विकासन्युज

सहज भुक्तानीका लागि ‘सेल पे’, यसरी लिन सकिन्छ सुबिधा

काठमाडौ । सेलकम प्राईभेट लिमिटेडले विभिन्न किसिमका भुक्तानीहरुलाई सहज बनाउने उदेश्यले सेल पे सेवा भित्र्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त गरी सञ्चालनमा आएको हो । राजधानीमा आयोजिक एक विशेष समारोहमानेपाल राष्ट्र बैकका गर्भनर डा.चिरञ्जीवी नेपालले विश्व नै डिजिटल बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले भने–‘बैकिङ क्षेत्रमा डिजिटल रुपमा काम गर्ने समूह बढ्दो छन्, अब हामीले सबैलाई वित्तीय पहुँचमा ल्याउन आवश्यक छ ।’ गर्भनर नेपालले पैसा एक ठाउँमा रहँदा भन्दापनि जति चलायमान भयो, त्यती नै आर्थिक विकास हुने बताए । प्रविधिले कामको सहजता, तीब्रतादेखी व्यापार व्यवसायमा सफलता दिलाउने उनको तर्क छ । ‘विश्वका क्यापिटल मार्केटहरु मर्ज हुने क्रममा छन, अब सिङ्गापुर र अष्टेलियाका क्यापिटल मार्केटहरु मर्ज हुने क्रममा छन, यो आवश्यकतापनि हो’–गर्भनर डा. नेपालले भने । सेलकमका अध्यक्ष दीपक मल्होत्राले ग्राहकले बैँक खातामा रहेको पैसा सेलपे मार्फत सहजै भुक्तानी गर्न सक्ने बताए । उनले भने–‘हामीले बैंकमा एक नेपालीको एक बैंक खाता हुनु पर्ने कुरामा जोड दिंदै आएका छौँ । पहिले कागजी नोट चल्ती हुने गरेको, त्यसपछि प्लाष्टिकको पैसा र अहिले सेलपे जस्ता प्रविधिको युगमा प्रवेश गरेको उनले बताए । सेल पेको उद्देश्य भुक्तानी र बैकसँग रहने छ । ‘बैकमा खाता भएका ग्राहकहरुले अब सेल पेको फाइदा उठाउन सक्छन्’–मल्होत्राले भने । के हो त सेलपे सेवा ? सेल पे सेवा मोवाइल तथा वेबहरु मार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने सेवा हो । सो सेवा मार्फत विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकास गरिएको छ । सेलपे वालेट सेवा होइन सेलपे वालेट सेवा होइन । सेलपे सेवामा ग्राहकले वालेट बनाउनु पर्ने, वालेटमा रकम स्थान्तरण गर्नु पर्ने खालका केही झण्झट आउँदैनन् । यसलाई ‘डिजिटल डेविट कार्ड’को रुपमा लिन सकिन्छ । ग्राहकले एक वा सो भन्दा बढी बचत खाताहरुमा सेलपेमा जोड्न सक्ने छन् । साथै, मोवाइल फोन रिचार्ज, टेलिफोन, बिजुली, खानेपानी, ईन्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ई–कमर्स तथा अन्य भुक्तानीमा यो सहयोगी साबित हुनेछ । यसरी प्राप्त हुन्छ सेलपे सेवा सेल पे सेवा प्राप्त गर्न गुगल प्लेस्टोर र एप्पल एप्पस्टोर अथवा सेलकमको वेवसाइटबाट आफ्नो स्मार्ट फोनमा डाउनलोड गर्नपर्छ । यसपश्चात एप्पमा भनिए अनुसार आफूलाई दर्ता गरी आवश्यक के वाई सी जानकारीहरु भर्नु पर्ने हुन्छ । के वाई सीका जानकारीहरु भरे पश्चात ग्राहकले आफ्नो भुक्तानी सुचारु गर्न सक्छन् । सेलपे सेवामा आवद्ध गर्न सकिने बैंक खाता संख्या सेलपे सेवामा ग्राहकहरुले आफूले चाहे जति बैंक खाता राख्न सक्छन् । उक्त बैंकहरु सेलकम प्राईभेट लिमिटेडको साझेदार बैंक हुन आवश्यक छ । सेल पे सेवा जडित मोवाईल हराएमा आत्तिनु पर्दैन सेल पे सेवा जडित मोवाईल एप हराएका ग्राहकले अरुले कारोबार गर्लान् कि भनेर चिन्ता मान्नु पर्दैन । किनभने सेल्पेमा कुनैपनि किसिमका जानकारी भण्डारण हुँदैन । मोवाइल हराएको अवस्थामा ग्राहकले सम्बन्धित बैँक अथवा सेलकम कम्पनी जहाँपनि सम्पर्क गर्न सक्ने छन् । यसरी सम्पर्क गरेर सो सेवा ब्लक गर्न मिल्ने सुविधा ल्याइएको छ । मोवाइल सेट परिवर्तन गर्दा के हुन्छ ? एक पटकमा एउटा मोवाइलमा मात्र चल्ने किसिमले सेलपे सेवा जडान गरिएको हुन्छ । ग्राहकले मोवाईल सेट परिवर्तन गर्दा नयाँ मोवाईलमा लग इन गर्नु आवश्यक हुन्छ । सोही बेला एसएमएस मार्फत एक ओटीपी प्राप्त प्राप्त हुन्छ । सो ओटीपीलाई मोबाइल एप्पमा भनिएको ठाउँमा राखेमा सेवा सुचारु गर्न सकिन्छ । के हो त सेलपे लोयल्टी सेल पे लोयल्टी एक ग्राहक योजना हो । उक्त योजनामा हरेक कारोबारमा एक निश्चित बोनस रकमको व्यवस्था गरिएको छ । त्यसमा दूर सञ्चार सेवा प्रदायकहरुको रिचार्ज गर्न सकिने सुविधा छ । यस्ता छन् सेल पे मा कारोबारका सीमा सेल पे सेवामा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित गरिएका सेवाहरु लागू हुन्छन् । सो सीमा कारोबारको प्रकारको आधारमा निर्धारित हुने पाईन्छ । सेल पे सेवामा रहेका कारोबार शुल्क तथा दस्तुर सेल पे सेवामा रहेका कारोबार शुल्क रकम स्थान्तरणको आधारमा रहेको कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताहरुका लागि २ देखी २० रुपैयाँ सम्मका दस्तुरहरु निर्धारित गरिएका छन् । सेल पे को सन्दर्भमा अन्थ थप जानकारी लिन सेलकम प्राईभेट लिमिटेडमा सम्पर्क गर्न सकिन्छ । सेलकम प्राईभेट लिमिटेडको भने जेडिए कम्प्लेक्स सुन्धारामा रहेको छ ।

