सेञ्चुरी बैंकका ग्राहकले बाँकेको होटल अथितीमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बाँकेको कोहलपुरस्थित होटल अथितीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
भन्सार र कर कार्यालयको दायरा फराकिलो बनाउने सरकारकाे निर्णय
काठमाडौं । सरकारले भन्सार र कर कार्यालयको दायर फराकिलो बनाउने निर्णय गरेको छ । अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले फागुन १८ गतेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारले भन्सार र कर कार्यालयको दायरा फराकिलो बनाउने निर्णय गरेको बताएका हुन् । यस्तै, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तस्शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने निर्णय भएको बताए । खतिवडाले मन्त्रिपरिषद्ले गरेका विभिन्न ११ निर्णयहरु सार्वजनिक गर्दै नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने बताए ।
भारतले पठाउन बन्देज गरेका १३ औषधि फुकुवा गर्न पहल हुँदै
काठमाडौं । अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले सरकारले भारतले बन्देज लगाएका १३ वटा औषधिको फुकुवाको लागि पहल भइरहेकाे बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सूचना मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले बिहान बसेको बैठकमा भारतले नेपाल पठाउन बन्देज लगाएको १३ प्रकारका औषधि फुकुवाको लागि पहल गर्ने विषयमा छलफल गरेको बताए। उनले नेपालमा अहिले औषधीको अभाव नभएको दावी गरे। ‘समस्याग्रस्त मुलुकहरुबाट आएका यात्रुहरुलाई ध्यान दिने हो, ६ वटा स्थलमार्गमा सम्पूर्ण सुरक्षा र क्वारेन्टाइन व्यवस्था गरिएको छ,’ उनले भने । सरकारले नेपाल-भारतको ३७ नाकामा विशेष निगरानीको व्यवस्था गरेको उनकाे भनाइ छ।
अर्थमन्त्रीले आफ्नो लक्ष्य पुरा गर्न कर बढाएका हुन् : पूर्वसचिव रामेश्वर खनाल
काठमाडौं । दुई साता अघि बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लिने पूर्वाधार कर शतप्रतिशत बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याएको थियो । धेरै कर भयो भनेर जनस्तरबाट सरकारको आलोचना भइरहेको छ । सरकारले यसरी बढाएकाे करप्रति पुर्वसचिव रामेश्वर खनालले असहमति जनाएका छन् । सरकारले विकास निर्माणकाे लागि नभइ अर्थमन्त्रीले कर संकलनकाे लक्ष्य पूरा गर्न कर बढाएकाे पूर्व सचिव खनालकाे भनाइ छ । ‘म सचिव हुँदा एउटै बस्तुमा धेरै कर लगाउनु हुदैन भनेर टेलिकमको कर घटाउन खोजेको थिएँ, तर साथीहरुले सहयोग गर्नु भएन,’ खनालले भने । नेपालको दूरसंचार सेवा पनि धेरै कर लाग्ने क्षेत्रमध्येमा पर्छ । दूरसंचार सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क, २ प्रतिशत स्वामित्व शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने गरेको छ । जनताबाट उठाउने करमा पनि एउटै शिर्षक राखेर कर उठाउन सके राम्रो हुने खनालले बताए । पछिल्लो समयमा पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर बढाएपछि सरकारको आलोचना झन् बढेको छ । पूर्वाधार कर बृद्धिसँगै पेट्रोलियम पदार्थमा कर ८६ प्रतिशत पुगेको छ ।
व्यक्ति-विशेषसँग सेयर बजार नजोडौं: डा.खतिवडा
काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् । ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन । त्यसैले,लगानीकर्ता आफैले लगानी गर्नुभन्दा अघि त्यस कम्पनीको सम्पूर्ण वित्तीय अवस्था बुझ्न आवश्यक छ’, उनले भने । ‘नीति ठीक हुने, प्रणाली ठीक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने तर भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो, त्यो हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले भने । साथै, पछिल्लो दुई वर्षमा पुँजीबजारमा धेरै सुधार भएको उनले बताएका छन् ।
कोरोनाबाट सतर्कता अपनाउन ७ वटै प्रदेश र ३७ नाकामा खटाइयाे स्वास्थ्य टोली
काठमाडौं । सरकारले कोरोनाको जोखिम कम गर्न ७ वटै प्रदेशमा स्वास्थ्य टोली खटाएकाे छ । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । साथै, कोरोना रोकथामका लागि ३७ नाकामा स्वास्थ्य टोली खटाएकाे छ । जसका लागि ३ वटा समिति बनाइएको खतिवडाले जानकारी दिएका छन् । खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालिन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर राहतको प्याकेज ल्याउने पनि धारणा राखे ।
होलीलाई लक्षित गर्दै एनआईसी एशियाले ल्यायो शत प्रतिशत नगद फिर्ता याेजना
काठमाडौं ।एनआईसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी शत प्रतिशत नगद फिर्ता अफर योजना ल्याएको छ । यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि बैंकले विशेष योजना ल्याएको हो । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना ग्राहकले शतप्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् । बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहक महानुभावहरूले पर्याप्त फाइदा उठाउदै आएका छन् । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५ हजार ४ सयसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ ग्राहकले लिइरहेका छन् । मोबाइल बैंकिङ्ग र डेबिट/ क्रेडिट कार्ड प्रयोगमा अफरै अफर प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा रू. १००÷ सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा रू. १,०००÷ सम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार मबचबश।अयm बाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५००÷ सम्म छुट पाउने छन् । साथै, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा रू. २,०००÷ सम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ । यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहकले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी रू. २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । साथै, यस बैंकले संचालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहक महानुभावहरूले प्रत्येक हप्ता जनही रू. ५००÷ तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकहरूले जनही रू. १,००० सम्मको नगद उपहार प्राप्त गर्दै आएका छन् ।
१३० व्यावसायिक फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह
काठमाडाैं । नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोबार गरेको पाइएपछि ले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । विभागले आज सूचनामार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा २०० भन्दाबढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार पटकपटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फार्म तथा प्रतिष्ठानले अटेर गरेकाले उनीहरुलाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिएको हो । विभागले भ्याट बिल छली तथा अन्तःशुल्कमा समेत गैरकानूनीरुपमा छली गरेको पाइएकाले सार्वजनिकरुपमा नै उनीहरुलाई उपस्थित हुन भनेको महानिर्देशक मैनालीको भनाइ छ । वर्तमान सरकार गठन भएसँगै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ । नयाँ संरचनालगत्तै विभागले नक्कली भ्याट बिल तथा अन्तःशुल्क छलीको मात्रै रु १५ अर्ब बराबरको मुद्दा अदालतमा दायर गरिसकेको छ । आज प्रकाशित सूचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदूरका नाममा बैंक खाता खोलेको पाइएको छ । उनीहरुलाई विभागले पटकपटक सम्पर्कमा आउन आग्रह गर्दासमेत अटेर गरिएको जनाइएको छ । विभागले ती फार्म अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ । रासस