१८ सय रुपैयाँ बढ्यो सुन, प्रतितोला ८२ हजार ५ सय कारोबार
काठमाडौं । सुनले पछिल्लो समय नयाँ रेकर्ड कायम गर्दै गएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको १ हजार ८ सय रुपैयाँमा बढेर ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बिहीबार प्रतितोला ८० हजार ४ रुपैयाँमा कारोबार भएको तेजावी सुन साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोलामा १० रुपैयाँ बढेर ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
पर्यटकीय शहर पोखरा ‘स्पोर्टस हब’ बन्दै
कास्की । गत मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)का आठ खेल पोखरामा सञ्चालन भए । बिच भलिबल र भारत्तोलन बाहेकका अन्य सबै खेल यहाँको रङ्गशालामा खेलाइयो । पहिलोपटक अन्तरराष्ट्रिय प्रतियोगिताको आतिथ्यताको अवसर पाएको थियो । साग भव्य रुपमा सफल भयो । साग सकिएको चार दिनपछि रङ्गशाला भित्रको क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट शुरु भयो । दुई हप्तासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले आफ्नो रोमाञ्चक खेल कौशल प्रस्तुत गरे । पीपीएलपछि गत माघ ६ देखि ९ गतेसम्म नेपाल र मलेसियाबीच यहाँ एक दिवसीय तीनवटा मैत्रीपूर्ण क्रिकेट खेल सञ्चालन भए । सोही महिनाको ११ र १२ गते मार्सल आर्टस् हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनार रङ्गशालामै सम्पन्न भयो । स्वदेश तथा विदेशबाट गरी ६०० जना खेलाडी सेमिनारमा सहभागी बने । माघ २७ गतेदेखि नै रङ्गशालामा अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आईटीएफ) को जुनियर यू–१८ टेनिसमा विभिन्न ११ देशका खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरे ।यही फागुन ३ गते रङ्गशालाबाट शुरु भएको अन्तर्राष्ट्रिय म्याराथन पुनः रङ्गशालामा नै आएर समापन गरियो । माथि उल्लिखित प्रतियोगिता तीन महिनाको अवधिमा रङ्गशालामा सञ्चालन भएका अन्तरराष्ट्रियस्तरका खेल गतिविधि हुन् । यी बाहेक रङ्गशाला बाहिरसमेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधि निरन्तर सञ्चालन हुने गर्दछन् । पोखरासँगैका अन्य पालिकाहरुमा समेत विगत एक/दुई वर्ष यता आएर खेल क्रियाकलाप बढेका छन् । रङ्गशालाभित्र महत्वपूर्ण खेलका पूर्वाधार निर्माणसँगै खेल गतिविधिले समेत तीव्रता पाएको हो । यही फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वल्र्ड कप छनोट खेलसमेत यहाँ नै आयोजना भयो । विभिन्न २० राष्ट्रका ९० जना खेलाडीले वल्र्ड कप छनोटमा प्रतिस्पर्धा गरे । बिहीबारदेखि मोफसलको प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तर क्लब आहा रारा गोल्डकप शुरु भएको छ । वर्षभरि नै रङ्गशालामा एउटा न एउटा खेल गतिविधि प्रायः सञ्चालन हुने गर्दछ । विभिन्न खेल सङ्घ, क्लब तथा शैक्षिक सङ्घसंस्थाका खेलकूद क्रियाकलापले यहाँ ‘स्पोर्टस हब’ बन्दै गएको खेलकर्मीहरु बताउँछन् । फुटबल, कराते, हक्की, टेनिस तथा भबिलका प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता तथा विभिन्न उमेर समूहका प्रतियोगिता वर्षभरि नै जसो सञ्चालन हुँदा खेलकुदको माहोल ह्वात्तै बढेको छ । गतमाघ ७ देखि यहाँकै भण्डारढीकमा प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल भएबाट प्रदेश सरकारले समेत खेल प्रतियोगिताका लागि लगानी गर्न शुरु गरेको छ । बढ्दो खेल गतिविधिले पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब’का रुपमा परिचित गराएको छ भने यहाँ सञ्चालन हुने प्रतियोगिता खेल्न आउने विदेशी