कामना सेवाको मोबाईल बैंकिङबाट टपअप गर्दा २५ प्रतिशत क्यास ब्याक पाइने
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यास ब्याक प्रदान गर्ने भएको छ । एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने
काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले शुक्रबार सुनुवाइ स्थगन गरेको हो । शुक्रबार बिहान ११ः०० बजे बस्ने तय भएको पूर्ण बैठकले अदालत बन्द गर्ने वा अतिआवश्यकबाहेक अरु बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । यही चैत ४ नेपाल बार एशोसिएसनले विश्वभरि नै कोभिड–१९ फैलिरहेका अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालत समक्ष अपिल गरेको थियो । बारले प्रेस विज्ञप्तिमा मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न जनाएको छ । अदालतले नियमित परीक्षण गरेर मात्र सेवा प्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यकबाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न बारले अपिल गरेको हो । अदालतसँग धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको सङ्क्रमणको सम्भावना हुनेहुँदा सङ्क्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको थियो । सर्वोच्च अदालत बार एशोसिएसनले यही चैत ४ गते नै आकस्मिक बैठक बसी कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको थियो । सर्वोच्च अदालतले बारको अपिललाई ध्यानमा राख्दै शुक्रबारका लागि पूर्ण बैठक तय गरको हो । शुक्रबारका लागि सम्पूर्ण मुद्दाको सुनुवाइ बन्द गर्ने भएको छ । रासस
चैतभर पत्रपत्रिका बन्द गर्ने प्रस्ताव
काठमाडौं । विश्वभर कोरोना संक्रमण बढिरहेको बेलामा नेपाल पनि यसबाट बच्न सतर्कता अपनाइएको छ । कोरोना संक्रमणबाट बच्नको तत्कालका लागि १८ बुँदे निर्णय गरेर कार्यान्वयन गरिरहेको छ । सरकारको सोही निर्णको आधारमा अधिकांश अन्तराष्ट्रिय हवाई उडानहरु रोकिएका छन् । सिमित संख्याका विदेशी एयरलाइन्सका उडानले मात्रै नेपालमा प्रवेश पाउने व्यवस्था गरिएको छ । यस्तै, सरकारले आजदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरेको छ भने विश्वविद्यालय, सिटिइभिटी, लोक सेवा आयोग जस्ता निकायले लिने सबै प्रकारका लिखित परीक्षा स्थगित भएका छन् । सरकारले अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन नै जारी गरेको छ । यही संकट र सन्त्रासको कारण पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएको छ । समाचार संकलन, सम्पादन, प्रकाशन तथा विक्री वितरण कार्यका लागि ठूलो मात्रामा जनशक्ति परिचालन हुनुपर्ने भएकोले पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । ‘समाचार संकलन तथा सम्पादन प्रक्रियामा ठूलो संख्यामा जनशक्ति संलग्न हुन्छ, त्यसपछि प्रेसमा लगेर छाप्ने तथा छापिएका पत्रपत्रिका ग्राहकको घर वा कार्यालयसम्म वितरण गर्ने प्रक्रियामा अर्काे ठूलो जनशक्ति परिचालन हुन्छ, यस्तो सन्त्रास र समस्याको बीचमा संचालन गर्न समस्या पर्ने हुँदा पत्रपत्रिका बन्द गर्ने कि भन्ने प्रस्ताव आएको छ, हामी छलफल गरिरहेका छौं,’ कार्यबाहक अध्यक्ष श्रेष्ठले विकासन्युजसँग भने । पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएपनि काउन्सिलले निर्णय भने गरिसकेको छैन । सरकारले सिमेमा हल, डान्सबार, सबै प्रकारका परीक्षा, जीम सेन्टर, स्वीमिङ पुल, नाटक घर जस्ता क्षेत्रहरु चैत महिनाभर बन्द गर्ने निर्णय गरेकोले पत्रपत्रिका पनि सो अवधिसम्मको लागि बन्द गर्ने प्रस्तावमा छलफल भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्ताको जिम्मेवारी डीसीईओ प्रसाईंले सम्हाल्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) काे प्रवक्ताको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष प्रसाईँले सम्हाल्ने भएका छन् । कम्पनीकाे संचालन समितिको बैठकले डीसीईओ प्रसाईँलाई प्रवक्तामा नियुक्त गरी उक्त पदको जिम्मेवारी दिएको हो । डीसीईओ प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको चुक्तापुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १७ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ।
सामान्य उपभोक्ताले पनि ४ क्वीन्टल चामल किन्न थाले, सरकार भन्छ-अभाव हुन्न
