अन्तर्राष्ट्रिय उडान रोक्न मन्त्रालयमा बैठक
काठमाडौं । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बैठक बसेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन बैठक बोलाइएको हो । मन्त्रालयका एक उच्च स्रोतका अनुसार कारोना भाइरसको जोखिम बढेसँगै नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्ने वा नरोक्ने भन्ने विषयमा छलफल भइरहेको छ । ‘बैठकमा उच्च अधिकारीहरुको छलफलपछि अन्तर्राष्ट्रिय उडान रोक्ने कि नरोक्ने भन्ने छलफल हुनेछ, सायद आजैदेखि उडान रोक्ने सम्भावना छ,’ स्रोतले भन्यो । अहिले सम्म विश्वमा कोरोनाकै कारण ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ९० हजारमा यसको संक्रमण देखिएको छ । उपचार भएर फर्केका संख्या ५२ हजारभन्दा बढी रहेको छ । करिब ७७ देशमा कोरोना देखा परिसकेको छ । कोरोनाकै कारण २ लाखभन्दा बढी उडानहरु रद्द भइसकेका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जाखिममा राखेको छ ।
कोरोनाको प्रभावः क्यालिफोर्नियामा संकटकाल घोषणा, ११ जनाकाे मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै अमेरिकाको क्यालिफोर्निया राज्यले अनिश्चित संकटकाल घोषणा गरेको छ । कोरोना भाइरसको कारणले नै पहिलो पटक उक्त राज्यमा मृत्यु भएको पुष्टि भएसँगै संकटकाल घोषणा गरेको हो । न्यूओर्क टाइमका अनुसार हालसम्म अमेरिकाको १६ राज्यमा १ सय ४० जना कोरोना भाइरसको संक्रमण भेटिएसँगै ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको १६ राज्यमा कोरोनाको संक्रमण भेटिए पछि ह्वाइट हाउसले देशभर कोरोना जाँच लैजाने घोषणा गरेको छ । त्यस्तै ह्वाइट हाउसले ८.३ विलियन डलर आपतकालिन सहायता रकमवापत छुट्याएको छ । फ्लोरिडा अगाडी वासिङ्डनले पनि आपतकालिन राज्य घोषणा गरेको थियो ।
‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियानका विजेता सुमित्राले पाइन् स्कुटर
काठमाडौं । ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियानका विजेता बुटवलकी सुमित्रा न्योपानेले टिभीएस जुपिटर ११० सीसी स्कुटर पाएकी छन् । उनलाई जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरी जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि उक्त अभियान सार्वजनिक गरेको थियो ।
कोरोना भाइरसः यी हुन् ३ प्रमुख लक्षण र बच्ने १९ उपाय
काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् । कोभिड १९ भनेर चिनिने कोरोना भाईरसले अहिले विश्वलाई त्रसित पारिरहेको छ । काेराेनाकाे हालसम्म केही पनि औषधी पत्ता नलागेको हुँदा यसबाट बच्नको लागि हामीसँग मात्र एक उपाय छ त्यो भनेको यसको लक्षण र बच्ने तरिकामा विशेष ध्यान दिने भन्ने हाे । कोरानाको खासगरी ३ लक्षणहरु रहेका स्वास्थ्य विज्ञहरु बताउँछन् । यदि कसैमा यस्तो लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । यस्ता ३ प्रमुख लक्षण यस्ता रहेका छन् – १. १०४ डिग्री फरहन्हाईट भन्दा उच्च ज्वरो आँउने । २. खासगरी खोकी लाग्ने र रूघा पनि देखिने । ३. श्वास प्रश्वासमा अत्याधिक समस्या देखिने । हाल नेपाल सरकारले टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कोरोना भाईरस जाँच्ने एकमात्र प्रयोगशालाको रुपमा तोकेको छ । यो जाँच्नलाई सरकारले निशुल्क गरेको छ । कसरी बच्ने ? कोरोनाबाट हामी आफु पनि बच्न सक्छौं र अरुलाई पनि बचाउन सक्छौं । हामी यसरी आफु र अरुलाई कोरोना लाग्नबाट बचाउन सक्छौं – १. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा अनिवार्य रूपमा पञ्जा तथा फेस मास्क लगाऔं । २. एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा वा परिवर्तन गरौं । ३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौं तथा दैनिकरुपमा सफा राखौं । ४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं । ५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं । ६. घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं । ७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसँग पकाएर मात्र खाने गरौं। ८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔं । ९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं। १०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं । ११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसँग हात धोऔं । १२. यदी कसैलाइ ज्वरोसहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं । १३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔं । शरीर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं । १४. साबुन पानीले २० सेकेण्डसम्म बारम्बार हात धुने गराैं । १५. खोक्दा र हच्छ्यु गर्दा नाक र मुख छोप्ने गराैं । १६. हातहरु मुख, नाकमा जथाभावी नलैजाने गराैं । १७. फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकहरुसँग परामर्श लिने गराैं । १८. फ्लुको लक्षण देखिएमा मास्क लगाउने र अन्य व्यक्तिहरुबाट टाढा बस्ने गराैं । १९. फ्लु जस्तो लक्षण देखाउने जो कोहीसँग पनि टाढा बस्ने गराैं । यस्ता सावधानी अपनाए काेराेना जस्ता श्वासप्रश्वासकाे माध्यमबाट सर्ने संक्रमणबाट आफू र अरुलाई पनि जोगाउन सकिने चिकित्सकहरुले बताएका छन् ।
गाैशाला बनाउन गरिएकाे महायज्ञमा डेढ करोडको दान सङ्कलन
रामपुर । यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताए । उनले यज्ञ सफल बनाउनका लागि निरन्तर खट्ने व्यक्तित्वलाई धन्यवाद दिएका छन् । गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थका सम्पन्न सो महायज्ञ यहाँ हुने अन्य महायज्ञभन्दा फरक शैलीमा भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपाने कथावाचन गरेका थिए । गौशाला निर्माण गरी गाईको व्यवस्थापन गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । वडा नं ६ को कार्यालय परिसरमा गत साउनबाट यता अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो । गौशालाको संरचना तयार भएपछि फागुनको पहिलो हप्तादेखि गौशाला परिसरमा गाईहरू बाँध्न थालिएको छ ।
सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार
काठमाडौं । पछिल्लो समय सुनले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएकाे छ । बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एक्कासी २ हजार २ सय रुपैयाँ बढेर ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन २ सय रुपैयाँ बढेर प्रतितोला ८० हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोही मूल्य अर्थात प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडाैं । मिर्गाैला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । हाल उनलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।
सेवालाई प्रविधिमैत्री बनाउँदै ट्राफिक प्रहरी, थप ३ कार्यालयको विस्तार
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाई उपत्यकाको थप ३ वटा कार्यालयहरूमा सेवा विस्तार गरेको छ । ट्राफिक नियम उल्लंघन गरेबापतको कसूरमा कारबाहीका लागि खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले फागुन २० गते देखि लागू हुने गरी ट्राफिक भायोलेशन रेकर्ड सिस्टम संचालनमा ल्याईरहेको छ । यस महाशाखा मातहत महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त, नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग, गौशालामा समेत संचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार ट्राफिक कारबाहीलाई तीव्र रुपमा कार्यान्वय गरिएको बताएका छन् । कारबाहीको लागि खिचिएका कागजपत्रहरु फिर्ता लिने सेवाग्राहीहरुको चाप दिनानुदिन बढदै गएकोले सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता प्राप्त गर्ने कार्यमा सहजता एवं सरलता प्रदान गर्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो । भक्तपुर जिल्ला भित्र कारवाहीको लागि खिचिएका कागजपत्रहरु भक्तपुर, चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट, नयाँ बसपार्क एरियाका कारबाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी कार्यालयबाट लिन सकिने छ । यस्तैगरी, गौशाला तथा एयरपोर्ट एरियामा कारबाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी कार्यालय गौशालाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाईएको छ । यो सेवा महाशाखा लगायत महाराजगञ्ज, थापाथली , कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध र कोटेश्वर पहिले देखि नै सञ्चालनमा रहेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए । मापसे र लेन कारबाहीमा परेका कागजपत्रहरू भने महाशाखाबाट सचेतना कक्षापश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको उपरीक्षक श्रेष्ठले बताए । काठमाण्डौ उपत्यकामा दैनिक रूपमा साढे २ हजारदेखि ३ हजारचालकहरु ट्राफिक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गर्दछन ।