खेलाडीहरु यहाँको सुन्दरतामा खेल्न पाउँदा असाध्यै खुशी हुने गरेका छन् । यहाँको प्राकृतिक सुन्दरताले समेत खेल पर्यटनलाई वृद्धि गरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिले पोखरालाई विश्व खेलकुदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको छ । रङ्गशालाभित्र नै अधिकांश खेलको पूर्वाधार छन् भने केही निर्माणको प्रक्रियामा छन् । फुटबलको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको अन्तिम चरणमा छ । रु चार करोड लगानीमा ब्याडमिन्टन हल निर्माण गरिएको छ । बहुउद्देस्यीय कभर्ड हल, बास्केटबल, भलिबल तथा टेनिस कोर्ट, ह्याडबल एकेडेमी तथा आर्चरीका पूर्वाधार एकै थलोभित्र रहेकाले समेत रङ्गशालामा प्रत्येक दिन जसो खेल गतिविधि सञ्चालन हुने गर्दछ । आवश्यक पूर्वाधार भएका कारणले खेल गतिविधिसमेत बढेको र खेलाडीले राम्रोसँग अभ्यास गर्ने मौका पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङ बताउँछन् । सरकारी तथा निजी क्षेत्रको समेत ध्यान खेलकुद विकासमा केन्द्रित भएकाले पूर्वाधारसँगसँगै प्रतियोगिता बढेकाले पोखरालाई खेलकुद शहरका रुपमा चिनाउने काम गरेको उनले बताए । निर्माणाधीन फुटबल रङ्गशाला यहाँको गौरव रहेकाले यसबाट आगामी दिनमा धेरै प्रतियोगिताको ढोका खुल्ने उनको भनाइ छ । सदस्य गुरुङले निर्माणाधीन पूर्वाधारको संरक्षणमा पोखरेलीले विशेष ध्यान दिनुपर्ने बताउँछन् । उनले भने, “यहाँ रङ्गशालामा जस्तो एकै थलोमा अधिकांश खेल पूर्वाधार अन्यत्र कहीँ पनि छैनन्, यो हाम्रो लागि ठूलो सौभाग्य हो । यसको दीर्घकालीन संरक्षण गर्नु पोखरेलीको दायित्व हो ।” पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले मुख्य खेल पूर्वाधार रङ्गशालाभित्र निर्माण भएको बताउँदै यसै वर्षभित्र पौडीपोखरी र सुटिङको पूर्वाधार निर्माण थालनी हुने जानकारी दिए । खेलकुद विकासका लागि पहिलो प्राथमिकता पूर्वाधार रहेकाले आवश्यक पूर्वाधार बनेपछि खेल क्षेत्रले विकासको फड्को मार्ने उनको भनाइ छ । रङ्गशालाभित्र क्रिकेट मैदान पूर्वाधार निर्माणका लागि चालू वर्षमा सङ्घ सरकारले रु तीन करोड तथा प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरे पनि हालसम्म काम अघि बढ्न नसकेकामा नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषिराम गौतमले चिन्ता व्यक्त गरे । क्रिकेटका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना हुन थाले पनि अहिलेसम्म आधारभूत पूर्वाधारसमेत नबन्नु दुःखद् भएकाले सरोकार भएकाहरुले ढिलाइ गर्न नहुने उनी बताउँछन् । आवश्यक पूर्वाधार निर्माण भएको खण्डमा हाल पछाडि परेको क्रिकेट खेलले समेत यस क्षेत्रमा विकासको गति लिनेमा पोखरेलीले विश्वास लिएका छन् । रासस
डेढ अर्ब लागतमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम तीव्र गतिमा भइरहेको छ । रु एक अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जनाएको छ । कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भन्नुभयो,“परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम भइरहेको छ । कुनै बाधा नआएको खण्डमा आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउनेछ ।” उनका अनुसार केबुलकारको टावरको खाल्डा खन्ने , पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महीनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने जनाइएको छ । “केबुलकारको सामान तयार भइसक्यो, अब सामान ल्याएर जोड्ने तयारी गरिएको छ,” उनले भने । केबुलकारको माथिल्लो स्टेशनमा बन्ने चारतारे होटलको कामलाई पनि अगाडि बढाउन लागिएको छ । “केबुलकार बाहेक अन्य संरचना निर्माणका लागि केही समय लागे पनि पहिलो चरणमा केबुलकार सञ्चालनमा ल्याउने योजनाबमोजिम कामलाई तीव्रता दिइएको छ,” लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले भने । माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा होटल निर्माण गर्नका लागि काठमाडाैंस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको छ । उनका अनुसार २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ । केबुलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार १०० भन्दा बढी लगानीकर्ता रहेका छन् । प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकोमा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ । कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ । केबुलकार परियोजनालाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको छ । परियोजनामा रणनीति योजनाअनुरुप शेयरधनीको सहभागिता सुनिश्चित गर्ने साथै कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लगिएको छ । लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजनासमेत बनाएको छ । पहिलो पाँच वर्षलाई अल्पकालीन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालीन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालीन लक्ष्यको रुपमा वर्गीकरण गरिएको छ । राजमार्गका होटल अनुगमन जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टको बिहीबार अनुगमन गरेको छ । उपभोक्ताहरुसँग चर्को मूल्य लिने गरेको गुनासो आएपछि कार्यालयले सात वटा होटलमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए । अनुगमनका क्रममा होटलहरुको मूल्यसूची सङ्कलन गरिएको र मूल्यसूचीका सम्बन्धमा सरोकारवालासँग छलफल गरी मूल्यसूचीलाई सरल बनाउन पहल गरिने उनले बताए । अनुगमनका क्रममा व्यास नगरपालिका–५ स्थित गोर्खाली होटलले बिनादर्ता होटल सञ्चालन गरेको पाइएकोले सात दिनभित्र दर्ता गरी प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिए । त्यस्तै, सोही वडाको स्पीड ब्रेकर कटेजलाई सरसफाइमा सुधार गर्न, दुना टपरी रेष्टुरेन्ट एण्ड लजलाई डिफ्रिजमा छुट्टाछुट्टै खाद्य सामग्री राख्न निर्देशन दिइएको छ । त्यस्तै ए फोर खाजा घरले मूल्यसूची नराखेकोले सात दिनभित्र मूल्यसूची राखेर प्रशासनमा जानकारी गराउन र भान्साको सरसफाइमा ध्यान दिन निर्देशन गरिएको छ । व्यास नगरपालिका–५ स्थित ग्रीनहिल रेष्टुरेन्ट, होटल माउण्टेन रिभरभ्यू र म्याग्दे गाउँपालिका–१ स्थित ओरिजिनल हाइवेमा भने सरसफाइको अवस्था सन्तोषजनक पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख बराल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, उपभोक्ता मञ्च तनहुँका अध्यक्ष खेमराज अधिकारी, होटल सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घका लालप्रसाद तिमिल्सिनालगायत सञ्चारकर्मी सहभागी थिए । रासस
धौलागिरि अञ्चल अस्पतालमा आइसोलेसन कक्ष स्थापना
