रोग नियन्त्रण महाशाखाको देशलाई स्वस्थ बनाउने प्रयास जारी छ: निर्देशक डा. विवेककुमार लाल
डा. विवेककुमार लाल १ बर्ष देखी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको रुपमा कार्यरत छन् । महाशाखाले पहिला सरुवा रोगहरुको क्षेत्रमा मात्र काम गथ्र्यो भने अहिले आएर एचआईभी र टिभी बाहेकका सबै सरुवा रोग, मानसिक स्वास्थ्य, कुष्ठरोग, अपांगता र कुनैपनि प्रकोपहरु जिम्मेवारी भित्र पर्दछ। विं स २०३१ मा स्थापना भएको महाशाखाको २ बर्ष देखी क्षेत्र बिस्तार भई काम गरिरहेको छ । महाशाखाले देशभरको सबै ठाउँबाट रोगहरुको डाटा संकलन गरी राज्यलाई स्वास्थ्य क्षेत्रमा भएका कमि कमजोरीलाई सुधार गर्न मद्त गर्दछ । ईपिडिमियोलोजी महाशाखाको काम र नेपालमा सरुवा रोगको अवस्थाको बिषयमा महाशाखाका निर्देशक लालसँग डोमी शेर्पाले गरेको कुराकानीः ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सरकारले सरुवा रोगका क्षेत्रमा कसरी काम गरिरहेको छ ? सरकारले कति रोगहरु नियन्त्रणका लागि राष्ट्रिय अभियानको रुपमा काम गर्छ । यसमा मलेरिया तथा औलो रोग नियन्त्रण, कालाजार नियन्त्रण कार्यक्रम, हात्तीपाईले, लेप्रोसी रोग नियन्त्रण कार्यक्रमहरु रहेका छन् । अन्य रोगहरुको राष्ट्रिय रुपमा कार्यक्रम नभए पनि त्यसलाई कसरी नियनत्रण गर्ने भन्ने आधारमा पनि काम भईरहेको छ। साथसाथै महाशाखा सजिलै आवतजावत हुने विमानस्थल र देशको सिमा क्षेत्रबाट सजिलै नेपाल प्रस्थान गर्ने मानिसको पनि रोग परीक्षण गर्दछ। हाल एक देशदेखी अर्को देश जानलाई सजिलो भएको कारण रोग पनि सजिलै एकदेखी अर्को देशमा सर्न थालेको छ । यही अवस्थालाई देशमा आउन नदिनको लागी पनि ईपिडिमियोलोजी महाशाखाले निगरानी गर्दै आएको छ। हाल नेपालमा सरुवा रोगको अवस्था के छ ? प्रभावको हिसाबले हेर्ने हो भने डेगुको संख्या सबैभन्दा बढी रहेको छ, यानिक पहिलाको भन्दा यसको बिरामीको संख्या बढ्दै गएको छ । गत बर्षको तथ्यांकमा २१०० को हारहारिमा यसका बिरामी थिए । औलोंको कुरा गर्नुपर्दा पोहोर साल ११८७ को हारहारिमा यसका बिरामीहरु थिए। यस वर्षको असार अन्तिमसम्ममा हामी सबै तथ्यांक संकलन गरेर पूरा डाटा प्रस्तुत गर्छौं । यस्तै विभिन्न जिल्लामा कालाजार पनि फैलिएको छ । हात्तीपाईले रोग सुरुमा देखिएको ६३ जिल्लाबाट नियन्त्रण हुँदै आएर १५ वटा जिल्लामा सीमित भएको छ । स्क्रब टाईफस रोग चाँही २०७२ सालको भूकम्प पश्चात देखिने थालेको हो, यो सानो मात्रामा धेरै ठाउँमा देखिएको छ । यस्ता कति पुराना रोगहरु नियन्त्रणमा छन् भने नयाँ रोगहरु देखिन थालेका छन् । मलेरिया र कालाजार जस्ता रोगहरु झन्डै ५० वटा जिल्लामै देखिएको छ । पहिला पहिला तराई क्षेत्रमा मात्र देखिने रोगहरु हिमाली जिल्लाहरुमा पनि देखिन थालेका छन् । डेगु रोगको प्रत्येक पटक जिल्ला फरक हुने गरेको छ । कुनै जिल्लामा ३.