अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
म्याग्दी । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिए । सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो । सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो । सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले १५ मिटर सडक भासिएको थियो । सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरा पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो । रासस
भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष सञ्चालन
चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको भए पनि त्यसपछि बन्द गरिएको थियो । हेल्थ डेस्क पुनः आजदेखि सञ्चालनमा ल्याइएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरले बुधबार महानगरपालिकालाई पत्रचार गरी स्वास्थ्य कक्ष सञ्चालन गरिदिन अनुरोध गरेको थियो । प्राधिकरण, महानगरपालिका र स्वास्थ्य कार्यालय चितवनको सहकार्यमा स्वास्थ्य कक्ष स्थापना गरिएको हो । महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका सहसंयोजक सूर्य तिवारीका अनुसार दुईजना प्यारामेडिक्स र एकजना नर्सिङ स्टाफ कक्षमा रहेका छन् । उनीहरुले जहाजबाट झरेका यात्रुहरुको अवस्था बुझेर शङकास्पद देखिएमा तत्काल अस्पताल पठाउने छन् । विदेशबाट आएका यात्रु र रुघाखोकी लागेका यात्रुको स्वास्थ्य परीक्षण गरिनेछ । ती बिरामीका कोरोना भाइरसको लक्षण देखिएमा भरतपुर अस्पतालमा रहेको आइसोलेशन कक्षमा पठाइने व्यवस्था मिलाइएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले चितवन पर्यटकीय जिल्लासमेत भएकाले विदेशी र स्वदेशी यात्रुहरु धेरै आउने हुँदा जोखिम हुन सक्ने भन्दै बेलैमा सजग भएर स्वास्थ्य कक्ष पुनः सञ्चालनमा ल्याइएको बताए । बीचको समयमा त्रास कम भएसँगै रोकिएकामा पुनः सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । यस्तै कार्यालयले आज सूचना जारी गरी हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउनेहरुलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । सूचनामा कोरोनाको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुहरुलाई हवाई यात्रा तथा विमानस्थल क्षेत्र प्रवेश नगर्न अनुरोधसमेत गरेको छ । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा दैनिक ११ वटा उडान हुँदै आएका छन् । ती जहाजबाट दैनिक आठ सय हाराहारी यात्रु आवतजावत गर्दछन् । रासस
भ्रमण वर्ष सात प्रदेश संयोजकसहित सचिवालय बैठक लुम्बिनीमा
कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम सञ्चालनका सन्दर्भमा छलफलका लागि भ्रमण वर्षका केन्द्रीय कार्यक्रम संयोजक सुरज वैद्य, सातै प्रदेशका संयोजक र सचिवालय सदस्य सहितको बैठक लुम्बिनीमा बिहीबार बसेको छ । बैठकमा कोरोनाको सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसलाई कसरी सामान्य बनाउने र आगामी कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए । भ्रमण वर्षका कार्यक्रम संयोजक तथा वरिष्ठ उद्योगपति सुरज वैद्यले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिएको बताए । भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहने भएकाले यो कुनै एउटा वर्षमा मात्र हुने नभई हरेक वर्ष कुनै न कुनै कार्यक्रमका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने बताए । भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकका लागि लुम्बिनी आएका संयोजक वैद्यले बुधबार बुटवल र पाल्पाको प्रमुख पर्यटकीय गन्तव्य नुवाकोटगढीको अवलोकनपछि भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिए पनि स्थिति समान्य हुनासाथ निरन्तरता दिइने बताए । उनले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको पहिचान र पर्यटकीय पूर्वाधारमा समेत ध्यानाकर्षण गराउनुपर्नेमा आफूहरुको जोड रहेको बताएका छन् । नुवाकोटगढीको अवलोकनका क्रममा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले त्यहाँको ऐतिहासिक महत्व, पुरातात्विक संरचनाहरुको संरक्षणमा भएका प्रयास र नुवाकोटगढीको विकास योजनाका बारेमा जानकारी गराएका थिए । अध्यक्ष नेपालले भ्रमण वर्षको अवधिमा उक्त स्थानमा नेपालको वीरता झल्कने नेपालीले अङ्ग्रेज फौजसँग लड्न प्रयोग भएका हतियार खुकुरीको प्रतीक स्थापना गर्ने योजना प्रस्तुत गर्नुभयो ।
सुनसान ठमेल !
ठमेलमा घोसेमुन्टो लगाएर बसेका एकजना सडक व्यापारी । काठमाडौं । यतिखेर विश्वभर कोरोना (कोभिड–१९) को त्रास छ । चीनबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभरका नागरिकरुमा डर त्रास र भयको वातावरण सिर्जना भएको छ । यसकाे प्रभावबाट नेपालले पनि छुट्कारा पाउन सकेको छैन । यसले नेपाली अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको छ । विशेषगरी नेपालको पर्यटन क्षेत्र यतिखर अस्तव्यस्त छ । नेपालको सबैभन्दा बढी पर्यटक आउन मध्येका ठमेल र पाटन दरवार स्क्वायर यतिखर सुनसान छन् । हामीले तिनै क्षेत्रमा गएर त्यहाँका केही तस्विर लिएका छौं । पाटन दरवारमा घुम्दै एक परिवार पाटन दरवारमा आन्तरिक पर्यटकको घुइँचो तर विदेशी पर्यटक भने न्यून । पाटनमा घाम ताप्दै केही जेष्ठ नागरिक । पाटन दरवार स्क्वायरमा गफिदै केही नागरिक । पाटन दरवारमा सजाइएका सामानहरु अवलोकनमा विदेशीहरू । पाटन दरवारमा सजाइएका सामान पाटनमा माटोको दियो नियाल्दै एकजना विदेशी महिला । पाटनमा घाम ताप्दै । ठमेलमा घुम्दै विदेशी पर्यटक । ठमेलमा घुम्दै दुई जना विदेशी नागरिक । ठमेलको पसलमा राखिएको सजावटका सामान । मोबाइल चलाउँदै पर्यटकको पर्खाइमा रिक्सा चालक र खाली रिक्साहरू । कोरोनाको त्रासले दुवैले मुख छोपेका छन्, दुबैका आफ्नै बाध्यता छन् । ठमेल सडकमा हिड्दै एकजना विदेशी नागरिक ग्राहक नआएर मोबाइलमा व्यस्त ठमेलमा एक व्यापारी । ठमेलकाे सुनसान पसल । दुई विदेशी महिला ठमेल घुम्दै ।
बैंकमा सुन राखेर व्याजमा सुनै लिन पाइने
काठमाडौं । बैंकमा पैसा राखे जस्तै गरी सुन पनि निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको छ । राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी गर्दै सुन पनि पैसा जसरी नै व्याज दिएर निक्षेपको रुपमा राख्न मिल्ने व्यवस्था गर्न भनेको छ । यसरी सुन निक्षेप लिँदा कम्तिमा ९९५ फिटनेसको सुन मात्रै लिन राष्ट्र बैंकले भनेको छ । ९९५ फिटनेससम्मको सुन भनेको छापावाल वा २४ क्यारेटको सुन मात्रै हो । वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाइ संचालक समितिबाट पारित गराई लागू गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ । यसरी सुन निक्षेप लिने बैंकले सो निर्णय भएको ७ दिनभित्रमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्नेछ । बैंकले निक्षेपको रुपमा प्राप्त भएको सुनलाई आफ्नो ढुकुटीमा दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तबरले ढुकुटीभित्र राख्ने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले भनेको छ । ढुकुटी सुरक्षाको लागि सीसीटिभी क्यामरा, स्ट्रङ रुम, दोहोरो चाबीलगायतका आवश्यक प्रबन्ध मिलाउन पनि राष्ट्र बैंकको निर्देशन छ । यस्तै, बैंकहरुले निश्चित शाखाबाट मात्रै सुन निक्षेप लिने व्यवस्था गर्न सक्नेछन् । तर, यसरी कुन शाखाबाट सुन निक्षेप लिने हो, त्यसको जानकारी सार्वजनिक रुपमा गराउनु पर्ने राष्ट्र बैंकको भनाइ छ । बैंकमा निक्षेपको रुपमा राखिने सुनको परिमाण कम्तिमा २५ ग्राम हुनुपर्ने भनिएको छ । २५ ग्राम सुन भनेको २ तोलाभन्दा बढी हो । सुन निक्षेप राख्न आउने ग्राहकले ल्याएको सुनको शुद्धता परीक्षण गरी प्रमाणपत्र दिने व्यवस्था मिलाउन बैंकहरुलाई भनिएको छ । बैंकमा सुन निक्षेप राख्ने ग्राहकले व्याजको रुपमा सुन वा नगद लिन पाउने छन् । तर, व्याजको रुपमा सुन वा नगद जे लिने हो, सो खुलाउनु पर्ने भनिएको छ । सुन निक्षेपको व्याज भने बैंकहरुले तोक्न पाउने भएका छन् । अरु यस्ता छन् विशेषताः [pdf id=199516]
