विकासन्युज

महिला सशक्तिकरणमा कोका–कोला नेपालको सम्माननीय कदम

काठमाडौं । जब तपाईं एक महिलालाई सशक्तिकरण गर्नुहुन्छ तब तपाईंले राष्ट्रलाई सशक्तिकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरुले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ । कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तिकरणमा केन्द्रित रहेको छ । यस कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेडले आफ्नो ग्लोबल पहल ५बाइ२० को हिस्साको रुपमा शप्कीपर ट्रेनिगं एण्ड रिसोर्स “स्टार” कार्यक्रम संचालन गर्दै आएको छ ,जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनु हो । यस कार्यक्रमको उद्देश्य नेपाली खुद्रा विक्रेताहरुलाई खुद्रा व्यवसायको ४ मुख्य क्षेत्रमाः पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरु प्रदान गर्नु हो । बोटलर्स नेपालको सार्वजनिक मामिला संचार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले आजका मितिसम्म १५ शहर र नेपालका धेरै साना शहरहरुमा यो कार्यक्रम मार्फत ५हजार भन्दा बढि महिला खुद्रा विक्रेताहरुलाई प्रशिक्षण दिइसकेको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले नेपालमा अधिकांश खुद्रा विक्रेताहरु महिला रहेको र विशेष गरी ग्रामीण क्षेत्रका यी महिलाहरुमा आधारभूत खुद्रा विक्रेता र व्यवसायिक सीपको अभाव भएको बताए । साथै, ५बाइ२० कार्यक्रममार्फत हामीले खुद्रा विक्रेताहरुले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरु हटाउन सहयोग र समर्थन गर्ने लक्ष्य राखी कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गरेको प्रबन्ध निर्देशक पाण्डेले बताएका छन् । यसैगरी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ५० लाख महिलाहरुलाई सशक्त बनाउने जसले महिलाहरु र समुदायको जीवन परिवर्तन गर्न विश्वव्यापी मुद्दाहरुमा गहिरो र दिगो प्रभाव पार्न सहयोग पुर्याउने बताए ।

कोरोना त्रासले स्टक मार्केटमा सर्किट ब्रेक, डेढ घण्टामा दुई पटक बजार बन्द

काठमाडौं । कोरोना त्रासका कारण सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो । २० मिनेट कारोबार बन्द गरी खुलेको बजारमा १० मिनेटमा नै ५ प्रतिशतको गिरावट आएपछि १२ः३० मा दोस्रो पटकका लागि सर्किट ब्रेक भएको छ । लगातार चार दिन बन्द पछि मंगलबार खुलेको बजारमा पहिलो एक घण्टामा नै नेप्से परिसूचक ५७.३६ अंकले गिरावट आएको छ । १२ः ३० हुँदा नेप्से ७२ अंकले घटेको छ । सबै समूहका परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६१० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ३१२ अंकले घटेको छ ।  मूल्य घटे पनि मध्यान्न १२ः३० बजे अघि नै ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कोरोना भाइस संक्रमणले महामारीको रुप लिएपछि विश्व बजारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ । नेपालमा संक्रमणले ठूलो रुप लिएको त छैन, तर लगानीकर्तामा निकै त्रास देखिएको छ ।

काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् । यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ वर्ष मुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको हो । मकवानपुर, दाङ र प्यूठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउण्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ । बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्पर्क गरी बालकलाई आधिकारिक रुपमा हस्तान्तरण गरिने जानकारी दिएका छन् । बालबालिकाको अधिकार, संरक्षण र शिक्षाको क्षेत्रमा क्रियाशील हुँदै आएको उक्त संस्थाले करिब २० वर्षदेखि नेपालको बालबालिकामाथि हुने श्रम शोषणका समाचार तथा सूचनाका आधारमा उनीहरुको उद्धार गर्दै आएको छ । संस्थाले सरकारी कार्यालयका साथै विभिन्न बाल अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, स्थानीय, सरोकार निकायसँग समन्वय गरी उद्धार, स्याहार तथा जनचेतनाको कार्य गर्दै आएको प्रमुख भट्टराईले जानकारी दिएका छन् । रासस