८ वटा रोग देखिएको छ भने कुनै जिल्लामा १ वटा मात्र रोग देखिएको छ । सरुवा रोग लाग्नुको मुख्य कारण के हुन् ? रोग लाग्नुको कारण हरेक रोग पिछे फरक–फरक हुने गर्दछ । यस्तै सरुवा रोगपनि विभिन्न प्रकारका छन्, जुन विभिन्न कारणले हुने गर्दछ । जस्तै उदाहरणको लागि किटजन्य रोगहरु जस्तै मलेरिया, कालाजार, स्क्रब टाईफस, हात्तीपाईले, लामखुट्टे, भुसुनाको टोकाइबाट सर्ने गर्दछ । त्यस्तै एउटा व्यक्तीले अर्कोलाई हाच्छिउँ गर्दापनि सर्ने रोग छ, जस्तै उदाहरणको लागि बर्सेनी रुघाखोकी, सिजनल ईन्फ्ल्युन्जा रहेका छन् । यस्तै कुष्टरोग लागेको व्यक्तीसँग लामो समयसम्म सम्पर्क रहँदा यो रोग सर्ने गर्छ । त्यसैले रोग पिच्छे सर्ने माध्यम फरक छन् । कुनै सरुवा रोग एक संक्रमित व्यक्तीबाट दोस्रो संक्रमित व्यक्तीमा सिधै सर्ने गर्छ भने कुनै किरा, कुकुरहरुको टोकाइबाट सर्ने गर्दछ । कुन सरुवा रोगको छोटो समयमा उपचार नगरे भयानक रुप लिन्छ ? मलेरिया रोग जुन केही दिनको उपचार गरेको खण्डमा निको भएर जान्छ। यस्तै कालाजार रोगको अहिले एक मात्र ईन्जेक्सन दियौं भने अधिकांशमा यसको उपचार हुन सक्छ । त्यस्तै, हाम्रो हात्तीपाईले रोगको पनि आमा औषधी सेवन सम्बन्धी कार्यक्रम सञ्चालन गरी मानिसहरुलाई बर्षको एक पटक ६ बर्ष सम्म खुवाउँछौं । त्यस्तै रेबिजबाट बच्नको लागि रेबिज लागेका कुकुरले टोकेको खण्डमा हामीले ३ पटक डोज दिन्छौं अनी त्यसको डोज पूरा हुन्छ। तर, यो रोगहरु केही दिन भन्दा ढिलो उपचार गरे यसले भयानक रुप लिन सक्ने सम्भावना बढेर जान्छ । सरुवा रोग बिशेष गरेर कुन मौसममा बढी देखिन्छ ? कुनै सरुवा रोग मौसम परिवर्तन हुँदा हुन्छन् जस्तै मौसमी रुघाखोकी । त्यस्ता केही रोगहरु छन्, जुन वर्षाको समयमा लाग्ने गर्दछ जस्तै मलेरिया, कालाजार, डेङु । पानी पर्न थालेपछी लामखुट्टेहरुको बिकास पनि बढी हुन्छ र सजिलै यो रोग सर्ने हुन्छ । यसका सावधानी के कस्तो रहेका छन् ? सावधानीको कुरा गर्नुपर्दा हामीले त्यस्तो साह्रो सावधानी अप्नाउनु पर्छ भन्ने छैन । हामीले सानो सानो कुरामा शतर्क भएरपनि स्वस्थ रहन सक्छौं । जस्तै धेरै मानिसहरु फोहोर पानीको सेवनको कारण बिरामी भएर आउँछन् । झाडापखला, टाईफाईड, हैजा जस्ता रोगहरु फोहोर पानीको कारण सर्ने गर्दछन् । बर्खायाममा पानी बढेपछी पानीको श्रोतहरु दुषित हुनेगर्दछ र यसलाई शुद्दीकरण नगरी खाएको अवस्थामा स्वास्थ्यमा समस्या आउने गर्दछ । यस्तै भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, हाच्छ्यु गर्दा, खोकी लाग्दा मुख छोपेर खोक्ने । त्यस्तै, मलेरिया(कालाजार) भएका ठाउँहरुमा