विभिन्न मोडेलका ईकोस्पोर्ट नेपाली बजारमा, यस्ता छन् मूल्य
काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले फोर्ड इकोस्पोर्ट सार्वजनिक गरेको छ । भारत स्टेज भिआइमा आधारित इकोस्पोर्ट पुरानो २०१९ को मूल्यमा नै निरन्तरता दिइ बजारमा ल्याएको हो । यस अनुसार २०२० फोर्ड ईकास्पोर्टको पेट्रोल गाडीको मुल्य रु. ३८.९९ लाखबाट र डिजेल गाडीको रु. ३९.९९ लाखबाट शुरु हुनेछ । यसबाट ग्राहकले नयाँ मुल्य निर्धारण हुनुभन्दा पहिला बुकिङ्ग गरी फाइदा उठाउन सक्ने छन् । २०२० मा सार्वजनिक यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको कम्पनीको दाबी छ । ईकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बिएसभिआइमा आधारित १.५लि टिडीसिआइ डिजल इन्जिन रहेको छ । जसले १००पिएस पावर र २१५एनएम टर्की के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । लाइन अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि टिआइ भिसिटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२पिएस पावर र १४९एनएम टर्की प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । २०२० संस्करण इकोस्पोर्ट ३ वर्ष वा १ लाख किमिको वारेन्टीका साथ आउने यी गाडीहरुको सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको छ । यस संस्करणमा पनि ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै, यो सनरुफजडित भेरियन्टमा पनि उपलब्ध छ । ईकोस्पोर्टमा ग्राहकहरुका लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । मूल्य सूची
सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक सेयर मूल्यमा भने किन १४ बैंकपछि ? (समग्र विश्लेषण)
काठमाडौं । १२ बर्षअघि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंक सरकारको बिग मर्जरको नीतिलाई पुरा गर्ने पहिलो बैंक हो । हालै जनता बैंकलाई मर्ज गरेको ग्लोबल बैंकले ५ वटा संस्था (कमर्ज एण्ड ट्रस्ट बैंकसहित २ वाणिज्य बैंक) मर्जर र ३ वटा संस्था एक्वायर गरिसकेको छ । मर्जर र एक्विजिशन भएका संस्थाहरुमा पहिले पनि अन्य संस्थाको मर्जर र एक्विजिशन भएकोले करीब १८ संस्थाको संयोजन हो, ग्लोबल आइएमइ बैंक । पूँजी आधारमा देशकै ठूलो बैंक बनेको ग्लोबल आइएमइ बैंक सन्तुलित वृद्धिसहित अगाडी बढेको छ । ‘सबैको लागि बैंक’को नारासहित सञ्चालनमा आएको बैंकको २ सय ९५ शाखा र २ सय ५७ वटा एटिएमबाट ग्राहकले सेवा पाइरहेका छन् । २ सय ४९ शाखारहित सेवा समेत सञ्चालन गरिरहेको छ । ९.६४ प्रतिशत बेस रेट रहेको बैंकले ग्राहकलाई अधिकत्तम ६ प्रतिशत जोडेर कर्जा दिइरहेको छ । त्यस्तै, निक्षेपमा ४ देखि ९.२५ प्रतिशतसम्म व्याज दिइरहेको छ । उपाधी बैंकले सन् २०१४ मा लण्डनको फाइनान्सियल टाइम्सबाट बैंक अफ दी एयरको अवार्ड पाएको थियो । बैंकले लण्डनको इन्टरनेशनल फाइनान्स म्यागेजिनबाट २०१६ मा बेस्ट इन्टरनेट बैंकको उपाधी पाएको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस भारतबाट सन् २०१८ मा बेस्ट इम्पोयर अवार्ड समेत पाएको छ । सेयर लगानीकर्ता ४८.