काठमाडौं । उपभोक्ताले अत्याधिक मात्रमा खाद्यन्य तथा पेट्रोलियम पदार्थको संचित गरेको भन्दै सरकारले सर्वसाधारणलाई त्यसो नगर्न आग्रह गरेका छन् । खाद्यन्यको संचित ४ देखि ६ महिनालाई पुग्ने भएकोले अत्तालिएर उपभोग्य बस्तुहरुको खरिद र संचित नगर्न उनीहरुले उपभाेक्तालाई अाग्रह गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्यन्यको संचित ६ महिनासम्मलाई पुग्ने अवस्था रहेको बताए । उनका अनुसार नून १० महिनालाई पुग्ने छ । चिनी ३ महिनालाई पुग्छ । ‘साल्ट ट्रेडिङसँग भएको चिनीले मात्र ३ महिनाको माग धान्न पुग्छ । निजी क्षेत्रका उद्योगीसँग पनि चिनी प्रशस्त भएको जानकारी आफूले पाएको छु’ उनले पत्रकार सम्मेलनमा भने । सरकारी निकायहरुले उपत्यकामा ५ ठाउँमा खाद्यन्य पसल खोल्ने तयारी रहेको उनले बताए । उपत्यका बाहिरका सहर उन्मुख २२ जिल्लामा गरिएको अध्ययन गरिएको, खाद्यन्यमा सहरी क्षेत्र ५० प्रतिशत आत्मनिर्भनर र ५० प्रतिशत किनेर खाने गरेको पाइएको उनले बताए । मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नभएको बताए । मासिक २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्नेमा विगत एक महिनामा ४५ हजार मेट्रिक टन ग्यास आयात भएको उनले जानकारी दिए । ‘१ क्वीन्टल चामल किन्न सामान्य उपभाेक्ता ४ क्वीन्टल चामल किन्न थालेकाे पाइयाे । विगतमा २ लिटर पेट्रोल किन्नेले अहिले १० लिटर किन्ने र घरमा लगेर ग्याल्लीनमा खन्याउने गरेको पनि पाइयो । यस्तो कार्यले उनीहरुको घर र परिवार थप जोखिममा परेको छ’ मन्त्री भट्टले भने–‘सरकारले उपभोक्ताको घरमा छापा मार्न मिल्दैन । व्यापारीहरुले कालोबजारी गरेमा कारवाही गरिन्छ ।’ उपभोक्ताले औषधि पनि संचित गर्न थालेको पाइएको उनले बताए । ‘सिटामोलको माग अलि बढी छ । डाइविटीजको औषधी बढी माग भएको छ । ३ महिनालाई पुग्ने औषधि लिने लिनुपर्नेहरुले ६ महिनालाई औषधि किन्न प्रवृति पनि देखियो’ उनले भने । मासिक २५ हजार माक्स खपत हुने गरेकोमा अहिले माग बढेको र माक्सको आपूर्ति कम भएको बताए । माक्सको पनि आयात वृद्धि र उत्पादन वृद्धिको काम भईरहेको र यसमा निजी क्षेत्रले सरकारलाई राम्रो सहयोग गरिरहेका उनले बताए । मन्त्री भट्टले तरकारी बजारमा समस्या छैन । ‘मौसमी तरकारीहरुको उत्पादन वृद्धि भएको छ । सिमी, बोडी, लौकाको मूल्य घट्दैछ । चिनियाँ स्याउ र लसुनबाहेक अन्यको मूल्य घट्दो छ’ उनले भने ।
३० लाख सिलिण्डर ग्यास स्टक छ: उद्योगमन्त्री भट्ट
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारसँग २० देखि ३० लाख सिलिण्डर ग्यास भर्न सकिने क्षमता रहेको बताएका छन् । बजारमा डिजेल पेट्रोलको र ग्यासको अभाव नभएको बताउँदै उनले सरकारसँग २० देखि ३० लाख सिलिन्डर ग्यास भर्न सक्ने मौज्दात रहेको बताएका हुन्। बिहीबार सञ्चार मन्त्रालयमा नियमित हुने पत्रकारसम्मेलनमा उनले सो कुरा बताएका हुन् । ‘अनुगमन गरिरहेका छौं । सबैसँग सहकार्य र समन्वय भइरहेको । खाद्यान्न ६ महिनासम्मका लागि मौज्दात, औषधि ८ महिना, नुन १० र चिनी ३ महिनाका लागि मौज्दात छ । खाद्यान्नको लागि पाँच वटा सुपथ मूल्यका पसल सुरु गर्दैछाैं’ उनले भने। सबै प्रदेशसँग समन्वय गरी अभाव भएको ठाउँमा पठाउने जानकारी दिँदै पेट्रोल डिजेलमा समस्या नभएकाे र ग्यास व्यवसायीलाई व्यवस्थापन गर, नभए त्यसको उपर आफै कदम चाल्छौं भनिरहेकाे जानकारी दिएका छन् ।
अर्थमन्त्री भन्छन्ः जीडीपीमा पर्यटनको योगदान ३ प्रतिशत मात्र छ, त्यसले अर्थतन्त्रमा धक्का पर्दैन
काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै धक्का नपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले काेराेनाकाे प्रभावले पर्यटनमा असर पर्ने भए पनि त्यसले अर्थतन्त्रमा त्यति धक्का नपर्ने बताएका हुन् । बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएकाे पत्रकार सम्मेलनमा बोल्दै डा.खतिवडाले पर्यटनको जीडीपीमा ३ प्रतिशत मात्र योगदान भएकाले पर्य काेराेना असर त्यति परिमाणमा मात्रै पर्ने भन्दै त्यसले अर्थतन्त्रमा खासै असर नपर्ने बताएका हुन् ।
करकाे भुक्तानी अवधि सारिने
काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले करको भुक्तानीकाे अवधि सार्ने तयारी भइरहेको बताएका छन् । बिहिबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले साे कूरा बताएका हुन् । उनले हाल काेरेाना भाइरसकाे कार केही समयकाे लागि कर भुक्तानी सार्ने विषयलाई सरकारले गम्भीर रूपमा लिएकाे उनले बताए । काेरेानाका कारण उद्योगी व्यवसायीलाई समस्या परेको बताउँदै करको अवधि लम्ब्याउने बताएका हुन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै व्यवसायलाई सरकारले सहयोग गर्नुपर्ने दायित्वलाई मनन् गर्दै करलाई केही पर सार्ने कुरा अगाडि बढाइएकाे उनकाे भनाइ छ।