काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १० महिनामासम्म विकास साझेदाबाट संचालित परियोजनामा खर्च भएको कुल ९६ अर्ब ४१ करोड ९८ लाख रुपैयाँमध्ये अझै ३९ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ ।
विकास साझेदारबाट विभिन्न परियोजनामा खर्च भएको रकममध्ये चालू आवमा ५६ अर्ब ६६ करोड प्राप्त भएपनि अझै करिब ४० अर्ब रुपैयाँको शोधभर्ना हुनबाँकी रहेको महालेखा नियन्त्रक कार्यालयका सह लेखानियन्त्रक रुद्र भट्टले बताए । गएको आर्थिक वर्ष भन्दा चालु आवको शोधभर्ना भुक्तानी छिटो भएको उनले बताए । ‘अझै ३९ अर्ब ७५ करोड रुपैयाँ शोधभर्ना हुन बाँकीरहेको कार्यालयले जानकारी दिएको छ । शोधभर्ना हुन बाँकी रहेको रकममध्ये १३ अर्ब ३५ करोड १२ लाख अनुदान हो भने २६ अर्ब ४० करोड ऋण हो ।
गएको आवको अन्त्यसम्म ४८ अर्ब ५९ करोड ८५ लाख शोधभर्ना हुन बाँकी रहेको थियो । यो अवधिमा दातृनिकायबाट संचालित आयोजनामा खर्च भएको ४७ अर्ब ८२ करोड समेत जोडिदा करिब एक खर्ब शोधभर्ना पुग्ने देखिएकोमा आधाभन्दा बढी रकम शोधभर्ना भएको हो । विकास साझेदाबाट संचालित परियोजनाले समयमा प्रतिवेदन तयार नबुझाउदा शोधभर्ना ढिला भएको हो । सामान्यतया आर्थिक वर्ष समाप्त भएको तीनमहिनामा परियोजना खर्चको विवरण बझाइ सक्नुपर्ने व्यवस्था छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यहि जेठ १ गते विकास साझेदासँगको छलफलमा जतिसक्दो छिटो शोधभर्ना गरिदिन आग्रह गरेका थिए । दातृ निकायहरूको सहयोगमा निर्माण भइरहेका केही पूर्वाधार परियोजनाको शोधभर्ना समयमा नहुँदा ठेकेदार कम्पनीले काम रोक्ने गरेका छन् । पछिल्लो समयमा राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ठेकेदारले भूक्तानी नपाएको भन्दै काम ठप्प पारेका थिए ।