८० प्रतिशत सर्वसाधारणमा सेयर रहेको बैंकमा जनता मर्ज गनुअघिसम्म वल्र्डवाइड इन्भेष्टमेन्ट प्रालिको सबैभन्दा धेरै (६.६२) सेयर रहेको थियो । जनता बैंकको सेयर पूँजी ८५ प्रतिशत (७ अर्ब २० करोड रुपैयाँ) हुने गरी मर्ज भएको बैंकमा सो बैंकका केशवबहादुर रायमाझी र विनित कुमार अग्रवालले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् । व्यवसायी चन्द्र ढकालको लगानी रहेको ग्लोबल आईएमई बैंकमा उनी आफै अध्यक्ष रहदै आएका छन् । लगानी बैंकको ४२ करोड ७१ लाख रुपैयाँ बराबरका सूचीकृत र सूचीकृत हुन बाँकी सेयर/इकाइमा लगानी गरेको छ । १ अर्ब ५३ करोड अन्य सेयरमा लगानी रहेको छ । बैंकले सरकारी ऋणपत्र लगायतमा भने ११ अर्ब लगानी गरेको छ । ग्लोबल आईएमई क्यापिटलमा बैंकको ७५ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तमा बैंकमा ७० प्रतिशत सेयर स्वामित्व छ । लाभांश बैंक विगत ५ वर्षमा बार्षिक औषत २०.१ प्रतिशतको दरले लाभांश दिन सफल हुँदै आएको छ । बैंकले यस पटक गत वर्षको तुलनामा लाभांश दर केही बढाएर २५.५ प्रतिशत दिएको छ । हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १ अर्ब २० करोड रुपैयाँ वितरण गर्न सक्ने अबस्थामा बैंक छ । यो रकम बैंकको चुक्ता पुँजीको आधारमा ६ प्रतिशत हो । जनतासँग मर्जरपछि बैंकको सेयर प्रिमियममा ५ अर्ब ३९ करोड रुपैयाँ छ । सेयर प्रिमियम रकम समेत जोड्दा लाभांश दर ३४.७९ पुग्छ । आव अन्त्यमा यो दर अझ बढ्न सक्छ । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा मात्रै ३२ प्रतिशतले नाफा बढाएर १ अर्ब ६८ करोड रुपैयाँ कमाएको छ । जनता बैंकको मर्जरअघिको नाफासमेत जोड्दा नाफा रकम २ अर्ब १३ करोड पुगेको छ । नाफा रकम आधारमा भने बैंक तेस्रो स्थानमा छ । बैंकको व्याज आम्दानी ३४ प्रतिशत र खुद व्याज आम्दानी ४९ प्रतिशतले बढेको छ । ८ अर्ब ६३ करोड ब्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानीमा ३ अर्ब ५४ करोड पुगेको छ । खुद व्याज आम्दानीको आधारमा बैंक तेस्रो स्थानमा छ । बैंकको जगेडा तथा सञ्चित कोषमा ८ अर्ब ५७ करोड रुपैयाँ छ । कोष लागत ७.५७ प्रतिशतबाट घटेर ६.७९ मा सिमित भएको छ । समग्र बैंकिङ क्षेत्रमा यो बैंक निक्षेप र कर्जा लगानीको आधारमा पहिलो स्थानमा छ । खराब कर्जा अनुपात १ प्रतिशत मुनि पुगेको छ । कर्जा नोक्सानको सम्भावनाको आधारमा बैंकले ४१ करोड ३९ लाख रुपैयाँ प्रावधान राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७८.९८ प्रतिशत छ । बैंकले कर्जा लगानीको लागि आवश्यक स्पेस बनाउन केही समय अघि मात्रै ऋणपत्र जारी गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २२.५३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ४५ प्रतिशत छ । प्रतिसेयर आम्दानीको आधारमा बैंक १४ औं स्थानमा छ । कम्पनीको सेयर मूल्य पछिल्लो समय घट्ने क्रममा ३ सय रुपैयाँभन्दा मुनिसम्म आएको थियो । रेटिङ बैंकलाई इक्रा नेपालले माइनस ए रेटिङ दिएको छ । रेटिङले उल्लेख गरेका महत्वपूर्ण विशेषताहरु निम्न अनुसार छन् । –बजारको ठूलो खेलाडी, बजार हिस्सा ७ प्रतिशत –मर्जपछि पूँजी पर्याप्तता आधारमा सुधार (१२.