विकासन्युज

चिलिमेका तीन आयोजनाको विद्युत् खेर जाँदै, प्रसारण लाइन बनाउन ढिलाइ

काठमाडौं  । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएको छ । प्राधिकरणले ठेकेदार कम्पनीलाई काम गर्ने भए इमान्दार भएर गर्न, अन्यथा मार्ग प्रशस्त गर्नसमेत चेतावनी दिएको छ । प्राधिकरणले ठेकेदारकै कारण लामो समयसम्म परियोजनालाई समस्यामा पार्न नसकिने भन्दै कुनै पनि बाहानामा समस्या मात्रै थप्ने काम नगर्नसमेत भनेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जाने अवस्था आएको छ । समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले प्रसारण लाइन निर्माणस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरी समस्या समाधानको लागि के गर्नुपर्छ भन्ने विषयमा समेत जिज्ञासा राखेको छ । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका ती तीन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे–त्रिशूली २२० केभी क्षमताको प्रसारण लाइनमा जोडिन्छ । प्रसारण लाइन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको कार्यसम्पादन प्रभावकारी नभएका कारण समस्या देखिएको छ । सो प्रसारण लाइन निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले लिएको छ । तर ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीलाई ठेकेदार कम्पनीले आफूहरु तोकिएको समयमा नै आयोजनाको काम गर्न तयार रहो प्रतिबद्धता जनाएको छ । उसले रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण भइरहेको लाइनको कामलाई तीव्रता दिनसमेत सहमत भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशकद्वय हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति भएको छ । टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेँसीमा निर्माणाधीन त्रिशूली ३ बी हब सवस्टेशन, कार्यालय निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो प्राधिकरणले जनाएको छ । सहमतिअनुसार, ठेकेदार कम्पनीले यही फागुनभित्रमा प्रसारण लाइन निार्मणमा ४०० चिलिमे र त्रिशूली ३ बी हब सवस्टेशनमा ३८० कामदार परिचालन गर्ने प्रतिवद्धता जनाएको छ । ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेश भएका विलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुङ्ग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्ने भएका छन् । कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नुपर्ने बताउँदै तीन वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्न आग्रह गरेका छन् । “हालको गतिमा प्रसारण लाइन र सवस्टेशनको निर्माण सक्नै धेरै समय लाग्छ, ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् हेइन भने काम गर्न सकिन भनेर सहज बनाइदिनुस्”, कार्यकारी निर्देशक घिसिङले भने, “बिल भुक्तानीमा कुनै समस्या भए त्यो हामी समाधान गर्छौं ।” ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे र त्रिशूली ३ बी हब सवस्टेशनको पनि निर्माणको जिम्मा पाएको छ । प्रसारण लाइनमा पर्ने ७८ टावरमध्ये आठ वटाको जग हालिएको छ, ४० वटा जग हाल्न खनिएको छ भने बाँकीको जग हाल्न खन्ने काम भइरहेको छ । यस्तो टावर तथा कन्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भविक्रम शाहले जानकारी दिए । भौगोलिकरुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने भएकाले पनि समस्या पैदा भएको छ । आयोजनाले निर्माण सामग्री तथा उपकरण लैजानका लागि रोपवेसमेत बनाइएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म आठ किलोमिटर चार सर्किट प्रसारण लाइन निर्माण गर्ने छ । ठेक्का सम्झौताअनुसार, प्रसारण लाइनको काम यही फागुनमा सम्पन्न गर्नुपर्ने थियो । हाल ठेकेदार कम्पनीले आगामी भदौसम्म म्याद थपको माग गरेको छ । परामर्शदाताले भने असारसम्म मात्रै म्याद थप्न सिफारिस गरेको छ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६०० मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र सवस्टेशनको निर्माण भइरहेको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ ।

