कामपा न्यायिक समितिः भौतिक सुविधा र जनशक्तिको अभाव
काठमाडौं । संविधानले स्थानीय तहको अदालतका रुपमा परिकल्पना गरेको न्यायिक समिति अझै पूर्णरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । न्यायिक समितिबाट हुने फैसला र मिलापत्रका मुद्दा कार्यान्वयनमा समस्या देखिएको हो । समितिको प्रमुखमा सम्बन्धित स्थानीय तहका उपप्रमुख रहने व्यवस्था छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले समितिलाई पूरा काम गर्नसक्ने बनाउन भौतिक सुविधा र जनशक्तिको अभाव रहेको बताइन्। उनले भनिन्, “फैसला गर्नुपर्ने खालका मुद्दाका लागि अझै दक्ष जनशक्ति चाहिएको छ ।” दक्ष जनशक्ति अभावकै कारण अधिकांश मुद्दामामिला मिलापत्रबाट निरुपण गर्ने गरेको उनले बताए । “मिलापत्रबाट टुङ्ग्याएका मुद्दा पनि कार्यान्वयन हुँदैनन्”, उनले भने, “समितिमा छलफल गर्दा पीडक पक्ष सहमतिमा आएर पनि अटेरी गर्ने गरेको पाइएको छ ।” उनका अनुसार समितिमा पर्ने उजुरीमध्ये अधिकाँश घरकोठा खाली गराउन, बाटो खुलाइदिन, घरभाडा भाग लगाइदिन, घरवहाल बुझाएर मालसामान फिर्ता दिलाइदिन, मेलमिलाप गराइदिन, व्यवसाय सञ्चालनमा अवरोध हटाइ दिन जस्ता रहेका छन् । त्यसैगरी नक्साविपरीत निर्माण हुँदै गरेका टहराको निर्माणकार्य रोक्का गर्न, बिनाकारण घरभाडाबाट हटाउन लागेकाले त्यस्तो कार्य रोक्का गर्न, बस्ने कोठा उपलब्ध गराइ पाउन, कुटपिट गरेकाले कारवाही गरिदिनेजस्ता उजुरी पर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार गत वर्षसम्म सम्बन्धविच्छेदका उजुरी पनि पर्ने गरेका थिए । अहिले पुरुषले पनि सिधैँ अदालत जान पाउन थालेपछि समितिमा यस प्रकारका उजुरीको सङ्ख्या घट्दो क्रममा रहेको छ । समितिका संयोजक खड्गीले भने, “हामी राजनीतिक पृष्ठभूमिका मान्छे, कसैलाई अगाडि र कसैलाई पछाडि पार्नु छैन । वादी/प्रतिवादी दुवै पक्ष हाम्रा लागि समान छन् । त्यसैले दुवैलाई लाभ हुने गरी न्यायिक मनको प्रयोग गरेर मेलमिलाप गराउने प्रयास गर्छौँ ।” उनले पछिल्लो समयमा समितिमा उजुरी दिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । चालु आर्थिक वर्षको अहिलेसम्ममा २ सय ४७ उजुरी दर्ता भएका छन् । तीमध्ये तीमध्ये गत वर्षको दायित्व सरेर आएका ९४ र नयाँ उजुरी १५३ रहेका छन् । दर्ता भएका उजुरीमध्ये अहिलेसम्म १७७ फछ्र्योट भइसकेको कामपा न्यायिक समितिले जनाएको छ । विवाद सिर्जना भएको ठाउँमै मेलमिलापका माध्यमबाट निरुपण गर्ने नीतिअनुरुप महानगरले केन्द्रमा एउटा र हरेक वडामा एक/एक वटा मेलमिलाप कक्षको स्थापना गरिएको छ । मुद्दाका पक्ष–विपक्षले आफूले चाहेको मेलमिलापकर्ता छानेर मेलमिलापको प्रक्रियामा जाने व्यवस्था गरेको बताइएको छ । रासस
