विकासन्युज

डा. भगवान कोइरालाकाे याेजना: साढे दुई अर्ब लगानीमा सातै प्रदेशमा बाल अस्पताल

काठमाडौं । नेल्सन मण्डेलाले भनेका छन्– ‘समाजले मुल्यांकन उसले आफ्नो बच्चालाई कसरी हेरचाह गर्छ भन्ने कुराले चरितार्थ गर्दछ ।’ यसले पनि बुझ्न सकिन्छ कि समाजले अथवा अभिभावकले बच्चालाई कत्तिको र कसरी हेरचाह गर्नु पर्छ भनेर । यही भनाइलाई आत्मसाथ गर्दै नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोईरालाले देशभरका सात प्रदेशमा बाल अस्पताल निर्माणमा जुटेका छन् । उनी हाल १८ वर्षभन्दा मुनिका बालबालिकाको लागि गैर–नाफामुलक बाल अस्पताल निर्माणमा जुटेका हुन् । लामो समय नेपालको चिकित्सा क्षेत्रमा काम गरेका कोइराला देशका बालबालिमा हुने विभिन्न रोग तथा समस्याहरुलाई मध्यनजर गर्दै बाल अस्पताल निर्माणमा जुटेका हुन् । उनी काठमाडौं ईन्स्टिच्युट अफ चाईल्ड हेल्थमार्फत अस्पताल निर्माणमा लागेका हुन्। बालबालिकाको स्वास्थ्य सेवा क्षेत्र पहुँचयोग्य, सस्तो र भरपर्दा बनाउनको लागि आफुहरुले यो कदम लिएको डा. कोईराला बताउँछन् । ‘अहिले कुनै बालबालिका अचानक गम्भीर बिरामी भयो भने उसलाई कहाँ लैजाने भन्ने विषय अलमलको विषय हो,कान्ति बाल अस्पतालले पनि राम्रो सेवा दिइरहेको छ तर पनि त्यहाँ चापको कारणले हामीले चाहेको जस्तो सबै सेवा उपल्बध हुुन्छ भन्ने हामी विश्वस्त हुन सक्दैनौं’, उनले भने । यी विभिन्न विषयलाई मध्येनजर गर्दै बालबालिकालाई मात्र केन्द्रित गरेर आफुहरु अस्पताल निर्माण गर्न अघि बढेको उनको भनाइ छ । उनले निर्माण गर्न लागिएको अस्पतालले मूख्यतः पाँचवटा सिद्धान्तह लिएको बताउँदै पैसाको कारणले कुनै पनि १८ वर्ष भन्दा मुनिका बालबालिकालाई उपचारमा तल माथि नपर्ने गरी अस्पतालले सुनिश्चितता गर्ने बताए । उनले सातै प्रदेशमा अस्पताल निर्माण गरी उपचारमा सरलता उपल्बधता, पहुँच र सर्वसुलभता कायम गर्ने बताए । उनले पहिलो चरणमा काठमाडौंमा अस्पताल निर्माण गर्ने बताए । काठमाडौंमा निमार्ण हुने अस्पतालका लागि ६० करोड रुपैयाँ आवश्यक भएको उनको भनाइ छ । दोस्रो चरणमा काठमाडौंको अस्पतालमा थप विशेषज्ञता सेवाहरु थप्ने उनले बताए । अस्पतालले तेस्रो चरणमा सातै प्रदेशमा स्याटलाईट अस्पतालको निमार्ण गरी काठमाडौंलाई हब अस्पतालको रुपमा कार्य अगाडि बढाउने रणनीति रहेको छ । हाल बाल अस्पताल निर्माणको पहिलो चरणमा छ । पहिलो चरणमा अस्पतालले काडियोथोरीक केयर अन्तगर्त मुटु र फोक्सोको सर्जरी तथा प्रत्यारोपण गरेका बालबालिकाहरुलाई उपचार गरिने बताइएको छ । त्यस्तै, अस्पतालले ओन्कोलोजी अन्तगर्त बाल क्यान्सरको उपचार तथा सर्जरी गरिने र बालबालिकाको हेरचाह पनि गर्ने बताइएको छ । हरेक वर्ष नेपालामा प्रत्येक १० हजार बालबालिकामा १ देखि १ं.५ प्रतिशतमा क्यान्सर देखिने गरेको छ । यसमा ११ सय देखि १६ सय नयाँ केस रहेको बताइन्छ । अस्पतालले बालबालिकाको मानसिक स्वास्थ्य अन्तगर्त मनोचिकित्सा सेवा उपल्ब्ध गराई थेरापी र काउन्सिलिङको व्यवस्था गर्नेछ । सन् २०१२ को अनुमानित डाटा अनुसार १६ देखि २९ वर्षका मानिसहरुमा आत्माहत्याको दर प्रत्येक १ लाखमा २५ं.८ जना रहेको छ । यस्ता विधि सेवाहरु दिई अस्पताललाई अगाडि बढाउने उनको योजना छ । काठमाडौंमा पहिलो चरणको अस्पतालको भवन निमार्णमा ६० करोड लाग्ने डा. कोईरालाले बताएका छन् । हालसम्म अस्पतालका उपकरणहरुको लागि विदेशी संस्थाहरुसँग कुरा भइसकेको कोइरालाले बताए । यस बाहेक सातै प्रदेशमा अस्पताल निर्माण गर्न २ अर्ब लाग्ने उनले बताए । एक प्रदेशमा अस्पताल निर्माण गर्न ३० करोड रुपैयाँ आवश्यक रहेको उनको भनाइ छ । हालसम्म पाएको सहयोग डा. कोइरालाले हालसम्म १ करोड रुपैया जम्मा भइसकेको बताएका छन् । उनले बाल अस्पताल निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग आउने प्रक्रिया रहेको बताए । यस्तै, हालसम्म सवा १ करोड सहयोगका लागि लिखित भइसकेको बताए । सहयोगका लागि कूराकानी करिब ७ करोडसमम् भइसकेको बताए । यस्तै भौतिक सहयोग अन्तर्गत नेपाल सरकारले ४० रोपनी जग्गा भाडामा दिएको छ । पोखरा महानगरपालिकाले पनि ३० वर्षको लागि निशुल्क दुई तल्ले भवन र ३७ सय रोपनी जग्गा सहयोग गरेको छ । डा. कोइरालाले सन् २०२२ को अन्त्यसम्म अस्पताल निर्माण कार्य सक्ने बताए । आफुसँग अन्य अस्पतालको अनुभव रहेकोले सकेसम्म सबै काम समयमा नै हुने उनको दाबी छ । ४० रोपनीमा काठमाडौंमा निर्माण हुने अस्पताल एक सय शैयाको हुनेछ भने प्रदेशका अस्पताल ५० शैयाका हुनेछन् । नेपालमा १८ वर्ष भन्दा मुनिका बालबालिकाको संख्या सवा करोड रहेको छ । यो कुल जनसंख्याको ४० प्रतिशत हो । सन्ं २०१८ को डाटा अनुसार नेपालको हालको जनसंख्या करिब २ करोडभन्दा बढी छ । जसको २५ प्रतिशत गरिबीको रेखामुनि रहेको छ । नेपालमा बालबालिकाको लागि एक मात्र अस्पताल रहेको छ जुसको क्षमता ३ सय ३० बेड रहेको छ । को हुन् डा. भगवान कोइराला ? डा. भगवान कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ ग (हार्ट सर्जन) हुन् । उनी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत हुन् । नेपालमा मुटुरोगको उपचारको क्षेत्रमा डा. कोइरालाले उल्लेख्य योगदान गरेका छन् । चिकित्सकिय अभ्यासका क्रममा उनले हजारौं मुटुरोगीलाई नयाँ जीवन दिएका छन् । सहिद गंगलाल अस्पताललाई उचाईमा पुर्याउने उनको विशेष भूमिका छ । मुटुरोगको कूरा आउँदा डा. कोइरालाको नाम पनि सँगै जोडिएर आउँछ । बालबालिकाको स्वास्थ्यमा काम गर्ने भनेर नै आफु २१ वर्षअघि अमेरिकामा विशेष कोर्ष अध्ययनका लागि गएको समेत उनले सुनाए ।

ललितपुर र काभ्रेका ८२ हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइँदै

ललितपुर । ललितपुरका ५० हजार भन्दा बढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिए । उनले भने, “नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा – रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो ।” अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ शुरु गरिएको छ । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पुर्याउन अनुरोध गरे । उनले भने, “मुलुकमा बढ्दै गएको कोरोनाको सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्काे जिम्मेवारी थपिएको छ ।” गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाव दिए । काभ्रेका ३२ हजार बालबालिकालाई खोप लगाइँदै यसैगरी,  दादुरा–रुवेला खोप अभियानअन्तर्गतका काभ्रेका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले शनिबार धुलिखेल नगरपालिकास्थित २८ किलोमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरेका हुन् । जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र चार गाउँपालिका तथा दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बाँकी स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना सो कार्यालयको रहेको छ । यहाँ छ नपा र सात गाउँपालिका छन् । प्रचारप्रसार तथा आफ्ना छोराछोरीलाई दादुरा–रुवेलाविरुद्ध खोप लगाउन अनुरोध गर्दै अभिभावकलाई निमन्त्रणापत्र पठाइएको उनले बताए । प्रमुख डा. झाले भने, “अन्तरराष्ट्रियरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ, हामीले भरपुर प्रचारप्रसार र निमन्त्रणा गरिसक्यौँ ।” उनका अनुसार जिल्लाको ९६२ खोप केन्द्रमा एक हजार ९२४ स्वस्थ्य सेवक तथा एक हजार ८७ खोप कार्यकर्ता परिचालन गरिएको छ । ‘नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ’ भन्ने मूल नारासहित “नौदेखि ५९ महिनासम्मका सबै बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउनुहुन सादर अनुरोध गर्दछौँ”, व्यहोराको निम्तापत्र अभिभावकसमक्ष पठाइएको हो । सम्बन्धित स्थानीय तहका प्रमुख, स्वास्थ्य संस्था प्रमुखले सम्बोधन गरिएको निमन्त्रणापत्र स्वास्थ्य स्वयंसेविकामार्फत सबै बालबालिकाको अभिभावकलाई पठाइएको हो । सन् २०१६ मा सञ्चालित दादुराविरुद्धको खोप अभियानमा जिल्लाका करिब २४ प्रतिशत बालबालिका छुटेकाले यसपटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले घरघरमा निम्तापत्र पठाइएको प्रमुख डा झाले जानकारी दिए । उनले भने, “बालबालिका तथा अभिभावकलाई सजिलो होस् भन्ने उद्देश्यले सबै बस्तीको पायक पर्ने स्थानमा खोप केन्द्र राखिएका छन् ।” यस जिल्लालाई दुई वर्षअघि नै ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिसकिएको छ । वडा क्षेत्रका सम्पूर्ण बालबालिकाले सो खोप लगाएको प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । “यसपालि कुनै बालबालिका खोपबाट छुटेको भए, त्यसको सम्पूर्ण जिम्मेवारी वडाध्यक्षले लिनुर्नेछ”, उनले भने। ९५ प्रतिशतभन्दा माथिको सङ्ख्यामा बालबालिकाले खोप लिएको भए त्यसलाई ‘पूर्ण खोप’ मानिने नीति छ । सरकारले दादुरा–रुवेला खोप अभियानअन्तर्गत पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश नं १, २ र ५ मा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप दिएको थियो । अभियानको दोस्रो चरणअन्तर्गत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने तयारी गरिएको हो । साथै यस अभियानअन्तर्गत नै झापादेखि कञ्चनपुरसम्मका १६ जिल्लामा भने सब बालबालिकालाई दादुरा–रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाउने सरकारको योजना छ । खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने ठूलो औजारका रूपमा लिइएको छ । बालबालिकामा अङ्गभङ्गता तथा अकालमै हुने मृत्युबाट बचाउने उद्देश्यले दादुरा–रुवेला खोप अभियान थालिएको हो । यो खोप सन् २००४ बाट हरेका चार वर्षमा अभियानकै रूपमा सञ्चालन गरिँदै आइएको छ । रासस

कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुगेका उनले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने उक्त स्थानका लागि साेसम्बन्धी कुराकाे  निर्देश गरेका हुन् । जनशक्ति व्यवस्थापन र आवश्यक संरचना तत्काल तयार गर्न सामाजिक विकास मन्त्रलाय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही र जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी)लाई निर्देशन दिएका छन् । “यात्रुलाई कोरोनासम्बन्धी जाँच गर्न चाहिने जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न र कुनै समस्या देखिए बिरामीलाई केही समय आराम गर्ने विश्रामकक्ष समेत चाँडो निर्माण गर्न निर्देशन दिँदै मुख्यमन्त्री भट्टले भने, “बबई मूल प्रवेशद्वार भएकाले यहाँ आउने यात्रुलाई राम्रोसँग जाँच गरेर मात्र कर्णाली प्रदेश प्रवेश गर्ने वातावरण बनाउनुस् । महिला तथा पुरुष यात्रुलाई छट्टाछुट्टै लाइनमा लागेर जाँच गर्ने व्यवस्था मिलाएर सहजता प्रदान गर्नुस् ।” उनले कोरोना जाँचका लागि प्रहरी बिट सरकारले तत्काल निर्माण गर्ने बताए । सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्यको आवश्यक संरचना र जनशक्तिका लागि चाहिने आवश्यक बजेट व्यवस्थापन तत्काल गर्ने बताउनुभयो । प्रदेश अस्पतालमा आइसोलेशन र क्वारेन्टाइन कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना भाइरसको सङ्क्रमण देखिएमा आइसोलेशन र क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ । शनिबार मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलसहित सरोकारवालाले गरेको निरीक्षण तथा अनुगमनका क्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा डम्बर खड्काले आइसोलेशन र क्वारेन्टाइन दुवै तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “हामीले यदि कोरोनाको सङ्क्रमण देखिएमा २५ आइसोलेशन कक्ष र १०० जना क्षमताका लागि क्वारेन्टाइन कक्षा तयार गरेका छौँ”, प्राडा खड्काले भने, “त्यस्तो जटिल परिस्थिति आइपरे पनि सामना गर्ने क्षमता निर्माण गरेका छौँ ।” मुख्यमन्त्री शाहीले कोरोनाविरुद्ध गर्ने प्राविधिक तयारी पूर्णरूपले गर्न अस्पताल परिवारसँग आग्रह गर्दै आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिए । सामाजिक विकासमन्त्री रावलले मन्त्रालयले कोराना सङ्क्रमण समस्या समधानका लागि रु ५० लाख छुट्याएको बताएका छन् । अस्पतालमा क्वारेन्टाइन जाँचका लागि ११ कार्डियाक मनिटर राखिसकिएको र तत्काल १५० श्यया राख्ने तयारी गरिएको छ । रासस

हिमेश पन्त बने पहिलो नेपाली कमेडी च्याम्पियन, हात पारे २५ लाख रूपैयाँ नगद र एक कार

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।  विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्। उनले २५ लाख रूपैयाँ नगद र एक कार हात पारेका छन् ।

ग्यास आयातको परिमाण बढाइयो, एक सातामा सहज हुने

काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं उपभोक्ताको रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्कनुभएको छ । विपद्को समयमा उपभोग्य वस्तुको अभाव देखाएर उपभोक्ता ठग्ने प्रवृत्ति बढ्न नदिन मन्त्री भट्टले गरेको प्रयासलाई लिएर सर्वत्र सकारात्मक टिप्पणी भइरहेको छ । उनले वाणिज्य सचिव डा बैकुण्ठ अर्याल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसहितको टोलीलाई लिएर बजार अनुगमनमा निस्किएका थिए। उनले फागुन अन्तिम सातादेखि नै राजधानी काठमाडौँको विभिन्न स्थानको स्थलगत अनुगमन गरी उपभोक्ता तथा बिक्रेताको समस्या तथा बजारमा उपभोग्य वस्तुको अवस्थाबारे जानकारी लिए । कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको भन्दै मनोवैज्ञानिक त्रास बढेपछि आपूर्ति व्यवस्थामा कुनै पनि समस्या नरहेको जानकारी दिने लक्ष्यसहित आफूहरु बजार अनुगमनमा परिचालित भएको मन्त्री भट्टको भनाइ छ । बजारलाई सन्तुलित बनाउन राज्यका तर्फबाट चाल्नुपर्ने र गर्ने सबै उपाय अपनाउने लक्ष्यसहित लागि परेको उनको भनाइ छ । यद्यपि, बजारमा सामान्य अवस्थामा २० रुपैयाँमा पाइने नुन व्यापारीले मूल्यवृद्धि गरी प्रतिप्याकेट २५ देखि ३० लिएको पाइएको छ । सरकारले उपभोक्तालाई आपूर्ति प्रणालीमा कुनै समस्या अनाएकाले नआत्तिन र अनावश्यकरुपमा भण्डारण नगर्नसमेत आग्रह गरिरहेको छ । बजारमा इन्धनको अभाव नहोस् भनेर सरकारले नेपाल आयल निगमलाई मागअनुसार नै पेट्रोलियम पदार्थको आयात गर्न सहजीकरण गरिरहेको छ । सरकारले एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नहुने दोहो¥याइरहँदा अनावश्यक मौज्दात राख्ने उपभोक्ताको चाहनाले ग्यासको उपलब्धतामा केही समस्या देखिएको छ । पछिल्ला केही दिनयता निगमले बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि गरेको छ । ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिक टन पुर्याएको छ । अहिले एलपी ग्यासको औषत मासिक खपत ३८ हजार मेट्रिक टन रहेको छ । राजधानी काठमाडौँमा बढी गुणस्तरीय मानिएको नेपाल ग्यासमा भने बढी दबाब परेको छ । सहज रुपमा पाइने भएकाले पनि नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको हो । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारी कोरोना भाइरसका कारण ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले घरघरमा भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताए । “ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ”, उनले भने, “एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।” नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको छ । अहिले सोही परिमाणमा ग्यासको आयात भइरहेको छ । फागु पूर्णिमाका कारण नेपाल र भारतका भन्सार लगातार पाँच दिन बन्द हुँदा ग्यास बुलेट भन्सार पास हुन नसक्दा केही अभावजस्तो देखिएको अध्ययक्ष भण्डारीको भनाइ छ । “होली पर्वको आसपासमा नेपालमा तीन दिन सार्वजनिक बिदा र भारतमा दुई दिन सार्वजनिक बिदा हुँदा भन्सार जाँचपास हुन नसक्दा समस्या भएको हो”, उनले भने । नेपालमा हाल विभिन्न ५८ ग्यास उद्योग छन् । ग्यासको आयात बढाएका छौं : निगम नेपाल आयल निगमले बजारको माग नुसार नै पर्याप्त ग्यासको आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए । उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए । “हामीले उद्योगीलाई भनेका छौँ, माग अनुसारको ग्यास ल्याउनुहोस्”, उनले भने, “उद्योगीको माग अनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ ।” पछिल्ला चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन् । यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन् । यस्तै फागुन २९ र ३० गते वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल आएका निगमले जनाएको छ । दुई दिनमा काठमाडौँ उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका छन् । नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो । एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ । रासस

डिशहोमको प्रायोजनमा रियालिटी शो ‘सुनौलो तारा’

काठमाडौं । प्रत्येक हप्ताको शुक्रबार र शनिवार एक फरक रियालिटी शो ‘सुनौलो तारा’ प्रशारण हुने भएको छ । डिशहोमकाे प्रायाेजनमा उक्त कार्यक्रम संचालन हुनेछ । निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको हो । नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सयभन्दा वढी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्नेछ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखीप्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितिय र तृतियहुने सहभागीहरु लाई क्रमशःनगद ५ लाख रुपैयाँ, ३ लाख रुपैयाँ र १ लाख रुपैयाँ डिशहोमले प्रदान गर्नेछ ।

कोरोनाकाे महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा

वासिङटन । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राज्य सङ्कटकालको घोषणा आएको हो । सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका हुन् । अमेरिकामा १ हजार ७ सय १ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीमा कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकाका विभिन्न राज्यले कोरोना भाइरस सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएको छ । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी माहामारीको सङ्ज्ञा दिइसकेको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ । इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो । अहिलेसम्म कुल १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ६ सय ६० जानमामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क हो । (रासस/एएफपी)  

माथिल्लो तामाकोशी बाँधमा पानी जम्मा पारेर परीक्षण थालिँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ । कूल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको आयोजनाको प्रमुख संरचनाको परीक्षण गर्न लागिएको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । अन्य आयोजनामा कोरोनाको प्रभाव परेको भए पनि सो आयोजनामा हालसम्म त्यसको कुनै प्रभाव परेको छैन । मात्रै आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो । आयोजनाको प्रमुख संरचनामध्ये बाँधस्थलको अवस्था पत्ता लगाउनका लागि पानी भर्न लागिएको हो । बाँधमा पानी जम्मा गरेर संरचनाको परीक्षण गर्न लागिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आयोजनाका अनुसार सोमबारदेखि चार दिनसम्म बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिनेछ । प्रवक्ता न्यौपानेका अनुसार बाँध क्षेत्रका संरचनामा केही समस्या भए नभएको परीक्षण गरेर हेर्न लागिएको हो । आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । निर्माण सम्पन्न भइसकेको संरचनाको अवस्था कस्तो छ भनेर हेर्न लागिएको हो । देशकै ठूलो आयोजनामा कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइ भएको बाँध निर्माण गरिएको छ । बाँधमा आठ ढोका रहेका छन् । त्यसमा चार वटाबाट निकास हुने पानी डिसेन्डर बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युत्गृहमा पुगेर विद्युत् उत्पादन गर्ने गरी मिलाइएको छ । हाल मुख्य सुरुङमा अन्तिम चरणको ढलान कार्य हुँदैछ । सबैभन्दा कठिन मानिएको ठोडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि धमाधम भइरहेको छ । हालसम्म ठाडो सुरुङमा कूल ३९५ मिटर पेनस्टक पाइप जडान कार्य पूरा भइसकेको प्रवक्ता न्यौपानेले राससलाई जानकारी दिए । उनका अनुसार तल्लो ठाडो सुरुङमा कूल २५० मिटर र माथिल्लो ठाडो सुरुङमा १४५ मिटर पाइप जडान भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गत फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिए । आगामी असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ । माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले जनाएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले गत फागुन १४ गते निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरेका थिए । ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भिर चासो छ । त्यसैले जुनसुकै अवस्थामा पनि चालु आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले आफूले जनाएका प्रतिबद्धताअनुसारका समय तालिकामा रहेर काम साथै आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न प्राधिकरण तयार रहेका जनाएको छ । विशेषगरी आयोजनाको लट–२ को ठकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ९लट–२० ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल ९लट–३०को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्स्म्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरेका थिए । केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिसिङ, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कोलकातास्थित टेक्स्म्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटेर निर्माणमा तीव्रता दिन आग्रह गरेको थियो । श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत्गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा छन् । प्रसारण लाइनको १२७ टावर निर्माण र ४७ किलोमिटर तार टाङ्ने कार्य सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सवस्टेशनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ । गोरखा भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ९लट–२० ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । रासस