काेराेना त्रास: नेपालमा उत्पादन नहुने उपभोग्य वस्तुको मौज्दात कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण क्रम बढ्दै गएकाे छ । यसले नेपालकाे समग्र अर्थ व्यवस्थामा पनि  प्रभाव विस्तार गर्दैछ । विश्वले नै स्वास्थ्यमा चुनौती भोगिरहेकाे बेला उपभोग्य वस्तुको मौज्दातको पनि कुरा उठन थालेको छ । बजारमा व्यापारीले ग्यासलगायतका उपभोग्य वस्तुको कृतिम अभाव सुरु गरिसकेका छन् । यसले पनि सेवाग्राहीमा चर्काे मूल्य तिर्नु पर्ने बाध्यता बढाइरहेको छ । कोरोनाकाे संक्रमण फैलिएपछि छिमेकी देश चीनले व्यापारिक नाका बन्द गरिसकेकाे छ । अर्काे छिमेकी देश भारतमा पनि कोरोना संक्रमण फैलँदो क्रममा छ । चीनले जस्तै भारतले पनि संक्रमण रोक्नका लागि नाका बन्द गर्यो भने नेपालमा दैनिक उपभोग्य सामग्रीको अभाव हुने क्रम बढ्ने छ  । त्यसैले पनि अहिले  उपभोक्ताहरु उपभोग्य वस्तुको संकलनमा लागेका छन् । उपभोग्ताहरु एलपी ग्यास, नुन, तेल, चामलजस्ता उपभोग्य वस्तु संकलन गर्न लागिपरेका छन् । सरकारले भने बजारमा प्रशस्त खाद्यान्न र ग्यास मौज्दात रहेकाले उपभोक्ताले अतिरिक्त भण्डारण नगर्न आाग्रह गरिरहेको छ । नेपालसँग मौज्दात उपभाेग्य वस्तु कति छ त  ? नुन नेपालमा नुनको आयात तथा विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी १० महिनासम्मलाई पुग्ने नुन मौज्दात रहेको बताएको छ । सरकारको नीति निर्देशन अनुसार कम्पनीले करीब ६ महिनालाई पुग्ने नुनको मौज्दात राख्नु पर्छ । कम्पनीका अनुसार हाल एक लाख ३६ हजार मेट्रिक टन नुन मौज्दात छ । हाल नेपालमा दैनिक साढे ५०० मेट्रिक टन नुन खपत हुँदै आएको छ । यस्तै, नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुनको माग रहेको कर्पोरेशनले बताउ छ । डिजेल र पेट्रोल नेपाल आयल निगमले कोरोनाको संक्रमण बढ्दै गएपछि डिजेल र पेट्रोलको आयातमा समस्या नदेखिएको बताएको छ । अरु समयमा जस्तै सामान्य रूपमै इन्धनको आयात भइरहेको निगमको भनाइ छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भण्डारण क्षमता ६८ हजार ३६४ किलो लिटर रहेकाे बताए । जसले नेपालको ९ दिनसम्मको माग धान्न सक्छ । नेपालमा दैनिक रूपमा १५ सय देखि दुई हजार किलो लिटर पेट्रोल खपत हुँदै आएको छ । डिजेलको दैनिक माग ४ हजार किलो लिटर माग रहेको छ । डिजेल र पेट्रोलको तुलनामा नेपाली बजारमा मट्टितेलको माग खासै छैन । यसका साथै, हवाई इन्धनको माग दैनिक अधिकतम एक हजार किलो लिटरसम्म माग रहेको आयल निगमले जानकारी दिएको छ । चिनी साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार उद्योगहरूमा एक लाख एक हजार मेट्रिक टन चिनी मौज्दात छ । कर्पोरेशनसँग दुई हजार ५ सय मेट्रिक टन मौज्दात र ७५ हजार मेट्रिक टन चिनी बाटोमा छ । चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार तीन महीनालाई पुग्ने चामल मौज्दात छ । कम्पनीले दुर्गम तथा हिमाली जिल्लामा मात्रै ४ हजार १६ मेट्रिक टन चामल मौज्दात रहेको जानकारी दिएको छ । अहिले नेपालको दैनिक माग २८५ मेट्रिक टन छ । जसअनुसार मासिक ८ हजार ५५० मेट्रिक टन माग हुन आउँछ । एलपी ग्यास नेपाल आयल निगमले एलपी ग्याँस आयातकर्तालाई थप ग्यास ल्याउन अनुमति दिएको छ । सामान्य अवस्थामा नेपालमा मासिक ३८ हजार किलो लिटर एलपी ग्यास खपत हुन्छ । तर, कोरोनाको संक्रमण बढ्दै गएपछि सर्वसाधारणले कम्तीमा पनि चार/पाँच महीनालाई मौज्दात राख्न थालेका छन् । अहिलेकै अवस्थामा आयात ठप्प भएमा नेपाली ग्यास उद्योगी र व्यवसायीहरूसँग एक हप्तालाई पुग्ने ग्याँस भण्डारण छ ।

गोरखाकाे सौरपानीमा जिप दुर्घटना हुँदा ११ घाइते, चार जनाको अवस्था गम्भीर

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्ब सौरपानीमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको हाे । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । जिप सडकबाट झण्डै ५० मिटर पछाडि खसेको गुरुङले बताए । “घाइतेमध्ये दुई जनाको दातसमेत झरेको अवस्था छ, घटनालगत्तै प्रहरीसमेत घटनास्थलमा आइपुगिसकेको छ”, उनले भने। दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, सोही ठाउँकी ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते छन् । अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले जानकारी दिए । घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको उनले बताए । घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ । घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । गत बुधबार मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई आज शिक्षण अस्पतालले डिस्चार्ज गर्ने भएको छ । यसका लागि अस्पतालले दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको छ । ओलीको पिसाब बाहिर निकाल्न प्रयोग गरिएको क्याथेटर सोमबार निकालिएको हो भने पेटमा राखिएको ड्रेन पाइप मंगलबार निकालिएको छ । मृगौला प्रत्यारोपण गरेका व्यक्तिलाई सामान्यतया पाँच दिनमा डिस्चार्ज गर्न मिल्छ । तर, उनलाई संक्रमण नहोस् भनेर थप दुई दिन राखेको र चिकित्सकहरुले बाहिरी मान्छेलाई भेट्न नदिएको बताएका छन् । ओलीलाई मृगौला दान दिने भान्जी समिक्षा संग्रौला ज्ञवालीको पनि स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली र भान्जीलाई एकैपटक आज(मंगलबार) डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

७५ लाख चेक बाउन्स मुद्दामा फरार भेटवालले गरे आत्मसमर्पण

काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् ।उनले मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् । उनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत हुन् । भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए । प्रहरीले उनलाई खोजीरहेको थियो । मंगलबार बिहान उनी भारतबाट त्रिवि एयरपोर्ट हुदै प्रहरी परिसर टेकुआएका हुन् । प्रहरीका अनुसार भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्यादथप्ने तयारी भइरहेको छ ।

सुनको मूल्य इतिहासकै महँगो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको इतिहासकै उच्च भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सूनको अहिलेसम्मकै महँगो मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।