साताको शेयर बजार: कूल ४ अर्ब ४२ करोडको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो । साताभर कूल १ सय ८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९ सय ११ कित्ता शेयर ४ अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८ सय ७२ मूल्यमा खरिद बिक्री भए । आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो । नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६.२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कूल १ सय ६१ कम्पनीको २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयर १ अर्ब सात करोड ६६ लाख ९६ हजार ३ सय बराबरको कारोवार भएको थियो । यस्तै मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो । कूल १ सय ८० कम्पनीका ५६ लाख २६ हजार ८ सय १२ कित्ता शेयर २ अर्ब २२ करोड १० लाख ८१ हजार ६ सय ९० रुपैयाँमा खरिद बिक्री भयो । साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । त्यस दिन नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर २ अर्ब २० करोड ६६ लाख ६२ हजार १ सय ८२ रुपैयाँ बराबरको कारोवार भए । रासस
उद्घाटन नगरी मन्त्री पोखरेल फर्किए
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् । उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजानिक कार्यक्रममा भवनको उद्घाटन नगरि जनाइएको छ । सो अवसरमा उनले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिए । उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरे । रासस
काँकडभिट्टा नाकामा ‘थर्मल गन’को अभाव, ज्वरो देखिएकालाई फर्काइदै
काठमाडौं । कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ । सो सीमाबाट आउने नेपाली तथा भारतीयको ज्वरो नाप्न एउटा मात्र ‘थर्मल गन’को मात्र भर पर्नुपरेकाले समस्या भएको हो । दैनिक हजारौँले ओहोरदोहोर गर्ने नाकामा कम्तीमा १० ‘थर्मल गन’ प्रयोग गरिए मात्र नाकामा जाँच व्यवस्थित हुने काँकडभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताए । उनले भूटान, बङ्गलादेश, म्यान्मारजस्ता तेस्रो मुलुकसँग समेत नजिकको दूरी भएको नाका भएको हुँदा काँकडभिट्टामा जाँच प्रक्रियालाई सुव्यवस्थित, भरपर्दो र विश्वसनीय तुल्याउनुपर्ने सुझाव व्यक्त गरे । नाकाको प्रवेशविन्दुमा भारतबाट आउने ५ सयभन्दा बढीलाई शुक्रबार ज्वरो नापिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । उनले भीड बढ्दै गएको हुँदा ज्वरो नाप्ने उपकरण ‘थर्मल गन’ र जनशक्तिको कमी महसुस भएको बताए । उनका अनुसार शुक्रबार जाँचिएका व्यक्तिमध्ये रोजगारीका लागि नेपाल आउन लागेका छ भारतीय मजदुरलाई ज्वरो देखिएको हुँदा उनीहरुलाई फर्काइएको जानकारी दिए । मेचीनगर नगरपालिकाले सो भाइरसको सङ्क्रमण रोकथामका लागि काँकडभिट्टा नाकामै सचेतनामूलक कार्यक्रम राखेको थियो । कार्यक्रमका सहभागी अधिकांशले नाका जोखिमका दृष्टिले अति संवेदनशील क्षेत्र भएको हुँदा नाका बन्दको कदम चालेर जोखिम न्यूनीकरणको प्रयास गरिनुपर्ने धारणा राखेका थिए । “सयौँ व्यक्तिलाई लाममा उभ्याएर एउटा थर्मल गनका भरमा कोरोनाको सङ्क्रमण रोक्न सम्भव हुँदैन”, ज्येष्ठ नागरिक सङ्घका प्रतिनिधि कृष्णप्रसाद उप्रेतीले कार्यक्रममा भने, “नाका बन्द गरेर भएता पनि कोरोना भित्रिन नदिने कडा कदम चालियोस् ।” मेची अञ्चल टेम्पो एण्ड ई–रिक्सा यातायात प्रालिका अध्यक्ष विवेक लिम्बूले दिल्ली, मुम्बई, कोलकाता, सिलगढीलगायत भारतका विभिन्न कोरोना प्रभावित शहरबाट आउने यातायातका साधन काँकडभिट्टाबाट निर्वाध भित्रिरहेको हुँदा त्यसबाट सङ्क्रमण फैलिने जोखिमतर्फ कसैको ध्यान नगएकोमा चिन्ता व्यक्त गरे । उनले भारतका यातायातका साधनलाई नाकाबाट पस्न दिन नहुने सुझाव राखे । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सीमित स्रोत साधनका भरमा नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएको जानकारी दिए । उनले जाँच अव्यवस्थित भएको स्वीकार गर्दै नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तह मिलेर जाँचलाई विश्वसनीय र व्यवस्थित बनाउन तत्काल पहल गरिने बताए । उपप्रमुख उप्रेतीले भारतबाट स्थानीय उद्योगमा काम गर्न आउने मजदुरलाई ज्वरो नआएको प्रमाणपत्र नल्याए काममा नलगाउन उद्योगीलाई आग्रह गरिएको जनाए । मेचीनगरका प्रमुख विमल आचार्यले छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नदिन नाकामा जाँचलाई व्यवस्थित गर्न र अनावश्यक ओहोरदोहोर रोक्न जरुरी भएको बताए । उनले नगरपालिकाको विपत् व्यवस्थापन समिति र कार्यपालिका बैठकले नाकाको जाँच र उद्धारलगायतका अत्यावश्यक कार्यका लागि नेपाली सेनासँग सहयोग माग्ने निर्णय गरे । प्रदेश सांसद श्रीप्रसाद मैनालीले प्रदेश नं १ सरकारको पहलमा प्रदेशका छ अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्टै आइसोलेशन श्ययाको व्यवस्था गरिएको र नेपाली सेनाको नेतृत्वमा सुनसरीको कोशीटप्पु र मोरङको टाँडीमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको बताए। उनले काँकडभिट्टा नाकाको संवेदनशीलता बुझेर पर्याप्त ‘थर्मल गन’ र जनशक्ति उपलब्ध गराउन प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको ध्यानाकर्षण गराइएको जानकारी दिए । यसैबीच मेचीनगर नगरपालिकाले प्रवेशविन्दुमा रहेको नगरपालिका भएको कारण आफ्नो नगरका मुख्य चार स्थान काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीमा नेपाल प्रहरीसँगको सहकार्यमा हेल्पडेस्क सञ्चालन गरिसकेको छ भने नगरपालिकाका सबै १५ वडा कार्यालयमा सर्वसाधारण सबैले साबुनपानीले हात धोएर मात्र प्रवेश गर्ने अनिवार्य व्यवस्था मिलाएको छ । रासस
बजारमा वस्तुको अभाव छैन, मन्त्री भट्टले भने: ‘सिर्जना गर्न खोज्ने कडा कारवाही हुन्छ’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने जानकारी दिए । शुक्रबार साँझ पोखराका केही डिपार्टमेन्टल स्टोर्समा आकस्मिक अनुगमन तथा निरीक्षण गर्दै उनले उपभोग्य वस्तुको सहज आपूर्ती भैरहेको बताए । अनुगमनका क्रममा पोखरा–४ चिप्लेढुङ्गामा रहेको यादव स्टोर्सले नुनको खुद्रा बिक्री मूल्य प्रतिकेजी २० रुपैयाँ रहेकामा २५ रुपैयाँमा बेच्ने गरेको पाइएपछि मन्त्री भट्टले सो स्टोर्सलाई तत्कालै कारवाही गर्न निर्देशन जारी गरेका थिए । उन ग्राहक बनेर स्टोर्समा नुनको मूल्य सोधेर खुद्रा मूल्यभन्दा बढी भनेपछि सो स्टोर्सलाई तत्काल आवश्यक कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालयका सचिव वैकुण्ठ अर्याल तथा आपूर्ति महाशाखाका सहसचिव प्रकाश दाहाललाई आवश्यक निर्देशन दिएको मन्त्री भट्टका निजी सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । “हामी पोखरामा डिर्पाटमेन्टल स्टोर्स, पसल, औषधि पसललगायतको अनुगमनमा छौँ, हिजो केही पसलमा अनुगमन ग¥यौं । केहीमा खुद्रा मूल्यभन्दा बढी लिएको समेत पाइयो”, बस्नेतले भने, “बढी मूल्य लिनेलाई कारवाहीका लागि वाणिज्यको टोली पठाइसकिएको छ । किनेको पसलमै त्यति मूल्य तिरेको भने तर त्यहाँको नम्बर माग्दा दिएका छैन ।” पर्यटकीय शहर पोखराको पर्यटन व्यवसायको अवस्था, बजारको चहलपहल तथा बजारको वस्तुस्थितिका बारेमा जानकारी लिनका लागि मन्त्री भट्ट सहितको सो मन्त्रालयका उच्च अधिकृत सम्लग्न हुनुभएको टोली यहाँ आएको बताइन्छ । पछिल्लो समय देशमा कोरोना भाइरस सङ्क्रमणको त्रासलाई देखाएर ग्यास, खाद्यान्न, लत्ताकपडामा कालोबजारी गर्ने तथा कृत्रिम अभाव सिर्जना हुन थालेपछि सरकारी निकाय चनाखो बनेका छन् । जिल्ला प्रशासन, उपभोक्ता समितिलगायतका सङ्घसंस्थाले समेत जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । यसैबीच साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नुनको खुद्रा मूल्यभन्दा बढीमा बिक्री गरि गैरकानूनी रहेको र अभाव सिर्जना गरी कालोबजारी गर्न खोज्ने व्यापारिक फार्म तथा विक्रेतालाई कारवाहीको दायरामा ल्याइने जनाएका छन् । कर्पोरेशनसँग अहिले कम्तीमा पनि १० महिनाका लागि पुग्ने गरी नुन मौज्दात रहेकाले आत्तिनुपर्ने अवस्था छैनन् । “देशभर मासिक १६ हजार मेट्रिक टन नुन खपत हुन्छ । हामीसँग अहिले एक लाख ५५ हजार ३०० मेट्रिक टन नुन मौज्दात छ । अहिलेको अवस्थामा समेत आगामी १० महिनालाई पर्याप्त हुन्छ, आत्तिनु पर्दैन”, प्रबन्धक झाले भने । रासस
इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो
काठमाडौं । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५ सय १४ पुगेको हो । बिहीबारसम्म ४ सय २९ रहेकोमा बढेर सो सङ्ख्या नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ६४ पुगेको छ । तीमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ । मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको सङ्क्रमण देखिएको छ । इजरायलमा १ सय ४३ जनाका सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ । कुवेतमा कूल सयजना बिरामी भएका छन् ।लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन् । रासस/सिन्ह्वा
कीर्तिमानी आरोही कामीरिताको जीवनमा खड्केको शिक्षा