खल्लो बन्यो होली, ६० प्रतिशतले घट्यो व्यापार

काठमाडौं । यस वर्षको होली गत वर्षहरुको जस्तो उल्लास देखिएन । रङ्गको पर्वका रुपमा चिनिने होलीमा न रङ लगाएकका मानिसहरु देखिए नत ह्याप्पी होली लेखिएका टिसर्ट नै ।  विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण यो वर्षको होली खल्लो बनेको छ । कोरोना भाइरसकै कारण यो वर्षको होलीका सामानको व्यपारमा पनि ठूलै गिरावट आएको छ । उपत्यकालगायत देशभर उल्लासमय वातावरणमा होली मनाउने चलन रहे पनि यो वर्ष भने कोरोनाका भाइरसकै कारण केही शान्त देखिएको हो । सरकारले भीड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको रौनक खासै नदेखिएको हो । गत वर्षहरुमा होलीको दिनमा सडकमा होली खेल्ने मानिसको भिडले रंगमय देखिन्थे  तर यो वर्ष भने उपत्यका सुनसान देखियो । विश्वभर कोरोनाको संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन । यद्यपि वसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरूको सामान्य जमघट भने भएको छ । कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै सरकारले होली नखेल्न आग्रह गरेपछि होलीमा हुने ब्यापारीक कारोबारमा पनि कमी आएको हो । होलीका टिसर्ट र रङको व्यापार यस वर्ष करिब ६० प्रतिशतले घटेको बताइएकाे छ । गत वर्षको भन्दा यो वर्षको होलीमा ६० प्रतिशतले व्यापार कम भएको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए । उनले गत वर्षको भन्दा होलीको सामान व्यापारमा धेरै कमि आएको बताए । गत वर्षहरुमा खुद्रा पसलहरुबाट पनि होली रङको कारोबार हुने गरेकामा यस वर्ष खासै कारोबार नभएको उनको भनाइ छ । होली खेल्नुभन्दा पनि मानिसमा कोरोनाको त्रास बढी छ, त्यसैले व्यापार नभएको हो,सरकारले पनि भिडभाड नगर्नु भनेर निर्देशन दिएको छ, कोरोनाकै कारण व्यापारीलाई धेरै घाटा भएको छ,’ उनले भने । यस अघि सरकारले कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले भीडभाडमा होली नखेल्न र सतर्क रहन आग्रह गरेको थियो । गत शनिबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयले होलीमा विगतमा जस्तो भीडमाड नगर्न आग्रह गरेको थियो । भीडभाड तथा भेलाजम्मा हुने, लोलापानी फ्याँक्ने, शरिरमा रङ दल्ने कार्य समेत जोखिमपूर्ण हुने भएकाले विगतको जस्तै होली नखेल्न आग्रह गर्दै गृह मन्त्रालयको विज्ञप्तिमा जारी गरेको थियो । विश्व स्वास्थ संगठनले नेपाललाई समेत कोरोना भाइरसको उच्च जोखिममा राखेकाे छ । यसले पनि नागरिकमा त्रास बढ्दो छ । यस वर्ष रङ्ग र  टिसर्टको कारोबार कम भएको व्यवसायीहरु बताउँछन् । यो वर्ष रङ्गको मात्र ७५ प्रतिशत व्यापार घटेको व्यापारीहरु बताउँछन् । बागबजारका एक व्यापारीका अनुसार यस वर्षको होलीमा उनको व्यापारमा धेरै कमि आएको छ । ‘गत वर्ष धेरै टिसर्टहरु बिक्रि गर्थेँ, यो वर्ष १०/२० टिसर्ट पनि बिक्रि भएनन्, यो मेरो अहिलेसम्मको कम व्यापार भएको अनुभव हो,’ उनले भने ।  अघिल्ला वर्षहरुका होलीमा ३०/४० हजारभन्दा बढीको रंगको व्यापार गर्ने तर  यस वर्षको होलीमा एक/दुई हजारको व्यापार पनि नभएकाे उनकाे भनाइ छ ।

कोरोनाको त्राससँगै कतारवेजले ल्यायो नयाँ रणनीति

काठमाडौं । विश्वभर कोरोना भाइरस ( कोभिड १९)ले त्रास बढेसँगै कतारवेजले आफन ग्राहकहरुका लागि नयाँ रणनीतिहरु ल्याएको छ । नयाँ रणनीतिहरुमा ग्राहकहरुले अब आफुले बुक गरेको टिकट निशुल्क परिवर्तन गर्न सक्नेछन् । डोहा, कतार – कतार एयरवेजले ग्राहकहरूलाई उनीहरूको यात्रा योजना अनुकूल गर्न नयाँ व्यावसायिक नीति सुरू गरेको जनाएको छ । यात्रुहरुले जुन २० सम्मका लागि बुकिङ गरेका उडानहरु परिवर्तन गर्न सक्नेछन् । उनीहले प्रस्थान गर्नुभन्दा तीन दिनसम्म लागु हुने जनाइएको छ । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरले यात्रु र कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखी यो योजना ल्याएको बताएका छन् । कतार एयरक्राफ्ट केटरिंग कम्पनी (क्यूएसीसी) गत वर्ष विश्वको पहिलो संगठन हो । कतारवेजले ट्राभल भाउचर भविष्यको यात्राको लागि पुनः प्रयोग गर्न सकिने जनाइएकाे छ । यो भौचर जारी मितिबाट एक वर्षको लागि मान्य हुनेछ।  कतार राज्यको राष्ट्रिय वाहक कतार एयरवेजले २० भन्दा बढी यात्रा गर्ने ठाउँहरू सँगसँगै आफ्ना १६० भन्दा बढी व्यवसाय र मनोरन्जन स्थलहरूमा उडान गरिरहेकाे छ ।

