कृषि उद्यमीलाई बैंकहरुको प्रतिव्यक्ति २० लाख, तपाईँपनि लिने कि ?
काठमाडौं । कृषि उद्यम गर्ने भन्दै ऋणका लागि बैंकमा जाने कृषकहरुलाई बैंकले औसत २० लाख रुपैंया दिएर पठाउँछन् । झट्ट सुन्दा पत्याउन नसकिए पनि यसलाई तथ्याङ्कले नै पुष्टि गरेको छ । वैशाख मसान्तसम्म बैंकहरुले कुल ३१ अर्ब ४६ करोड रुपैंया ऋण प्रवह हुँदा बैंकहरुले सो ऋण १५५४७ जनालाई दिन सकेका छन्, यो प्रतिऋणी २० लाख २४ हजार रुपैंया हो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको ब्याज अनुदानसहितको कर्जा कार्यक्रममार्फत् यस्तो करिब ६ महिनाको अवधिमा सो. संख्यामा ऋण प्रवाह गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो । कुल प्रवाहित ३१ अर्ब ७२ करोड कर्जा प्रवाह भई १६ हजार २३ जनाले उक्त ऋण पाउँदा कृषि कर्जातर्फ सो परिमाण र संख्यामा ऋण प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कृषि ऋणको यो मात्रा आकारका आधारमा ९९ प्रतिशत भन्दा बढी र ऋणीको संख्याका आधारमा ९७ प्रतिशत कर्जा कृषि उद्यमीलाई नै प्रदान गरिएको छ । बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा । स्रोत : नेपाल राष्ट्र बैंक कसरी प्रवाह हुन्छ कर्जा ? सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत्को कृषि तथा पशुपन्छी कार्यक्रममा कर्जा प्रवाहको लागि १० लाखसम्मको ऋण सामूहिक जमानीमा र सोभन्दा बढी ५ करोड रुपैंयासम्म कर्जाको हकमा परियोजना धितोमा कर्जा दिने व्यवस्था कार्यविधिले गरेको छ जसमा परियोजनाको सम्भाव्यतालाई मुख्य आधार बनाउनुपर्ने व्यवस्था गरिएको छ । १० लाख रुपैंयाभन्दा कम कर्जाका लागि सामान्य परियोजना प्रस्ताव र सोभन्दा बढीका लागि विस्तृत परियोजना प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो ऋण तरकारी, फलफुल, जडिबुटी लगायतको उत्पादन, प्रशोधन र भण्डारण तथा पुशपालन तथा उनीहरुका दाना उद्योगका लागि समेत दिने व्यवस्था गरिएको छ । उद्यमीहरुले कृषि उपकरण र भण्डारण निर्माणका लागि त्यस्तो ऋण लिने गरेको बैंकहरुले जनाएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशित कर्जा कार्यक्रमअन्तर्गत कृषि कर्जा रहेकोले कृषि क्षेत्रमा कर्जा प्रवाहको अवस्था भने उत्साहजनक देखिएको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा जाने कर्जालाई सीसीडी अनुपातमा गणना गर्न नपर्ने व्यवस्था गरिदिएपछि बैंकहरुले कृषि क्षेत्रमा जाने यस्तो कर्जा बढाएका हुन् । सरकारलाई गिज्याउँदै बाँकी कार्यक्रम सरकारले ब्याज अनुदानसहितको ७ ओटा ऋण कार्यक्रम ल्याएकोमा बाँकी ६ ओटा कार्यक्रम भने असफलसिद्ध भएका छन् । ती कार्यक्रमहरुमा उक्त अवधिमा कुल ४७६ जनाले २६ करोड रुपैंया मात्रै ऋण लिएका छन् जुन कृषि कर्जाको तुलनामा १ प्रतिशत भन्दा पनि कम हो । त्यस्ता कार्यक्रमहरुमार्फत् प्रवाहित कर्जाको उपयोगिताबारे बैंकहरुको अविश्वासका कारण यी कार्यक्रमहरु असफल भएका हुन् ।
कोपा अमेरिका कपमा नेइमार बिनै ब्राजिलको सानदार जीत, काउटिन्होको २ गोल
काठमाडौं । कोपा अमेरिका कप फुटबल प्रतियोगीतामा ब्राजिलले शानदार जीत हासिल गरेको छ । स्टार खेलाडी नेइमार बिनै खेलेको ब्राजिलले बोलिभिया विरुद्ध ३ गोलको जित निकालेको हो । पहिलो हाफ बराबरी खेलेको ब्राजिलले दोश्रो हाफको सुरुमै ब्राजिलले पेनाल्टी पायो र काउटिन्होले त्यसलाई सहजै गोलमा परिणत गरे । ५३ औं मिनेटमा काउटिन्होले अर्काे गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इभर्टन सोअर्सले गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे । कोपा अमेरिका कप शनिबारदेखि ब्राजिलमा सुरु भएको हो । ७५ प्रतिशत बल पोजिसन लिएको ब्राजिलले गोल गर्न भने दोश्रो हाफ कुर्नु परेको थियो । लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिल लामो समयदेखि उपाधी बिहिन बन्दै आईरहेको छ । घरेलु मैदानमा आयोजीत कोपा अमेरिका कप जितेर ब्राजिलले खराब दिनहरुको अन्त्य गर्ने अपेक्षा गरेको छ ।
सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक
काठमाडौं । सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ । वीर अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा ८४ वर्षीया लाल माया टण्डनको शनिवार विहान निधन भएको हो । लालमायाको ३ छोरा र ४ छोरी छन् । उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चन्द्रटण्डन सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक , सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध छन् । उनी यसअघि विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक थिए ।
वाइडबडी खरिद सम्बन्धमा नागरिक आयोगको प्रतिबेदन, साँढे चार अर्बभन्दा बढी भ्रष्टाचार
काठमाडौँ । वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग पुगेको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि नेपालीद्वारा गठित वाइडबडी अनुसन्धान सम्बन्धि नागरिक आयोगले दोषीलाई उम्काउन सेटिङमै चलखेल भएकाले कारबाहीको दायरामा ल्याउन ब्यापक जनदबाब सृजना जरुरी भएको औल्याएको छ । पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई क्षेत्री, पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र सामाजिक अभियन्ता रोसा श्रेष्ठ सदस्यसचिव रहेको चार सदस्यीय नागरिक आयोगले १० बुँदे निष्कर्षमा वाइडबडी खरिदको अनियमिततामा ढिलाई भइसकेको उल्लेख छ । आयोगले भनेको छ,‘संसदबाटै छानबिन गरी आफ्नो संवैधानिक र कानुनी कर्तव्य पूरा गर्न नसक्ने पदाधिकारीहरुलाई संवैधानिक र कानूनी कारबाहीको दायरामा ल्याइनु पर्छ ।’ प्रतिवेदनमा रु. चार अर्ब ३५ करोड ५६ लाखभन्दा अधिक अपचलन गरिएको, सार्वजनिक खरिद ऐनले तोकेका प्रक्रियाहरु अबलम्बन गरेको अवस्था नदेखिएको, जहाज खरिद प्रक्रियामा अविश्सनीय कम्पनिहरु रोजिएको, नेपाल राष्ट्र बैंकबाट प्रतितपत्र नखोली रकम निकाशा गरिएको, कमसल सामाग्री जडान गरिएको, खरिद गरिएका बिमानहरु हरेक उडानमा बिश्राम र पुनः उडानको संचालनमा अतिरिक्त भारको कारण आर्थिक रुपमा फाइदाजनक नभएको विषय उल्लेख छन् । पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराईले आयोगको प्रतिवेदनले जहाज खरिद प्रकरणमा चरम भ्रष्टाचार भएको विषयलाई खुलस्त पारेको बताए । गहिरो अध्ययनसहित कारबाही गर्न सकिने विषय समेत उल्लेख गरिएको बताए । उनले भने,‘कारबाहीको निकायमा रहेकाहरुले गरेका र नगरेका कार्यहरुबारे समेत खुलस्त पारिएको छ ।’ आयोगका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले कारबाही गर्नुपर्नेमा उल्टै संरक्षण गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग राखे । राज्यको ढुकुटी रित्याउने गरी भएको भ्रष्टाचारमा संलग्नलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताए । उनले भने,‘यो हदसम्मको भ्रष्टाचार छोप्न खोजे व्यापक जनदबाब सृजना गर्नुको विकल्प छैन ।’ पूर्व सहायकरथी प्रेमसिंह बस्न्यातले भ्रष्टाचारीलाई कारबाही नगरे देश बर्बाद हुने बताए । अन्तर्राष्ट्रिय माफियाको इशारामा चल्नेहरु देशको शासनमा रहेको आरोप लगाए । उनले भने,‘अब देश बेच्न मात्र बाँकी राखे ।’ भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई उन्मुक्ति दिन सत्तामा रहेकाहरु नै सक्रिय रहेको आरोप लगाए । भ्रष्टाचारीलाई उन्मुक्ति दिने गतिविधिविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए । आयोगकी सदस्यसचिव रोशा श्रेष्ठले वाइडबडी भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गराएरै छाड्नपर्ने बताइन् । आयोगले नागरिकस्तरमा पहिलो पटक निष्कर्ष निकालेको भन्दै कारबाही गर्ने निकायमा दबाब सृजना गर्नुपर्ने बताइन् । भ्रष्टाचारविरुद्ध अभियान जारी रहेको भन्दै शनिबार साँढे एक बजे माइतीघर मण्डलामा कार्यक्रम राखिएको बताइन् ।
चलचित्र ‘जाइरा’को पोस्टर नम्रताको जन्मदिनमा सार्वजनिक
काठमाडौं । चलचित्र ‘जाइरा’ को पोस्टर अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो ३३ औं जन्मदिनको सार्वजनिक गरे । भाद्र ६ गतेदेखि देशभर प्रदर्शन हुने भनिएको चलचित्र ‘जाइरा’को टिमले अभिनेत्री श्रेष्ठको जन्म दिनसँगै पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरमा फोकस्ड रहेकी श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको सो चलचित्रमा ‘लभ गर्ल’ को भुमिकामा रुचाइएकी नम्रता श्रेष्ठको विशेष भुमिका रहेको बताईन । जन्मदिनको अवसरमा केक काट्दै भन्छिन् ‘मैले मेरो भुमिकालाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई थाहा हुन्छ, त्यसैले राम्रो अभिनय गर्ने प्रयास गर्छु । हरेक भुमिका चुनौतीपूर्ण र फिल्म ड्रिम प्रोजेक्स लाग्छ ।’ आफुले पुरानो पहिचान मेट्दै नयाँ कार्य गर्ने प्रयास गरिरहेको बताईन । उक्त चलचित्रको अभिनयमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरलाई देख्न सकिन्छ ।
विद्युतीय सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णयलाई सुन्दर यातायातले गर्यो स्वागत
काठमाडौं । सुन्दर यातायात प्रा.लि. ले नेपालमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने नेपाल सरकारको निर्णयलाई स्वागत गरेको छ । सरकारले मन्त्री परिषदको गत जेठ १३ गतेको निर्णय अनुसार सवारी साधान आयात निर्यात कार्य योजना पारित गर्दै विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गरेको हो । उक्त सवारी साधान सञ्चालन गरी आफ्नो देशको उत्पादित विद्युतबाट सञ्चालित हुने वातावरण मैत्री सवारीसाधन खरीद गर्दा बैंकले ९० प्रतिशतसम्म फाइनान्स गर्न केन्द्रित बैंकलाई नेपालको सरकारको निर्देशन जारी भएको छ । उक्त निर्देशन जारी भई कार्यान्वयनमा गर्न नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैकहरुलाई परिपत्र समेत जारी भइसकेको छ । साथै, प्रधानमन्त्रीबाट विद्युतीय सवारी साधन, सार्वजनिक बस तथा अन्य विद्युतीय सवारी साधान समेत प्रयोग गर्न गरीएको प्रोत्साहनलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सुन्दर यातायातले ध्यानाकर्षण गरेको छ । त्यस्तै, विद्युतीय सवारी साधनमा रहेको झन्झटिलो र दररेट तथा भाडादर र नीति नियम समेत कार्यान्वयनमा ल्याउन यातायातले आशा गरेकाे छ ।
३ घण्टा बढी काम गर्दैन सनक्रिम, गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी: डा. स्मृति श्रेष्ठ
काठमाडौं। झरीको मौसम होस् वा चहकिलो घाम लागेको दिन, जाडो होस् वा गर्मी केही समय बाहिर बिताउँदा तपाईको संवेदनशिल छालालाई असर गर्ने गर्दछ। हामीलाई पहिलैबाट सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ भन्ने सुन्दै आएका छौं तर अझै पनि यसले कसरी काम गर्छ र हाम्रो छालालाई कसरी बचाउँछ भन्ने कुरामा हामी अस्पस्ट छौं। घाममा हाम्रो छालाको मिल्ने साथी भनेर सनस्क्रिनलाई भनिन्छ। सनस्क्रिन क्रिमको प्रयोगले छालालाई धेरै हदसम्म घामका नकरात्मक विकिरणको प्रभावबाट बचाउँछ। घामका किरणहरु देखिने र नदेखिने हुन्छन्। त्यसमा धेरै मात्रामा युभी रे हुने गर्दछ। यि विकिरणहरुले सिधै छालाको बाहिरी सतहलाई असर पार्दै छालाको कोशीकाहरुको बिकास दरमा प्रभाव पार्दछ। घामको किरण र छाला सम्पर्कमा आउँदा छाला डड्नुको साथै पछि गएर छाला चाउरिने, बिग्रिने र छालाको क्यान्सर पनि हुनसक्ने सम्भावना हुन्छ। हाम्रो छाला हाम्रो शरीरको संवेदनशिल भाग हो। घामको प्रत्यक्ष प्रभाव जहिले पनि छालालाई परिरहेको हुन्छ। लामो समयसम्म घामसँग छाला सम्पर्कमा रहँदा छालामा रातो डाबरहरु देखिने, चिलाउने, फोका जस्तो आउने गर्दछ। कसरी सनस्क्रिन क्रिम छान्ने ? बजारमा धेरै संख्यामा विभिन्न ब्राण्डका सनस्क्रिन क्रिमहरु पाइने गर्दछ। त्यसमा कुन हाम्रो छालाको लागि उपयुक्त हुन्छ भन्ने हामीले प्रयोग गरेपछी मात्र थाहा पाउन सक्छौं। त्यसमाथी बजारमा नक्कली ब्राण्डका ब्युटी प्रडक्ट छ्यापछ्यापती पाईन्छन् जसकारण हामी अझै धेरै सजक रहनुपर्छ। यसमा हाम्रो राम्रो छनोट हुन सक्छ मेडिकेटेड सनस्क्रिन क्रिम। यो सजिलै औषधी पसलमा पाउन सकिन्छ। तपाईले औषधी पसलको मानिससँग आफ्नो छालाको प्रकारको बारेमा बुझेर त्यही अनुरुप म्र्डिकेटेड सनस्क्रिन प्रयोग गर्न सक्नुहुन्छ। मेडिकल सनस्क्रिनमा किन्दा हामीले उक्त सनस्क्रिनमा भएको तत्वो र त्यसको एसपिएफ हेर्नुपर्ने हुन्छ। एसपिएफ भन्नाले घामको संरक्षण कारक ब्र्टिस असोसेसियन अफ डर्मेटोलोजिस्टको अनुसार एउटा सनस्क्रिनको एस्पिफ कम्तिमा पनि ३० भन्दा कम एसपिएफको प्रयोग नगर्नु भन्दछ। यस्तै एसपिएफ ५० भन्दा माथिका बजारमा पाईने सनस्क्रिन क्रिमको प्रयोग नगर्न छाला रोग बिशेषज्ञहरु बताउँछन्। धेरै सनस्क्रिनहरुले प्रयोग गरेको आधाघण्टामा आफ्नो काम गर्न थाल्दछ भने केहीले प्रयोग गरेको ५ मिनेटमै आफ्नो काम सुरु गर्दछ। यस्तै कुनै पनि सनस्क्रिन क्रिमले ३ घण्टा