जाँदा सावधानीको लागि झुल लगाएर सुत्ने, घरबाहिर निस्कँदा लामो वाउला भएका कपडाको प्रयोग गर्ने सक्छौं । तपाईहरु कसरी डाटा संकलन गर्नुहुन्छ ? हाम्रो यसको लागि २–३ वटा माध्यमहरु छन् । एउटा त समग्रस्वास्थ्य क्षेत्रको सूचना व्यवस्था प्रणाली भनिन्छ, त्यसबाट महिनाको अन्तिममा सबै सरकारी तथा गैरसरकारी सामुदायिक स्वास्थ्य संस्थाहरुबाट रिपोर्ट संकलन हुन्छ, यो पहिलो माध्यम हो । अर्को हामीले बिशेष गरेर सरुवा रोगको लागि छिटो रिपोर्ट आउने गरेर ८२ वटा सरकारी अस्पतालहरुबाट साप्ताहिक सूचना आउने एउटा रिपोर्टिङ सिस्टम बनाएका छौं । यस्तै गैरसरकारी संस्था र मेडिकल कलेजलाई समेटेर त्यस ठाउँबाट पनि रिपोर्ट आउने सिस्टम बनाएका छौं । त्यस्तै कुनैपनि ठाउँमा महामारी(प्रकोप) फैलियो भने ती ठाउँहरुबाट सिधै हामीलाई फोन अथवा ईमेलबाट वा अन्य सूचनाको माध्यमबाट सोझै खबर आउने हुन्छ । डाटा संकलनले तपाईहरुलाई कसरी सहयोग पुर्याएको छ ? डाटा संकलनको दुईवटा फाईदा छन् । पहिलो त कुन रोग को के छ अवस्था भनेर हामी तथ्यांक नहेरी भन्न सक्दैनौं र अर्को रोगको व्यवस्थापनको लागि जे सामाग्रीहरु उपलब्ध गराउँछौं त्यसको लागि पनि रोगको अवस्था हेर्न जरुरी छ । डाटाकै आधारमा कार्यक्रम कुन दिशामा लैजाने पनि तय हुने गर्दछ । यसरी हामीलाई डाटा संकलनले सहयोग पुर्याउँदै आएको छ । सरकारले कुन-कुन सरुवा रोगको उपचार निशुल्क प्रदान गर्दै आएको छ ? औलो रोग(मलेरिया)को लागि सरकारले निशुल्क उपचार खर्च प्रदान गर्दै आएको छ । हात्तीपाईले रोग बिरुद्कोद्ध औषधी निशुल्क उपलब्ध गराउँछ, सर्पदंशको औषधी उपचार खर्च, मौसमी रुघाखोकीमा प्रयोग हुने एन्टी भाईरल औषधीहरु निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाउँछ र कुनै ठाउँमा प्रकोपहरु आएको अवस्थामा उपचार गर्न जाँदा सरकारले सम्भव भएसम्म निःशुल्क खर्च उपलब्ध गराउँछ । सरकारले कति कति बजेट छुट्याएको छ ? अहिले अवस्थामा हामीले जति पनि मात्रामा श्रोतसाधनहरु प्रभावकारी रुपमा बिस्तार गर्नुपर्ने हो त्यति भएको छैन किनभने बजेटको पनि कमी भएको छ । बजेट पनि पहिलाको भन्दा कम छ । यो बर्ष हामीलाई कुल बजेट ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि १ करोड ६६ लाख, जुनोटिक रोग नियन्त्रणको लागि १५ करोड ६६ लाख, हात्तीपाईले रोग नियन्त्रणको लागि ५ करोड ७२ लाख, प्राकृतिक प्रकोप व्यवस्थापनको लागि ७१ लाख, कालाजार नियन्त्रणको लागि ५ करोड ४ लाख, औलों नियन्त्रणको लागि ५ करोड ३५ लाख र महामारी नियन्त्रणको लागि ७ करोड ६१ लाख छुट्टाईएको छ । गत बर्ष हामीसँग ४६ करोड बजेट छुट्टिएको थियो ।
भारत र पाकिस्तानको बहुप्रतिक्षित म्याच, टिकटकै १ लाख भारु पर्ने खेल कसले जित्ला ?
काठमाडौं । भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित क्रिकेट म्याच केही समयपछि सुरु हुँदैछ । आईसीसी वल्र्डकप क्रिकेटअन्तर्गत आइतबार नेपाली समयअनुसार ३ः१५ बजे संयुक्त अधिराज्यको लन्डनस्थित म्यान्चेस्टर रंगशालामा त्यस्तो खेल हुन लागेको हो । पछिल्लो समय भारत र पाकिस्तानबीच चिसिँदै गएको सम्बन्धका कारण क्रिकेटमा समेत पाकिस्तानलाई एक्ल्याउने भारतीय प्रयास असफल भएसँगै भारतीय टीम आफैं पाकिस्तानसँग खेल्न लागेको हो । हालसम्म पाकिस्तानले विश्वकपमा भारतसँग कुनै पनि खेल जितेको छैन । तर भारत र पाकिस्तानबीच यसअघि भएका १३२ राष्ट्रिय खेलमा भने पाकिस्तानले ७४ पटक भारतलाई पछारेको छ । आजको खेलमा भारतीय टिमका चर्चित खेलाडी शेखर धवन मैदानमा उत्रने छैनन् । भारत र पाकिस्तानका नागरिकहरु नागरिक स्तरमै एक अर्काप्रति असहिष्णु छन् । त्यसैले पनि दुवै देशका दर्शकहरुले आफ्नो टीमले जित्नैपर्ने मनोविज्ञानमा हुनेछन् । सम्पूर्ण दर्शकको मनोविज्ञानकै प्रतिविम्ब खेलाडीहरुमा पनि देखिन्छ । वर्षाका कारण खेल रद्द भएन भने भारतसँग विश्वकपमै जीतको पहिलो अनुभव गर्ने कि फेरि हार व्यहोर्ने भन्ने निर्णय आजको खेलले गर्नेछ । ६० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा टिकट बिक्रीका क्रममा २ मिनेटमै सबै टिकट सकिएको थियो । टिकट खरिदका लागि १ लाख भारुसम्म तिर्न दर्शकहरु तयार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बैंकहरूले कर्जा प्रवाह गर्ने छाडे, ‘ठूला र नयाँ परियोजनालाई कर्जा दिन सक्ने अवस्था छैन’
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असार महिनामा कर्जा प्रवाह नगर्ने भएका छन् । असार महिना बैंकहरूको प्राथमिकता कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रीत हुने र एक प्रतिशत प्रोभिजनका कारण प्राथमिकतामा नपरेको नेपाल बैंकर्स एशोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘कर्जा प्रवाह नै रोक्ने त होइन, उनले भने ‘यद्यपी हाम्रो प्राथमिकता भने रिकभरिमा हुन्छ ।’ राष्ट्र बैंकले असल कर्जामा एक प्रतिशत प्रोभिजन राख्नु पर्ने व्यवस्था गरेको छ । असारमा कर्जा प्रवाह गर्दा राख्नु पर्ने प्रोभिजनले गर्दा हाम्रो ध्यान कर्जा असुली र वित्तीय विवरणमा हुने ढुंगानाले बताए । आर्थिक वर्षको अन्त्यमा प्राय: बैक तथा वित्तीय संस्थाको ध्यान कर्जा प्रवाहमा भन्द पनि असुलीमा बढी हुने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । ‘हाम्रो टिम नै यो महिनामा असुलीमा केन्द्रीत हुन्छ,’ उनले भने ‘हामी यो महिनामा बढीभन्दा बढी निक्षेप संकलन गर्नेतिर लाग्छौं ।’ अर्यालका अनुसार असार निक्षेप संकलन गर्ने महिना हो भने साउन आक्रमक कर्जा प्रभाव गर्ने महिना हो । वित्तीय बजारमा जेठदेखि नै लगानी योग्य पुँजी केही सहज भएपनि ठूला र नयाँ परियोजनामा लगानी गर्ने सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए । ‘साना र कर्जा प्रवाह गर्न सम्झौता गरिएका परियोजनलाई मात्र केही कर्जा दिइरहेका छौं,’ उनले भने ‘ हामी यो समयमा प्रोभिजनका कारण पनि त्यति कर्जा प्रवाह गर्ने सोचमा हुँदैनौ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) भुवन दाहालले बैंकहरू पछिल्लो समय केही सहज अवस्थामा भएपनि बैंकको ध्यान भने रिकभरीमा हुने बताए । ‘हाम्रो टिम नै यसमा केन्द्रीत हुन्छ,’ आर्थिक वर्षको अन्त्यमा यस वर्षमात्र होइन जहिले पनि यस्तै हो । कर्जा नै रोकेको अवस्था भने होइन ।’ यतिबेला बैंक तथा वित्तीय संस्थाहरूले आगामी आवको योजना बनाउन समय खर्चने गरेको दाहालले बताए । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले एक त बैंकहरू असारमा कर्जा प्रवाह गर्न त्यति उत्साहित हुँदैनन् भने अर्कोतर्फ बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन् । कर्जा तथा प्राथमिक पुँजी र निक्षेपको योग अनुपात(सीसीडी रेसियो) कसिएको छ । ८० प्रतिशतको हाराहारीमा रहेका छन्,’ उनले भने ‘धेरै बैंकको यो रेसियो ७८ प्रतिशतभन्दा माथि छ । विद्यमान व्यवस्थाअनुसार एक सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । आज आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३२ खर्ब तीन अर्ब निक्षेप संकलन गरेका छन् भने २८ खर्ब ६८ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । जेठदेखि नै दैनिक चार अर्बको हाराहारीमा सरकारी खर्च भएपनि बैंकहरूले भने माग अनुसारको कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।
सगरमाथा इन्स्योरेन्स र कामना सेवाको शेयरमूल्य समायोजन, कस्को कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज सगरमाथा इन्स्योरेन्स कम्पनी र कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि प्रतिकित्ता ६८१.७२ रुपैयाँ शेयरमूल्य समायोजन गर्दै १०१५.८६ पैसा निर्धारण भएको छ । यता, कामना सेवा विकास बैंकको १.५० प्रतिशत बोनसपछि प्रतिशेयर १६२ रुपैयाँ ५६ पैसा समायोजित गर्दै १६९ रुपैयाँ २८ पैसा कायम गरेको नेप्सेले जनाएको छ ।
अनिसा महर्जनले जितिन् २ लाख नगदसहित डोपर चेन्जमेकर च्यालेन्जको उपाधि
काठमाडौं । नेपालमा प्रत्येक दिन २,७०० केजी प्लाष्टिक फोहोरको उत्पादन हुन्छ, जसमध्ये ८०५ डम्पिङ साइटहरुमा अरु जताततै फालिन्छ जसले हाम्रो पर्यावरणमा छरिएर माटो तथा पानीको श्रोतहरुलाई प्रदुषित गर्दछ । नयां सोच र अवधारणाहरुमार्फत युवाहरुले नेतृत्व लिई यस्ता वातावरणीय समस्याहरु समाधान गर्नमा महत्वपूर्ण भुमिका खेल्न सक्छन् । यहि सोचका साथ नेपालमा दिगो विकास प्रवर्धन गर्दै प्लाष्टिक झोला प्रतिबन्ध गर्ने अभियानलाई सफलतापुर्वक नेतृत्व गरेको हिमालयन क्लाईमेट इनिसिइटिभले डोपर नामक डच फाउन्डेसनसंगको सहकार्यमा यो च्यालेन्जको आयोजना गरेको हो । यसैक्रममा, पानी व्यवस्थापनको मौलिक संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले पाटन दरबार स्क्वयारको हिटी (ढुंगेधारा)मा पनि डोपर चेन्जमेकर च्यालेन्ज २०१९ को फाइनल प्रतियोगिता आयोजना भयो । जसमा २५० भन्दा बढी प्रतियोगीबाट छानिएर आएका फाइनलमा पुगेका १० युवाहरुले प्लाष्टिक तथा पानी प्रदुषणको समस्या कम गर्ने आफ्नो समाधान प्रस्तुत गरेका थिए । ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले सो अवसरमा भनिन्, युवाहरू र उनीहरुसँगै नयाँ सोच र नयाँ समाधानमा काम गर्ने जनशक्ति नेपालबाट दिनदिनै पलायन भईरहेको अवस्थामा नेपालका प्रमुख वातावरणीय समस्याहरु समाधान गर्न लागिपरेका युवाहरुको दृढ अठोटबाट म निकै प्रभावित भएको छु । यी समाधानहरुलाई व्यवहारमा, कानुनमा लागु गर्नका लागि म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’ हिमालयन क्लाईमेट इनिसिइटिभकी प्रमुख कार्यकारी शिलशिला आचार्यले भनिन्, ‘प्लाष्टिकको अत्याधिक प्रयोगका कारण निम्त्याएको विकराल समस्या र जलवायु परिवर्तनको कारण बढ्दै गएको पानीको संकट र त्यसका नकारात्मक असरहरुबाट उत्पन्न समस्या समाधान गर्ने काम हाम्रो पुस्ताको सबैभन्दा ठुलो लडाइँ हो र यो लडाइँ जित्नका लागि हामी हरेक युवाहरुलाई तयार पार्न कटिबद्ध छौं ।’ निर्णायक समितिमा हिमालयन क्लाईमेट इनिसिइटिभकी प्रमुख कार्यकारी शिलशिला आचार्य, हिमालयन क्लाईमेट इनिसिइटिभका सहसंस्थापक अनिल चित्रकार, पानी तथा माटो विशेषज्ञ डा. रोशन मान बज्राचार्य, स्मार्टपानीका सहसंस्थापक सुमन शाक्य, र डोपर फाउन्डेसनका रोज स्पेकमेन र लेनी हावर्टले आइडियाहरुलाई नयाँपन, उनीहरुको आइडियाले समाजमा पार्न सक्ने सकारात्मक प्रभावको आधारमा मुल्यांकन गरिएको थियो । काठमाडौंको सहरी क्षेत्रमा प्रत्येक वर्ष मनसुनमा हुने बाढीको समस्या समाधान गर्ने अवधारणासहित अनिसा महर्जनले रु. २ लाख नगदसहित डोपर चेन्जमेकर च्यालेन्जको उपाधि जितिन् भने प्लाष्टिकको कुहिन सक्ने विकल्प उत्पादन गर्ने अवधारणासहित दोस्रो हुने अमृता सिग्देल र तेस्रो हुने गौरव ढुंगाना, सन्देश राजभण्डारी र आस्रफ प्रधानाको समुहलाई १ लाख २५ हजार र उत्कृष्ट १० का बाँकी बिजेताहरुलाई ७५ हजारका दरले पुरस्कार प्रदान गरियो । उक्त दिन विश्वका अन्य ३ सहरहरु लन्डन, एम्सटरड्याम, बर्लिनमा पनि एकैसाथ यो च्यालेन्जको फाइनल प्रतियोगिता आयोजना गरिएको थियो । उत्कृष्ट १० प्रतियोगिहरुलाई पुरस्कार राशिका साथै विज्ञहरुसंग सहकार्य गर्न, आफ्नो समाधानको बारेमा प्रचार प्रसार गर्न र यसलाई अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन हिमालयन क्लाईमेट इनिसियटिभ, डोपर फाउन्डेसन तथा साझेदार संस्थाहरु स्मार्ट पानी, सेराड, ब्लिंक भेन्चर्सद्वारा सहयोग प्रदान गरिनेछ । डोपर फाउन्डेसनकी संस्थापक मेरिन ईभार्टस्ले भनिन्, ‘हाम्रो यो विश्वास छ कि आजको युवाहरुले ल्याउने नयाँ सोच र खोजहरुसहितका समाधानले हामी सबैलाई अचम्मित पार्न सक्छन् । यो च्यालेन्जमार्फत हामी युवाहरुलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाउन चाहन्छौं । डोपर तथा हिमालयन क्लाईमेट इनिसिइटिभ दुवैको यो मान्यता छ कि अहिलेको दुई प्रमुख वातावरणीय समस्या भएर पनि खानेपानी तथा प्लाष्टिक प्रदुषणको समस्या तथा समाधानको बारेमा पर्याप्त खोज तथा अनुसन्धान भएको छैन । यस च्यालेन्जमार्फत विद्यार्थीहरुलाई खानेपानी तथा प्लाष्टिक प्रदुषण गरी दुई प्रमुख वातावरणीय समस्या समाधान गर्नेबारे अनुसन्धान गर्नमा युवाहरुलाई सहभागी गराउनाले यी दुई समस्याहरुबारे युवाहरुलाई सचेत बनाउन तथा उनीहरुकै नेतृत्वमा यी समस्याको छिटो समाधान खोज्न मदत पुग्नेछ भन्ने विश्वास दुवै संस्थाले लिएका छन् । विद्यार्थीहरुलाई खानेपानी या प्लाष्टिक प्रदुषणको क्षेत्रमा आफ्नो करियर सुरुवात गर्न प्रेरित गर्ने उदेश्यले स्नातक वा स्नातकोत्तर तहका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई यो सहयोग प्रदान गरिन्छ ।
नाटा र एनसीएचएलबीच विद्युतीय भुक्तानी प्रणाली लागु गर्ने सम्झौता
काठमाडौँ । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स(नाटा) र नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल)बीच नाटाका सदस्य ट्राभल एजेन्टहरु र तिनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा नाटाका अध्यक्ष सिएन पाण्डे तथा एसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त साझेदारी अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टहरुल कनेक्ट आइपीएस ई पेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् । ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई कनेक्टटिप्सडटकम अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाटालाई गर्नु पर्ने वार्षिक एवम् अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् । सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् । नाटाको पचास बर्षको स्थापनाकालदेखि नै पर्यटन क्षेत्रको विकास र नेपालको ट्राभल बिजिनेस विस्तार सम्बन्धी कार्यहरु गर्न विषेश ध्यान पुर्याउँदै आफ्ना सदस्य ट्राभल एजेन्टहरुलाई विभिन्न तवरबाट टेवा तथा मद्दत पुर्याउँदै आइरहेको छ । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली एनसीएचएल इसीसी, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्टआइपीएस ई पेमेन्ट प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।
साधना र आर्थिक समृद्धी लघुवित्तको दुई दिने बजेट तर्जुमा गोष्ठी सम्पन्न
काठमाडौँ । साधना लघुवित्तले चालु आव २०७५/०७६ को समीक्षा तथा आगामी आव २०७६/०७७ को बजेट तर्जुमा गर्ने उद्देश्यले योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा संचालक समितिका अध्यक्ष कृष्णबहादुर थापाले ग्राहक सेवाको गुणस्तरमा अभिबृद्धि, नयां प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिबृद्धि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, कम्प्लायन्स, जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा सहभागी हुन सहभागीहरुलाई दिशा निर्देश गरेका थिए । त्यस्तै आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्थाको संचालक तथा लघुवित्त क्षेत्रका विज्ञ डा. नरहरी ढकालले नेपालमा लघुवित्त क्षेत्रको बर्तमान अवस्था, चुनौती र अवसरको बारेमा जानकारी गराउँदै बार्षिक योजना निमार्ण गर्दा ध्यान दिनै पर्ने पक्षहरुको बारेमा सहभागीहरु लाई विस्तृत जानकारी गराएका थिए । सो अवसरमा आर्थिक समृद्धी लघुवित्त वित्तीयसंस्थाका संचालक समिती अध्यक्ष डा. एक नारायण चापागाईँले दुबै संस्थाको चाँडै नै एकिकृत कारोबार संचालन गर्न लागेकोले कार्यक्रमको गुणस्तर बृद्धीको साथै सम्पुर्ण कर्मचारी एक ढिक्का भएर प्रतिष्पर्धी वातावरणमा दिगो एवं गुणात्मक विकास निम्ति अझै लामो र कठिन बाटो हिंड्नु पर्ने आवश्यकता रहेको बताउँदै जस्तोसुकै कठिन अवस्थामा पनि लघुवित्त बैंकिङ अभ्यासवाट रतिभर विचलित नभई वित्तीय संस्था अघि बढ्ने शुभकामना प्रकट गरे । त्यस्तै, साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले वित्तीय संस्थाको सबै सरोकारवालाको अपेक्षा पुरा गर्ने एकमात्र उपाय उत्पादकत्व अभिबृद्घि रहेको वस्तुसत्यलाई हृदयंगम गरी यस वित्तीय संस्थालाई उत्कृष्ट लघुवित्त वित्तीय संस्था बनाउने सोच र सपनालाई सामुहिक रुपमा अंगिकार गर्दै त्यस दिशामा समन्वयात्मक ढंगले अघि बढ्न सहभागीलाई निर्देशन गरे । दुबै संस्थाको गरी ४० जना शाखा प्रमुखहरु उपस्थिती रहेको उक्त कार्यक्रममा बित्तीय संस्थाका सम्पूर्ण बिभागीय प्रमुख र अनुगमन अधिकृतहरुको उपस्थिती रहेको थियो । साधना लघुवित्त र आर्थिक समृद्धी लघुवित्तले गत जेष्ठ २५ गते बिशेष साधारण सभा मार्फत प्राप्तीको प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतीको लागि निबेदन पेश गरेको जनाइएको छ ।
काभ्रेपलाञ्चोकको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जेठ ३२ गते काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरेका छन् । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पु¥याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्टरनेट चलाउन पाइने बताए । उनले समृद्ध नेपालको महाअभियानमा नेपाल टेलिकम अत्याधुनिक सूचना र सञ्चार सेवाको पहुँच मुलुकभर पुर्याएर महत्वपूर्ण सहयात्री बनिरहेको पनि बताए । सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका कुनाकाप्चाका वासिन्दालाई पनि सेवाको भावनाले सञ्चार प्रविधिका माध्यमबाट जोड्ने र समृद्धिको अभियानमा उनीहरुलाई पनि समेट्ने प्रयास नेपाल टेलिकमले गरिरहेको बताए । नव शहरका रुपमा विकास भइरहेको सिपाघाटमा गरिएको टेलिफोन र इन्टरनेट सेवाको विस्तार समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सहयोग पु¥याउने प्रयासको नमूना भएको पनि उल्लेख गरे । कार्यक्रममा एक्सचेञ्च रहेको ६ नम्बर वडाका वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले आफूहरुको माग बमोजिम नेपाल टेलिकमले एक महिनामै १ सय २८ लाइन टेलिफोन र उत्तिकै क्षमताको एडीएसएल इन्टरनेट सेवा समेत उपलब्ध हुनेगरी योजना सञ्चालन गरिदिएकोमा कम्पनीप्रति कृतज्ञता व्यक्त गरे । काभ्रेको सदरमुकाम धुलिखेलबाट करिव २७ किलोमिटर उत्तरमा इन्द्रावती नदीको किनारमा रहेको सो वस्तीमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच पुगेपछि विकासमा फड्को मारिएको महशुस गरेको स्थानीय वासिन्दा बिदुर बानियाँले बताए । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले एक्सचेञ्जको तत्कालको क्षमता १ सय २८ लाइनको भए तापनि आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गर्न सकिने बताए । सो अवसरमा काठमाडौ क्षेत्रीय निर्देशनालयका निमित्त निर्देशक राजेश उप्रेतीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा कम्पनीका उच्च पदस्थ कर्मचारीहरुका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो ।