकाे सर्बसहमतिसँगै अब कानुनी विवाद सकिएकाे छ ।

बैंकका सञ्चालकहरुका लागि अमिरप्रताप राणा, कृष्णप्रसाद ज्ञवाली, महेश पोखरेल, अनुराधा चौधरी र गणेशकुमार पाठक गरी ५ जना रहने निश्चित भएको छ । निर्वाचित सञ्चालकहरुबाट अमिरप्रताप राणालाई अध्यक्ष चुनिने पक्का भएको स्रोतले बतायो ।

जटिलता छिचाेल्दै विशेष साधारणसभामा

कुमारी बैंकको यो विशेष साधारणसभालाई यसअघिको १८ औं वार्षिक साधारणसभाकै निरन्तरताको रुपमा जानकारहरु लिन्छन् । १७ औं र १८ औं साधारणसभा एकैपटक गरेको बैंकले यो सभालाई समेत जोडेर हेर्दा एउटा संक्रमणकालीन चरणलाई पूरा गरेको छ ।

नेपाल राष्ट्र बैंकको न्यूनतम चुक्तापुँजी पुर्याउने अधिकतम सीमामा पुँजी पुर्याउन असफल रहेका तीन बैंकमध्ये एक रहेको सो बैंकले पुँजी नपुर्याएकै कारण नियामकबाट निरन्तर दबाब खेप्नुपर्ने अवस्था थियो भने व्यवस्थापकीय क्षमता विस्तार गर्न समेत बैंकलाई बन्देज थियो ।

एनसीसी बैंकसहित ६ ओटा विकास बैंकसँग ‘मेगा मर्जर’को तयारीमा रहँदारहँदै पुँजी वृद्धिको समय गुज्रेपछि बैंक तोकिएको पुँजी पुर्याउन असफल भएको थियो, त्यसो त यही बैंकसँग मर्जरको तयारीमा रहेको एनसीसी बैंकले पनि सोही कारण पुँजी पुर्याउने लक्षित समय गुजारेको थियो ।

एनसीसी बैंकसँग मर्जर असफल भएपनि बैंकले तात्कालिन अवस्थामा राम्रो कार्यसम्पादन रहेको काष्ठमन्डप डेभलपमेन्ट बैंकसहित महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई आफूमा गाभेको थियो । २०७४ असारमा ती संस्थाहरुसँग एकिकृत कारोबार भएपछि पहिलोपटक सम्पन्न साधारणसभामा रिक्त नेतृत्व सहमतिमै चुनिनुले कुमारी बैंकको अर्को उज्जवल भविष्यको मार्गदर्शन गर्छ ।

चुस्त सञ्चालक समिति

नयाँ सञ्चालक समिति सानाे छ र चुस्त छ । २८ वटा वाणिज्य बैंक मध्ये विज्ञसहित ५ जना मात्र सञ्चालक चुनिएकाे याे पहिलाे पटक हाे । अमिरप्रताव राणासँग बैंकिङ र औद्याेगिक क्षेत्रमा नेतृत्व गरेकाे अनुभव छ । राणा नेपालको सबैभन्दा ठूलो फुटवेयर इन्डष्ट्रिज गोल्ड स्टारका प्रबन्ध निर्देशक हुन् । उनले औषधि, एलपीजी ग्यास लगायत उद्योगहरु पनि सम्हालिरहेका छन् । उनको बुबा नूरप्रताव राणा कुमारी बैंकको संस्थापक अध्यक्ष हुन्, जसले लामो समय यस बैंकको नेतृत्व लिएका थिए । अमिर पनि अघिल्लो बोर्डमा सञ्चालक थिए ।

कृष्णप्रसाद ज्ञवाली मनाङ एयरका प्रबन्ध निर्देशक हुन् । उनी ट्राभल एजेन्सी, होटल, रेमिट्यान्स लगायत व्यवसायमा संलग्न छन् । महेश पोखरेलसँग सिद्धार्थ बैंकमा १२ वर्ष सञ्चालक समितिमा रहेर काम गरेको अनुभव छ । पाेखरेल २० वर्ष अघिदेखि शेयर बजार सक्रिय छन् ।

बैकिङ र मार्केटिङ दुई विषयमा स्नातकोत्तर अनुराधा चौधरी हाल कलेजमा अध्यापनरत छिन्। उनी कुमारी बैंकका पूर्वसञ्चालक जगदीश चौधरीको छोरी हुन् । विज्ञ सञ्चालक गणेशकुमार पाठक यसअघि पनि साेही बैंककाे सञ्चालक थिए । इन्स्टिच्युसनल मेमाेरीमा उनले पुलकाे काम गर्न सक्छन् ।

व्यवस्थापनमा क्षमतावान नेतृत्व

कुमारी बैंकको अर्को ‘स्ट्रेन्थ’ भनेको उच्च क्षमता र सम्भावना युक्त व्यवस्थापन टीम हो । कुमारी बैंकको व्यवस्थापन टीममा त्यस्ता सम्भावनायुक्त व्यक्तिहरु छन् जो यसअघि वित्तीय संस्थाहरुकै कार्यकारी भूमिकाबाट उच्च क्षमतायुक्त सावित भइसकेका छन् ।

यसअघि सिद्धार्थ बैंकमा दुई कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेर सो बैंकलाई गुणात्मक रुपमा बलियो र विश्वसनीय बनाउन सफल भएका सुरेन्द्र भण्डारी बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । २ वर्षअघि कुमारी बैंकमा आएका उनलाई कुमारी बैंकमा बढीमा ६ वर्षसम्म रहनसक्ने सुविधा छ । ‘लो प्रोफाइल’मा रहेर काम गर्ने उनको स्वभावकै कारण व्यवस्थापकीय टिम परिचालनमा उनी सबल रहेको बताइन्छ ।

