
काठमाडौं । उपभोक्ताले अत्याधिक मात्रमा खाद्यन्य तथा पेट्रोलियम पदार्थको संचित गरेको भन्दै सरकारले सर्वसाधारणलाई त्यसो नगर्न आग्रह गरेका छन् । खाद्यन्यको संचित ४ देखि ६ महिनालाई पुग्ने भएकोले अत्तालिएर उपभोग्य बस्तुहरुको खरिद र संचित नगर्न उनीहरुले उपभाेक्तालाई अाग्रह गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्यन्यको संचित ६ महिनासम्मलाई पुग्ने अवस्था रहेको बताए । उनका अनुसार नून १० महिनालाई पुग्ने छ । चिनी ३ महिनालाई पुग्छ । ‘साल्ट ट्रेडिङसँग भएको चिनीले मात्र ३ महिनाको माग धान्न पुग्छ । निजी क्षेत्रका उद्योगीसँग पनि चिनी प्रशस्त भएको जानकारी आफूले पाएको छु’ उनले पत्रकार सम्मेलनमा भने ।
सरकारी निकायहरुले उपत्यकामा ५ ठाउँमा खाद्यन्य पसल खोल्ने तयारी रहेको उनले बताए । उपत्यका बाहिरका सहर उन्मुख २२ जिल्लामा गरिएको अध्ययन गरिएको, खाद्यन्यमा सहरी क्षेत्र ५० प्रतिशत आत्मनिर्भनर र ५० प्रतिशत किनेर खाने गरेको पाइएको उनले बताए ।
मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नभएको बताए । मासिक २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्नेमा विगत एक महिनामा ४५ हजार मेट्रिक टन ग्यास आयात भएको उनले जानकारी दिए । ‘१ क्वीन्टल चामल किन्न सामान्य उपभाेक्ता ४ क्वीन्टल चामल किन्न थालेकाे पाइयाे । विगतमा २ लिटर पेट्रोल किन्नेले अहिले १० लिटर किन्ने र घरमा लगेर ग्याल्लीनमा खन्याउने गरेको पनि पाइयो । यस्तो कार्यले उनीहरुको घर र परिवार थप जोखिममा परेको छ’ मन्त्री भट्टले भने–‘सरकारले उपभोक्ताको घरमा छापा मार्न मिल्दैन । व्यापारीहरुले कालोबजारी गरेमा कारवाही गरिन्छ ।’
उपभोक्ताले औषधि पनि संचित गर्न थालेको पाइएको उनले बताए । ‘सिटामोलको माग अलि बढी छ । डाइविटीजको औषधी बढी माग भएको छ । ३ महिनालाई पुग्ने औषधि लिने लिनुपर्नेहरुले ६ महिनालाई औषधि किन्न प्रवृति पनि देखियो’ उनले भने ।
मासिक २५ हजार माक्स खपत हुने गरेकोमा अहिले माग बढेको र माक्सको आपूर्ति कम भएको बताए । माक्सको पनि आयात वृद्धि र उत्पादन वृद्धिको काम भईरहेको र यसमा निजी क्षेत्रले सरकारलाई राम्रो सहयोग गरिरहेका उनले बताए ।
मन्त्री भट्टले तरकारी बजारमा समस्या छैन । ‘मौसमी तरकारीहरुको उत्पादन वृद्धि भएको छ । सिमी, बोडी, लौकाको मूल्य घट्दैछ । चिनियाँ स्याउ र लसुनबाहेक अन्यको मूल्य घट्दो छ’ उनले भने ।