काठमाडौं । अनकन्टर हिमपहिरो ओहोर–दोहोर गर्नु आरोही कामीरिताका लागि पानीको पधेरोझैँ लाग्छ । साहसिक आरोहण गरेर चुनौतीको पहाड छिचोल्नु कम जोखिमयुक्त काम होइन । तर, हिम्मत र साहस भएका शेर्पा आरोहीलाई त्यस्ता कुनै अफठ्याराको प्रवाह हुँदैन, तब न पुग्छन्, विश्वको अग्लो चुचुरो अनि कीर्तिमान थप्दै जान्छन् । तिनै साहसी आरोही हुन् कामीरिता शेर्पा, जसले सर्वोच्च शिखर सगरमाथाको २४ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरे । आरोहणमै जीवन बिताउने यी आरोहीको अझै जोश, जाँगर घटेको छैन । उमेरले ५० टेकेका कामीरिता यसपटक सगरमाथाको २५औँ पटकको सगरआरोहण योजनामा छन् । ‘‘सगरमाथा आरोहणको तयारीमा छु कोरोना भाइरसले असर गरेन भने म २५औँ पटक सगरमाथाको चुुचुरोमा पुग्छु”, कामीरिताले भने, ‘‘मेरो सगरमाथा आरोहण निरन्तर हो, कुनै कीर्तिमानका लागि होइन । सिनियर गाइडको भूमिकामा जाँदैछु ।” यस वर्षको वसन्त ऋतुका सबै आरोहण रोक्ने पर्यटन विभागको निर्णय भएसँगै कामीरिताको आरोहणयात्रामा पूर्णविराम लाग्ने हो कि भन्ने चिन्ता सर्वत्र छ । कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमण बढेसँगै सरकारले गत फागुन २९ गते यस यामका आरोहण बन्द गर्ने निर्णय गरेको थियो । कारोनाको प्रभावले अन्य क्षेत्रजस्तै नेपालको समग्र पर्यटन क्षेत्रलाई आक्रान्त तुल्याएको छ । ठूलो लगानी भएका होटल, एयरलाइन्सलगायतको पर्यटन व्यवसाय उल्लेख्य रुपमा खस्केको छ । यसपटकको याममा सगरमाथा आरोहण नभए पनि आगामी याममा आरोहण गर्ने कामीरिताको योजना छ । जीवनको ४९औँ वसन्त पार गरेका कामीरितालाई २४ पटक सगरमाथाको चुुचुरोमा पुग्दा पनि एउटै चिजको अभाव खड्किरहेको छ, त्यो हो शिक्षा । समयमा राम्रोसँग शिक्षादिक्षा नपाउँदा विश्व कीर्तिमानको उपाधिले पनि उनको जीवनमा खुशी छर्न सकेको छैन । उनले भने, ‘‘मेरो ४९ वर्षे यात्रामा २४ पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व कीतिर्मान बनाए तर जीवनमा एउटै खड्केको विषय भनेको पढाइ हो । पढाइ लेखाइ नभएपछि अलि गाह्रो हुँदोरहेछ । जोखिमयुक्त हिमालमा मात्र काम पाइने ।” विश्व कीर्तिमान पाउँदा पनि पढाइ लेखाइलाई नै जीवनको कमजोरी ठान्ने कामीरितालाई यसमा पछुतो भने छैन, ‘‘सायद पढेलेखेको भए म २४ पटक सगरमाथा आरोहण गर्दिनथे होला”, उनले भने । सगरमाथाको विश्व कीर्तिमान कायम गरी नेपाललाई विश्वसामु चिनाउन पाउनु कामीरिताका लागि सबैभन्दा ठूलो खुशीको विषय हो । हिमाल आरोहणलाई पनि खेलको रुपमा राज्यले लिइदिए यसको विकास र आरोहीको संरक्षण हुने उनको बुझाइ छ । त्यसैले आरोहणलाई अन्तर्राष्ट्रिय खेलको रुपमै स्थापित गरिनुपर्नेमा कामीरिताको जोड छ । “सगराथा आरोहण विश्वको साहसिक मुख्य खेलको एक नम्बरमा पर्छ । हैन भने सन् २००८ मा चीन सरकारले विश्वकप आयोजना गर्दा किन सगरमाथाको चुचुरोबाट बत्ती बाल्यो त ? त्यसैले आरोहणलाई अन्तरराष्ट्रिय खेलको रुपमा लिनुपर्छ, सरकारले पनि आरोहीलाई राष्ट्रिय खेलाडीको रूपमा व्यवहार गरिदिए राम्रो हुन्थ्यो ।” आरोहीको भविष्यलाई मध्यनजर गर्दै सरकारले विशेष व्यवस्था गरेको खण्डमा नेपालको आरोहणको भविष्य सुनौलो रहेको उनको भनाइ छ । शेर्पाले भने, “सरकारले आरोहणलाई बलियो बनाएर आरोहीको हेरचाह गर्नुपर्ने अवस्था छ । किनकि नेपालमा पर्यटन भित्र्याउने मुख्य भूमिका शेर्पा र हिमाल हो यिनलाई सुरक्षित गर्नैपर्छ । कामको विशेषज्ञताले विश्वले आरोहणमा शेर्पालाई विश्वास गर्छन्, त्यसैले शेर्पा सम्पत्ति हुन् भनेर राज्यले संरक्षण गर्नुपर्छ ।” उनबाहेक सगरमाथा आरोहणको रेकर्डमा २२ पटक आरोहण गरेको एक जना र २१ पटक आरोहण गरेका तीन आरोही छन् । आरोही कामीरिताले २४ पटकको सगरमाथा यात्रामा कहिल्यै बिना अक्सिजन गएन। किनकि रेकर्ड मात्रै राख्न बिनाअक्सिजन आरोहण गर्नु जीवनको सबैभन्दा जोखिमपूर्ण काम मात्रै होइन, देशका लागि पनि नराम्रो सन्देश दिए। करोडौं खर्च गरेर आउने विदेशीलाई सगरमाथाको चुचुरोमा पुर्याएर सकुशल ल्याउनसके उनीहरुले बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने शेर्पाको भनाइ छ । त्यसैले सकारात्मक सन्देशका लागि पनि सुरक्षित आरोहणलाई ध्यान दिनुपर्ने बताए । पछिल्लो पुस्ताका आरोही हिमालका लागि अनुभवी र योग्य गाइड छन् । मौसमले साथ दिएमा आरोहणलाई सफल तुल्याउन उनीहरुको महत्वपूर्ण भूमिका हुनेछ । कामीरिताको अनुभवमा आरोहीलाई नेपालमा त्यति सम्मान छैन, विदेशमा धेरै इज्जत गर्छन् । “हामी काम गर्नेले के कमाउँछ, त्यही गिनिजबुकको रेकर्ड कमायो त्यहीँ हो । विदेशमा धेरै सम्मान छ । विमानस्थलदेखिनै सेक्युरिटी कार्ड दिन्छन् विदेशीले” चीन, भारत, दुबई, रसिया, अमेरिकालगायत धेरै मुलुकको भ्रमण गरिसकेका कामीरिताले भने । सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औं पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए । बाबुआमाको अभिभावकत्वमा काठमाडौँको पारिवारिक जीवन गुजारिरहेका कामीरिताको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताए । शेर्पाले चार पटकसम्म एकै याममा दुई–दुई पटक सगरमाथा चढेको रेकर्ड छ । कामीरितापछि हालसम्म आप्पा शेपा, ङिमनुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका थिए । रासस
रेलमा पर्ने जग्गावालाको रुवावासी: पाँच वर्षदेखि मुआब्जाको पर्खाइमा
काठमाडौं । बर्दिवास–जयनगर रेल सेवा विस्तारको परियोजनामा जग्गाको मुआब्जा नतोकिएको जग्गाधनीले मन्त्रीसँग रुवावासी गर्दै गुनासो गरेका छन् । प्रस्तावित रेल सेवा विस्तारको स्थलगत अवलोकनमा महोत्तरीको बर्दिवास आइपुग्नुभएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग आज बिहान जग्गाधनीले पाँच वर्षदेखि आफ्नो जग्गा रोक्का राखिए पनि मुआब्जा भने नतोकिएको गुनासो गरेका हुन् । “मन्त्री, हामीले आफ्नो घरजग्गा सम्पत्ति पनि भन्न पाएनौँ, मुआब्जा पनि पाएनौं”, बर्दिवासमा मन्त्री नेम्वाङसँगको भेटमा प्रस्तावित रेल विस्तारमा जग्गा परेका बर्दिवास–१४ का खड्गबहादुर सिंहले भने, “रेल विभागले हाम्रो जग्गा भने रोक्का गरेको पाँच वर्ष भइसक्यो, तर मुआब्जा तोक्ने र वितरण गर्ने