साताको पहिलो दिन घट्यो नेप्से, ३१ करोडको मात्रै कारोबार
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आजपनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.७७, होटल १६.४६, वित्त १.२५, अन्य १.८८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ५.०३, विकास बैंक ४.२९, जलविद्युत् ८.८४, निर्जीवन बीमा ३२.१९, उत्पादन १४.७३, लघुवित्त ६.६ र जीवन बीमा ३७.६६ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड ५९ लाख ५९ हजार ४६८ बराबरको शेयर कारोवार भयो । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु दुई करोड ७९ लाख ९७ हजार ११४, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ३७ लाख ३८ हजार ५३१, नेपाल बैंक लिमिटेड रु एक करोड १८ लाख ४४ हजार ७६६, कृषि विकास बैंक रु एक करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड सात लाख ६३ हजार २७६ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ । स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेशन ९.११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.५५, सिर्जना फाइनान्स ४.३०, साञ्जेन जलविद्युत् कम्पनी ४.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.६४ र यूनिभर्सल पावर कम्पनीका शेयरधनीले २.३३ प्रतिशतले कमाएका छन् । यस्तै एनसिसि बैंक ९.९१, जोशी हाइड्रोपावर ८.१०, पाँचथर पावर ८.०२, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४.४८, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.१३, आशा लघुवित्त ३.५५ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।
४ प्रतिशतले डेंगुको संक्रमण बढ्यो, समन्वय नहुँदा बढ्दो क्रममा
काठमाडौं । सन् २०१९ मा आईपुग्दा डेंगुबाट प्रभावित नेपालीको संख्या झन्डै ४ गुणाले बढेको छ । गतबर्ष डेंगुबाट प्रभावित हुनेको संख्या ८११ रहेकोमा यस बर्ष भने ३ हजार ४ सय २५ पुग्दा ४ गुणाले बढेको हो । नेपालमा पहिलो पटक २००४ सालमा डेंगुको पहिलो बिरामी भेट्टिएको थियो । त्यसपछी २०१० सालमा ९१७, २०१६ मा १५२७, २०१७ मा २१११ र २०१८ मा ८११ डेंगुका केसहरु देखिएको थियो । घटेर जानुपर्ने क्रममा २०१९ मा आईपुग्दा ३२२ प्रतिशतले बढेको हो । सरकारले आर्थिक वर्ष २०७५/७६ मा डेंगु खोजी तथा नष्टको लागि ७ करोड ९३ लाख खर्च गरेको छ। सरकारले डेंगु खोजी तथा नष्टको लागि केन्द्रीय सरकार अन्तरगत रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि १ करोड २० लाख, ७ वटा प्रदेशहरुमा ४ करोड ८३ लाख र स्थानीय तहहरुमा १ करोड ९० लाख गरी ७ करोड ९३ लाख खर्च गरेको हो। यधापी डेंगु नियन्त्रणको काम भने खासै प्रभावकारी देखिएको छैन । स्थानिय तह र प्रदेश स्तर बिचको राम्रो समन्वय नहुँदा डेगु नियनत्रण खासै प्रभावकारी नभएको स्वास्थ्य सेवा विभागका महानिर्देशक सुशिल प्याकुरेल बताउँछन् । उनी भन्छन, ‘समयोजनको ह्याङ अहिलेसम्म पनि उत्रिएको छैन ।’ प्रदेश नम्बर १ सबैभन्दा बढि जोखिममा गत आर्थिक वर्षमा डेंगु संक्रमित भएका मध्ये ९२ प्रतिसत भन्दा धेरै प्रदेश १ का रहेका छन् । तथ्यांक अनुसार प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित भेटिएका छन् । प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित सुनसरीपछि मोरङ्गमा ८१ र झापामा २९ जना संक्रमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।‘जबसम्म हामी खानेपानीको र फोहोरमैलाको उचित व्यवस्थापन गर्न सक्दैनौ, तबसम्म हामी डेंगु रोग नियन्त्रण गर्न सक्दैनौं,’ ईपिडिमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले बताए । तापक्रम बढ्नुको कारण बिरामीहरु बढ्दै गएको विज्ञहरु बताउँछन् । हालसम्म नेपालमा १५ जनाको मात्र मृत्यु भएको छ । सामान्य ज्वोरोबाट सुरु हुने डेंगु नेपालको मात्र नभएर विश्वब्यापी रुपमा एुउटा समस्याको रुपमा रहेको छ । कसरी सर्छ डेंगु ? डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो । डेंगु भाईरसको चार प्रजाति छन् । एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४-७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८-१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ । पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४-२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ । एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ । त्यस प्रकारका हरेक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेँगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति यो रोग बाट सँक्रमित हुन्छ । डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरु लामखुट्टेमा सर्छन् । डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ । त्यसपछि व्यक्तिमा डेंगु वा Dengue Hemorrhagic Fever का लक्षणहरु देखिन सक्छन् वा कुनै खाले संक्रमण नदेखिन पनि सक्दछन् । संक्रमित व्यक्तिबाट एक हप्तापछि लामखुट्टेले एउटा स्वस्थ मानिसलाई रोग सार्न सक्दछ । लक्षणहरु डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् : – असाध्यै टाउको दुख्ने । – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने । – ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने । – शरीरमा विमिरा आउने । – धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । – वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ । मृत्युदर सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५०% सम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ। रक्तश्रावको खतरा हुने अवस्थाहरु – लामो समयसम्म वेहोस भएमा – जलवियोजन र वेहोस भएमा – कलेजोमा खराबी उत्पन्न भएका – दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा – ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा – रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा – शरीरमा कुनै प्रकारको चोटपटक लागेमा विश्वब्यापी अवस्थाहरु विगत केहि दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गैरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ । रोकथामका उपायहरु – पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । – पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ । – कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । नियन्त्रण सम्बन्धी सरकारले गरेका कार्यक्रमहरु – महोतरीको वर्दिवास, चितवनको रत्ननगर र भरतपुर न.पा, झापाको अर्जुनधारा, विर्तामोड, सुन्दरहरैचा, वेलवारी न.पा र धादिडको निलकण्ड न.पा.मा लामखुटेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य गरेको । – सो समयमा सरोकारवाला, जनप्रतिनिधि, संचारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम संचालन । – डेंगु रोग निदानको लागि द्रूत कीट जिल्ला तथा अस्पतालको माग वमोजिम नियमित रुपमा वितरण । – महामारी भएका स्थानहरुमा केन्दबाट विशेषज्ञ सहितको टोली नियन्त्रण तथा व्यवस्थापन गर्न परिचालन । – डेंगु रोग सम्वन्धि चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम संचालन । – डेंगु रोगको राष्टिय समिक्षा गोष्ठी संचालन । – डेंगु रोग नियन्त्रण र व्यवस्थापन सम्वन्धि निर्देशिका । – नियमित रुपमा समन्वय र सहयोग ।
राष्ट्रिय वाणिज्य बैंक पनि कनेक्ट आइपीएस ई-पेमेन्ट प्रणालीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा राष्ट्रिय वाणिज्य बैंक पनि आबद्ध भएको छ । सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले पनि अब डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्ने छन् । यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
बाढी पहिरोले क्षति भएका पुलको पुनर्निर्माण गर्न आधा अर्ब लाग्ने, ४५ वटा पुल क्षति
काठमाडौं । बाढी पहिरोले क्षति पुर्याएका पुलको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान सरकारले गरेको छ । विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पुल पुनर्निर्माणमा सो बजेट आवश्यक रहेको बताएका हुन । उनका अनुसार देशभर बाढी तथा पहिरोका कारण ४५ वटा पुलमा क्षति पुगेको छ । महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरूको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने पनि उनले बताए । त्यसका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको उनको भनाइ छ । क्षतिग्रस्त सडक र पुलहरू तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशन समेत दिएको छ । समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलहरूको जीर्णोद्धार तथा पुनर्निर्माणको काम कसले गर्ने भन्ने अन्योलता अन्त्य गर्न समितिले निर्देशन दिएकोे छ । बैठकमा सांसद प्रभु साहलगायतले संघ, प्रदेश र स्थानीय सरकारको हानथापका कारण वर्षाले क्षति पुर्याएका संरचना पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताए । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्याएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् । क्षति भएका पुलहरुमा सडक डिभिजन खुर्कोट ५ पुल, सडक डिभिजन विराटनगरले ३, सडक डिभिजन जनकपुरले ५, सडक डिभिजन लहानले ६ पुल, उत्तरदक्षिण व्यापारिक मार्ग १ पुल, सडक डिभिजन हेटौडा ३ पुल, सडक डिभिजन नेपालगञ्ज ३ पुल, रहेका छन् । मध्यपहाडी लोकमार्ग आयोजना ३ पुल, सडक डिभिजन झापा ७ पुल, सडक डिभिजन दमौली १ पुल, सडक परिक्रमा मार्ग जनकपुर १ पुल, सडक डिभिजन चन्द्रनिगाहपुर १ पुल, हुलाकी राजमार्ग जनकपुर अन्तर्गत ७ वटा पुल रहेका छन् । ती पुलहरूको पुनर्निर्माणका लागि क्रमशः४७ लाख, १ करोड २५ लाख, २ करोड ९० लाख, १ करोड, ५० लाख, २ करोड १० लाख, ३ करोड, १ करोड २० लाख, २ करोड २५ लाख, १ करोड ३५ लाख, २ करोड ५० लाख, १४ लाख र २ करोड ५० लाख रुपैयाँ लागत लाग्ने भएको छ ।
खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई प्राधिकरणको आग्रह
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ । अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको, तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निस्कृय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । सहप्रवक्ता घिमिरेले आफ्नो खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरे । समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निस्क्रिय तुल्याउने पनि उनले जानकारी दिए । आइतबार अपरान्हसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।
सनराइज बैंकको नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार
काठमाडौँ । सनराइज बैंकले नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार गरेको छ । तम्घासमा ११८ औँ, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो । आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । सोही कार्याक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्त रmपमा एटीएमको उद्घाटन गरे । यता, गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । यसैगरी आइताबार नै ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
जनता बैंकद्वारा गुणस्तरीय शिक्षा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनका लागि २ लाख सहयोग प्रदान
काठमाडौँ । जनता बैंकले ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई रु. २ लाख सहयोग प्रदान गरेको छ । रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गरिने‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’मा देशको बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले रातो बंगाला फाउण्डेसनका प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
मकवानपुरमा मापसे गर्ने १४५ चालकको अनुमतिपत्रमा प्वाल
हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५/७६ मा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ । कारवाहीस्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक रु एक हजार जरिवानासमेत असूली गरेर सवारी चालक अनुमतिपत्र प्वाल पारेको हो । त्यसैगरी, लाइसेन्स नभएका ५९ चालकबाट प्रतिचालक रु दुई हजारका दरले जरिवाना उठाइनुका साथै स्मार्ट लाइसेन्स भएकालाई अभिलेख बनाउन सम्बन्धित यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । मापसे गर्ने चालकबाट जरिवानास्वरुप गतवर्ष रु एक लाख ५६ हजार ८०० सङ्कलन भएको ट्राफिक प्रहरी काशी थापाले बताएका छन् । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा मापसे गरी सवारी चलाएका ५५६ चालकको अनुमतिपत्रमा प्वाल पारिएको थियो । त्यस्तैगरी ५६ जना लाइसेन्स नभएकालाई दोब्बर दस्तुर जरिवाना गरी कारवाही गरिएको थापाले जानकारी दिए । सो वर्ष चालक अनुमतिपत्र भएका चालकबाट प्रतिचालक रु एक हजार र नभएकाबाट प्रति चालक दुई हजारका दरले रु छ लाख ६८ हजार राजश्व सङ्कलन गरिएको थियो । त्यस्तै आर्थिक वर्ष ०७३र७४ मा ४३८ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । मापसे सेवन गरी सवारी चलाउने चालकको सवारी अनुमति पत्रमा प्वाल पार्नुका साथै रु चार लाख ३८ हजार राजश्वसमेत सङ्कलन गरिएको थियो । वार्षिक तथ्याङ्कको विश्वलेषण गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकको सङ्ख्यामा पछिल्ला वर्षमा कमी हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले ट्राफिक प्रहरीले कडाइका साथ मापसे जाँच गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय चालक सचेत भएकाले कारवाही सङ्ख्या घटेको बताएका छन् । चालक आफ्नो स्वास्थ्यलाई लिएर सचेत भएको र मापसे सेवन गर्ने समय पनि परिवर्तन गरेको हुनसक्ने उनको तर्क छ । सवारी नियम, २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारवाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने व्यवस्था छ । पाँच पटकसम्म मापसे गरी कारवाहीमा परेर अनुमतिपत्र प्वाल भए अनुमतिपत्र नै खारेज हुने व्यवस्था छ । रासस