विकासन्युज

कर्णालीमा एक हजार क्वारेन्टाइन, विपद् व्यवस्थापनमा ५० करोड काेष 

काठमाडौं । कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । कोभिड–१९ को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६ सय र रेडियो नेपालमा ४ सय क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले क्वारेन्टाइन स्थापनाको निर्णय गरेकाे हाे । तत्काल विपद् व्यवस्थापनका लागि ५० करोडको कोष तयारी गरी सोही कोषबाट नियमानुसार खर्च व्यवस्था मिलाउने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । त्यस्तै, कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थलमार्गका नाकामा उच्च सतर्कता अपनाई त्यस्ता नाकाबाट नेपाली नागरिकलाई मात्र प्रवेश गर्न दिने गरी आवागमन बन्द गर्नेसहितका १४ निर्णय गरिएको उनले बताए । विदेशी नागरिकलाई सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतिले मात्र प्रवेश गर्न दिने र त्यसरी प्रवेश गर्ने व्यक्तिलाई प्रदेशको क्वारेन्टाइनमा कम्तीमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता केसीले बताए । जोखिमलाई ध्यानमा राखी अत्याआवश्यक वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने, स्वास्थ्य सचेतनासम्बन्धी जनहितका सूचना तथा सामग्री प्रदेशभित्रका सबै एफएम रेडियो, टिभी च्यानल तथा छापा माध्यमलाई प्रयोग गरी प्रकाशन÷प्रसारण गर्ने गराउने साथै सामाजिक सञ्जालमार्फत नियमित रुपमा सूचना प्रवाह गर्ने निर्णय भएको उनले जनाएका छन् । “सरकारले विशेषगरी यो सङ्कटको समयमा कालाबजारी, कृत्रिम अभाव सिर्जना गर्ने जो सुकैलाई कानूनबमोजिम कडा कारवाही गर्ने कदम चाल्नुका साथै सम्भावित सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन २५ भन्दा बढीको कुनै पनि जमघट गर्न गराउन रोक लगाउने निर्णय गरिएको छ”, उनले भने, “बैंक तथा वित्तीय संस्था, नेपाल सरकारका सेवाग्राहीको बढी चाप हुने कार्यालय विद्युत् प्राधिकरण, दूरसञ्चार संस्थानलगायतका कार्यालयमा नेपाल सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्न गराउने व्यवस्था मिलाउँछौँ ।” सीमा जोडिएका नाकामा स्यानेटाइजर, मास्क, थर्मोमिटरसमेतका सामग्रीको सहजरुपमा व्यवस्थापन गर्ने कार्यका लागि सामुदायिक सङ्घसंस्थालगायतका सबै पक्षको संयुक्त संलग्नतामा स्वास्थ्य अवस्थाको निगरानी, प्रयोगशाला क्षमता विस्तार गर्ने, सङ्क्रमित देखिएमा प्राथमिक उपचारको तत्काल प्रबन्ध गर्ने, अस्पतालको प्रक्षेपण, आइसोलेसन वार्डको तयारी र क्वारेन्टाइनस्थलको तत्काल चयन गर्ने व्यवस्था गर्ने गराउने भएको छ । भारतमा रहेका कर्णाली प्रदेशका नागरिकलाई छिटोभन्दा छिटो घर फर्कन अनुरोध गर्ने, फर्किएका नागरिकलाई सीमानाकाबाट यातायात प्रबन्ध गरी क्वारेन्टाइनमा राखेर मात्र घरसम्म पु¥याउने व्यवस्था मिलाउने निर्णय गरिएको बताइएको छ । त्यसैगरी, राति १० बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स सेवा, बारुणयन्त्र, सुरक्षा, स्वास्थ्य संस्थाका सवारीसाधन, शवबाहन, सरकारी निकायका चारपाङ्ग्रे सवारी साधनबाहेक अन्य निजी तथा भाडाका सवारीसाधनले सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई मात्र चलाउन पाउने व्यवस्था मिलाउने, सुरक्षा निकायको सतर्कता २४ सँै घण्टा रहने व्यवस्था गर्ने गराउने, यातायातका साधन, सबै कार्यालय र सार्वजनिकस्थलको सरसफाइमा विशेष ध्यान दिनेसमेत निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिए । रासस

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए । सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको उनले बताए । मनकामना मन्दिरमा दैनिक करिब तीन हजार ५ सयभन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् । धार्मिक हिसाबले गोरखा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा मनकामना मन्दिरलाई लिने गरिन्छ । यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो । बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने मन्दिरका मूल पुजारी थापामगरले बताए । चैतेदशैँको पर्व पूजाबाहेक अन्य पूजा रोकिने मन्दिरका मुख्य पुजारी थापाको भनाइ छ । उनका अनुसार अब बिहान सधै जस्तो हरेक दिन नित्य पूजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ । यो वर्षको चैतेदशैँ भने आउँदो १९ गते परेको छ । मन्दिरमा चैतेदशैँको बेला गुठियार भेला भएर राँगो, बोका बलि दिइने मूल पुजारी थापामगरले जानकारी दिए । रासस

यी हुन् बन्द नहुने १८ अत्यावश्यक सेवा

काठमाडाैं । सरकारले आगामी चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक बाँकी सबै सेवाहरु बन्द गर्ने निणर्य गरेको छ । शुक्रबार देशवासीको नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी ओलीले देशवासीको नाममा सम्बाेधन गर्दै चैत ९ गतेदेखि १३ दिनसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आह्वान गरेका छन् । नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा सम्बन्धि व्यवस्थामा १८ वटा परेका छन् । जुन ९ गतेपछि पनि बन्द नहुने भएका छन् । के-के हुन् त अत्यावश्‍यक सेवाहरू ? – दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा – पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा – सञ्चार सेवा – आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा – खानेपानीको सञ्चालन तथा वितरण सेवा – पर्यटन, आवास, माेटेल, होटेल रेष्टुरा र रिसोर्टसम्बन्धी सेवा – अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवाजस्ता सेवाहरु) – औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा – फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार -निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा – बैंकिङ सेवा – बीमा सेवा – विद्युत सेवा – डाँक तार वा टेलिफोन सेवा – स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा – हवाई अड्डा ,हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा – हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा – प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा – हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा

एनसेलले ल्यायो ‘नाइट कल र एसएमएस प्याक’

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेलले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ । ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स३एस्ट्रिक्स२ह्यास डायलगरी वा एस्ट्रिक्स१७११८ह्यास डायलगरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सकिन्छ । आफ्नो आवश्यकता अनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्नेछन् । यस प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिदै आएको छ । यो योजना अन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् । यो योजना अन्तर्गत यदि ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् । यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । ग्राहकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको छ ।

चैत ९ गतेदेखि सेयर बजार बन्द

काठमाडौं । आगामी चैत ९ गते(आइतबार) देखि सेयर बजार बन्द हुने भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् । नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा सम्बन्धि व्यवस्थामा सेयर बजार पर्दैन  । त्यसैले याे अवधिमा पुँजी बजार १३ दिनसम्म बन्द हुने निश्चित छ । तर बैंक र बीमा भने नियमित खुल्ने छन् । अत्यावश्यक अनुसार सेवा संचालन हुनेमा १५ मा बैकं र १६ मा बीमा सेवा पर्दछन्।    

प्रधानमन्त्रीले भनेः अर्थतन्त्रमा संकुचन आउन नदिने कार्यक्रम ल्याउछाैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई संकुचन आउन नदिने उपयुक्त कार्यक्रम छिटै ल्याउने बताएका छन् । देशवासीका नाममा शुक्रबार सम्बोधन गर्दै ओलीले अर्थ व्यवस्थामा परेको र पर्न सक्ने असरको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिटै उपयुक्त कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । उनले कोरानाको महामारीले विश्वव्यापी रूपमा अर्थतन्त्रमा परेको प्रभावको विषयमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको बताए । त्यसका आधारमा अर्थतन्त्रमा संकुचन नआउने गरी छुट्टै प्योकज ल्याउन उनले घोषण गरेका हुन् । उनले उद्यमी तथा र श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीमा यस महामारीले सिर्जना गर्न सक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने उद्घोष गरे । यसका लागि सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध पनि गरे ।

कोरोना भाइरस संक्रमण रोक्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बाेधनकाे पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नाे स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं । नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यसक्रममा मेरै नेतृत्वमा ५ वटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्दार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ । दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि अस्पताल जानु अघि मैलै, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्य सचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्र मार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ । दिदिबहिनी तथा दाजुभाईहरु, महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु– -सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् । – भीडभाडबाट टाढै रहनु होस्, – सकेसम्म घरमै बस्नुहोस्, -अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्, – हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्, – चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्, – धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र – सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् । संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाईहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकालागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ । विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको छ । निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाईदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि समेत गरिने स्पष्ट पार्दछु, । विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ । दिदिबहिनी तथा दाजुभाईहरु, तपाई हाम्रै स्वास्थ्य र सुरक्षाालई ध्यानमा राखि केही क्षेत्रहरुमा निम्नानुसारका उपायहरु लागु गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ । – नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । – सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ । – देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । – आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । – मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । – विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । – महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ । यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ । संसदमा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै संघ÷संस्थाहरु र आमसञ्चार जगत समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आव्हान गर्दछु । मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आपूm रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु । म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेे समेत जानकारी गराउँदछु । यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं । तपाईहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबैप्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्र राष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु । मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ ईच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ । हाम्रो इच्छाशक्ती, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु । ०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई हामीले दृढताका साथ सामना ग¥यौं । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढता सहित,सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । धन्यवाद !

कोभिड-१९ आपतकालीन कोषमा नेपालकाे १० करोड सहयोग

काठमाडाैं । सार्क राष्ट्रहरु मिलेर बनाइने कोभिड -१९ आपतकालीन कोषका लागि नेपाल सरकारले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आपतकालीन कोष स्थापना गर्ने प्रस्तावको यसअघि नै स्वागत गरिसकेको जनाउँदै १० करोड नेपालको योगदान रहने बताएका हुन् । उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै १० करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन् । भारत सरकारले उक्त कोषका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।  सार्क राष्ट्रहरुले याे काेषका लागि सहयाेग गर्ने क्रम बढ्दै गएकाे छ ।