विप्लवका कार्यकर्ताद्वारा दुई दर्जन एनसेल टावरमा आगजनी

काठमाडौं । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताएका छन् । प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो । यस्तै, अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ । गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय(डिस्पोज) गरेको प्रहरीले जानकारी दिएको छ । बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो । रासस

व्यक्तिलाई मुआब्जा दिएर राज्यले नयाँ संरचना बनाउन सक्दैनः मुख्यमन्त्री पौडेल

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नु पर्ने बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई जरिवानाको व्यबस्थामा कडाई गर्नु पर्ने पनि बताए । उनले निश्चित समयमा ठेकेदारले आयोजना मर्मत गर्ने नीति ल्याउन प्रदेश सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । मोबिलाईजेसन रकम लिएर कतिपय ठेकेदारले काम नगरेको भन्दै उनले भने–‘मोबिलाईजेसन रकम लिएर कतिपय ठेकेदार सम्पर्क बाहिर रहने गरेका छन् । अब मोबिलाईजेसन रकम बिनै काम गर्ने नीति ल्याउने विषयमा छलफल भईरहेको छ ।’ मुआब्जा दिएर नयाँ संरचना बनाउन सकिन्न यसैगरी व्यक्तिलाई मुआब्जा दिएर नयाँ संरचना बनाउन नसकिने बताए । मुआब्जा दिएर प्रदेश सरकारले सडक बनाउन नसक्ने स्पष्ट पारे । राज्यले लगानी गरी सडक लगायतका संरचना बनाउँदा ब्यक्तिको सम्पत्तिको मुल्याङ्कन बढ्ने हुँदा सोहि अनुपातमा राज्यलाई सहयोग गर्नु पर्ने बताए । मुआब्जाको बखेडा झिक्ने ठाउँमा प्रदेश सरकारले लगानी गर्न नसक्ने बताए । यस्ता क्रियाकलापले राज्य कमजोर हुने र व्यक्ति धनी हुँदै जाने परिपाटि बन्ने उनको बताए । कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. रामचन्द्र ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब कौशलकिशोर झा लगायत सहभागी थिए ।

मुक्तिनाथले ल्यायो आकर्षक ब्याजदरमा आवास र सेयर कर्जा सुबिधा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने मूल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको छ । बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्ने छ । आवास कर्जा आकर्षक ब्याज दरमा २० बर्षको लागि लिन सकिने बैंकले जानएको छ । २ वर्षसम्म ब्याजदर परिवर्तन नहुने, निःशुल्क दुर्घटना बीमा, समयमै किस्ता बुझाउँदै जाँदा सेवा शुल्क फिर्ता हुँदै जाने र प्रि-पेमेन्ट शुल्क नलाग्ने यसका विशेषता हुन् । यसका साथै, बैंकले पुँजीबजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिने जनाएको छ । देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको जनाएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी ‘जीवन बरदान बचत खाता’ सञ्चालनमा ल्याएको सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।

उदयपुरमा वर्षासँगै सडक अवरुद्ध हुँदा कुहियो करोडौँ मूल्यको आलु

गाईघाट । असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यको आलु अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा र यातायात सञ्चालन हुन नसक्दा यस क्षेत्रमा उत्पादन भएका आलुहरु अन्यत्र पैठारी गर्ने समस्या आएपछि कुहिन थालेको स्थानीय आलु उत्पादक कृषकहरुको गुनासो छ । माझखर्क इनामे, डिल्लीबर हुँदै मुर्कुची बजार भएर गाईघाट, सिराहाको लहान र सप्तरीको राजविराज तथा पूर्वी क्षेत्रको इटहरी र विराटनगरसम्म खरिद–बिक्री हुने गरेको आलु यस पटक सडक अवरुद्धका कारण एक महिनासम्म बिक्री गर्न नपाउँदा आलु भण्डारन गरिएको कोठाहरुमा नै कुहिन थालेको हो । यस्तै, लिम्चुङबुको पल्लो माझखर्क सातदोबाटे र बराहमा उत्पादन गरिएको आलुहरु पनि अहिले सडक अवरुद्ध भएपछि अन्यत्र पैठारी गर्न नपाएपछि कुहिन थालेका कारण आलु बिक्रीबाट यस पटक किसानहरुले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था छ । जिल्लाको सदरमुकाम गाईघाट हुँदै मुर्कुची, डिल्लीबजार, माझखर्क तथा गाईघाट, रौता, भुटार इनामे माझखर्क दुवै क्षेत्रका पहाडी सडकहरु असारको अन्तिम हप्ता आएको भीषण वर्षापछिको पहिरोले कतै सडक भत्किएको र कतै पहिराले सडकहरु पुरिएपछि पहाडी सडक अवरुद्ध हुन पुगेको सो क्षेत्रका जनप्रतिनिधिहरु बताउँछन् । कम्तीमा पनि सो पहाडी क्षेत्रको सडक अवरुद्ध खुलाउन महिनौँ दिनभन्दा बढी समय लाग्नेसमेत रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । अहिले रौतामाई लिम्चुङबुङ, माझखर्क इनामे क्षेत्रको सडक अवरुद्ध खुलाउन पहल शुरु भएको पनि लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राई बताएकी छिन् । तत्काल सडक खुलाउन लिम्चुङबुङ गाउँपालिकाले २५ लाख रौतामाई गाउँपालिकाले १५ लाख खर्च गर्ने तयारी गरेको पनि सो गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । यस्तै, प्रदेश नं १ को सरकारका तर्फबाट सो तीनै क्षेत्रको पहाडी सडक सञ्चालन गर्न रु ५० लाख सहयोग गर्न लागिएको उदयपुरबाट प्रदेश नं १ का सांसद नारायण बुर्जा मगरले बताए । स्थानीय प्राविधिकहरुका अनुसार यस क्षेत्रको सडक अवरुद्ध हटाउन महिनाभन्दा बढी लाग्ने र दुई करोडसम्म रकम बिना सडक खुल्न नसक्ने सडकका प्राविधिकहरुले बताए । यसरी, समयमा सडक खुल्न नसक्दा अहिले जिल्लाको यी पहाडी क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरुको चरम अभावको समस्या देखापरेको छ भने कृषकहरुले उत्पादन गरेको आलुसमेत अन्यत्र पैठारी हुन नसक्दा उत्पादित आलुहरु कुहिन थालेपछि कृषकहरु मारमा पर्न थालेको व्यापक गुनासो कृषकको रहेको छ । यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी आलु उत्पादन हुने आलु पकेट क्षेत्रका रुपमा रहेको छ भने यस क्षेत्रका ६० प्रतिशत कृषक आलु उत्पादनमा निर्भर हुँदै आएका छन् । रासस

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

भक्तपुर । भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गाडी सडकबाट करिब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । घाइते गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको भने भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यसैगरी, गएराति मध्यपुरथिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६त ८६८ नंको ट्र्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको मोटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार रामेछाप सुनापाती गापा–३ घर भएका २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौँ उपचारका क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले जानकारी दिएका छन् । दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक रामेछाप सुनापाती गापा–३ बस्ने २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । घटनामा उदयपुर कटारी घर भई हाल जडीबुटी बस्ने ३१ वर्षीय रबिन खत्रीलाई महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ भने फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएकोे छ । रासस

प्रसूतिका साधनको अभावका कारण स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

हुम्ला । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिएका छन् । मृतक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पुर्याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए । स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिएका हुन् । दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको हो । रासस

महानगरीय ट्राफिकले उठायो ३१ करोड ५६ लाख, अघिल्लो आव भन्दा सवा २ करोड बढी

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत आर्थिक वर्ष २०७५/०७६ मा करिब ३१ करोड राजश्व संकलन गरेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा सञ्चालित सवारी साधनलाई गरेको कारबाहीबाट ३१ करोड ५६ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन भएको हो । गत आर्थिक वर्ष २०७५/०७६ मा कुल ४ लाख ८१ हजार ७५ सवारी साधन कारबाहीमा परेको महाशाखाले जनाएको छ । जसमध्ये ट्रक ४५ हजार २ सय ४३, बस १ लाख १३ हजार ९ सय,कार जीप र भ्यान १ लाख ३८ हजार ३ सय ९४, ट्याक्टर १ हजार १ सय ३९, मोटरसाइकल १ लाख ६८ हजार ४ सय ३३ र अन्य १३ हजार ९ सय ६६ गरी जम्मा ४ लाख ८१ हजार ७५ सवारी साधन कारबाहीमा परेका हुन् । कारबाहीमा परेका ट्रकबाट २ करोड ९४ लाख १६ हजार ५ सय, बसबाट ७ करोड १८ लाख ५६ हजार ५ सय,  कार जिप र भ्यानबाट ९ करोड ११ लाख ९७ हजार ५ सय, ट्याक्टरबाट ६ लाख ६६ हजार ५ सय, मोटरसाइकलबाट ११ करोड ३१ लाख १५ हजार र अन्यबाट ९४ लाख ४५ हजार राजश्व संकलन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो । आर्थिक वर्ष २०७४/०७५ मा महाशाखाले २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७४/०७५ भन्दा गत आर्थिक वर्ष २०७५/०७६ मा महानगरीय ट्राफिक प्रहरीले २ करोड २४ लाख ९६ हजार बढि राजश्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०७४/०७५को भन्दा गत आर्थिक वर्ष २०७५÷०७६ मा सवारी साधनको चाप बढेसँगै सवारी साधनहरुपनि बढि कारबाहीमा परेका कारण राजश्वको दर बृद्धि भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रबिकुमार पौडेलले बताए । चालकले मापसे सेवन गरेका, लेन अनुशासन पालन नगरेका, सवारी साधनमा बढी भाडा उठाएका र फुटपाथ तथा सडकमा पार्किङ लगायतका कारण सवारी साधन कारबाहीमा पर्ने गरेको उनको भनाई छ । पछिल्लो समयमा ट्राफिक सचेतना कार्यक्रमहरु सञ्चालनमा आएपनि सवारी साधन कारबाहीमा भने किन कमि आउन सकेन भन्ने जिज्ञासामा प्रहरी उपरीक्षक पौडेलले भने-‘वर्षेनी सवारी साधनको संख्या बढ्दै गएको छ,’ सवारी चालक स्व-अनुशासित नबन्दा कारबाहीमा पर्ने गरेका छन् ।’ कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् ।