विकासन्युज

रोल्पामा स्मार्टबोर्डबाट पठन पाठन शुरु

रोल्पा । रोल्पा जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो । स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा औधी खुशी भएका छन् । किताब पढ्दा नबुझेका कतिपय कुरा स्मार्टबोर्डबाट अध्ययन गर्दा सहजै बुझिने गरेको कक्षा ९ का छात्र पुष्पराज शर्माल शर्माले बताए । “श्रव्यदृश्यका माध्यमबाट पठनपाठन हुँदा छात्रछात्रले पनि रमाइलो मानेर ध्यानपूर्व सुन्ने गर्दछन् । चक, डस्टर तथा मार्करको प्रयोग कम हुँदा हामीलाई समेत सहजता भएको छ । ” शिक्षक टेकनाथ आचार्यले भने । हाल विद्यालयको कक्षा ९ का पाँच र कक्षा १० का चार गरी नौ सेक्सनमा स्मार्टबोर्ड जडान गरिएको सहायक प्रधानाध्यपक लेखमणि खड्काले जानकारी दिए । प्रयोगको प्रभावकारिता हेरेर आगामी वर्ष थप कक्षामा विस्तार गर्दै लगिने विद्यालयले जनाएको छ । “प्राविधिक ज्ञान तथा अभ्यस्तताको अभावका कारण सबै शिक्षकले स्मार्टबोर्ड प्रयोग गर्न नजान्दा विद्यालयको सबै कक्षामा जडान गर्न सकिएको छैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने । गणित शिक्षणका लािग स्मार्टबोर्ड निकै सहयोग भएको छ, सो विद्यालयका गणित शिक्षक एलएम आचार्यले भने, “ग्राफ, रेखा र चित्र बनाउन निकै सहज हुन्छ ।” छात्रछात्राको अत्यधिक चाप रहेको सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म दुई हजार ६ सय विद्यार्थीले अध्ययन गर्दछन् । रासस

काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दी

काभ्रेपलाञ्चोक । एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण कारण कक्षा ११ र १२ को पटनपाठन समेत ठप्प भएको छ । क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले ‘विद्यार्थीको भविष्यमाथि खेलवाड’ गरेको जनाउँदै क्याप्पस प्रमुखको राजीनामालगायतका माग राख्दै गत माघ २६ गते तालाबन्दी गरेको थियो । अनेरास्ववियुले प्रशासन, लेखासँगै मूलगेटमा तालाबन्दी गरेको केही दिनमा क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि माघ ३० गते मूलगेटको तालाबन्दी खोलिएको थियो । विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच यही फागुन १३ गते भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । “क्याम्पस प्रशासनले वार्ता समिति बनाएपछि मूलगेटको मात्रै ताला खोलिदिएका थियौँ, एउटा वार्तामा मागबारे कुनै सम्बोधन भएन, अहिलेसम्म अन्य वार्ताको कुनै जानकारी छैन, हाम्रा माग पूरा नभएसम्म अन्य तालाबन्दी खोल्दैनौँ”, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भने। उनका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण परीक्षा बोर्डले स्नातक तहमा ती विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने जनाएपछि विद्यार्थी आन्दोलित भएका हुन् । क्याम्पस प्रशासनले सञ्चालक समितिको अध्यक्ष लम्बोदर कायस्थको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको थियो । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको जनाउँदै अनरास्ववियु जिल्ला कमिटी, क्याम्पस र मावि कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी तालाबन्दी गरेको हो । क्याम्पसलाई लापरवाहीका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेका कारण क्याम्पस प्रमुख केजी बैदारको राजीनामा मुख्य शर्तसहित विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राख्दै तालाबन्दी गरिएको पराजुलीले बताए । साथै विज्ञप्तिमा पीडित विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई ‘रेष्टिगेट’को डर, धम्की दिने प्राध्यापक/शिक्षकलाई कारवाही र निष्काशन गर्नुपर्ने, क्याम्पसले आफ्नाे प्रचार सामग्रीमा उल्लेख गराएअनुसार विद्यार्थीले रोजेको विषयमा अध्ययन गर्न पाउने अधिकारको ग्यारेन्टी गर्न पनि माग गरिएको छ । क्याम्पसप्रमुख बैदारले आफूलाई क्याम्पसका कुनै पनि विभागमा तालाबन्दी भएको विषयमा जानकारी नभएको बताउँदै आएका छन् । उनले केही ‘बाहिरी तत्व’ले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्वत् ढङ्गले नै कक्षा ११ र १२ को अध्यापन भएको जिकिर गरे । विभिन्न सङ्कायमा करिब एक हजार विद्यार्थी अध्ययनरत उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ विद्यार्थीलाई फरक विषयको परीक्षामा सामेल गराइएको थियो । रासस

आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित

डाेटी । सुदूरपश्चिम प्रदेशमा आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित  भएका छन् । यसकारण नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको हाे । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् । अभियानमा पाँच हजार २ सय खोप केन्द्र र नौ हजार ३ सय स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिब २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए। अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका , पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उनले जानकारी दिएका छन् । उहाँले भने, “बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दुई चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।” कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन जिल्ला अस्पताल डोटीका डा. ज्योति पाण्डेले आग्रह गरे । जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित रहेकोे कार्यालयको तथ्याङ्कमा रहेको छ । स्वास्थ्य कार्यालयका अध्यक्ष यज्ञराज जोशीले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले यहाँका स्थानीय तहसँगको सहकार्यमा खोप अभियान सञ्चालन हुँदैछ । यसमा सहयोग गर्न म सबैमा आह्वान गर्छु । ” रासस

धरहरा पुनःनिर्माण तीव्र गतिमा, ३३ प्रतिशत काम सक्दा ८५ करोड खर्च

काठमाडाैं । गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराएका छन् । दुई वर्षमा सम्पन्न गर्ने गरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा पाएको थियो । जम्मा रु तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनः निर्माणको शिलान्यास गर्नुभएको थियो ।अहिले दैनिक १५० कामदार निर्माणमा खटिएका छन् । पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै, एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला,उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् । बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । रासस

यूएईमा कार्यरत दुई नेपालीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । यूनाइटेड अरब इमिरेट (यूएई) मा कार्यरत दुई नेपालीमा कोभिड–१९ (कोरोना भाईरस) संक्रमण भएको छ । यूएईमा पछिल्लो पटक १४ जनामा कोरोना भाइरस संक्रमण भएको र त्यसमा २ जना नेपाली नागरिक रहेको त्यहाँको स्वस्थ्य मन्त्रालयले जनाएको छ । १४ जना मध्ये ४ जना इमिरेट्स, ३ जना इटालिइन, २ जना बंगलादेशी, २ नेपाली तथा रसिया, इन्डिया र सिरियाका १÷१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यूएईमा अहिलेसम्म ५९ जनालाई कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट फैलिएकाे काेराेना भाइरक अहिलेसम्म विश्वकाे १०१ देशमा फैलिएकाे, एक लाख भन्दा बढी मानिसमा संक्रमण भएकाे र भण्डै ३ हजार ३ सय जनाले ज्यान गुमाएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

जबरजस्ती रगं दल्ने ६५ जना पक्राउ

काठमाडौं । होलीमा जबरजस्ती रंग दल्ने ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौंका विभिन्न ठाउँमा सडकमा हिडिरहेका मानिसलाई जबरजस्ती रंग दल्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तिनीहरुमध्ये ७ जना युवति पनि रहेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सडकमा हिडिरहेका मानिसलाई जबरजस्ती लाेला हानेका थिए । उनीहरुमध्ये कतिपय झगडा गर्दागर्दै पनि केही पक्राउ परेका हुन् ।  

एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गाँजादेखि खुल्ला गर्नुपर्ने भन्दै गैरसरकारी विधेयक दर्ता भएको छ । संघीय संसदको प्रतिनिधिसभामा पूर्वमन्त्रीसमेत रहेका सांसद शेरबहादुर तामाङले र बागमती प्रदेशमा सोही प्रदेशका पूर्वमन्त्री समेत रहेका केशव स्थापितले गैरसकारी विधेयक दर्ता गराएका हुन् । अहिले कार्यान्वयनमा रहेको लागू औषध नियन्त्रण कानुन अनुसार गाँजाखेती, सेवन, ओसार पसार र विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । यस्तो प्रतिबन्ध लगाउने कार्य हचुवाको भरमा भएको, अध्ययन अनुसन्धानविनै प्रतिबन्ध लगाएर नेपालको आर्थिक अवस्था कमजोर पार्ने कार्य भएको तामाङ र स्थापितको भनाइ छ । संघीय र प्रदेशसभामा पेश भएका विधेयकमा सबै नेपालीले आफ्नो जमिनमा गाँजा खेती गर्न पाउने व्यवस्था गरिएको छ । आफ्नो जमिन नहुने नेपालीले व्यक्तिको जग्गा भाडामा लिएर वा सरकारी तथा सार्वजनिक जग्गा भाडामा लिएर पनि गाँजा खेती गर्न पाउने भनिएको छ । तर, यसरी खेती गर्न सरकारी निकायबाट अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने विधेयकमा उल्लेख छ । यस्तै, सरकारी अनुमति नलिइ प्रतिपरिवार ६ बोट गाँजा खेती गर्न पाइने व्यवस्था गरिने विधेयकमा उल्लेख गरिएको छ । गाँजा खेती गर्न पाउनु भएको गाँजाको जथाभावी सेवन गर्ने, ओसार पसार गर्ने वा विक्री वितरण गर्ने भन्ने व्यवस्था भने होइन । गाँजा खेती खुल्ला गर्नुपर्ने आवश्यक किन पर्यो ? गाँजाको महत्व के छ ? गैरसरकारी विधेयकको रुपमा दर्ता भएका यी विधेयक सम्बन्धित संसदबाट पारित हुने सक्ने अवस्था के छ ? संघीय संसद तथा बागमती प्रदेशसभामा विधेयक दर्ता भइसकेपनि अन्य प्रदेशको हकमा के कस्तो व्यवस्था गर्न लागिएको छ ? अन्य प्रदेशमा पनि विधेयक दर्ता हुदैछ ? भन्ने लगायतका विषयमा पूर्वमन्त्रीद्वय तामाङ र स्थापितसँग विकासन्युजले संयुक्त कुराकानी गरेको छ । संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको गाँजा विधेयक । [pdf id=200059]

बजारमा सामानको कृतिम अभाव गर्नेविरुद्ध नेपाल प्रहरीसहितकाे अनुगमन टोली खटाइने

काठमाडौं । कोरोना भाइरसको त्रास बढीरहेको समयमा बजारमा सामानको कृतिम भाव सिर्जना गर्नेविरुद्ध सरकारले प्रहरीसहितको अनुगमन टोली खटाउने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सामानको कृतिम अभाव सिजैना गर्नेविरुद्ध प्रहरीसहितको अनुमन टोली बनाइ बजारमा खटाइने बताए । उनले बजारमा कृतिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्ने विरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन टोली बनाउने बताएका हुन् । सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कूरा गर्दै उनले सो कूरा बताएका हुन् । यसका लागि गृहमन्त्रालयसँग कूरा भइरहेको उनको भनाइ छ । सरकारी संस्थान र कम्पनीसंग खाद्यन्न र नुन चिनी जस्ता अत्यवश्यक वस्तुको मौज्दात प्रशस्त रहेको भन्दै मन्त्री भट्टले नीजि क्षेत्रले कार्टेलिङ गरे सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर्ने दाबी गरे । अत्यवश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानकारी दिन मन्त्रालय तथा सम्बन्धित विभाग र संस्थानमा हटलाइन सुविधा सञ्चालन गर्ने तथा कार्यालयहरुका समाजिक सञ्जाल पनि सक्रिय बनाउने मन्त्री भट्टको भनाइ छ ।