यसअघि सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अनुज तिमिल्सिना बैंक ब्यवस्थापनमा सेकेन्डम्यानको रुपमा छन् । बैंकिङ क्षेत्रका विश्लेषकहरु भन्छन्, ‘सेञ्चुरी बैंकमा रहँदा उनले जति गरे राम्रो गरे ।’ ‘बर्षौंदेखि सञ्चालनमा रहेको र वित्तीय रुपमा सबल बैंकहरुको सामुन्ने नयाँ आएको बैंकले उहाँको नेतृत्वमा गरेको कार्यसम्पादनलाई नराम्रो भन्न मिल्दैन’ एक विश्लेषकले भने ।

कुमारी बैंकमै यसअघि २ वर्षसम्म कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका राजीव गिरीले पनि सो अवधिमा कुमारी बैंकमा राम्रो नेतृत्व प्रदान गरेका थिए । तात्कालिन प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायको राजीनामासँगै बैंकले उनलाई कार्यवाहकको जिम्मेवारी दिइए थियो ।

तात्कालिन काष्ठमण्डप डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका उमेशसिंह भण्डारीले पनि सो बैंकमा रहँदा उच्च क्षमता प्रदर्शन गरेका थिए । माैका पाए वाणिज्य बैंककाे प्रमुख कार्यकारी अधिकृत बन्ने क्षमता उनीसँग छ । याे लेभलकाे उच्च व्यवस्थापन टिम कुमारी बैंकसँग छ ।

शाखा सञ्जालमा क्षेत्रीय सन्तुलन

सुदूरपश्चिमको महाकाली विकास बैंक, मध्यपश्चिमको काँक्रेविहार बैंक, पश्चिमाञ्चलको पश्चिमाञ्चल फाइनान्स र आफुसहित मध्यमाञ्चलको काष्ठमण्डप डेभलमेन्ट बैंकलाई आफुमा समाहित गरेको कुमारी बैंकसँग हाल काठमाडौं उपत्यकामा २४ सहित देशभर ९३ शाखा, ३ एक्सटेन्सन काउन्टर र ८४ ओटा एटिएम काउन्टरहरु छन् । मर्जर तथा प्राप्तिमा क्षेत्रीय सन्तुलन मिलाएकोले बैंक शाखाको हिसाबले पनि सन्तुलित छ ।

तर प्रादेशिक रुपमा थप सन्तुलित बनाउने र प्रत्येक शाखाको प्रभावकारिता बढाउँदै अघि बढ्नुपर्ने चुनौती बैंकलाई छ । त्यसो त छोटो समयमै धेरैपटक कर्पोरेट कार्यालय परिवर्तन गर्नुपर्ने बाध्यतामा रहेको कुमारी बैंकलाई सुविधासम्पन्न र अत्याधुनिक कर्पोरेट कार्यालय निर्माण गर्ने कार्यमा नयाँ सञ्चालक समितिको सहयोग आवश्यक पर्नसक्छ ।

बैंककाे वासलात मध्यमस्तरकाे छ । बलिया वाणिज्य बैंककाे वासलात २५० अर्ब नजिक पुगेकाे छ भने कमजाेर वाणिज्य बैंककाे वासलात ६० अर्बकाे हाराहारीमा छ । कुमारी बैंककाे वासलात ९२ अर्बकाे छ, याे निम्न मध्यमस्तरकाे वासलात हाे । आक्रामक व्यापार विस्तार गर्नु याे बैंककाे लागि मुख्य चुनाैती हाे ।

बैंककाे ब्राण्ड इमेज सुधारसँगै सेवा स्तर राम्राे बनाउनु बैंककाे अर्काे चुनाैती हाे । नेपाली मात्रैको लगानीका पहिलो पटक स्थापित कुमारी बैंकले दुई दशक पार गर्दा यसले आफ्नाे संस्थागत छवि उच्चस्तरकाे बनाउन सकेकाे छैन । गुगलमा सर्च गर्दा समेत नभेटिने बैंक बनेकाे छ । बैंककाे मुख्य कार्यालय समेत कहिले पुतलीसडक, कहिले दरबारमार्ग हुँदै अहिले टंगाल पुगेकाे छ । बैंककाे एउटा राम्राे फाेटाे पनि गुगलमा पाइँदैन । लाेगाे, कलर, बैंकका बाेर्डमा चमक छैन । बैंक सञ्चालक समितिभित्र र प्रमाेटरबीच हुने विवादले याे बैंककाे छवि धमिलाे बनाएकै हाे ।

धेरै सवल पक्ष हुँदाहुँदै केही कमजाेर पक्ष पन्छाउन नसक्दा बैंक पछाडि परेकाे हाे । कुमारी बैंककै कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले सन्ताेष लामालाइ लक्षित गर्दै ‘औंठाछाप सञ्चालक र अध्यक्षले अबकाे बैंक चलाउन सक्दैनन्’ भन्दा कुमारी बैंकका शेयरधनी र कर्मचारीकाे शिर नुहेकाे पनि धेरैले देखेकै हुन् । नयाँ सञ्चालककाे आगमनसँगै त्यस्ता दिन सकिएकाे शेयरधनी तथा कर्मचारीकाे अनुभूति हुने विश्वास छ ।

Share News