भन्दा लामो समय काम भने गर्दैन। त्यसैले दिनमा ३ पटक समय मिलाएर हामीले सनस्क्रिन आफ्नो छालामा प्रयोग गर्नुपर्छ। यो एक पटक लाउँदा आदा चम्चा देखी एक चम्चा लगाउनु पर्दछ। यो अन्य मोस्टराईजर क्रिम जस्तो थोरै प्रयोग गरेर काम गर्ने क्रिम भने होईन। साथै कुनै पनि सनस्क्रिन पूरा सुरक्षा भने होईन त्यसैले घरबाहिर जाँदा जहिले पनि तपाई छालामा सनस्क्रिन र हातमा छाता बोकेर निस्किनुहोला। गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी तपाईको छालाको रङले तपाईको छालालाई घामको किरणले कत्ति असर गर्छ र गर्दैन भन्ने निर्घारण गर्दछ। सबै प्रकारको छालालाई घामका विकिरणहरुले प्रभाव पार्ने भएता पनि गोरो छाला भएका मानिसलाई कालो छाला भएका मानिसको दाँजोमा बढी प्रभाव पार्ने गर्दछ। कालो छालामा मेलानोसाईट्स भन्ने तत्वो बढी हुनेगर्छ जसले मेलानिन उत्पादन गर्दछ। मेलानिन यस्तो तत्वो हो जसले युभी रे हरुलाई रोक्ने गर्दछ जसकारण कालो छाला भएका मानिसहरु घाममा सजिलै डढ्छन् तर घामको विकिरणको प्रभाव कम हुने गर्दछ। मेलानिन बढी भएको कारण कालो छाला भएका मानिसहरुको गोरो छाला भएका मानिसको दाँजोमा कम चाउरी पर्ने र क्यान्सर हुने सम्भावना कम हुन्छ। ( छाला रोग बिशेषज्ञ डा. स्मृति श्रेष्ठसँगको कुराकानीमा आधारित )
परियोजनामा खर्च भएको ४० अर्ब सरकारलाई शोधभर्ना हुन बाँकी, चालु आवमा दाताले तिरे ५७ अर्ब
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १० महिनामासम्म विकास साझेदाबाट संचालित परियोजनामा खर्च भएको कुल ९६ अर्ब ४१ करोड ९८ लाख रुपैयाँमध्ये अझै ३९ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ । विकास साझेदारबाट विभिन्न परियोजनामा खर्च भएको रकममध्ये चालू आवमा ५६ अर्ब ६६ करोड प्राप्त भएपनि अझै करिब ४० अर्ब रुपैयाँको शोधभर्ना हुनबाँकी रहेको महालेखा नियन्त्रक कार्यालयका सह लेखानियन्त्रक रुद्र भट्टले बताए । गएको आर्थिक वर्ष भन्दा चालु आवको शोधभर्ना भुक्तानी छिटो भएको उनले बताए । ‘अझै ३९ अर्ब ७५ करोड रुपैयाँ शोधभर्ना हुन बाँकीरहेको कार्यालयले जानकारी दिएको छ । शोधभर्ना हुन बाँकी रहेको रकममध्ये १३ अर्ब ३५ करोड १२ लाख अनुदान हो भने २६ अर्ब ४० करोड ऋण हो । गएको आवको अन्त्यसम्म ४८ अर्ब ५९ करोड ८५ लाख शोधभर्ना हुन बाँकी रहेको थियो । यो अवधिमा दातृनिकायबाट संचालित आयोजनामा खर्च भएको ४७ अर्ब ८२ करोड समेत जोडिदा करिब एक खर्ब शोधभर्ना पुग्ने देखिएकोमा आधाभन्दा बढी रकम शोधभर्ना भएको हो । विकास साझेदाबाट संचालित परियोजनाले समयमा प्रतिवेदन तयार नबुझाउदा शोधभर्ना ढिला भएको हो । सामान्यतया आर्थिक वर्ष समाप्त भएको तीनमहिनामा परियोजना खर्चको विवरण बझाइ सक्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यहि जेठ १ गते विकास साझेदासँगको छलफलमा जतिसक्दो छिटो शोधभर्ना गरिदिन आग्रह गरेका थिए । दातृ निकायहरूको सहयोगमा निर्माण भइरहेका केही पूर्वाधार परियोजनाको शोधभर्ना समयमा नहुँदा ठेकेदार कम्पनीले काम रोक्ने गरेका छन् । पछिल्लो समयमा राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ठेकेदारले भूक्तानी नपाएको भन्दै काम ठप्प पारेका थिए ।