गलकोट । विश्वभर चुनौतीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । सो भाइरसको सङ्क्रमण बढ्दै गएमा धौलागिरिकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने भन्दै दुई श्ययाको सो कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । शङ्कास्पद बिरामीलाई विशेष निगरानीमा उपचार तथा परामर्शका लागि आइसोलेसन कक्ष तयार गरिएको उनले बताए । उनले भने, “आइसोलेसन कक्षमा अहिले दुई श्ययाको छ । यदि सङ्क्रमणका बिरामी देखा परेमा बढ्न अन्य कक्ष थप हुन्छ ।” विशेषगरी ज्वरो, रुखा र खोकीका बिरामी अस्पतालमा आउनासाथ उच्च सतर्कताका साथ उपचार तथा परामर्श गरिने अस्पतालले जनाएको छ । निजी अस्पताललाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर आइसोलेसन कक्षको तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आग्रह गरेका छन् । उनले जिल्लामा सार्वजनिक सभा, समारोह, मेला उत्सव नगर्न आह्वान गरिएको जानकारी दिए । सरोकारवालासँगको बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, वार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकुद कार्यक्रमहरु नगर्न आग्रह गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश कार्यालय स्वास्थ्य कार्यालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तयारी गर्न फागुन २९ र ३० गते दशवटै पालिका प्रमुखहरुलाई भेला गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । भाइरसबाट बच्न हात नमिलाउन बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले आग्रह गरेका छन् । उनले नियमित साबुन पानीले हात धुने, घर पालुवा पशुपन्छीको सम्पर्कबाट टाढा रहने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने तथा मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुपर्ने बताए ।
९ कराेड लागतमा राजविराजमा पहिलाे चिल्ड्रेन पार्क बन्दै
सप्तरी । राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिए । नगरपालिका क्षेत्रमा बाल उद्यान छैनन् । २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने उनले जानकारी दिए । सो कार्यको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको र ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिए । सो कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झाले समृद्ध नगर बनाउन विभिन्न काम भइरहेको जानकारी दिए ।राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान बनाउन लागिएको जानकारी दिए । नगरपालिका क्षेत्रमा बाल उद्यान छैनन् । २६ कठा जग्गामा पर्खालसहित निर्माण हुने सो उद्यानमा बगैँचा, विभिन्न खेलकुदका सामग्री र साधन, सोलार, खानेपानी, शौचालय, आरामदायी कुर्सीलगायत विभिन्न सुविधा उपलब्ध रहने उहाँले जानकारी दिएका छन् । सो कार्यको ठेक्का पाएको रसुवारोसन जेबी कन्ट्रक्सनले काम शुरु गरिसकेको र ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि मनोजकुमार यादवले जानकारी दिए । सो कार्यक्रममा नगरप्रमुख शम्भुप्रसाद यादव र उपप्रमुख साधना झाले समृद्ध नगर बनाउन विभिन्न काम भइरहेको जानकारी दिए । रासस
ललितपुरको बडिखेलमा बन्ने भयो सामुदायिक पुस्तकालय, लागत रकम २ कराेड
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यस सम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् । शान्ती भोलन्टियर एशोशियशन नेपालको मुख्य आर्थिक सहयोगमा बन्न लागेको सामुदायिक पुस्तकालयमा स्थानीय तह र स्थानीय बासिन्दाबाट समेत आर्थिक सहयोग जुटाइनेछ । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पुस्तकालय निर्माणका लागि चाहिने जग्गा नगरपालिकाले उपलब्ध गराइसकेको र भवन बनाउन तथा पुस्तकालय संचालनका लागि चाहिने आर्थिक स्रोत जुटाउन लागिपरेको बताए । भुकम्पले ध्वस्त पारेको ललितपुरको बडिखेलमा सामुदायिक पुस्तकालय स्थापना भई सञ्चालनमा रहेको छ । तर भवनको अभावमा पुस्तकालयले आफ्ना कार्यक्रमहरु संचालन गर्न अप्ठ्यारो भएकाले रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा २ करोड रुपैयाँको लागतमा पुस्तकालय भवन बन्न लागेको हो । काम सुरु भएको १० महिनामा सम्पन्न हुने पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बालकक्ष, महिला कक्ष, सूचनासञ्चार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्युनीकरण कक्ष र सभाहल हुनेछन । शान्ती भोलन्टियर एशोशियशनको सहयोगमा बन्न लागेका ४ वटा सामुदायिक पुस्तकालय मध्ये यो पहिलो पुस्तकालय हो । रिड नेपालले बितेका २८ वर्षमा ४२ वटा जिल्लाका ६८ स्थानमा पुस्तकालय बनाइसकेको छ । सामुदायिक पुस्तकालयको विशेषता भनेकै समुदायको विशेष सहयोगमा पारदर्शि हुने र तोकेको समयमा काम सम्पन्न गर्ने हो । सबैको सशक्त प्रयासले भवन निर्माण सम्पन्न गरी समयमा नै नयाँ भवनबाट पुस्तकालय सञ्चालन गर्न हामी सफल हुने रिड नेपालका अध्यक्ष भोला कुमार श्रेष्ठले बताए । स्थानीय समुदाय, नगरपालिकाका प्रमुख र वडा नम्बर ४ का अध्यक्ष समेतको उपस्थितिमा भएको कार्यक्रममा शान्ती भोलन्टियर एशोशियशन नेपालका राष्ट्रिय निर्देशक ताकाले रिड नेपालको पुस्तकालय मार्फत स्थानीय समुदायमा काम गर्ने मोडल निकै प्रभावकारी भएको उल्लेख गरे । ताकाले जसरी बालबालिकाको शारिरिक विकासका लागि पोषणको जरुरी हुन्छ त्यसरी नै मानव समुदायको विकासका लागि ज्ञानको आवश्यकता हुन्छ र यस्तो ज्ञान बाँड्ने उपयुक्त थलो भनेको सामुदायिक पुस्तकालय भएको बताए । ग्रामीण शिक्षा तथा विकास, रिड नेपालको सहयोगमा बनेका सबै पुस्तकालयमा न्यूनतम खर्च धान्नका लागि केही न केही आम्दानीको स्रोत पहिचान गरिएको हुन्छ । बडिखेलमा समेत पुस्तकालय भवनको अगाडि पट्टी ५ वटा सटर बनाउने र यसबाट आएको आम्दानीले पुस्तकालयको न्यूनतम खर्च चलाउने व्यवस्था गरिएको छ । नयाँ भवन बनेपछि बडिखेल सामुदायिक पुस्तकालयले समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा ठुलो सहयोग पुर्याउने सामुदायिक पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीको विश्वास छ ।
नेपालमा उत्पादन भएका सिमेन्टकाे ग्रेड ताेकिने, मूल्य भने बढ्ने
काठमाडौं । नेपालमा उत्पादन भएका सिमेन्टले आफ्नो बोरामा नै ग्रेड उल्लेख गर्ने भएका छन् । यसअघि सिमेन्ट उद्योगले ५३ वा ४३ ग्रेडको सिमेन्ट भन्दै विज्ञापन मार्फत ब्राण्डिङग गर्ने गरेका भएपनि बोरामा भने लेखिने गरिएको थिएन । सिमेन्टको बोरामा ग्रेड उल्लेख नहुँदा नेपाली उत्पादनको गुणस्तरप्रति प्रश्न गर्दै ठूला परियोजना बनाउने ठेकेदार कम्पनीले विदेशी सिमेन्ट ल्याउने गरेका थिए । नेपाली उत्पादन गुणस्तरीय भएपनि ग्रेड उल्लेख गर्ने प्रचलन नभएकोले समस्या उत्पन्न भएपछि सरकारले बोरामा नै ग्रेड उल्लेख गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । सरकारले सिमेन्टको बोरामा नै ग्रेड उल्लेख्य गर्नुपर्ने नीतिगत व्यवस्था गरिसकेको छ । सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले सिमेन्टको बोरामा नै ग्रेड उल्लेख गर्नुपर्ने नीतिगत निर्णय भएको र सो विषय कार्यान्वयनमा ल्याउन राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए । नेपालमा उत्पादित सिमेन्टको बोरामा नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेड विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । नेपालमा २०३१ सालदेखि सिमेन्ट उत्पादन हुँदै आएको भएपछि अहिलेसम्म बोरामा ग्रेड उल्लेख गर्ने गरिएको छैन । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाले ग्रेड उल्लेख गर्ने व्यवस्था कार्यान्वयनपछि नेपाली उत्पादनको बजार बृद्धि हुने बताए । विदेशी परियोजनाले नेपाली सिमेन्ट गुणस्तरीय नभएको भन्दै सरकारबाटै स्वीकृति लिएर विदेशी सिमेन्ट आयात गर्ने गरेको उनको भनाइ छ । नेपाली सिमेन्ट पनि विदेशी उत्पादनभन्दा कम गुणस्तरीय नभएपनि बोरामा ग्रेड उल्लेख नगर्ने प्रचलनका कारण विदेशी ठेकेदारले विश्वास नगरेको उनले बताए । ‘सिमेन्टमा गे्रड उल्लेख गर्न थालिएपछि नेपाली उत्पादनले ठूला र अन्तराष्ट्रिय विकास आयोजनामा प्रयोग बढ्नेछ, नेपालमा उत्पादित सिमेन्टले बजार नपाउने र सानो प्राविधिक कारणले विदेशी सिमेन्ट आयात भइरहने वाध्यात्मक परिस्थितिको अन्त्यका लागि ग्रेड उल्लेख गर्नु राम्रो कुरा हो,’ अध्यक्ष थापाले भने । नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक संजिवकुमार ठाकुरले सिमेन्टमा ग्रेड प्रयोग प्रक्रिया अगाडी बढेको बताए । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेको हो । नेपालमा स्वदेशी र विदेशी गरी सिमेन्ट उद्योग क्षेत्रमा करिब ४ खर्ब रुपैयाँ लगानी छ । विदेशी ठेकेदारले बनाउने ठूला विकास आयोजनमा ग्रेडको प्राविधिक प्रश्न उठाएर सिमेन्ट आयात गर्ने गरेपनि अन्य क्षेत्रका लागि चाहिने सिमेन्ट नेपालमै उत्पादन हुने गरेको छ । केही वर्ष अगाडिसम्म वार्षिक अर्बाैं रुपैयाँ बराबरको सिमेन्ट आयात भएर नेपालको व्यापारघाटा बढाउने गरेको भएपनि पछिल्लो समय नगन्य मात्रामा मात्रै सिमेन्ट आयात हुने गरेको छ । मूल्य बढ्ने सिमेन्टको ग्रेड निर्धारणपछि ५३ ग्रेड समेन्टको मूल्य भने बढ्नेछ । अहिलेसम्म ५३ र ४३ ग्रेड भनेर छुट्टयाउने गरिएको थिएन । ग्रेड छुट्टयाउन थालिएपछि ५३ ग्रेडको सिमेन्टको मूल्य प्रतिबोरा १० रुपैयाँसम्म बढ्न सक्ने उद्योगीको भनाइ छ । अहिले सिमेन्टको उत्पादन मूल्य प्रतिबोरा ७ सय रुपैयाँ छ ।
विश्व व्यापार सम्मेलनमा नेपाल उद्योग परिसंघ सहभागी हुने, आजै भारत प्रस्थान
काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलन(ग्लोबल बिजनेस समीट) मा नेपाल उद्योग परिसंघ सहभागी हुने भएको छ । फागुन २३ गतेबाट शुरु हुने उक्त सम्मेलनमा उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएका छन् । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विक्ष्णु कुमार अग्रवालले गरेका छन् । वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको सत्रमा ‘लघु, घरेलु, साना र मझौला’ उद्योगहरुको महत्व सहित नेपाल उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावनाका विषयमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । परिसंघलाई प्राप्त जानकारी अनुसार आयोजक टाइमस् अफ इण्डियाको निमन्त्रणामा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले समेत उक्त सम्मेलनमा अतिथिको रुपमा र उक्त मन्त्रालयका उपसचिव श्रीधर गौतमले भाग लिने भएका छन् । प्राप्त जानकारी अनुसार राज्यमन्त्री दूगडले उक्त सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्ने छन् । दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगड सहित परिसंघको प्रतिनिधि मण्डलले भारतको फिक्की(एफआईसीसीआई) र पीएचडीसीसीआईका पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् । उक्त भेटवार्ताका अवसरमा नेपाल-भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समिक्षा सहित दुबै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने बारे छलफल हुने विश्वास गरिएको छ । परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने रहेका छन् ।