राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउँदै, अब युट्युवमार्फत् भएको आम्दानी सिधै बैंक खातामा
काठमाडाैं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल कार्यविधि बनाउने भएकाे छ । बैंकले सामाजिक सञ्जालमार्फत् हुने कारोबार वा विज्ञापनमा नियमन गर्ने सम्बन्धी कार्यविधि बनाउने तयारी गरेकाे हाे । जसअन्तर्गत अब युट्युवमार्फत् भएको आम्दानी सिधै नेपालका बैंक खातामा पठाउने मिल्ने व्यवस्था गरिने बताइएकाे छ। हालसम्म याे व्यवस्था थिएन । गत माघ दोस्रो साता फेसबुक, ट्विटर, युट्युव जस्ता समाजिक सञ्जाल तथा इन्टरनेटमार्फत् गरिने विज्ञापनलाई औपचारिक माध्यममा ल्याउनका लागि राष्ट्र बैंकले निर्देशन दिएको थियो । यसैलाई आधार बनाएर कार्यविधि बन्ने भएको हो । सामाजिक सञ्जालमा गरिने बुस्टमार्फत् अर्बौ रूपैयाँ बाहिरिने क्रम बढेसँगै भुक्तानी प्रणालीलाई व्यवस्थित गर्नका लागि राष्ट्र बैंकले उक्त निर्देशन दिएको थियो । फेसबुक, ट्विटर, युट्युवले नेपालमा नेपाली कानूनअनुसार ट्रेडमार्क त दर्ता गराए पनि सम्पर्क कार्यालय भने खोलेका छैनन् । अबकाे कार्यविधिले यसकाे पनि नियमन गर्नेछ । नेपालबाट सामाजिक सञ्जाल तथा इन्टरनेटमा गरिने कारोबारलाई औपचारिकता दिन व्यवहारीक कठिनाइ भएको कारण यसको कार्यान्यवनमा केही ढिलाइ हुदै आएको बैंकले जनाएकाे छ । एजेन्ट कम्पनीबाट नेपालीले सामाजिक सञ्जाल वा इन्टरनेटमार्फत् गरिने विज्ञापनको भुक्तानी गर्न सक्ने नयाँ ब्यावस्था हुन लागेको हो ।
स्वावलम्बन लघुवित्तद्वारा दलित समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट सिरहा नगरपालिका वडा नं.६ बसविट्टा स्थित श्री आधारभूत बिद्यालयका १०० जना न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई स्कूल झोला, कापी र कलम वितरण गरेको हो । कार्यक्रमका प्रमुख आतिथि सिरहा नगरपालिका वडा नं.६ का अध्यक्ष विजय कुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गरेका छन् । वित्तीय संस्थाले विपन्न महिलाहरुलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतीमा टेवा पुर्याएको बताए । संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४९ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख रूपैयाँ रहेको छ ।
अमेरिकी डलरको मूल्य अहिले सम्मकै महँगाे
काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च भएकाे छ । दिनप्रतिदिन बढ्दै गएको डलरका मूल्य शुक्रबार झन बढी भएको हाे । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा निर्धारण गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । विश्वभर काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे बेला डलरकाे मूल्य पनि बढी भएकाे छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् ।
वित्तीय कारोबार गर्न मिल्ने कनेक्ट आईपीएस ईपेमेन्ट अब सित्तैमा
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत मसान्तसम्मका लागी मिनाहा गरेको छ । संस्थाले बैंक वित्तीय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ उक्त सेवा सुविधा दिने भएको हो । मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएस इपेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ । बैंक वित्तीय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज तरिकाले सञ्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ । कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट १० लाख रूपैयाँ र मोबाईल एप्सबाट १ लाख रूपैयाँसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । कनेक्ट आईपीएसको फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाईल/इन्टेर्नेट बैंकिङमा पनि उपलब्ध रहेको छ ।
घर फर्किनेको लर्को
काठमाडाैं । हवाईमार्ग भएर घर जान शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका यात्रु । कोरोना भाइरसका कारण सरकारले शिक्षण संस्था चैत महिनाभरका लागि बन्द गरेसँगै राजधानीमा रहेका विद्यार्थी तथा अन्य नागरिक घर फर्किन थालेका हुन् । बिहीबारदेखि हवाईमार्गसँगै स्थलमार्ग भएर घर फर्किने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ । तस्वीरः विक्रम गिरी/ रासस
५ सयले बढ्याे सुनकाे मूल्य
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार २०० कायम गरिएको छ । यस्तै, शुक्त्रबार चाँदीको मूल्य पनि बढेको छ । आज, चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनोहरा सुकुम्वासी बस्तीबाट नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । रासस
राति निन्द्रा नलागेर तनावमा हुुनुहुन्छ? छिनभरमै निदाउन अपनाउनुस् यस्ता उपाय
काठमाडौं । हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ । व्यस्तसँगै कतिपयमा तनाव पनि उतिकै हुन्छ। जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्ने हुन्छ । यहाँ जोकोहीलाई पनि भोलिको चिन्ता छ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ । अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहे मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ । अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ । अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ । अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ । कसरी पाउने आनन्दको निन्द्रा ? – आनन्दको निन्द्राका लागि लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् । – बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् । – सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । – गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन । – सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ । – संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । – सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् । – मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्याउनुहोस् । – धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो । –सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् । – सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ । – सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं । (अंग्रेजी साईटको सहयोगमा)