चालचुल भने केही देखिँदैन ।” जग्गाधनीले प्रचलित दरअनुसारको मुआब्जा चाँडै तोकेर वितरण गरिदिन मन्त्रीलाई आग्रह गरेका छन् । “हजुर, आफ्नै घरमा राम्ररी सुत्न, बस्न सकेका छैनौं, बसिरहेको घर जग्गा रेल विभागले रोक्का गरेको छ”, सिंहकै छिमेकी गोपी पोखरेलले भने, “दिनदिनै जग्गाको मूल्य आकाशिँदै छ, रेल विभागले भने मुआब्जा दिने सुरसार नै देखाएन, अब ओत लाग्ने ठाउँ कहाँ खोज्नु मन्त्री” मन्त्रीसँग भेटेका उनीहरुले एक स्वरमा यथाशिघ्र मुआब्जा प्रकरण टुङ्ग्याइदिन आग्रह गरेका छन् । रेल सेवा विस्तारका लागि प्रस्तावित जग्गाको मुआब्जा अब चाँडै टुङ्ग्याएर काम अघि बढ्ने मन्त्री नेम्वाङले जग्गाधनीलाई आश्वस्थ गराउँछ । “अब केही दिनभित्रै मुआब्जा तोक्ने र वितरण गर्ने काम थालिन्छ”, उनले भने, “मुआब्जा निर्धारण गर्न गठित उपसमितिले जग्गा मुल्याङ्कनको सिफारिश जिल्लास्थित मुआब्जा मूल्याङ्कन समितिलाई बुझाइसकेको छ, अब समितिले दिने प्रतिवेदनका आधारमा मुआब्जा तोकेर वितरणको काम तत्काल थालिने छ ।” रेल सेवा विस्तारको पक्ष राष्ट्रको समृद्धिसँग जोडिएको पक्ष हुनाले यति रकम पाउनुपर्छ भन्ने अडान भने नलिन जग्गाधनीसँग मन्त्रीको आग्रह थियो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सन् २०१४ मा शुरु भएको रेल स्तरोन्नति र सेवा विस्तारको काम सन् २०२० भित्र जयनगरदेखि बर्दिवाससम्म नै सञ्चालनमा ल्याइसकिने रेल विभागले बताउँदै आएको थियो । जसमध्ये पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) मा २०१८ भित्रै, दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहास्थित बिजलपुरा स्टेशनसम्म) मा सन् २०१९ को मार्चभित्र र तेस्रो खण्ड (भङ्गाहादेखि बर्दिवाससम्म) सन् २०२० भित्र रेल सञ्चालनमा आइसक्ने तालिका थियो । तर, त्यो तालिकाअनुसार काम नबढेपछि यस भेगका सर्वसाधारणमा अन्योलसँगै निराशा बढेको छ । बर्दिवास–जयनगरसम्मको ६९ किलोमिटर दूरीको रेल सेवा विस्तार र स्तरोन्नतिको परियोजनामा बर्दिवास नगरपालिकाको ५३ बिघा र बर्दिवाससँगै सीमा जोडिएको धनुषाको मिथिला नगरपालिकाको वडा नं ९ र १० (साविक बेङ्गाडावर गाविस) को २६ बिघा जग्गाको अझै मुआब्जा नतोकिँदा रेलका काम अघि बढ्न सकेका छैनन् । पछिल्लोपटक केही महिनाअघि भङ्गाहाको बिजलपुरादेखि जयनगरसम्मको प्रस्तावित तेस्रो खण्डमै पर्ने भङ्गाहा नगरपालिका–४ (विगतमा भङ्गाहा गाविस–४) र बर्दिवास ६ र ७ (साविक किसाननगर गाविस) को मुआब्जा तोकिए पनि हालसम्म जग्गाधनीले मुआब्जा भने बुझेका छैनन् । यद्यपि कुर्थादेखि भङ्गाहाको बिजलपुरासम्मको दोस्रो खण्डमा भने यसअघि नै मुआब्जा प्रकरण टुङ्गिएको हुँदा रेलको लिक ओछ्याउने काम भइरहेको छ । बर्दिवास–जयनगर रेल सेवा र पूर्वपश्चिम रेल सेवाका कामको स्थलगत निरीक्षण अनुगमनमा आउनुभएका मन्त्री नेम्वाङले अब तेस्रो खण्डमा मुआब्जा निर्धारण, वितरण, दोस्रो खण्डमा निर्माण र पहिलो खण्डमा रेल चलाउने तयारीका काम अघि बढ्ने बताए । यसबीचमा रेल खरिद र सञ्चालन प्रक्रिया टुङ्गिएर आवश्यक जनशक्ति पूर्ति गर्ने प्रक्रिया अघि बढेपछि यसपालि चाहिँ चालू आर्थिक वर्षभित्रै पहिलो खण्ड (कुर्थादेखि जयनगर) मा रेल चल्ने मन्त्री नेम्वाङको भनाइ छ । यसैबीच मुआब्जा तोकिने कुरा अल्झेको बर्दिवास–१४ को ५२ बिघा जग्गाको मुआब्जा केही साताभित्रै टुङ्गिने मुआब्जा मूल्याङ्कन समिति महोत्तरीका अध्यक्ष तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन्। त्यस्तै धनुषातर्फ मिथिला नगरपालिकाको मुआब्जा पनि चाँडै टुङ्गिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवासम्मको ६९ किलोमिटरमध्ये महोत्तरीतर्फ ३१, धनुषामा ३६ र भारततर्फ करिब दुई किलोमिटर पर्छ । पहिलो खण्डको लिक निर्माणको काम सम्पन्न भएसँगै अब दोस्रो खण्डमा लिक ओछ्याउनेसहितका निर्माण काम भइरहेका छन् । अब तेस्रो खण्डमा महोत्तरीतर्फ १६ र धनुषातर्फ (मिथिला नपा) दुई किलोमिटरमा मुआब्जा प्रकरण टुङ्गिएसँगै काम अघि बढ्ने रेल विभागले जनाएको छ । “अब मुआब्जा निर्धारण र वितरणको बाँकी काम चाँडै टुङ्गिन्छ”, मन्त्री नेम्वाङसँगै अनुगमन टोलीमा रहनुभएका रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, “पहिले निर्धारित तालिकामा काम हुन नसकेकै हो, अब व्यवधान टुङ्गिने क्रममा छन्, सबै कामले गति लिने छ ।” यता तेस्रो खण्डमा मुआब्जा तोकिन बाँकी रहेको र पहिलो खण्डमा चाँडै रेल चल्ने चर्चाबीच नै पहिलो खण्डभित्रैका रेल भवन चर्कँदै गएका छन् । पछिल्लोपटक जनकपुरधामको रेल भवन चर्किन थालेका हुन् । भवन निर्माण गर्ने भारतीय कम्पनी इर्कोन इन्टरनेशनलले निर्माण गरेको जनकपुरधामस्थित स्टेशन भवन प्रयोगमा आउनुपूर्व नै चर्किन थालेको हो । भवन निर्माणमा कमसल सामग्रीको प्रयोग भएको हुँदा भवन चर्केको भवन वरपरका सर्वसाधारण बताउँछन् । यससम्बन्धी गुनासो निर्माण कम्पनीलाई बुझाइएको तथा यसमा सुधार र मर्मतका काम तत्काल गरिनुपर्ने रेल विभागले जनाएको छ । भवन चर्कनु र स्टेशन भवनबाटै एकपछि अर्को सामान हराउँदै जानुमा हाम्रो (नेपाल सरकार, रेल विभाग) राम्रो अनुगमन र सुरक्षा प्रबन्ध हुन नसकेको सर्वसाधारणको टिप्पणी छ । तयार भइसकेको पहिलो खण्डमा तत्काल रेल सञ्चालन गर्न, दोस्रो खण्डको बाँकी काम सम्पन्न गर्न र तेस्रो खण्डको मुआब्जा विवाद चाँडै टुङ्ग्याएर निर्माण काम थालिए जनतामा काम हुँदैछ भन्ने सकारात्मक सन्देश प्रवाह हुने महोत्तरी–१ ‘क’ बाट प्रदेशसभा सदस्य बर्दिवास–१ की बासिन्दा शारदादेवी थापाको भनाइ छ । भारत सरकारको ७ अर्ब २० करोड रुपैयाँको आर्थिक सहयोगमा ब्रोडगेज रेल्बे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको थियो । बि।सं १९९४ शुरु भएको बिजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर (धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै रेल विभागले विसं २०७० मै रेल सेवा बन्द गराएपछि पछिल्लो छ वर्षयता यो रेल सेवा पूर्णरूपमा बन्द रहँदै आएको छ । रासस