विकासन्युज

सानिमा बैंकका ग्राहकले मासिक किस्तामा सामसङको जुनसुकै मोबाइल पाउने

काठमाडौं । सानिमा बैंकका ग्राहकले मासिक किस्तामा (इएमआएई) सामसङको मोबाइल सेट पाउने भएका छन् । जसको लागि बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच सम्झौता भएको छ । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्य(आरआरपी)मा खरिद गर्न सक्नेछन् । यसैगरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक व्याज दरका साथ १८ महिनासम्मको मासिक किस्ता (इएमआएई) भुक्तानी गर्न सक्नेछन् । साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस२० र ग्यालेक्सी२०प्लस विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपालको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकद्वारा साढे १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी, कतिले पाए ?

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत कूल १३ लाख ५५ हजार एक सय ८३ रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म उक्त खाताबाट  बिमित गर्ने ६१ जना ग्राहकहरुलाई सो मात्राको रकम भुक्तानी गरेको हो । बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा भुक्तानी गरेको हो । जसमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकले जनाएको छ । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गर्दै आएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल मन्दिरलाई सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठन (बाल मन्दिर)लाई १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मन्दिरलाई सो मात्राको सहयोग गरेको हो । बैंकले कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरी २०७५ फाल्गुण २२ गतेदेखि कारोबार शुरु गरेको थियो । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको यस बैैंकको हाल अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ । बैंकजलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्यका साथ स्थापना भएको हो । बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

एसईई परीक्षा सर्दैन: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । सेकेण्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसईई परीक्षा नसर्ने भएकाे हाे । राष्ट्रिय परिक्षा बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेले एसईइ परीक्षा नसर्ने बताएका छन् ।सरकारले विद्यालयहरुलाई चैतको ५ गतेसम्म परिक्षा सिध्याएर विद्यालय बन्द गर्न भनेर सुचना प्रकाशित गरिरहेको अवस्थामा विद्यार्थी र अभिभावकले परिक्षा सर्न सक्ने शंका गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन्ले नेपाललाई शुक्रबार नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेपछि नेपाल सरकारले सर्तकता बढाउँदै भिड हुने सभा सम्मलेनहरु नगराउन आग्रह गरेको हो । तर, परीक्षा नियन्त्रक खकुरेले अहिलेसम्मको अवस्था बुझ्दा एसईइ परिक्षा तोकिएको समयमा नै हुने बताए । ‘तोकिएको तालिका अनुसार नै हामी अगाडी बढिरहेका छौं, शिक्षा मन्त्रालयले हालसम्म परिक्षा सार्न कुनै पनि प्रकारको निर्णय गरेको छैन, त्यसैले हामी आजको दिनसम्मको लागि परिक्षा सर्दैन भन्न सक्छौं,’ उनले विकासन्यूजसँग भने । बिहिबार पनि परीक्षा सार्ने कि नसार्ने विषयमा सरोकारवालाहरुसँग मन्त्रालयमा बैठक बसेको तर परिक्षा सार्न कुनै पनि निर्णय नभएको खकुरेलले जानकारी दिए । यद्यपी त्यस्तो परि आएको खण्डमा परिक्षा स्थगित हुनसक्ने खकुरेलले बताए । उनी भन्छन, परिक्षा भन्दा स्वास्थ्य ठुलो हो त्यसैले परि आएको अवस्थामा परिक्षा भने पक्कै सर्छ । ’ यस वर्षको एसईइ परीक्षा चैत ६ गतेदेखि सुरु हुँदैछ । बोर्डका अनुसार एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा चैत ६ देखि १७ गतेसम्म चल्नेछ । प्रकाशित तालिका अनुसार परीक्षाको पहिलो दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान, ११ गते अनिवार्य सामाजिक अध्ययन, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा तथा १३ गते ऐच्छिक गणितको परीक्षा छ। अन्तिम दिन १७ गते भने विभिन्न प्राविधिक विषयको परीक्षा हुनेछ । परिक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। यसवर्ष देशभरबाट ४ लाख ८२ हजार विद्यार्थी एसईइमा परीक्षामा सहभागी हुँदैछन् । ग्रेडवृद्धि परीक्षातर्फ १७ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् र बाँकी सबै नियमित तर्फ छन् ।

भोजपुरको विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सहयोग गरेको हो । विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग हस्तान्तरण गरियो । विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको छ । विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न कामहरु गर्दै आएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया क्यापिटल चाैंथाे वर्षमा प्रवेश, यस्ता छन् हालसम्मका उपलब्धीहरु

काठमाडौं । एनआईसी एशिया क्यापिटलले बिहीबार तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । साे अवसरमा क्यापिटलले नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट दिने योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गतेदेखि आगामी असार मसान्तसम्म नि-शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै फागुन २२ गतेदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । २०७६ साल फागुन २२ गतेदेखि संचालनमा आएको यस क्यापिटलले छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा तीब्र रुपमा प्रतिशपर्दा रहदा समेत एनआईसी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ । क्यापिटलको हालसम्मको प्रमुख उपलब्धीहरु: – मर्चेण्ट बैंकरहरु मध्ये पहिलो आईएसओ ९००१ः२०१५ सर्टिफाइड क्यापिटल । – निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता । – लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको । – नेपालमै पहिलो पटक आईपीओ ३७ घन्टमा बाँडफाँट गर्न सफल । – सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको । – सेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको । – म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।  

काेराेना असरः ९ महिनालाई पुग्ने औषधी स्टकमा, मूल्य १० प्रतिशतसम्म बढ्न सक्ने

काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएसगै नेपाली बजारमा औषधि अवस्था के हुने भन्ने चिन्ता बढेकाे छ । विश्वव्यापी महामारीकाे रूपमा देखिएकाे काेराेना भाइरसका कारणा भारतले औषधी निर्यातमा राेक लगाएकाे हाे । तर,  नेपाल औषधी उत्पादक संघले भने नेपालमा औषधीकाे अभाव नहुने बताएकाे छ । नेपाली कम्पनीबाट उत्पादित औषधीले करिब १ वर्षसम्मको आन्तरिक माग धान्न सक्ने संघकाे भनाइ छ । संघका अध्यक्ष दिपकप्रसाद दाहालले बजारमा औषधी अभाव नहुने जानकारी दिए । ‘बजारमा औषधीकाे अभाव हुन्छ कि भन्ने चिन्ता हामीले पनि सुनेका छाैं, तर आत्तिनु पर्ने अवस्था छैन,’ अध्यक्ष दाहालले भने । क्वेष्ट फर्मास्यूटिकल्स प्रबन्ध निर्देशक तथा उद्योग बाणिज्या महासघंका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भारतले औषधीको निर्यातमा प्रतिबन्ध लगाउदैमा नेपाली उत्पादन नै नहुने वा बजारमा औषधीकाे अभाव नहुने बताए । ‘औषधी उत्पादनका लागि कच्चा पदार्थ भारतमा मात्रै पाइने भन्ने हैन, अन्य देशहरुबाट पनि कच्चा पदार्थ ल्याएर औषधी उत्पादन गर्न सकिन्छ, हामीसगँ भएको कच्चा पदार्थबाट औषधी उत्पादन गर्दा पनि करिब १ वर्ष धान्छ,’ श्रेष्ठले भने । देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले निजी क्षेत्र र सरकार मिलेर अगाडी बढ्न सकिने बताए । एउटा क्षेत्रले मात्रै लागेर आत्मनिभर बनाउन कठिन हुने उनकाे भनाइ छ । तर, उनले औषधीकाे मूल्य बढ्न सक्ने जानकारी गराए । ‘कोरोनाको असरले नेपाली बजारमा औषधीकाे मूल्य ५ देखि १० प्रतिशतसम्म वृद्धि हुन सक्छ,’ शर्माले भने । औषधिमा भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्स सहित अन्य २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो । कोरोनाविरुद्ध लडाईंकाे क्रममा आवश्यक पर्ने औषधी निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । औषधि व्यवस्था विभाका सूचना अधिकारी सन्तोष केसीले नेपालमा रहेको स्टक औषधीले आगामी ५ महिना र कच्चा पदार्थबाट औषधी उत्पदा गर्दा ४ महिना धान्ने बताए । भारतले गरेको निर्णय कडाइसाथ लागू भए पनि आउँदो तीन/चार महीनासम्मको लागि नेपाली बजारमा औषधिको अभाव नहुने उनको दाबी छ । नेपालले आवश्यक अधिकांश औषधी भारतबाट आयात गर्दै आएको छ । त्यसमा पनि भारतले दैनिक जीवनमा अत्यावश्यक औषधी र त्यसको कच्चा पदार्थ निर्यातसमेत बन्द गरेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने आकलन गरिएकाे छ । भारतले केही एन्टिबायोटिक्स र भिटामिनहरू तथा प्यारासिटामोलको निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२ र ती औषधि उत्पादनका लागि आवश्यक पर्ने रसायनको निर्यातमा समेत रोक लगाइएको छ । प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट, २१ फागुनदेखि नै भारतले सीमानाकामा औषधि रोक्न थालेको छ ।

जापानी भाषा परिक्षा जिएलपीटीको फर्म खुल्यो, अब खल्तीवालेटमार्फत शुल्कतिर्न सकिने

काठमाडौं । जापानी भाषा परीक्षा जेएलपिटीको फर्म खुलेको छ । आगामी जुलाई ५ मा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटीको आवेदनफर्म बिहीबार (मार्च ५) देखि खुलेको हो । परीक्षाको शुल्क अब खल्तीवालेट प्रयोग गरी अनलाईन मार्फत नै तिर्न सकिने भएको छ । खल्तीले जापान भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी परीक्षाको शुल्क अनलाईनमार्फत तिर्ने सुविधा ल्याएको हो । लेभल ‘एनवान’ देखि ‘एन फाइभ्’ सम्मका फर्ममध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क (ग्रान्ट अमाउन्ट) तीन हजार रुपैयाँ लाग्ने छ । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्पन हुँदा परीक्षार्थी जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान)को कार्यालय भृकुटीमण्डप नै पुगेर घन्टौँ लाईन बसि शुल्क तिर्ने झन्झट हटेको छ । परीक्षार्थीले अनलाईन फर्म गरिसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्ने छन् जहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केहि सेकेन्ड मै शुल्क भुक्तानी गर्ने व्यवस्था लागु भएको छ । यसबाट परीक्षार्थीहरु लाभान्वित हुने खल्ती का निर्देशक अमित अग्रवालको बुझाइ छ । उनले भने, “जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान) सँग सहकार्य गरी सबै जापानी भाषा परीक्षार्थीलाई खल्तीको सजिलो अन्लाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा खुशी छौँ । अब परीक्षार्थीहरुले फर्म भरिसकेपछि आफ्नो खल्ती आईडी दाखिला गरेर सजिलै परीक्षा शुल्क तिर्न सक्नुहुन्छ । साथै, खल्ती प्रयोग नगर्ने व्यक्तिहरुले आफ्नो नजिकैको खल्ती पसलबाट उक्त शुल्क तिर्न सक्नुहुन्छ ।” जापानी भाषाको परीक्षा जेएलपिटीको आवेदनफर्म jlpt.org.np मार्फत भर्न सकिनेछ ।