१८ पेट्रोल पम्प हटाउन मन्त्रिपरिषदले गरेकाे निर्णय २ महिनासम्म पनि भएन कार्यान्वयन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई हटाउने निर्णय गरेको २ महिना विते पनि निर्णय कार्यान्वयनकाे प्रक्रिया अघि बढेकाे छैन । गत पुसमा मन्त्रिपरिषदको निर्णयले उपत्यकामा सञ्चालित ती पेट्रोल पम्पलाई हटाउने निर्णय गरेको थियो । उपत्यकाको सडकसँगै जोडिएका पेट्रोल पम्प सडक जाम गरेको र अव्यवस्थित भएकोभन्दै हटाउने निर्णय भएकाे थियो । निर्णय कार्यान्वयन गर्न नेपाल आयल निगम र सडक विभागलाई तत्कालै काम शुरू गर्न सरकारले निर्देशनसमेत दिएको थियो । नेपाल आयल निगमका प्रवक्ता बिरेन्द्रकुमार गोइतले निर्णय कार्यान्वयनकाे प्रक्रिया अघि बढेकाे दाबी गरे । सरकारले बन्द गर्ने निर्णय गरेका १८ वटा पेट्रोल पम्पलाई निगमले पत्र काटेकाे उनकाे भनाइ छ । ‘सडकसँगै जोडिएका पेट्रोल पम्पहरू सरकारले हटाउने निर्णय गरेकाे थियो, त्यही निर्णय अनुुसार निगमले काम गरिहरेको छ,’ गोइतल भने । गृह मन्त्रायको निर्देशनमा पेट्रोल पम्पहरू हटाउनका लागि प्रक्रिया थालिएको थियो । यसको काम अगाडि बढाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिएको २ महिना वितिसक्ता पनि काम भने भएको छैन। सरकारले पहिलो चरणमा कलंकीदेखि चापागाउँसम्मका १८ वटा पेट्रोल पम्प स्थान्तरण गराउने निर्णय गरेको हो । मूल सडक नै छेक्ने गरी निर्माण भएका ती पेट्रोल पम्पका कारण सडक जाम बढेको र जोखिम पनि बढेको निष्कर्षसहित सरकारले यस्ताे निर्णय लिएको हो । स्थानान्तरण गराउन लागिएका पेट्रोल पम्पहरू महाराजगञ्जको सीता, गैरीगाउँको भ्याली रिकेश, कोटेश्वरको कामाख्या, बौद्धकाे जुबी र बराल, जाउलाखेलको साझा, एचपी इन्टरनेसनल तथा चापागाउँका बज्रबाराही, बालकुमारी पेट्रोल पम्प र टिका भैरव डिजेल स्टोर रहेका छन् । यस्तै, कलंकीको बाबा, श्यामा र त्रिशुल पेट्रोल पम्प, बालाजुको कोतःधुकु, कालीमाटीको कनक, थापाथलीको जयन्ती र मायाराम भोलाराम पेट्रोल पम्पलाई पनि स्थानान्तरण गराउने निर्णय भएको छ । काठमाडौं उपत्यकामा घण्टौंसम्म ट्राफिक जाम हुने गरेको छ । सर्वसाधारणले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्दै आएको अवस्थामा सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकबाट निर्णय नै सडकसँगै जोडिएका पम्पहरुलाई हटाउने निर्णय गरेको थियो ।

कोरोनाको कारण एयरलाइन्स लगायत पर्यटन श्रमिक कटौती नगर्न यूनिट्राभको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्सलगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । ‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौती देखि बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन्,  हाम्रो यूनियन यूनिट्राभले यस विषयलाई नजिकबाट नियालीरहेको छ’, संगठनले विज्ञप्तिमा लेखेको छ । ‘सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिंजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघ संस्थाले सामाजिक शुरक्षा र श्रम ऐनले लागु गरेको व्यवस्था विपरित श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी भनाई आएको विषय हाम्रो संगठन यूनिट्राभलाई मान्य हुनेछैन ।’ संगठनले कर्मचारी कटौतीदेखि सेवा सुबिधा कटौती गर्नेलाई सचेत गराउँदै लेखेको छ, विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्नेछ भनी ध्यानाकर्षण गराउँदछौं । श्रमिक संगठनको नम्र निवेदनलाई मध्यनजर गर्दै कानूनी विषयमा धावा नबोल्न पनि हामी सबै कम्पनीमाथि सचेत गराउन चाहन्छौं । साथै सरकारले पनि श्रमिकका विषयलाई उच्च प्राथमिकताका साथ लेओस् भन्ने चाहन्छौं ।’ संगठनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुग्न गएको क्षतिप्रति भने दुःख व्यक्त गरेको छ ।

डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेपछि…

फाइल फोटो काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । उक्त कार चालक श्रेष्ठलेमादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । उनले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बढ्दैछ बीमा क्षेत्रमा महिला सहभागिता

काठमाडौं । बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारी गर्न सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा क्षेत्रमा महिना उपस्थिति बढ्दै गएको बताउँछन् । सरकारले ल्याएको नीति र बीमा क्षेत्रको विशेषताको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको पौडेलको भनाइ छ । ‘पछिल्लो समय नेपाल सरकाले महिलामैत्री नीति ल्याएको छ भने बीमा समिति तथा कम्पनीहरुले यसको प्रभावकारी कार्यान्वयनमा कदम चालेका छन्, बीमा कम्पनीहरुले महिलालाई रोजगारी दिनेदेखि महत्वपूर्ण जिम्मेवारी दिने गरको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको हो,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । तर, बीमा क्षेत्रमा कति महिला कार्यरत छन् भन्ने यकिन तथ्यांक भने छैन । बीमा समिति तथा विभिन्न कम्पनीहरुमा महिलाको उल्लेख्य सहभागिता भएपनि एकीकृत तथ्यांक नभएको कारण यति नै संख्या छ भनेर किटान गर्न नसकिने सरोकारवाला बताउँछन् । छैनन् महिला सिइओ बीमा क्षेत्रमा महिना सहभागिता उल्लेख्य भएपनि व्यवस्थापनको नेतृत्व तहमा महिला छैनन् । अहिले संचालनमा ४० वटा बीमा कम्पनी भएपनि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महिला नभएको समितिको भनाइ छ । तर, बीमा कम्पनीका शाखा प्रमुखको रुपमा भने महिलाको उपस्थिति उल्लेख्य छ । निजी कम्पनीमा उल्लेख्य महिला सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डेले बीमा क्षेत्रमा महिला सहभागिता राम्रो रहेको जानकारी दिए । सो कम्पनीमा कुल कर्मचारीको ३८ प्रशित महिला रहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ छ । बीमा क्षेत्रमा बीमा समिति, बीमा कम्पनी, सर्भेयर, अभिकर्ताको रुपमा रोजगारी गर्ने अवसर हुन्छ । हाल उक्त रोजगारीहरुमा आकर्षण बढ्ने क्रममा छ । बीमा कम्पनीहरुले महिलामैत्री वातावरणमा काम गर्दै आएकाले यस क्षेत्रमा काम गर्ने महिला बढेको जानकारहरु बताउँछन् । पछिल्लो समय बीमाको पहुँच बढ्दो क्रममा छ । बीमा समितिका अनुसार उक्त वृद्धी सम्भव भएसँगै बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा समेत वृद्धी हुँदैछ । यस्तो कर्मचारी वृद्धीसँग महिला कर्मचारीहरु जोडिने बीमा समितिले जानकारी दिएको छ ।

ईनर व्हील क्लबद्धारा निशुल्क पाठेघरको मुख परीक्षण सम्पन्न

काठमाडौं । ईनर व्हील क्लब कीर्तिपुरले निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण क्याम्प सम्पन्न गरेको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ईनर व्हील क्लब कीर्तिपुरले सौगात मोन्टेश्वरी स्कुल र बुद्ध माई सर्जरी सेन्टरको संयोजकतामा परीक्षण क्याम्प सम्पन्न गरेको हो । क्याम्पमा पाठेघरको मुखको परिक्षणको साथै स्तन परीक्षण र चिनी रोग परीक्षण निशुल्क गरिएको थियो । कलंकीको सौगात मोन्टेश्वरीको आगनमा गरिएको क्याम्पमा सयभन्दा बढि महिलाहरुले परीक्षण गराएक थिए । महिलामा सबैभन्दा बढि समस्या देखिने स्थान उसको पाठेघरको मुख र स्तन हो । वर्षिनी हजारौं महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका शिकार हुने गरेका छन् । क्लबले समयसमयमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।