सोमबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा गर्ने भएको छ । प्रदेश नम्बर २ को सरकारले इस्लाम धर्मावलम्वीहरुको महान पर्व बकरिदको अवसरमा सार्वजनिक विदा गर्ने घोषणा गरेको हो । एक अर्काे पर्वप्रतिको सम्मानलाई कायम राख्दै प्रदेश सरकारले यस पर्वको अवसरमा मुलुकमा भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस भनि प्रदेश मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।
बुटवलमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बन्दै, अनुमान लागत १० कराेड
खस्यौली । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवनं निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका हुन् । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्न आग्रह गरेका छन् । बुटवललाई आर्थिक कारोवारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दिगो आयस्रोतको आधार बनाउने गरी उक्त भवन नगर विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको हो । सो कार्यका उपमहानगरपालिका र कोष बीच गत फागुनमा सम्झौता भएको थियो । भवनका लागि रु १० करोड ८४ लाख खर्च हुने अनुमान गरिएको छ । विसं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ अत्याधुनिक मापदण्डबमोजिमका व्यावसायिक सटर निर्माण गरिने भएकामा भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ सटर निर्माण गरिने बताइएको छ । रासस
साउन २९ गते अन्तर्राष्ट्रिय गोष्ठी हुने, बैंकिङ र बीमा क्षेत्रको जोखिमबारे छलफल
काठमाडौँ । अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी साउन २९ गते हुने भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लिमिटेड(बीएफआईएन)को प्रथम वार्षिकोत्सवका अवसरमा गोष्ठी आयोजना गर्न लागिएको हो । उक्त गोष्ठी राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्ने कार्य तालिका रहेको छ । होटल हायात रिजेन्सीमा हुने गोष्ठीमा जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोणबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरुबारे सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्नेछन् । यसैगरी, यान्त्रिक परिवर्तन र वित्तीय एवम् बीमा क्षेत्रमा देखा पर्ने जोखिमहरुबारे भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्ने बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए ।
हुवासिन सिमेन्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न सरकारलाई लेखाको निर्देशन
काठमाडौं । सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने हुवासिन सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा गठित उपसमितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमाथि उद्योग मन्त्रालय र लगानी बोर्डका पदाधिकारीको धारणा लिएपछि समितिको आजको बैठकले उक्त निर्णय लिएको हो । “स्थानीय तहबाट उक्त कम्पनीलाई ५० वर्षका लागि सार्वजनिक जग्गा भाडामा दिने काम भएको छ, त्यो गैरकानूनी भयो, यसरी दिन पाइँदैन, उद्योग र स्थानीय तहबीच भएको सम्झौता रद्द गर्न लगाई त्यसलाई सच्याएर अघि जानुपर्छ भन्नेमा बैठकमा मतैक्यता भएको छ”, समितिका सचिव डा. रोजनाथ पाण्डेले भने । मलेखु खोलामा उद्योगका लागि पहुँचमार्ग खोला मिचेर पानीको बहाव नै परिवर्तन गर्ने