२८ प्रतिशत) –भाका नाघेको कर्जा १० प्रतिशत र खराब कर्जा १.०२ (मर्जरको कारण वृद्धि तर स्वस्थ सम्पत्ती गुणस्तर) –भाका नाघेको कर्जामा ८० प्रतिशत एक महिना भित्रमा भएकोले अवस्था सहज –बजारको भन्दा उच्च कोष लागत (समग्र बजारको ६.६३ रहेकोमा बैंकको ७.०९ प्रतिशत) –कम लागतको निक्षेप घट्दो –कर्जामा ३३ प्रतिशतको वृद्धि (समग्र क्षेत्रको वृद्धिदर २२ प्रतिशत) –प्रमुख २० ऋणीको हिस्सा कम (१३ प्रतिशत, यो राम्रो सूचक हो ।) –खुद व्याज मार्जिन ४ प्रतिशत प्रवृत्ति बुलिश बैंकप्रति दोस्रो बजारका सेयर लगानीकर्ताको विश्वास खासै बढ्न सकेको देखिदैन । बैंकको मूल्य आम्दानी अनुपात १३.१० प्रतिशत हुनुले यस्तो देखाउँछ । यो दर २० भन्दा माथि ३० सम्म हुनु राम्रो मानिन्छ । यसको अर्थ बैंकले कमाएको १ रुपैयाँको लागि लगानीकर्ताहरुले १३.१० तिरिरहेका छन् भन्ने हो । बजारमा रहेका समकालिन अन्य बाणिज्य बैंकहरुमा यो दर कम नै हो । बैंकको सेयर मूल्य केही समयदेखि नै बुलिश प्रवृत्तिमा छ । १४ दिने आरएसआई सुचक केही समयदेखि नै सन्तुलित क्षेत्रमा छ । आरएसआई हाल ५७.८९ मा छ । २१ दिने र ७ दिने सिम्पल मुभिङ एभरेज केही समयअघि मात्रै क्रस ओभर भएको छ । यसले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गर्छ । यी दुईबीच अझै दुरी कायमै छ । एक महिना अवधिको पीभट विश्लेषणले भने अब बजार घट्ने क्रममा रहेकोले आगामी एक महिनामा २ सय ७२ मा पहिलो टेवा र ३ सय ८ मा पहिलो प्रतिरोध पाउने देखाउँछ । एक महिनामा बैंकको मूल्य ३६ रुपैयाँको फरकमा तल माथि गरिरहेकोले रेन्ज नै कम छ । बैंकको मूल्यमा निकै कम उतारचढाव छ । ३० कारोबार दिनको आधारमा हेरिएको स्ट्याण्डर्ड डेभिएसन अनुसार बैंकको यो सूचक ५.६३, समग्र बैंकिङ समूहको २७.५४ र नेप्से परिसूचकको २३.५८ छ । नेप्सेमाभन्दा पनि बैंकिङ समूहमा बढि उतार चढाव छ भने यस बैंकको सेयरमा खासै उतार चढाव छैन । छोटो छोटो अवधिमा कमाउन चहानेलाई हालसम्म बैंकको मूल्यबाट खासै फाइदा देखिदैन । बैंकको सेयर मूल्यले अन्तिम दुवैतर्फ धागो भएको कालो मैनवत्ति आकृति बनाएको छ । यसले लगानीकर्ताहरुमा तीव्र मोलमोलाई भइरहेको संकेत गर्छ । बैंकको सेयर मूल्यको लागि ३ सयको विन्दु मनोवैज्ञानिक विन्दुको रुपमा रहदै आएको छ । मूल्यले २ सय ७६ मा टेवा परीक्षण गर्ने बलियो समभावना छ । बैंकको सेयर मूल्यमा सुधार हुने संकेत देखिए पनि ठूलो उछालको सम्भावना कम देखिएको छ । तर, पनि बैंकले ब्रेक प्वाइन्ट भने खोजिरहेको छ ।
सिटी एक्सप्रेस र इएमक्युबीच रेमिट्यान्स कारोबार शुरु
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र रेमिट्यान्स इएमक्युबीच रेमिट्यान्स कारोबार गर्नेसम्बन्धी सहकार्य भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्युका प्रमुख कार्यकारी अधिकृत म्याक्स अलेक्जेन्डर लिउले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार जापान, युएइ, जोर्डनका उपभोक्ताले इएमक्युको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मनी मार्फत आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् । नेपालमा सिटी एक्सपे्रससँग आबद्ध एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ ।