विकासन्युज

ललितपुर महानगरपालिकाले पनि माक्स उत्पादन गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि मास्क उत्पादन गर्ने भएको छ । आइतबार महानगरले प्रेस विज्ञप्ती जारी गर्दै मास्क उत्पादन गर्ने बताएकाे हाे । ‘सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मौसमी रूघाखोकी लागेका व्यक्तिले मास्क प्रयोग गर्दा आफू र अरु सुरक्षित हुने भएकाले मास्क उत्पादन गर्न सुरू गरेको छ,  सिलाइ तालिम लिएका महानगरका महिलाले मास्क सिलाउन थाल्नुभएको हो,’ विज्ञप्तीमा लेखिएकाे छ । त्यस्तै नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक मुख छोप्न, अभिवादन गर्दा नमस्कार गर्न, जंगली तथा घरेलु पशुपंक्षीहरुको असुरक्षित सम्पर्कबाट टाढा रहन समेत आग्रह गरेको छ। साथै महानगरले कोरोनाभाइरसको जोखिमबाट बच्न ठूला सभा, सम्मेलन , भोज भतेरको आयोजना नगर्न समेत आग्रह गरेको छ।  

नागढुङ्गा-कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए । “आकाशे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको छ”, उनले भने । यसैगरी नगरपालिकाले काठमाडौं भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा-कलङ्की सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ । सिसीटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ । नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नं ८ मा १५ श्ययाको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । भर्खरै सञ्चालनमा आएको अस्पतालमा वर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ । चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको नगरप्रमुख गिरीले बताए । नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । रासस

जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिलाहरु सम्मानित

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले ८ मार्च, २०२० अर्थात फागुन २५ गते ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाले विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको हो । उक्त अवार्ड समारोह नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा र्याडिसन होटलले आयोजित गरेको थियो । येलो रोज डे २०२० मा आठ जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरुले अपवादको आफ्नो यात्राका बारेमा बताएका थिए । यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवर्तन ल्याउछ र यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्दछ । जोन्टा क्लब अफ काठमाडौंका पुरस्कार कोटि र पुरस्कृतहरु यस प्रकार रहेका छन् ः – प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर: एआईजी डा. आशा सिंह, नेपाल प्रहरी – अमर राना गेम चेन्जर अवार्ड: आयुषी के.सी., प्रमुख कार्यकारी अधिकृत, खालीसीसी – ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिप: प्राश्ना भट्टराई – ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजी: छिरिङ डिके लामा त्यस्तै, नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५००० रुपौंया प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् । यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यो त्यस्ता ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन् । सम्मानित हुने महिलाहरु: – लक्ष्मी नापित – नाई (बारबर) – सरस्वती सुवाल – मेकानिक – हर्मिता श्रेष्ठ- साझा बस चालक – मन्धिरा भण्डारी – इलेक्ट्रिशियन सन्नी रौनियार प्रधानको सुन्दर गीत ‘खुल्ला आकाश’ ले यस दिनको थिमलाई समादर गर्दै कार्यक्रमलाई थप रमाइलो बनायो । सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण-क्षमता हासिल गर्न सक्षम हुनेछन् । त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर-नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो । जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म-रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना-शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् । यो दुई वर्षको अवधी (२०१८-२०२०) जोन्टाका लागि शतवर्षीय अवधी हो । जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतफी प्रभावका लागी आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिबद्ध रहेको छ ।

कोरोनाको कहरः सरकारको चासोमा प्रवासी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीका रुपमा फैलिरहँदा नेपालमा पनि त्यसको असर र त्रास व्याप्त छ । हालसम्म नेपालमा यो भाइरस कूनै पनि व्यक्तिमा नदेखिएको भएपनि यसको त्रास भने फैलँदो क्रममा छ । नेपाल सरकारले देशभित्रका नागरिकसँगै विदेशमा रहेका नेपालीहरुलाई पनि चासोको रुपमा हेरिरहेको छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनमा उग्र रुपलिएसँगै त्यहाँ अध्ययनका लागि गएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई नेपाल सरकारलाई सकुसल उद्दार गर्यो । उद्दार गरेका १ सय ७५ जना मात्र होइन सबै नेपालीबाट सरकारले जस लियोे, र राष्ट्रबादी सरकारको संज्ञा पनि पायो । उद्दार गरिएका सबैको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएपछि अहिले सबै आ–आफ्नो घर फर्किसकेका छन् । त्यो सँगै अब नेपाल सरिकारको कामदारका लागि विदेशी भूमिमा पुगेगा प्रवासी नेपालीहरुमा गएको छ । हालसम्म नेपाली कामदारहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सतर्कता भाइरसको संक्रमण हुने सक्ने शंका भने गरिएको छ । करिब ४५ हजार नेपाली कामदार रहेको कोरिया अहिले कोरोना भाइरसको उच्च जोखिमममा छ । भलै कुनै पनि नागरिकमा यसको संक्रमण देखिएको छैन । विकासन्यूजले कोरियामा रहेका नेपाली कामदारहरुसँग जानकारी लिँदा उनीहरु आफु सुरक्षित रहेका बताउँछन् । नेपाल पनि कोरोना भाइरसको उच्च जोखिमको राष्ट्रको रुपमा विश्व स्वास्थ्य संगठनले राखेसँगै उनीहरु नेपालमा आउने भने त्यति इच्छुक देखिँदैनन् । कोरिया सरकार र नेपाल सरकारले पनि उनीहरुलाई सुरक्षित रहन आग्रह गरिसहेको छ । कोरियास्थित नेपाली राजदुतावासले नेपाली कामदारहरुलाई कम्पनीको नीति नियमलाई पालना गरी सुरक्षित रहन आग्रह गरिसकेको छ । नेपालीहरु विदेशमा राजगारीका लागि ४० लाखभन्दा बढी र अध्ययनका लागि ३ लाखभन्दा बढी छन् । आफ्नो नागरिक गएको देशमा कोरोनाको संक्तमण देखिएसँगै नेपाल सरकारको पनि चिन्ता चासो र ध्यान बढेको छ । हाल विश्वका ८० राष्ट्रमा फैलिएसकेको यो अवस्थामा नेपाल सरकार पनि गम्भीर देखिएको हो । नेपालीको प्रमुख रोजगारीको गन्तव्यमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले निरन्तर रुपमा त्यहाँ रहेका नेपालीको अवस्था र सम्बन्धित दुतावाससँग बुझ्दै आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्यालले जानकारी दिए । त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरेले कोरोना भाइरस संक्रमित देशको अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगारमा जानेलाई अनुमति दिने तर हतारिएर कुनै पनि निर्णय नगर्ने बताए । ‘कुन–कुन देशमा भाइरसको संक्रमण बढ्दै गएको छ भन्ने कुरा उक्त देशका रोजगारदाता र सम्बन्धित निकायसँग समन्वय भइरहेको, श्रम मन्त्रालयले सम्बन्धित मन्त्रालयको सहकार्यमा जोखिमको विश्लेषण गरी उक्त देशहरुमा समन्वय निरन्तर भइरहेको छ,’ उनले भने । वैदेशिक रोजगारीको क्षेत्रमा कोरोना भाइरसको प्रभाव बढेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । पछिल्लो समय दक्षिण कोरिया र कुवेत जानेलाई रोक लगाएको छ । ‘व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको माध्यम भएर जानेलाई अन्य १२ देशमा श्रम स्वीकृति बन्द गरको छैन, त्यहाँको अवस्था हेरेर कुनै पनि समयमा बन्द हुन सक्छ,’ उनले भने । कोरोना भाइरसले त्रास फैलाएपछि सम्बन्धित निकायको चासो बढेको र आगामी दिनमा वैदेशिक रोजगारीमा रहेका युवालाई केन्द्रित गर्दै सरकारले निर्णय उनको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगार विभागमा दैनिक ५/७ सम्म उजुरी आउने गरेको विभागले जनाएको छ । पछिल्लो समय विदेश घुम्न जानेको संख्या पनि क्रमिक घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा नेपालीहरु विदेश घुम्न जानका लागि करिब ७३ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ३६ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याकंले देखाउँछ । गत आर्थिक वर्षमा विदेश अध्ययन गर्नका लागि नेपाल राष्ट्र बैंकबाट ४६ अर्ब ३० करोड रुपैयाँ लिएका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १४ अर्ब ८० करोड रुपैयाँ लिएका छन् । यसको अर्थ नेपालीहरु भ्रमण तथा अध्ययनका लागि ठूलो संख्या बाहिरिने गरेका छन् । यस्तै, नेपालको छिमेकी राष्ट्र भारतमा पनि हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले पनि नेपालमा झन त्रास फैलिएको छ ।

कैलासलाई प्राप्ति पश्चात प्राइम बैंकद्वारा फागुन २९ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्शियल बैंकले कैलास विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच गत पुस ३ गते बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३२, न्यूप्लाजामा रहेको छ ।

महिलालाई कर्पोरेट सिँढी चढ्न महिला नै बाधक !

काठमाडौं । आज मार्च ८ तारिख अर्थात ११०औं अन्तर्राष्ट्रिय नारी दिवस । आज विश्वभर विविध कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । यो दिवस नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । आजको दिनमै महिलामाथि हुने दमन हिंसाका गतिविधिविरुद्ध चर्को आवाजले बोलिन्छ । विभिन्न सभा समारोह र कार्यक्रमहरु गरिन्छन् । हक अधिकार र समानताका कूरा गरिन्छन् । विभिन्न सञ्चार माध्यमका हेडलाइन बन्छ नारी दिवस । तर, हामीले नारीभित्रका नारी र महिलामाथि महिलाले गर्ने दमन भने न कहिल्यै लेख्यौं नत सुन्न नै पाइन्छ । आज हामीले महिलाले महिलामाथि कतिसम्मको हिंसा र दमन गर्ने रहेछन त भन्ने बारे लेख्न खोजेका छौं । अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको इन्स्टिच्युटले जनाएको छ । संस्थाले सन् २०१७ मा गरेको अध्ययनले सो कुरा बताएको हो । उक्त अध्ययनले कार्यालयभित्र दुई तिहाइ ९३० प्रतिशत० महिलाले अन्य महिला कर्मचारीहरुद्धारा नै प्रताडित हुनुपरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यसैगरी, सन् २००६ मा भएको एक अध्ययनमा कार्यथलोमा शोषित भएका महिलाहरुमध्ये करिव ५७ ले आफ्नै महिला सहकर्मीहरुद्धारा शोषणको सामना गर्नुपरेको प्रतिक्रिया दिएका थिए । विभिन्न अध्ययनहरुले करिब ६० प्रतिशत पूरुष कर्मचारीहरु बुलिईङ्ग क्रियाकलापमा संलग्न भएको र उनीहरुको शिकार महिला कर्मचारी भएता पनि यस्ता क्रियाकलापमा संलग्न महिलाहरुको संख्या पनि कम नभएको र उनीहरुको प्रत्यक्ष शिकार आफूभन्दा तल्लो तह र तप्काका महिला सहकर्मीहरु नै हुने गरेको देखाएका छन् । ह्यासट्याग मि टू र ह्यासट्याग टाईम्स अप जस्ता अभियानले सामाजिक विकास तथा संसारभरका महिलालाई एकतावद्ध गराउने लहरको थालनी गरेको छ । त्यसो त विभिन्न पेशा, रोजगारी तथा कार्यक्षेत्रमा संलग्न महिला कर्मचारी तथा व्यवसायिक व्यक्तित्वहरुले पूरुष सहकर्मीबाट खेप्नुपरेको यौन हिंसा, अश्लिल छेडछाड तथा अन्य विविध स्वरुपका शोषणबारे खुलेर बोल्न थालेता पनि महिलाद्धारा महिला कर्मचारीहरुमाथि हुने शोषण र दमनबारे भने अझै मुख खोल्ने वातावरणको विकास भइसकेको छैन । हालसालै प्रकाशित एक जर्नलले त ७० प्रतिशत जति महिला अधिकृतहरुले कायस्थलमा अन्य महिला कर्मचारीहरुद्धारा कुनै न कुनै रुपमा शोषण, हिंसा, दमन तथा थिचोमिचो झेलिरहेको र सोहि कारण पीडित महिलाहरुले यथोचित रुपमा ‘प्रोफेसनल ग्रोथ’ हासिल गर्न नसकिरहेको डरलाग्दो तथ्य उजागर गरको छ । नरम र मिलनसार हुँदा अरुले हेप्ने र असक्षम देखिने सोचका कारण आफ्नो भावनात्मक बौद्धिकतालाई कम गरी टक्सिक महिलाहरुले अधिकरुपमा कठोर पूरुषको स्वभाव अनुशरण गर्दछन् । एक अध्ययनअनुसार कार्यालय वा संस्थामा मध्य तहसम्म पुगेका महिला अधिकृत तथा व्यवस्थापकहरु अझ माथिल्लो स्थानमा उक्लने लक्ष्य राख्दछन् र सोक्रममा उनीहरुले आफू अन्य महिला कर्मचारीहरुभन्दा कडा र सक्षम भएको प्रमाणित गर्न चाहन्छन् । उनीहरुले कर्पोरेट सिँढी चढ्न असफल अन्य महिला कर्मचारीहरु भन्दा आफूलाई गतिशिल, सफल र सर्वोच्च मान्न थाल्छन् । किन महिलाहरु एक अर्काको खेदो खन्छन् ? कार्यालयभित्र महिलाहरुले आफूजस्तै महिलाहरुको कारण त्रसित एवं असुरक्षित महसुस गरेका कारण उनीहरु एकअर्का बिरुद्ध खनिने गरेको अध्ययनहरुले देखाएका छन् । उनीहरुमा भएको सबैभन्दा ठूलो डर भनेको कतै मैले हासिल गर्न खोजेको कुर्सी वा पद अरु महिला कर्मचारीहरुले हात पार्ने त हैन भन्ने सोच हो । सबैजनासँगै मिलेर संस्थाको उद्देश्य हासिल गर्न तर्फ लाग्नुपर्नेमा टक्सिक महिलाहरु अरु महिलाहरुलाई प्रतिद्वन्दि मानी उनीहरु विरुद्धको काम थाल्दछन् । मनोविज्ञानको दृष्टिकोणबाट हेर्ने हो भने आफ्नो शक्तिको दुरुपयोग गरी अन्य महिला सहकर्मीहरुलाई प्रताडित गर्ने टक्सिक नेतृहरु शक्ति र सम्मान हासिल गर्ने आफ्नै मनोवैज्ञानिक युद्धमा तल्लीन हुन्छन् । उनीहरुका लागि अन्य महिलाहरुलाई माथि उठ्न दिनु भनेको आफू तल गिर्नु सरह हो । सबैभन्दा खतरनाक कुरा के हो भने जब महिलाहरुले आफूलाई अन्य महिला सहकर्मीहरुभन्दा नीच सोच्दछन् अथवा त्रसित महसुस गर्छन्, त्यस्तो अवस्थामा उनीहरुले जस्तोसुकै क्रुर र हानिकारक काम गर्न पनि पछि पर्दैनन् । अध्ययनहरुले धेरै नै संख्यामा र छिटोछिटो महिला कर्मचारीहरुले जागिर छाड्ने गरेको बहुसंख्यक कार्यालयहरुमा महिला नै निर्णायक वा प्रमुख तहको कर्मचारी भएको पाइएको देखाएका छन् । सामना गर्ने उपाय लैङ्गकिताको बाबजुत मनमा सबैप्रति सद्भाव र माया भएको व्यवस्थापकसँग सुरक्षित, सम्मानजनक, स्वस्थ र उत्साहजनक वातारणमा काम गर्न पाउने अधिकार सबैमा निहित हुन्छ । परिस्थिती झन् बिग्रने डरका कारण शोषण वा थिचोमिचोको शिकार भएका असंख्य पीडितहरुले आफ्नो अवस्थाबारे खुलेर कुरा गर्न सकिरहेका छैनन् । यस्तो मौनताले कार्यालयभित्रको बुलिईङ्गको संस्कारलाई झन् संस्थागत गर्न सघाउँदछ । यदि आफू अरु महिला कर्मचारीहरुका कारण अनावश्यक रुपमा समस्यामा परेको छु भन्ने लाग्छ भने सो अवस्थामा ‘सबैलाई यस्तै त हो नि’ भनेर सहेरै बस्नुभन्दा पनि आफूमाथि किन अन्याय भइरहेको छ भनेर सोधीखोजी गर्न थाल्नु पर्दछ । यदि यसका लागि तपाईं एक्लै तयार हुनुहुन्न भने पिडामा पारिएका अन्य सहकर्मीहरुसँग मिलेर समूहको गठन गर्न सक्नुहुन्छ जसले तपाईंहरुको आवाज बुलन्द गर्न र कार्यालयभित्र सुमधुर वातावरणको निर्माण गर्न पनि सहयोग गर्दछ । आफूमाथि किन शोषण भइरहेको छ भनेर बुझ्नु पनि फाइदाजनक हुन्छ । हुनत जुनसुकै बहानामा गरिएको भएता पनि बुलिईङ्ग पूर्णत गलत कार्य हो । तर, कहिलेकाही आफूले यथोचित कार्यसम्पादन गर्न नसकेको र सो कुरा सिधै नभनेर वा भन्न नसकेर कतै तपाईंको टक्सिक नेतृले तपाईंलाई बुलिईङ्ग गरिरहेकी त छैनन्, सो बुझ्न सक्नुभयो भने आफ्नो सम्पादनलाई सुधार गरी तपाईं शोषणबाट जोगिन पनि सक्नुहुन्छ ।

भारतले प्रतिबन्ध लगाएको औषधी बङ्लादेशबाट आयात गरिने, २ करोड ट्याबलेट प्यारा सिटामोल तत्कालै ल्याइने

काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले बङ्लादेशबाट औषधि आयात गर्ने भएको छ । नेपाल औषधी व्यवसायी संघले बङ्लादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउने तयारी थालेको छ । नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले नेपालमा औषधी अभाव हुन नदिन बङ्लादेशसगँ २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भइसकेको बताए । ‘भारतले औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि हामीले बङ्लादेशका औषधी उत्पादकहरुसगँ बसेर औषधी आयातको लागि सहमति गरिसकेका छौं, नेपालमा औषधीको कमि भएकाेमा हामीले बङ्लादेशबाट भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिहरु नै आयात गर्न सिकेन छऽ’ श्रेष्ठले भने । उपभोक्ताले आफुलाई चाहिनेभन्दा धेरै औषधी किनेर नराख्न समेत श्रेष्ठ आग्रह गरे । औषधी खाद्यान्न जस्तो नभएकाेले र यसकाे  डेट सकिए पछि प्रयोग गर्न नसकिने हनाले किनेर नराख्न आग्रह गरेका हुन् । भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्ससहित अन्य २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । कोरोनाविरुद्ध लडाईंको क्रममा आवश्यक पर्ने औषधी निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपालले आवश्यक अधिकांश औषधी भारतबाट आयात गर्दै आएको थियो । त्यसमा पनि भारतले दैनिक जीवनमा अत्यावश्यक औषधी र त्यसको कच्चा पदार्थ निर्यातसमेत बन्द गरेपछि त्यसको प्रत्यक्ष प्रभाव रोक्न बङ्लादेशबाट औषधी आयात गर्न लागिएको हो । भारतले केही एन्टिबायोटिक्स र भिटामिनहरू तथा प्यारासिटामोलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसैगरी भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२ र ती औषधि उत्पादनका लागि आवश्यक पर्ने रसायनको निर्यातमा समेत रोक लगाइएको छ ।

भारतीय येस बैंकका संस्थापक राना पक्राउ

मुम्बई । भारतको समस्याग्रस्त घोषणा गरिएको “येस बैंक”का संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेकाे हाे । जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेका थिए । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो । येस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ । अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो । भारतीय रिजर्भ बैंकले यस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ । मानिसहरु येस बैंकका एटिएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए । रिजर्भ बैंकको उद्दार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त “येस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । एसबिआईका अध्यक्ष रजनिश कुमारले यस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिए । यस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ । यस बैंकका एक हजारभन्दा बढी शाखा र एक हजार ८ सयभन्दा बढी एटिएम छन् । रासस