एनआईसी एशियाका ग्राहकलाई होटल ह्यारिसन विराटनगरमा ३० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् । प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
अशोक लेलैण्डका गाडी किन्दा रिलायन्स फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने छन् ।
एनएमबी लघुवित्तले गर्यो लेखापरीक्षण तथा कर सम्बन्धी तालिम
काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले एक दिने आन्तरिक लेखापरीक्षण तथा कर सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा कार्यरत वित्त व्यवस्थापन, कर्जा ब्यवसाय, कर्जा जोखिम तथा असुली व्यवस्थापन, आन्तरिक लेखापरीक्षण विभाग, कर्जा जोखिम तथा असुली व्यवस्थापन विभागमा आवद्घ सवै अधिकृत र सहायक स्तरका कर्मचारीहरु र विभिन्न प्रदेश स्तरमा रहेका नौ वटा अनुगमन स्टेशनका अनुगमन अधिकृत कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो । उक्त तालिममा ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले सहभागी कर्मचारीलाई उत्प्रेरणात्मक हुने प्रस्तृति र बाह्य स्रोत ब्यक्ति सिए पारसमणि अर्यालले आन्तरिक लेखापरिक्षण तथा कर सम्बन्धी विषय वस्तुमा प्रशिक्षण दिएका थिए । यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
क्यान्सर पीडित शेर्पालाई सिटी एक्सप्रेसले हस्तान्तरण गर्यो २ लाख १० हजार
काठमाडौँ । स्तन क्यान्सर पीडित डोल्मा शेर्पाको लागि इराकमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित, भोटेकोशी गाउँपालिका, ०५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । इराकमा संकलन भएको रु १ लाख ९६ हजार ९६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसका अधिकारिक एजेन्ट अलताईफ मार्फत प्राप्त भई ररु. १३,०३६ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट थप गरी एकमुष्टरु २ लाख १० हजार सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्तान्तरण गरे ।
नेपाल फुड्सको बफेलो सुकुटीले बेलायतमा पायो ‘ग्रेट टेष्ट अवार्ड २०१९’
काठमाडौँ । नेपाली सुकुटीले खाना र पेय पदार्थको ब्रिटिश अवार्ड पाएको छ । नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले ग्रेट टेष्ट अवार्ड २०१९ पाएको नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले जानकारी दिए । एकसय भन्दा बढी देशबाट प्राप्त १२ हजार ७७२ उत्पादनमध्ये नेपाली सुकुटीले टु स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको हो । उक्त कम्पनीले बेलायती बजारमा वाइवाइ चाउचाउ, मार्सी चामल, दाल, फापरको पिठो, मकैको च्याख्ला, गुन्द्रुक, मुलाको अचार, ताइचिन चिउरा, चटपटे भुजा, ओल्ड दरबार ह्विस्की लगायत सयौं नेपाली उत्पादन विक्री वितरण गर्दै आएको छ ।
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दर्जन बैंकर्स प्रतिस्पर्धा गर्दै, यस्ताे छ सेवा सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकले कुनै पनि बैंकमा तीन महिना भन्दा बढी प्रमुख कार्यकारी अधिकृतको पद खाली राख्नु हुन्न भनेपनि सरकार मुख्य लगानीकर्ता भएको नेपाल बैंकमा विगत पाँच महिनादेखि सीईओ पद खाली छ । बैंक स्रोतका अनुसार अहिलेसम्म कसैले पनि आवेदन दर्ता गरेका छैनन् तर करिव एक दर्जन व्यक्तिले बैंकको बारेमा सोधखोज गरेकोले उनीहरुले आवेदन गर्न सक्ने अनुमान गरिएको छ । त्यसमा रत्नराज बज्राचार्य, एसविआई बैंकका छविराज पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीका कमल गौतम, कुमारी बैंकका राजीव गिरी र उमेशसिंह भण्डारी, सिटिजन्स बैंकका बोदराज देवकोटा, जनता बैंकका पूर्व डेपुटी सीईओ सागरकुमार घिमिरे, कृषि विकास बैंकका पूर्ण आचार्य र शेषमणि आचार्य, शंकर रायमाझिको नाम आएको छ । त्यस्तै, नेपाल बैंकका कामु सीईओ कृष्णबहादुर अधिकारी र पूर्व महाप्रबन्धक दुर्गाप्रसाद रेग्मीको आवेदन पर्ने सक्ने अनुमान गरिको छ । यस्तो छ योग्यता र सुविधा खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न लागेको बैंकले आगामी भदौं २ गतेसम्म आवेदन माग गरेको छ । मासिक पारिश्रमिक ३ लाख र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम र अन्य सुविधा पाइने बैंकले जनाएको छ । बैंकले दिने सुविधा लाेभलाग्दाे नभए पनि नेपालकाे सबैभन्दा पुरानाे र मुख्य लगानीकर्ता सरकार भएकाेले याे बैंकमा प्रमुख कार्यकारी अधिकृत भएपछि व्यक्तिगत प्राेफाइल राम्राे बन्छ । ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ । आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएका दुई व्यवसायिक योजना र सा को सफ्ट कपी समेत सिलबन्दी गरी पेश गर्नु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये संभव भएसम्म ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने छ । र उच्चत अंक प्राप्त गर्ने संभव भएसम्म ३ जनालाई सिफारिस गरिने छ ।
वैदेशिक रोजगार सम्बन्धि गैरकानुनी कार्य नियन्त्रण गर्न अनुगमन शुरु
काठमाडौं । वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न र वैदेशिक रोजगार सम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्नका लागि अनुगमन टोली परिचालन गरेको छ । कार्यविधी, २०७६ लागु भएसँगै वैदेशिक रोजगार विभागले तयार पारेको यो कार्यविधिलाई गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्वीकृत दिएका हुन् । यो सँगै विभागले कुनैपनि समय या दिन (शनिवार, विदाको दिन) समेत अनुगमन गर्न सक्नेछ जनाएको छ । पछिल्लो समय विभिन्न म्यानपावर एजेन्सीहरुले शनिवार या विदाको दिन पारेर श्रमिकसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्र्तवार्ता लिने जस्ता कार्य गर्न थालेको गुनासो आएपछि यो कार्यविधी बनाएर लागु गरिएको हो। शनिवार भएको अनुगमन यसैको उदाहरण हो, वैदेशिक रोजगार व्यवसायलाई थप मर्यादित बनाउन तथा वैदेशिक रोजगार व्यवसायमा आवद्ध नभएका अन्य संस्थाहरु तथा व्यक्तिबाट हुनसक्ने मन्त्रालयले जनाएको हाे। वैदेशिक रोजगार सम्बन्धी गैरकानूनी कार्य नियन्त्रण गर्न तथा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ र दफा ६१ बमोजिमको प्रावधान कार्यान्वयन गर्न वैदेशिक रोजगार नियमावली, २०६४ को दफा ५२ क को उपनियम (२) बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ।
थाइल्याण्डमा पदक जित्ने कराँते खेलाडीलाई एक्सपर्टद्वारा नगदसहित सम्मान
काठमाडौँ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले थाइल्याण्डमा हालै सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिपका पदक बिजेता खेलाडीलाई आइतबार काठमाण्डौमा नगद पुरस्कारसहित सम्मान गरेको छ । महाराजगञ्जस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित कार्यक्रममा सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल सबिना श्रेष्ठ, रजत पदक विजेता सोमी राई तथा कास्य पदक विजेताहरू राजकुमार रसाईली र अनिश लामिछानेलाई सम्मान गरिएको हो । स्वर्ण पदक विजेता श्रेष्ठलाई नगद ७ हजार रूपैयाँ, रजत पदक विजेता राईलाई ५ हजार रूपैयाँ तथा काश्य पदक विजेता रसाईली र लामिछानेलाई जनही ४ हजार रूपैयाँ, प्रमाणपत्र तथा अन्य उपहार प्रदान गरिएको हो । सो अवसरमा खेलाडीका प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, काठमाण्डौ महानगरपालिका ३ का वडाअध्यक्ष दीपक केसी, टोखा नगरपालिका ७ का वडाअध्यक्ष नरोत्तम राना, एक्सपर्ट फाउन्डेशनका अध्यक्ष देवीप्रसाद लम्साल लगायतको उपस्थिति थियो । कार्यक्रमलाई सम्वोधन गर्दै टोखा नगरपालिकाका प्रमुख अधिकारीले एक्सपर्टले व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे । त्यसैगरी कामपा ३ का वडाध्यक्ष केसीले एक्सपर्टले नेपाली खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको हौसला बढाउन गर्दै आएको कार्य निजी क्षेत्रसहित सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्दै एक्सपर्टलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा एक्सपर्ट फाउन्डेशनका अध्यक्ष लम्सालले फाउण्डेशनले देशभर सामाजिक क्षेत्रमा गरेको कार्यको संक्षिप्त विवरण प्रस्तुत गरे । एक्सपर्ट महाराजगञ्जका निर्देशक जयराम अर्यालले पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्न पाउँदा आफूहरूलाई गर्व लागेको उल्लेख गरे । उनले पछिल्लो ५ वर्षयता क्रिकेट, फुटबल कराँतेसहित अन्य खेलकुद र खेलाडीहरूको क्षमता विकासमा एक्सपर्टले उदार मनले सहयोग गरिरहेको भन्दै आगामी दिनमा त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा सम्मानित खेलाडीहरूले राज्यका निकायले खासै चासो नदिएपनि एक्सपर्टले गरेको सम्मानबाट आफूहरु अत्यन्त खुशी भएको र हौसला मिलेको उल्लेख गरे ।