ढङ्गबाट बनाइएको हुँदा विस्तृत परियोजना प्रतिवेदनले निर्धारण गरेको मापदण्ड अनुसार खोलाको किनार छाडेर मात्र बाटो बनाउन समितिले उद्योगलाई निर्देश दिएको हो । बैठकले उद्योगसम्म पुग्ने पहुँचमार्ग निर्माणमा आवश्यक सावधानी नअपनाइए त्यस क्षेत्रका खेत खोलाको कटानमा पर्न सक्ने देखिएकाले त्यसको सुरक्षामा पर्याप्त ध्यान दिन उद्योगलाई सचेत गराउने निर्णय पनि गरेको छ । उद्योग स्थापनापछि त्यस क्षेत्रको वातावरणीय प्रभावमा पर्न सक्ने असरलाई ध्यानमा राखी सम्झौतामा भएको शर्तअनुसार कार्यान्वयन भए नभएको बारे निरन्तर अनुगमन र निरीक्षण गर्न समितिले उद्योग विभाग र लगानी बोर्डको ध्यानाकर्षण गराएको छ । करिब ३५ मेगावाट क्षमताको विद्युत् उद्योगलाई लाइन आवश्यक पर्ने हुँदा उक्त प्रसारण लाइन उद्योगमा पुर्याउने सन्दर्भमा त्यस क्षेत्रको घर र बस्तीमा असर पुगेको खण्डमा मुआब्जा उपलब्ध गराउन पनि समितिले उद्योगलाई भनेको छ । उक्त उद्योगका बारेमा व्यापक जनगुनासो आएपछि समितिले लेखराज भट्टको संयोजकत्वमा गठन गरेको उपसमिति अवलोकनका लागि गएको थियो । उपसमितिले बुझाएको १५ बुँदे प्रतिवेदनमा उक्त कम्पनीलाई ५० वर्षसम्मका लागि भाडामा दिन गरिएको सम्झौता रद्द गर्न र सो कार्यमा संलग्न पदाधिकारीलाई कानूनी कारवाहीका लागि निर्देशन दिन सिफारिश गरिएको छ । रासस
शिवम् सिमेन्टका सिईओ देवकोटाको राजीनामा स्वीकृत, मारुलाई नयाँ जिम्मेवारी
काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी सञ्चालक रघुनन्दन मारुले प्रमुख कार्यकारी अधिकृत(सिईओ) समेतको जिम्मेवारी सम्हाल्ने भएका छन् । उक्त उद्योगका सिईओ सजन देवकोटाले साउन २१ गते दिएको राजीनामा साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सिईओ देवकोटाको राजीनामा स्वीकृत गर्दै सोही दिनदेखि रिक्त रहेको सिईओको जिम्मेवारी हाललाई कार्यकारी सञ्चालक मारुलाई दिने निर्णय भएको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।
श्रम कार्यालयमा दैनिक ६ देखि ८ जना श्रमिकको उजुरी
काठमाडौं । टेकुस्थित श्रम कार्यालयमा दैनिक ६ देखि ८ उजुरी दर्ता हुँदै आएको छ । प्रदेश नं. ३ का श्रमिककाे मात्र समस्या हेर्ने उक्त कार्यालयले पछिल्लाे समय न्युनतम तलब नपाएको देखि कार्यालयले प्रदान गर्ने हरेक सेवा सुविधाबाट बन्चित रहेको भन्ने गुनासो लिएर आउने गरेको श्रम कार्यालयका प्रमुख खगेन्द्रबहादुर बस्नेतले बताए । उनले भने-‘गतवर्ष २६ सयमात्र लेबरका विषय उजुरी आएको र अघिल्लो वर्षको तुलनामा निवेदन दिनेको संख्या बढ्दै गएको र श्रमिक आपूर्ति २०७४ को अनुसार न्युनतम पारिश्रमिकको विषयलाई लिएर निवेदन आउने गरेको छ ।’ श्रमिकको नयाँ नीति २०७५ साल साउनदेखि शुरु भएपनि हालसम्म करिब ५० प्रतिशत मात्र लागु भएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । नेपालको राजनीति, भौतिक तथा सामाजिक तथा संस्कृति परम्परा अनुसार नीति नियम निर्माण गरेर अगाडी बढ्नु पर्नेमा अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया नेपालमा लागु गर्दै गर्दा धेरै समस्या पैदा भई उजुरी दिनेकाे मात्रा बढ्दै आएको छ । गत वर्षमा श्रम कार्यालयमा ३११ वटा यूनियनको उजुरी आएकोमा ३१ वटाको आधिकारी रुपमा ट्रेड यूनियनको निर्वाचन गराए, त्यस्तै ८ सय ६२ वटा व्यक्तिगत मामिलाका विषयमा उजुरी दर्ता भएका थिए भने ७७ वटा सामुहिक मागदावीको विषयमा विभिन्न प्रतिष्ठानबाट उजुरी भएको कार्यालयले जानकारी दिएको छ । ३ सय ४५ वटा श्रम कार्यवाहक छिनोफानोको निवेदनमध्ये ३७ वटाको मिलाएको जानकारी दिँदै ७ वटा बालश्रमको विषयमा उजुरी आएसँगै बालश्रमिकको विषयलाई कार्यालयले प्राथमिकता दिँदै आएको कार्यालय प्रमुख बस्नेतले भने । उपत्यकामा ५० हजारदेखि एक लाखसम्म श्रम अडिट आउन पर्नेमा गत वर्ष २२६ मात्र अडिटका लागि निवेदन आएको छ । यसबाट प्रष्ट हुन्छ कि नीति नियमलाई अनुसरन नगरेका कम्पनीहरु अडिट लागि श्रम कार्यालय धाएका छैनन् । नेपालमा बेरोजगारका संख्या बढी र रोजगार प्राप्त गर्नेको संख्या अति कम भएको हुँदा पनि नेपाल सवृद्ध मुलुुकको रुपमा स्थापित हुन समय लाग्ने जबसम्म नेपालमा सवृद्ध मुलुकका रुपमा स्थापित हुँदैन, तव सम्म श्रमिकका विभिन्न समस्याका बारेमा निवेदनहरु आईरहने कार्यालय प्रमुख खगेन्द्रले बताएका छन् ।
इञ्जिनियरिङ अध्ययनबिना ट्रयाक खोल्न नदिन सरकारलाई विकास समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’को आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको हो । बैठकले दशैँ, तिहार, छठ, ल्होसार, ईदलगायतका चाडपर्व नजिकिँदै गएको सन्दर्भमा हालैको बाढीपहिरोबाट क्षति पुगेका सडक एवं पुल प्राथमिकताका आधारमा सञ्चालनमा ल्याएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । वर्षाका कारण क्षति भएका सडक एवं पुलको दीर्घकालीन समाधानका लागि थप योजना बनाएर कार्य अघि बढाउन निर्देश गर्दै समितिले सङ्घ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका तर वर्षातका कारण क्षति पुगेका सडक र पुल कसले बनाउने भन्ने द्विविधालाई तत्काल निराकरण गरेर अघि बढ्न सुझाव दिएको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो वर्ष गरिने भौतिक पूर्वाधार निर्माणका सबै कामको ठेक्का आगामी भदौभित्र गरिसक्ने ढङ्गले काम अघि बढाइएको बताएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन नाममा अब कुनै पनि पूर्वाधार निर्माणलाई विलम्ब गर्न नदिइने बताउँदै उनले सडक र पुल मर्मतको कामलाई पनि प्राथमिकतामा राख्ने विश्वास दिलाएका हुन् । मन्त्री महासेठले भने, “सडक होस् वा अरु पूर्वाधार निर्माण नै किन नहोस्, जसले निर्माणको ठेक्का लिएको छ, उसले नै खनेको ठाउँका खाल्टाखुल्डी पुर्नुपर्छ, यदि कसैले हेलचेक्र्याइँ गर्यो भने उसले पाउने रकमबाट त्यो काम सम्पन्न गर्ने नीतिगत व्यवस्था गरिएको छ ।” बैठकमा सांसदले हालैको अबिरल वर्षाका कारण मुलुकका विभिन्न भागमा क्षति भएका सडक र पुलको विद्यमान अवस्थाका बारेमा जानकारी लिँदै भत्किएका सडक र पुलको छिटो मर्मत र सुधारमा चासो दिएर काम गर्न सुझाव दिए । बिना इञ्जिनीयरिङ सडकको ट्र्याक खोल्ने कार्यले बाढी र पहिराजस्ता विपद् निम्त्याएको हुँदा आगामी दिनमा यस्तो कार्य हुन नदिन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । रासस
भक्तपुरमा एकैपटक तीन बसलाई ठक्कर, १६ यात्रु घाइते
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर दिने सवारी साधनमा यात्रारत १६ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ । ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गापा– ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् । रासस