काठमाडौं । विश्वभर कोरोना संक्रमण बढिरहेको बेलामा नेपाल पनि यसबाट बच्न सतर्कता अपनाइएको छ । कोरोना संक्रमणबाट बच्नको तत्कालका लागि १८ बुँदे निर्णय गरेर कार्यान्वयन गरिरहेको छ ।
सरकारको सोही निर्णको आधारमा अधिकांश अन्तराष्ट्रिय हवाई उडानहरु रोकिएका छन् । सिमित संख्याका विदेशी एयरलाइन्सका उडानले मात्रै नेपालमा प्रवेश पाउने व्यवस्था गरिएको छ ।
यस्तै, सरकारले आजदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गरेको छ भने विश्वविद्यालय, सिटिइभिटी, लोक सेवा आयोग जस्ता निकायले लिने सबै प्रकारका लिखित परीक्षा स्थगित भएका छन् । सरकारले अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन नै जारी गरेको छ ।
यही संकट र सन्त्रासको कारण पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएको छ । समाचार संकलन, सम्पादन, प्रकाशन तथा विक्री वितरण कार्यका लागि ठूलो मात्रामा जनशक्ति परिचालन हुनुपर्ने भएकोले पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।
‘समाचार संकलन तथा सम्पादन प्रक्रियामा ठूलो संख्यामा जनशक्ति संलग्न हुन्छ, त्यसपछि प्रेसमा लगेर छाप्ने तथा छापिएका पत्रपत्रिका ग्राहकको घर वा कार्यालयसम्म वितरण गर्ने प्रक्रियामा अर्काे ठूलो जनशक्ति परिचालन हुन्छ, यस्तो सन्त्रास र समस्याको बीचमा संचालन गर्न समस्या पर्ने हुँदा पत्रपत्रिका बन्द गर्ने कि भन्ने प्रस्ताव आएको छ, हामी छलफल गरिरहेका छौं,’ कार्यबाहक अध्यक्ष श्रेष्ठले विकासन्युजसँग भने ।
पत्रपत्रिका बन्द गर्ने प्रस्ताव आएपनि काउन्सिलले निर्णय भने गरिसकेको छैन । सरकारले सिमेमा हल, डान्सबार, सबै प्रकारका परीक्षा, जीम सेन्टर, स्वीमिङ पुल, नाटक घर जस्ता क्षेत्रहरु चैत महिनाभर बन्द गर्ने निर्णय गरेकोले पत्रपत्रिका पनि सो अवधिसम्मको लागि बन्द गर्ने प्रस्तावमा छलफल भएको हो ।